
कस्ता चित्रहरूले दर्शक आकर्षित हुन्छन् ? यो प्रश्न पनि हुन सक्छ । नहुन पनि सक्छ । किनभने समकालीन कलासिर्जना र तीप्रति दर्शकको आकर्षण अपत्यारिलो किसिमले विकसित हुँदै आइरहेको छ । कलापारखी दर्शकहरूको रुचि पृथक् रहेको पाइन्छ । एउटा दर्शकले अति नै मन पराएको कला अर्कोलाई मन पर्दैन ।
यस किसिमको मन पर्नु र नपर्नुका बीचको अन्तरद्वन्द्वले कलाकारहरूलाई पनि अलमलमा पार्ने गरेको छ । फलतः कलामा नवीन सोच र शैलीको कलाकर्म गर्नु जति आवश्यक छ, त्यति नै कलाप्रति दर्शकको मनोभावनाको कदर गर्नु पर्ने खाँचो पनि छ । हुन त, कुनै पनि सिर्जना दर्शक र पाठकको मागमा आधारित भई गरिँदैन । सिर्जना स्वयम्ले दर्शक र पाठकलाई आकर्षित गर्न सक्नुपर्छ ।
यति भन्दाभन्दै र यति कुरा जान्दाजान्दै पनि कतिपय सन्दर्भमा स्रष्टाहरू दर्शकमुखी र पाठकमुखी पनि हुनुपर्ने अवस्था आउन सक्छ । जस्तो कि एउटा कलाकारले आध्यात्मिक शैलीको मात्रै कलासिर्जना गर्छ । ऊ आफ्ना दर्शकको माग र मायाले यस्तै किसिमका सिर्जनामा लाग्दै आइरहेको छ ।
अब उसले आफ्नो शैलीलाई छोडेर आधुनिक शैलीका वा आध्यात्मिकभन्दा भिन्न विषयमा कलाकर्म गर्न थाल्यो भने उसका सिर्जनाप्रति परिचित दर्शकको ध्यान अब अन्यत्रै जान्छ । उसले वर्षौंदेखि बनाउँदै आइरहेको र त्यसमै आफूलाई चिनाएको कलाकारको सिर्जना त्यत्तिकै रहन्छ । र, कलाकारले आफूलाई पछिल्लो शैलीको काममा परिचय स्थापित गर्न निकै वर्ष परिश्रम गर्नुपर्ने हुन्छ ।
अतः आफ्नै किसिमको मौलिकताले स्थापित भइसकेका कलाकर्मीहरूले आफ्नो शैलीलाई छोडेर अर्कै शैली र सोचको सिर्जना गर्नु प्रत्युत्पादक हुनसक्छ । दर्शकहरूले कस्तो कला मन पराउँछन् भन्ने मानसिकताले काम गर्नु आफैंले आफ्नो खुट्टामा बन्चरोले हान्नु जस्तै हो ।
हाम्रा अग्रज मूर्धन्य कलाकार तेजबहादुर चित्रकार, चन्द्रमानसिंह मास्के, लैनसिंह बाङ्देल, अमर चित्रकार, केशव दुवाडी, मनुजबाबु मिश्र, रामानन्द जोशी, मनोहरमान पुँ आदिका कलामा हामीले भिन्न किसिमका कलाको चाहना राख्नु व्यर्थ हुन्छ । जस्तो कि चराविषयक चित्रमा प्रसिद्ध चित्रकार हिरालाल डंगोल र हेम पौडलका कलामा हामीले व्यक्तिचित्र वा दृश्यचित्रको क्यानभास–चित्र खोज्नु व्यर्थ हुन्छ ।
यी दिवंगत कलाकारहरूले आफ्नो समयमा आफूले सकेको कलाकर्म गरी नेपाली कलाजगत्लाई धन्य बनाएका छन् । कुनै पनि सर्जकले आफ्नो ब्रह्मले देखेको र मनले सोचेको कुरालाई व्यक्त गर्नुपर्छ । कसैको नक्कल, कसैको प्रभाव, कसैको आग्रह र कसैप्रति पूर्वाग्रहले प्रेरित भई रचनाकर्म गर्नु आफ्नै लागि पनि घाटा हुने निश्चित छ ।
दर्शकहरू मुख्यतः ती कलाकृतिप्रति आकर्षित हुन्छन्, जसले उनीहरूलाई भावनात्मक, सौन्दर्यात्मक र बौद्धिक रूपमा प्रभावित गर्छन् । आकर्षण भन्नु प्रत्येक व्यक्ति, समय र परिस्थितिनुसार फरक हुनसक्छ । आज मन परको चित्र भोलि मन नपर्न पनि सक्छ । अनि आज मन नपरेको चित्र भोलि असाध्यै मन पर्न पनि सक्छ । यसरी मन पर्नु र नपर्नुले कलामा क्षणिक प्रभाव पारे तापनि त्यसले सिर्जनामा नै दीर्घकालीन असर पार्छ भन्नु गलत हुन्छ ।
कलाकार, कलासमीक्षक र कलाप्रेमी दर्शकहरूका मनोभावनालाई आधार मानी ‘कस्ता चित्रहरूले दर्शक आकर्षित हुन्छन् ?’ केही बुँदा मैले यहाँ उल्लेख गर्दैछु ।
भावनाः जसले जीवनका गहिरा भावनाहरू (जस्तै– आनन्द, प्रकृति, पीडा, प्रेम, खुशी आदि) उजागर गर्छ, ती कलाकृतिहरूले प्रायः दर्शकलाई छुन्छन् ।
सौन्दर्यः रङ, रूप, सन्तुलन र सामञ्जस्य भएका सौन्दर्यपूर्ण रचना आकर्षक हुन्छन् । प्रकृतिका बहुआयामिक पक्ष जस्तै– नदी, झरना, हिमाल र पहाडी श्रृंखला, विभिन्न फूल आदि ।
कथावस्तुः कथाको गहिराई र त्यसले दिने सन्देश दर्शकको मन तान्न सक्छ । जस्तै कुनै चित्रमा कथालाई आधार मानी त्यसमा अनेक विषयवस्तु कथाको माग बमोजिम आकृतिबद्ध गरिएको हुन्छ ।
नवीनताः नयाँ शैली, सामग्री र सोंच भएका कलाकृतिले दर्शकलाई उत्सुक बनाउँछ । जस्तै– अर्धअमूर्त चित्रहरू जहाँ यौटा चित्रलाई हेरेर दर्शकले अनेक कल्पना गर्न सक्छ । श्वेरकल्पनाले भरिएका यस्ता चित्रहरूमा कलाकारको कल्पनाशीलता र कौशल पक्ष पनि प्रकट भएको हुन्छ ।
सांस्कृतिक सन्दर्भः स्थान र समुदायसँग सम्बन्धित कलाकृतिहरू बढी प्रभावकारी हुन सक्छन् । जस्तै वरिष्ठ कलाकार हरिप्रसाद शर्माले नेपालका ऐतिहासिक घटना सन्दर्भहरूका आधारमा चित्ररचना गरेका छन् ।
व्यक्तिगत सम्बन्धः दर्शकको अनुभव, मूल्य वा चासोसँग मेल खाने कलाकृतिले उनीहरूलाई विशेष रूपमा आकर्षित गर्छ ।
वास्तविकता र कल्पनाको मिश्रणः यथार्थता र कल्पनाको सन्तुलनले दर्शकलाई चकित पार्न सक्छ ।
समग्रमा दर्शकहरूको रुचि व्यक्तिगत, सांस्कृतिक र समाजिक सन्दर्भहरूमा निर्भर हुन्छ । एउटा क्यानभास–चित्रले दिने सन्देश विविध हुन्छन् । त्यस चित्रले पार्ने प्रभाव र त्यस चित्रलाई बुझ्ने पाटो पनि विविध नै हुन्छन् ।
क्यानभास चित्र केवल रङहरूको खेल होइन; यो भावना, कल्पना र समयको अमर दस्तावेज हो । एउटा चित्रले लाखौं शब्दभन्दा बढी कुरा गर्छ । यो कुरा लाक्षणिक नभएर जीवनको यथार्थ हो । प्रत्येक रेखा, प्रत्येक रङ र प्रत्येक आकारभित्र लुकेका सन्देशहरूले एउटा चित्रलाई साधारण कलाबाट महान् सिर्जनामा रूपान्तरण गर्छन् ।
कल्पना गरौं, एउटा उजाड मैदानमा एउटा वृक्षको चित्र । त्यो वृक्षले एक्लोपनको कथा भन्न सक्छ । अथवा जीवनको जिद्दी शक्ति । चित्रकारको कूचीले त्यस वृक्षलाई यति जीवन्त बनाउन सक्छ कि हाम्रा मनमा प्रश्न उब्जिन्छन्– ‘के यो वृक्ष मात्र हो, कि हाम्रो जीवनको प्रतीक हो ?’
चित्रले सन्देश दिनलाई कुनै शब्दको सहारा लिनु पर्दैन । विशद विश्लेष्णको आवश्यकता पनि हुँदैन । चित्र आफैंले विशाल भावनाहरूको उद्घोष गरिरहेको हुन्छ । वा भावनाहरू सिधै मनको गहिराइमा प्रवेश गर्छन् ।
चित्रकलामा जीवन, प्रकृति, अध्यात्म आदिका विविध पक्ष उतारिएको हुन्छ । प्रत्येक कलाकारहरूले आ–आफ्नो विषयगत क्षेत्रमा लामो साधना र समर्पण गरेका हुन्छन् । हामीले झट्ट देख्ने यौटा चित्र तयार हुन धेरै समय त्यसमा लगानी भएको हुन्छ । त्यो चित्र खासगरी अमूर्त शैलीका चित्र हेर्दा बुझिएन भन्नु पनि मूर्खता नै हुन्छ । वर्षौंको साधनाले बनेको चित्रलाई ग्यालरीका भित्तामा टाँगिएका चित्रमा एकसरो आँखा डुलाउँदैमा कहाँ बुझ्न सकिन्छ र ?
चित्रले केवल दुःखका सन्देशहरू मात्रै दिँदैन । एउटा सानो मुस्कान देखाउने चित्रले खुसी, उमंग र शान्तिको भाव ल्याउन सक्छ । एउटा हरियो वनको दृश्यले प्रकृतिसँगको हाम्रो सम्बन्धलाई झल्काउन सक्छ । चित्रकारको दृष्टिकोणले हामीलाई हामीले कहिल्यै अनुभूतिसम्म नगरेको, कल्पनासमेत गर्न नभ्याएको सौन्दर्यको संसारमा लैजान्छ ।
वास्तवमा कुनै पनि कलाले दर्शकको मनःस्थितिमा सकारात्मक भावको सन्देश सम्प्रेषण गर्न सक्नु नै ठूलो कुरा हो । हामीले आर्ट ग्यालरी वा अन्यत्र कतै कलाकृति हेर्दा त्यसमा के छ र के छैन भन्नुभन्दा तिनले हाम्रा आँखा र मनलाई कति प्रभावित पार्न सके भन्ने कुराको लेखाजोखा गर्नु अति आवश्यक हुन्छ । हामीले हेर्दा जुन चित्रमा सौन्दर्यको गहिरो संवेदना प्रफुटित भएको देख्न सक्छौं त्यो कला प्रिय हुन्छ । निश्चय पनि यस्ता चित्रकलाप्रति दर्शक आकर्षित हुन सक्छन् ।
क्यानभास–चित्र दृश्य कलाको एक रूप होइन, यो इतिहासको एक अंश पनि हो । हजारौं वर्षअगाडिको गुफाका भित्तेचित्रहरू आजका दिनसम्म जीवित छन् । तिनले हामीलाई त्यो समयमा फर्काउँछन्, जुन हामीले देखेका छैनौं तर तिनका सन्देशहरूले आज पनि हाम्रो जीवनलाई अर्थ दिन्छ ।
यसरी एउटा क्यानभास–चित्रले दिने सन्देश मात्र एउटा चित्रकारको भावना नभएर मानव सभ्यताको सामूहिक चेतनाको प्रतिविम्ब हुन्छ । कला शब्दरहित भए पनि यसको आवाज कहिल्यै रोकिँदैन । हरेक चित्र एउटा कथा हो, जुन हेर्ने आँखाको दृष्टिमा जीवन पाउँछ ।
त्यसैले कस्ता चित्रहरूले दर्शक आकर्षित हुन्छन् ? भन्ने प्रश्नको उत्तर सजिलो छैन, हुँदैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

