
‘अल टाइम इज फ्री टाइम, एभ्रिवान इज अ डक्टर ।’
भारतको कुनै टिभी कार्यक्रममा भारतीयहरूको चरित्रको बारेमा यो वाक्यांश भनिएको थियो । म देख्छु, यो वाक्य नेपालीको बारेमा पनि हु–बहु लागू हुन्छ । नेपालमा डाक्टरबाहेक सबैलाई रोग र औषधि थाहा छ । इन्जिनियरबाहेक सबैलाई घरनक्सा, पुल, सडक बनाउन आउँछ, शिक्षकबाहेक सबैलाई पढाउन आउँछ, न्यायाधीशबाहेक सबैलाई न्याय गर्न आउँछ, पुलिसबाहेक सबैले अपराधी चिनेका छन् । नेतालाई अझ सबैथोक आउँछ ।
यसै भएर यसमाथि अलिकति घोत्लिन लागेको छु म आज ।
केही वर्षअघि अर्थात् २०६८ सालतिरको कुरा, मेरो स्वरमा समस्या आयो । डाक्टर विज्ञलाई देखाएँ, उनले एक महीना पूर्णरूपमा ‘भ्वाइस रेस्ट’मा बस्न भने । मैले त्यो एक महीना एक शब्द पनि उच्चारण नगरी बिताएँ । इसाराले हाटबजार गरेँ, इसाराले भेटघाट र कामकाज गरेँ । स्कुलको शिक्षक थिएँ म उसबेला, शैक्षिक सामग्री बनाएर, उपलब्ध विभिन्न श्रव्यदृश्य सामग्री प्रयोग गरेर, बोर्डमा लेखेर र छलफल गराएर एक महिना चुइँक्क नबोली पढाएँ ।
आफन्तजन, साथीभाइ र चिनारुहरू मेरो स्वरमा आएको समस्याको बारेमा चिन्तित हुनुहुन्थ्यो । अनि आफूले जानेको औषधि सिकाउनुहुन्थ्यो । कति जनाले घरमा भएको कुनै जडीबुटी ल्याइदिनुहुन्थ्यो र त्यो कसरी तयार गर्ने, कहिले र कसरी खाने, विधिसमेत सिकाउनुहुन्थ्यो । त्यसबेला मैले थाहा पाएँ मेरो सहरको सडकमा हिँड्ने सबै मान्छे डाक्टर रहेछन् ।
कोहीचाहिँ त्यस्तै समस्यामा परेको उहाँहरूको कुनै आफन्तले दमकको एउटा डाक्टर, उता भद्रपुरदेखि कतापट्टिको गाउँको एउटा जान्ने, काठमाडौँको कुनै महँगो निजी अस्पताल वा अर्काे के छ तुरुन्त सिफारिस गर्नुहुन्थ्यो । कोही चतरा जान र फलानाजी महाराजबाट यसको औषधि माग्न भन्नुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो– ‘च्वाट्टै निको हुन्छ ।’
उहाँहरूसित भेट हुँदा मलाई सल्लाहको भारीका कारण अत्यन्त सकस हुन्थ्यो । म आफूले गर्दै गरेको उपचारको बारेमा लेखेर बताउँथेँ, अनि लेख्थेँ– ‘हजुरको सल्लाह मनासिब छ, तर अहिले म घोपाको ‘भ्वाइस स्पेसलिस्ट’ अर्थात् स्वरयन्त्र विशेषज्ञको सल्लाह मानिरहेको छु । हेरौँ न कस्तो हुन्छ …।’
अर्काे हप्तातिर पुनः भेट भइहाल्थ्यो । अनि सुरु हुन्थ्यो उपदेशको वर्षा– ‘मैले दिएको औषधि खाइरहनुभएको छ नि ! ठीक भयो ?’ वा ‘त्यति जान्ने डाक्टरको नाम सिफारिस गरेको, तपाईँ कस्तो मान्छे ? चुप लागेर बस्ने हो ? के नपुग्दो छ तपाईँलाई ? गइहाल्नोस्, पैसा छैन भने हामीलाई भन्नोस् । कि आफू जान्नू, कि भनेको मान्नू !’
एक महिना मौन बसेपछि मेरो समस्या समाधान भयो ।
अनि अर्काेपल्ट जनैखटिराको समस्या देखियो । मैले तत्काल इन्टरनेटमा यसको कारण, लक्षण, परिणाम र समाधानको बारेमा खोजी गरेँ । म त्यसबेला डाक्टरहरूको एउटा अन्तर्राष्ट्रिय पेसागत सङ्गठनको पर्यवेक्षक सदस्य थिएँ, ‘मनोविज्ञान’ पढेको नाताले । त्यस सङ्गठनको वेबसाइटमा आफ्नो समस्या राखेँ । नाइटोवरिपरिको रातो भागको फोटो, लक्षण आदि सबै राखेँ । विशेषज्ञहरूले औषधि सुझाए । स्थानीय बजारमा ती कुनै औषधि पाइने रहेनछन् । बल्लबल्ल एउटाचाहिँ पाइयो– ‘क्यालामाइन लोसन’ ।
त्यसैले ठीक हुन्छ भनेका थिए । त्यो छालामा लाउने सामान्य औषधि हो र त्यसले ‘इन्फेक्सन’ हुनबाट रोक्ने मात्र हो । केही दिन त्यो लगाएपछि साँच्चै ठीक भयो । म दुई दिनमात्र स्कुल जान नसक्ने गरी बिरामी परेँ । लगभग पन्ध्र दिनमा पूरै ठीक भयो ।
जनैखटिरो भनेपछि कति पीडाजनक हुन्छ, मैले भनिरहनुपर्दैन । यसका कैयौँ बिरामी महिना दिनसम्म रोएको र अझ केहीलाई त वर्षाैँ पछिसम्म यसको पीडा नहटेको पनि देखेका छौँ । कति बिरामीलाई काठमाडौँ, सिलिगुडी, दिल्ली वा भेलोरसम्म दौडाएको पनि देखेका छौँ । तर बेलैमा उपचारमा लागेकाले खासै ठूलो समस्यामा परिनँ, बचेँ ।
फेरि यसपल्ट अर्काे समस्यामा परेको छु । मोटरसाइकलबाट लडेर देब्रे गोडो भाँचियो । सुरुमा मलाई सामान्य मर्केको होला भन्ने लाग्यो । नजिकैको निजी अस्पतालमा पुगेँ । विशेषज्ञ डाक्टरले एक्स–रे गराए, हेरे, जाँचे, छामे अनि भने– ‘हड्डी भाँचिएको रहेनछ ।’
हाफ प्लास्टर गराएर घर पठाए । डाक्टरले भने– ‘दुई हप्तामा आउनू । हामी प्लास्टर खोलिदिन्छौँ । एक्स–रे हेरौँला त्यतिखेर फेरि ।’
घटना सुनेका निकै आफन्त, चिनारु र शुभचिन्तक आउनुभयो । कसैले तुरुन्त धरानको घोपा जान, विराटनगरको नोबेल जान, काठमाडौँको मेडिसिटी वा अर्काे अस्पताल जान सुझाउनुभयो । कसैले उहाँको फलाना नेतासित सम्पर्क छ, तिनलाई भनेर डाक्टरसँग भेट्नुपर्छ भन्नुभयो । कसैले झापाको निताई, कसैले लाहानको कुनै आयुर्वैदिक डाक्टर त कसैले धनकुटाकी कुनै बूढीबजूको नाम लिनुभयो । सबैमा दृढ विश्वास थियो, आफूले जानेको उपाय सर्वाेत्तम हो ।
‘यसरी चुपचाप घरमै बसेर हुन्छ ? गइहाल्नोस् काठमाडौँ । म मेरा भान्जालाई भनेर फलानो विशेषज्ञ डाक्टरसँग अपोइन्टमेन्ट मिलाइदिन्छु ।’ कसैले भन्नुभयो । मैले सबैका कुरा सुनेँ ।
तर मैले आफूले देखाएको विशेषज्ञ डाक्टरको सल्लाह मानेँ । दुई हप्तापछि मैले सोचेँ– ‘नभाँचिएको ठाउँमा किन एक्स–रे गर्ने ? प्लास्टर त म आफैँ खोलिहाल्छु नि !’
प्लास्टर खोलेँ । हल्का सुन्निएको देखियो । केही दिन अरू पर्खेँ, सुधार देखिएन । चोट लागेको होला नभाँचिए पनि, मलाई लागिरहेको थियो । तर सुधार कत्ति पनि देखिएन । छक्क परेँ । अरू केही दिन बैसाखी नटेकी यताउता हिँडेँ । गोडो खोच्याउँदै । समस्या सुधार भएन । बरु सुन्निन पो थाल्यो ।
अनि सुरु भयो अस्पतालको यात्रा । विराटनगर दौडेँ । विशेषज्ञ डाक्टरलाई देखाएँ । एक्स–रे गराए । हेरे ।
‘भाँच्चिएको छ ।’ ती डाक्टरले भने ।
‘यहाँ त भाँच्चिएको देखिएको छैन । यस एक्स–रेमा के गल्ती भयो ?’ मैले पहिलेको एक्सरे देखाएर डाक्टरलाई सोधेँ ।
‘तपाईँकै हो र यो ?’ उनले भने । मैले हो भनेँ ।
‘त्यसोभए यसबीच तपाईँ फेरि एक्सिडेन्टमा पर्नुभएको रहेछ । यो एक्स–रे क्लियर छ, यसमा त भाँचिएको देखिँदैन ।’ उनले पहिलेको एक्सरे राम्ररी हेरेर भने । म यसबीच खासै कतै गएकै छैन, गए पनि बिस्तारै खुट्टो खोच्याउँदै होसियारीसँग हिँडेको छु । कसरी यसबीच भाँच्चिन्थ्यो र ?
‘प्लास्टर लाउने कि स्टिल ? स्टिल लाए ढुक्क । मै लाइदिन्छु ।’ तिनले भने ।
‘प्लास्टर लगाऊँ होला, अपरेसन गर्नुभन्दा त ।’ मैले भनेँ ।
अनि प्लास्टर लाएर थप छ हप्ताका लागि पुनः घरमा थन्किएको छु ।
यसबीच फेरि आफन्त र चिनारुहरू उसैगरी आउनुभयो । मेरो चोटको बारेमा उहाँहरू चिन्तित भएकैले त्यति टाढाटाढाबाट धाएर आउनुभएको हुन्थ्यो । उहाँहरूले मलाई राम्ररी सम्झाउनुभयो । खर्च गर्न नडराउन, परेमा सहयोग गर्न तयार छु भन्नुभयो ।
भद्रपुरतिरबाट मालिस गर्ने तेल र औषधि पठाइयो । लक्ष्मीमार्गबाट कुनै हरिया पात पठाइयो, खानुपर्ने । इटहरीकै आफन्तले शिलाजित, काँचो सिम्रिक र अरू अनेक पहाडी जडीबुटी किनाउनुभयो । ताप्लेजुङबाट आउनुहुँदा एक जनाले हडचुर र केके ल्याइदिनुभयो । कसैले भरेदेखि चिप्लेकीरा खानुपर्छ भन्नुभयो । कसैले चौँसुर प्रतिदिन खान भन्नुभयो । कसले अझ केके । म चुपचाप सबैको गिनिपिग भएँ । जे–जे भए पनि मान्दै गएँ । दिएको खाएँ, खपीनसक्नु तीता, दुर्गन्धी वा अमिला । खाँदैपिच्छे उल्टी होला कि भन्ने डर हुने । महमा मिसाएर, दूधमा घोलेर भए पनि खाएँ । दल्ने औषधिचाहिँ बाहिर–बाहिर मात्र दलेँ, प्लास्टरभित्रको भागलाई छोइनँ, सुरक्षित राखेँ ।
सुधार भइरहेको नै होला । प्लास्टर खोल्ने दिन अब थोरै छ । यति गर्दा पनि हाड नजोडिए अब स्टिल हाल्ने भनेका छन् डाक्टरले । म फिक्रीमा छैन ।
यतिका अस्पताल र डाक्टर हुँदाहुँदै हामी किन यति बेचैन ? किन यति आत्तिएका ? उपचारको नाममा बिरामीलाई दौडाएको दौडायै गरेर हामी बिरामीलाई किन यति दुःख दिन्छौँ ? आफू पनि किन यति दुःख पाउँछौँ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

