
शुभकामनाको भेल आयो । बधाईको बाढी बग्यो ।
‘अमेरिका हगि ? अमेरिका सत्र वर्षमै हगि ! कम्प्युटर इन्जिनियरिङ पढ्न हगि ??’
‘कति भाग्यमानी छोरी ! कति भाग्यमानी बाबुआमा !!’
‘मलाई त पहिल्यै यस्तो हुन्छ भन्ने विश्वास थियो । पूजा पो त ! सबैका छोराछोरी पूजा हुँदैनन् ।’
‘अब तपाईँहरूका दिन आए । भाग्य खुल्यो अब !’
‘जे होस् तपाईँ भाग्यचाहिँ लिएरै आउनुभएको रहेछ ! जे होस् तपाईँले छोरीचाहिँ भाग्यमानी पाउनुभएको रहेछ !!’
‘छोरा—छोरा भनेर के गर्नु, हाम्रा यी यत्रा भइसकेका छोराले के लछार्या छन् ? जोगबनी जानुपरे बाबुको प्यान्टमा झुन्डिन्छन् !’
हिजोसम्म ‘कठैबरा ! छोरी—छोरी मात्र हगि !!’ भन्ने कोही त आज आफैँतिर फर्केर कठैबरा भन्न थालेका छन् ।
+++
पूजाले आफूसँग आग्रह, ढिपी, माया, प्रेम, आवाज र शब्दहरू लिएर गई । पूजाले आफूसँगै हाँसो र खुशी लिएर गई । न्यानो र उज्यालो लिएर गई ।
घर कति गुन्जायमान हुन्थ्यो ऊ हुँदा ! छिमेकीलाई समेत डिस्टर्ब हुन्छ कि भनेजस्तो आवाजमा हिन्दी वा अङ्ग्रेजी गीत । बहिनी वा मामूचाहिँसँग जतिखेरै कुनै अर्थ न बर्थका कुरामा गलफती । यो वा त्यो नगर्, यसो वा त्यसो गर् भनिरहेकी मामूचाहिँ !
घरभरि सामान छरपस्ट । ओछ्यानभरि कपडा र भुइँभरि किताबकापी । बाथरुममा धुन राखेका कपडा र भान्सामा खान राखेका खानेकुरा ।
पूजालाई जे पनि ‘भरे’ गर्नुपर्थ्यो । कपडा मिलाएर राख्न होस्, भान्साको खानपिन वा धन्दा । नुहाउने काम होस् कि बजारको किनमेल । काम सकेसम्म पर सार्थी ऊ ।
तर अमेरिका जानचाहिँ उसले सकेसम्म हतार गरी !
+++++++
२०७१ चैतको नौ गते । उसले काठमाडौँबाट फोन गरेकी थिई— ‘बाबा, म अमेरिकाका लागि ट्राई गरूँ ?’
उसको आफ्नो भलो हुने कुनै काममा मेरो आपत्ति हुन सक्तैनथ्यो । भनेँ— ‘हुन्छ, गर् न । तर खर्च कति लाग्ला ?’
‘त्यस्तै नौ—दश लाख । जेठभरिमा जुटाउन सक्छौँ होला ?’
‘हाम्री छोरी होस् तँ । पैसाको चिन्ता नगर् । इच्छाको कुरा गर् । टुप्पी धरौटी राखेरै पनि जुटाउँला ।’
मन रोएको थियो । तर रोएको छाती देखाएर छोरीका सपना मार्न सक्तैन कुनै बाबुले ।
असारको नौ गते, अमेरिकाको भर्जिनियाबाट ऊ भन्छे : ‘बाबा म सुरक्षित ढङ्गले यहाँ आइपुगेँ । कोठामा आएर खाजा खायौँ । पिज्जा, बर्गर ! थकाइ लागेको छ, अब सुत्न लागेकी ।’
उसको स्वरमा अचम्मको खुशी छ, उत्साह छ । उसभित्रको उल्लास अनुपम छ । जीवन भनेको के हो बुझ्न उसको स्वरमा एक शब्द सुने पुग्छ ।
उतैको नयाँ फोन नम्बर पाइछ । फेसबुकमा ठेगाना लेख्नुपर्ने ठाउँमा ‘काठमाडौँ’ लाई बदलेर ‘एनान्डेल, भर्जिनिया’ चाहिँ बनाइहालेकी रहिनछ उसले ।
यस सडकमा हिँड्न सबैका छोराछोरी अटाए । मेरी छोरी पूजा अटाउन सकिन । अटाउन मानिन यहाँ । उसलाई सडक फराक चाहियो । उसलाई देश—परिवेश ठूलो चाहियो । चम्किला रङका कपडा उसलाई मनपर्ने । चम्किला राता, चम्किला नीला, गाढा काला वा पहेँला । चमक उसको रोजाइ । रङ्गीनता उसको छनोट ।
ग्लोबल भिलेज मेरा लागि ग्लोबल भिलेन भएर आयो । मेरो खुशी खोसेर लग्यो ।
उसले फेसबुकमा ठेगाना बदली– ‘एनान्डेल, भर्जिनिया ।’ मलाई त्यो ठेगाना भएकी पूजा मेरी छोरी हो कि होइन भएर आयो ।
+++++++
बधाईको बाढी बगिरह्यो । शुभकामनाको भेल ।
‘अमेरिका त अब तपाईँहरूका लागि पानी—पँधेरो नि ! साढे चार या पाँच वर्षपछि दुवैजना कन्भोकेसनमा अमेरिका जाने हुनुभयो ! छोरीको बिहामा जान पाउने हुनुभयो !!’
सुन्दैपिच्छे कलेजो कटक्क काटिन्छ । जीउ थर्र काँपेर आउँछ । अज्ञात भयले भित्र सर्वत्र भत्भती पोल्छ । कलिली छोरी यत्रो वर्षका लागि देश छाडेर विचित्रको संस्कृति, विचित्रको भौतिक परिवेश र एकाकी जीवन भएको देशमा तपस्या गर्न गएकी छे, किन यसो भनेका होलान् ! यिनको हृदय केले बनेको हुन्छ हँ ?
बेलुकाको साढे सात बजेको छ । दाता राष्ट्रहरूको सम्मेलनको समय छ । एयरपोर्टको मूलद्वारमा यात्रु र यात्रुका सम्बन्धित परिवार, अभिभावक एक दुईजना मात्र छिर्न दिने भनिँदै छ ।
‘बुबा वा हजुरबामध्ये एकजना मात्र जानोस् ।’ पुलिस योगराज दाइ र ममध्ये एक जनालाई मात्र बिदाइमा जान दिने भन्छ । दाइ ओर्लनुहुन्छ टेक्सीबाट । भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागअगाडि चाहिँ मानिसहरूको भीडभाड अचम्मको छ ।
पूजाका साथीहरू आएका छन् । डाक्टरी पढ्न थालेकाहरू, इन्जिनियरिङ पढ्न थालेकाहरू, अप्टोमेट्री, बीडीए, सीए, बीबीए र केके पढ्नेहरू, डाक्टर वा इन्जिनियर बन्न विश्वविद्यालयमा अर्को वर्ष नाम निकाल्न प्रयत्नरतहरू । इटहरीका, चितवनका र काठमाडौँका साथीहरू । तुरुन्तै चिन्तामणि दाइ, लय भाइ, योगराज दाइ र अरू पनि आफन्त भित्रै आइपुग्नुभएको छ । भरत भाइ र पार्वताले त डेरैदेखि साथ दिइराखेका छन् । पीपी, आयुष र विराज पनि छन् । एयरपोर्टको यस बाहिरी खण्डमा पूजा, सिन्धु र मुकुन्दका साथी तथा आफन्तको कुँडुलो छ ।
पानी पर्लापर्ला जस्तो छ । रात पर्दै गएको छ । अबको केही बेरमा रिपोर्टिङ टाइम छ : आठ बजे । केटाकेटीहरू फोटो खिच्ने, बिदाइका शब्द, शुभकामनाका मन्तव्य र उत्साहपूर्ण स्वर हावामा उराल्दै छन् । चिनो र उपहारको लेनदेन चल्दै छ । न्यानो मायाको साटासाट, अटुट विश्वास र दिगो सम्झना साँच्ने प्रयत्न ।
बिदाइका लागि आएका यी केटाकेटीहरू सारै राम्रा छन् । एकसे एक । शरीर, मन र वातावरणमा यौवन छाएको छ । सपना र रहरको लदाबदी छ । तर यिनीहरू पनि अमेरिका जान पाउनुलाई सफलता ठान्छन् । आफ्नो देश—परिवेश छाडेर एक्लै त्यो पराई मुलुकमा पुग्नुपर्ने परिस्थितिलाई अहोभाग्य देख्छन् ।
छोरीले सयपत्रीको ठूलो लामो माला घाँटीमा लगाएकी छे । मैले लगाइदिएको । मालासँगै घिउ रङको खादा घुर्मैलो कोटमाथि अचम्मै सुहाएको छ । ठूलो निधारमा रातो अबिर लगाएकी पूजालाई हेर्छु : यो मेरी छोरी संसारका सबै छोरीभन्दा राम्री छे ।
पूजाको जस्तो कपडा छनोट कला र अनुहारमा परिवेशअनुसारको भाव छर्ने खुबी कसैमा छैन । उसको हृदयमा मायाको भण्डार छ । म प्रस्टै भनिदिन्छु : पूजाको हृदय छातीभित्र मात्र छैन, उसको हृदय त शिरदेखि पैतालासम्मै टम्म छ । उसले जति माया जोर्न—जोगाउन कसैले जानेको छैन !
झोलामा अलिकति गुन्द्रुक राखिदिएको छु । अलिकति तयारी अचार । चारपाँच जोर जुत्ता र चप्पल, भाँडाकुँडा अनि केही जोर साडीचोलो, कुर्तासुरुवाल, टिसर्ट र ट्राउजरहरू । अलिकति बेसार पनि पठाउनुपर्ने थियो रहेछ, दिमागले भ्याएन ।
पाङ्ग्रा भएको झोला घिस्याउँदै गई ।
सम्भावनाको देश, आशाको देश, शिक्षा र श्रमको देश अमेरिका । ऊ सुख गर्न गएकी होइन । रमाइलो र रमिता हेर्न गएकी होइन । मिहिनेत र अध्ययनको मुलुकमा ऊ सपना बटुल्न गएकी हो । हातमा जाँगर र सीप कमाउन गएकी हो । डलर छ त्यहाँ, तर पूजा डलरको लोभमा र्याल चुहाउँदै गएकी होइन ।
साढे चार वर्ष त हो बाबा !
तर त्यो ‘साढे चार वर्ष’ मेरा लागि एक युग हो । कति असार पन्ध्र, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति र होली आउँछन् ! कति बिहे आउँछन्, व्रतबन्ध आउँछन् र पुराण आउँछन् ! कति तीज, दशैँतिहार, देउसीभैलो आउँछन् ….!!
उन्नाइस महीनाकी पूजालाई लिएर श्रीकृष्ण–जन्मोत्सवको रमिता हेर्न गएका थियौँ दुवैजना । रातको बाह्र बजेसम्म ऊ भजन–कीर्तनमा नाचेकी थिई । घर फर्काउन कति मुस्किल परेको थियो ! पूजालाई नाच्नुपर्छ । पूजालाई उत्सव चाहिन्छ । श्रीकृष्णप्रणामी मन्दिर इटहरीमा मनाइने श्रीकृष्ण–जन्मोत्सवमा अब को नाच्ला ? अब होलीमा सडकभरि रङ कसले पोख्ला ? अब यस टोलको भैलिनी टोलीमा कसले भट्याउला ? बिहेबटुलामा वा भागवत् पुराणहरूमा नाच्नेका बीच हाम्री छोरी अब देखिन्न हगि ?
पाथीभरा जाऔँ भनेर ढिपी कस्तै थिई, अचानक भूकम्प आइदियो र सबै योजना भत्के । हलेसी पनि जाने हो भन्दै थिई, त्यो पनि पूरा भएन, बराहक्षेत्र जान पनि मन गर्दै थिई, दिदीहरूकहाँ समेत पुग्न भ्याइन । अधुरै छ । धेरै कुरा अधुरै रहेका छन् ।
त्यो ‘साढे चार वर्ष’ हाम्रा लागि एक युग हो । असी लागेकी हाम्री आमा हुनुहुन्छ । ठूलीआमा हुनुहुन्छ, मामामाइजू हुनुहुन्छ । काका—काकीहरू र अत्यन्त वृद्ध फुपू—फुपाजूहरू हुनुहुन्छ । हाम्रै पनि स्वास्थ्यको भरोसा छैन । सुगर र युरिक एसिडले ग्रस्त छु म । हाइपरटेन्सनले सीतालाई गाँजेको दश वर्ष भइसक्यो । त्यो ‘साढे चार वर्ष’पछि अर्को साढे चार वर्षको माइलस्टोन कुर्नुपर्ने हुन के बेर ? अनि अर्को अनि अर्को ‘साढे चार’ थपिन के बेर ? त्यो अमेरिका हो ।
सातमेडीका ती एघार बोटमा आँप फल्नेछन्, पाकेर झर्नेछन् । भोगटेको त्यत्रो रूख छ, उसलाई त्यो ‘होक्से’ खुब मन पर्छ । लिचीका त्यति रूख छन् । लिची पाकेर रातै झुत्ता झुन्डिनेछन् । अम्बा र रूखकटहर लटरम्मै हुनेछन् । अब तिनका स्वादको पारखी को ?
पूजालाई फर्सीका मुन्टाको तरकारी कति हो कति मन पर्छ । हाम्रो कागतीबारीमा फर्सीका कलिला मुन्टा लरक्क परेर आउँछन् । ती देख्तैपिच्छे छाती कटक्क गर्छ ।
फ्रिजमा दही छ । ऊ भन्थी— भगवान् श्रीकृष्णले दही चोरीचोरी खाएको त्यसै हो ! कति मीठो छ यो !! मानिसले आजसम्म विकास गरेका खानामा सबैभन्दा मीठो परिकार हो दही ।
अब छोरीहरूले सिरानी हानाहान गरेर चलेको देख्न पाइने छैन । एउटीले अर्कीको छुच्याइँका बारे पोल लाउन पाउनेछैनन् । पल्लो घरका साना नानीहरूले ‘पूजा दिदी !’ भनेर बाटैदेखि बोलाएको सुन्न पाउने छैन मैले । पूर्वाञ्चल आइसक्रिमअगाडि पूजा उभिन्न अब एक युगसम्म । भारतीको घरअगाडि ठेलागाडामा बेचिने पानीपुरी खान साँझपख यी दिदीबहिनी छरितो लुगामा निस्कनेछैनन् घरबाट ।
+++
पूजाले फोन गरी । तर यसपल्ट ९८४२१७८०** बाट होइन, नम्बर अर्कै छ । मैले किनिदिएको सिमको नम्बर होइन त्यो । यस देशको नम्बर नै होइन त्यो ।
पूजा गई । पूजा गई त्यस देशमा जहाँ स्वस्थ प्रतिस्पर्धा चल्छ अरे । जहाँ राजनीति र गुन्डागर्दी अलग–अलग कुरा हुन् अरे । पूजा गई जहाँ योग्यले पहिले स्थान पाउँछ तर स्थान सबैले पाउँछन् अरे । धरतीको स्वर्ग हो अरे अमेरिका । त्यो ‘अरे’को देश देखेको छैन मैले ।
अब त्यो देश देख्न मन पनि छैन । किनभने त्यसले मेरो घरको न्यानो अशान्ति खोसेको छ, किनभने त्यसले यस घरको मीठो होहल्ला खोसेको छ, किनभने त्यस पातालदेशले मेरो घरको सुन्दर भद्रगोल लुटेको छ । यस घरको रङ लुटेको छ, जीवन लुटेको छ ।
पूजाको भिजा लागेदेखि सीताका आँखा ओभाएका छैनन् । मेरो सुस्केरा रोकिन मानेको छैन ।
ऊ उता उडी । एक्लो म यता बस चढेर कुप्रिएको खोक्रो छाती बोकी रित्तो घरमा आएँ ।
दशैँमा हामीलाई पनि अक्षता र जमरा चाहियोस् । तिहारमा यस घरमा पनि फूल चाहियोस् । दियो, मैनबत्ती र झिलिमिली बिजुली चाहियोस् । झिरझिरे र पटका चाहियोस् । यस घरमा पनि माघे सङ्क्रान्तिमा तरुल पाकोस्, तिलका लड्डु र भुजाका डल्ला बनून् ।
जन्मायौँ, हुर्कायौँ, पढायौँ, बढायौँ । बुढ्यौली उमेरमा दुखेको जीउमा मालिस गरिदिने सन्तान हामीसित पनि होस् । बाबा ! कहाँ दुख्यो भनेर प्यारो गरी सोधिदिने सन्तान साथमा होस् । मामू ! कहाँ पोल्छ भनेर प्यारो गरी सोधिदिने सन्तान साथमा होस् । बिमारी हुँदा उसैले अस्पताल लगिदेओस् । त्यस्तो दिन अब आउला ?
सबै सम्भावनालाई अपराधीहरूद्वारा पालित नेता र आपराधिक जगमा अडेको राजनीतिक संस्कारले समाप्त पार्दै गएको छ । हामीलाई निःसन्तान पार्दै गएको छ, टुहुरा पार्दै गएको छ । युवाशक्ति पलायन झन्झन् बढ्दो छ । प्रतिभा पलायन परम्परा बन्दै छ । एयरपोर्टबाट दिनहुँ दुई हजारभन्दा बढी किशोरकिशोरी र युवाहरू लर्को लागेर प्लेनभित्र पस्तै छन् । काठमाडौँको आकाश चिरेर तिनले हाम्रा छोराछोरी शून्य आकाशतिर लग्दै छन् । संसारभरिका नोकर खोज्ने सेठहरूलाई तिनले हाम्रा लालाबाला बाँडिदिँदै छन् ।
हवाईजहाज देख्ता रीस उठ्छ ।
छत्तीस सालतिर विराटनगर गएका थियौँ साँल्दिदी र म, बुबासँग । प्लेन हेर्न । आकाशमा देखिएको जस्तो सानो हुँदो रहेनछ त्यो । सपनामा नजिकैबाट देखेको जस्तो सानो हुँदो रहेनछ त्यो । बसभन्दा ठूलो । हाम्रो घरभन्दा ठूलो ।
अनि पछि पैँतालीस सालमा काठमाडौँको एयरपोर्ट हेर्न गएँ । एयरपोर्ट पनि एकदम ठूलो । उतापट्टि पनि सिनामङ्गल नै भन्थे, अचेल पेप्सीकोला भन्छन् । त्यतैपट्टि बारबाहिरको ढिस्काबाट, एकदम छेवैबाट । कत्राकत्रा हुँदा रहेछन् !
के थाहा उसबेला कि ती अचम्मका रहस्यमयी दैत्यगाडीले आजको दिन मेरो छाती यसरी चरर चिरेर उड्नेछन् भन्ने ! के थाहा यी वायुयानले मलाई आँशु जिम्मा लगाएर खुशीजति कताकताको क्षितिजपारिको मुलुकतिर लग्लान् भन्ने !!
सपना ओसार्ने यस यन्त्रचराले मेरो खुशी फर्काइदेला त कुनै दिन ?
युवावर्गमा देशै परित्याग गर्ने खालको घोर निराशा इतिहासभरि कहिल्यै थिएन शायद । युवावर्गको मौन विरोध इतिहासमै यति कठोर कहिल्यै भएन सायद । सन्तान भई–भई बाबुआमाले निःसन्तान हुनुपरेन यसअघि कहिल्यै ।
यही बेला ‘दाता सम्मेलन’ छ काठमाडौँमा । हाम्रो गरीबी बेचेर खान नेताहरू भेला भएका छन् । यिनका राता–राता ओठ हेर । हाम्रो रगतले यस्ता भएका हुन् । अब मासु र हाड बाँकी छ । हाम्रो गाउँमा खसी काटेर भाग लगाई खाने चलन छ । त्यस्तै हो ।
भूकम्प, भेलबाढी र पहिरो फलिरहन्छ हामीकहाँ । आगलागी र महामारी पनि मनग्गे फल्ने गर्छ हामीकहाँ । तिनको मूल्य राम्रै पाइएला, राम्रो मूल्यमा बेच है नेताहरू हो ! हाम्रो गरिबी, हाम्रो आँशु—रोदन र दुर्गतिको दाम पनि गतिलै मिल्ला ! त्यो मोल हामीलाई दिनका लागि हुँदैन, दिँदैनौ । नदेओ । जति गरीब हुँदै जान्छौँ हामी, जति पीडित बन्दै जान्छौँ हामी, तिमीहरूले उति नै ठूलाठूला र भव्य दाता सम्मेलन गर्न पाउनेछौ ।
मेरो घरको आधा रहर, आधा खुशी, आधा भविष्य अब यहाँ छैन । मेरो छातीको आधा टुक्रो सपनाको परदेशको खोजीमा हिँडिसक्यो । अब म कसो गरूँ ? लौ न अब म कसो गरूँ ?
(२०७२ असार ९, इटहरी)
…
(पूजा आइन । सिकागोमा घर पो किनी । बहिनीचाहिँलाई पनि उतै बोलाई । उतै बस्छौँ भन्न थालेका छन् । हामी दुईमात्र छौँ घरमा । हामीलाई पनि उतै आओ भन्दै छन् । एकपल्ट गयौँ पनि, अनि पाँच महिना नभई फर्किहाल्यौँ । के बसिन्थ्यो त्यतै त सधैँ, हैन र ?– २०८२ साउन १५ को टिप्पणी)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

