“हेर्नुस्, म केही गर्न सक्तिनँ । तपाईँका कागजपत्र पूरा छैनन् । तपाईँलाई भिजा दिन सकिन्न ।” भारतीय वाणिज्य दूतावासको झ्यालमा बसेकी महिलाले फेरि त्यही रटे-रटाएको वाक्य दोहोर्याई अनि अर्को नम्बरका लागि घण्टी बजाई । झ्यालको ठिक माथि झुन्ड्याएको बोर्डमा रातो रङमा अर्को नम्बर देखिन थाल्यो । शुभेन्दुका पछाडि उभिएका मानिसहरू व्यग्र हुन थाले, उनी हटिदिए उनीहरूको पालो आउने थियो भनेर ।
गएका दुई दिनभरि, बिहानदेखि साँझसम्म यसै झ्यालमा हाजिरी जनाउँदा-जनाउँदा शुभेन्दु बहुलाउन लागिसकेका थिए । आमाको मृत्युमा ठिकसँग रुन पनि पाइरहेका थिएनन् उनले । हरक्षण उनलाई अनुभूति हुन्थ्यो, कलकत्ताको गरियाहाटको घरमा आमाको लास लडिरहेको छ । उनीबाट मुखाग्नि दिइने प्रतीक्षामा, अनि यता भिजा कार्यालयका ढर्राहरू……..!
“म्याडम, हजुर किन कुरा बुझ्नुहुन्न ? म गएका बिस वर्षदेखि अमेरिकी नागरिक हुँ । मलाई सम्झना पनि छैन, मेरो त्यो पुरानो भारतको पासपोर्ट कहाँ छ भनेर । तपाईँ बिस वर्षपछि भारतको पुरानो पासपोर्ट मागिरहनुभएको छ मसित, कहाँबाट ल्याऊँ मैले ?
“हेर्नुस् सर, यो नियम दिल्लीबाट आउँछ । हामीले यसलाई अनुपालन गर्ने हो । तपाईँलाई त्यो पासपोर्टबेगर हामी भारतका लागि भिजा दिन सक्तैनौँ ।” झ्यालमा बसेकी त्यस स्त्रीको आवाज अहिले पनि शान्त थियो ।
“तपाईँलाई थाहै छ मैले किन भारत जानु छ । मेरी आमाको मृत्यु भएको छ ।”
“म केही गर्न सक्तिनँ ।”
“भन्नुहोस् न त, कसले गर्न सक्छ भनेर ….।”
“तपाईँ काउन्सल जनरल या असिस्टेन्ट काउन्सल जनरललाई भेट्नुहोस् ।”
बहुलाइसकेका शुभेन्दु झ्यालबाट हटे ।
पहिलो काम उनले घरमा फोन लगाए । राखीलाई सूचना दिए, म आज पनि खाना खान आउने छैनँ, अझसम्म भिजा लागेको छैन भनेर ।
“ए, तिनलाई भन, मेरो भोलि साँझको टिकट बुक छ । एकपल्ट एक्सटेन्ड गरिसकेँ, छ सय डलर बर्बाद भइसक्यो…….।”
“कसैले भनेको पटक्क सुने पो ।”
“अनि ? अब के हुन्छ ? कसरी जाने ? राखीको आवाज चिन्ताले आकुल थियो ।
“काउन्सल जनरललाई भेटेर हेर्छु ।”
“हजुर । भेट्नुहोस् न त । नगई भएकै छैन भन्नुहोला । अँ, त्यहाँ नजिकै म्याकडोनाल्ड छ भने यसो केही खानोस् नि ।”
“कोसिस गर्नेछु ।” उनले फोन काटे ।
उनी काउन्सल जनरलको खोजीमा निस्के । कार्यालय ठुलो छ । भर्खरै-भर्खरै नयाँ भवनमा अफिस स्थानान्तर भएको छ, यसैले अलिकति सोधपुछ गर्नुपर्यो । पत्तो लाग्यो, काउन्सल जनरल त खाना खान गएका रहेछन् । असिस्टेन्ट जनरल खुराना पनि निस्कनै लागेका रहेछन् ।
शुभेन्दु दौडिए । असिस्टेन्ट जनरललाई उनले करिडोरमै भेटे ।
“सर प्लिज ।”
“के भन्नु छ ?”
“सर, म शुभेन्दु सरकार । मेरी आमाको डेथ भयो कलकत्तामा ……।”
“म कसो गरूँ त ?” कुरा काट्तै बोल्यो मिस्टर खुरानाले ।
शुभेन्दुलाई लाग्यो त्यसको कलर पकडूँ- बेसोमती तर उनले आफूलाई सम्हाले- “सर, मलाई भिजा चाहिएको हो, कलकत्ता जानु छ । मैले आमालाई दागबत्ती दिनु छ सर । म बिस वर्षदेखि अमेरिकन सिटिजन हुँ, मेरो पुरानो पासपोर्ट मागिराखेका छन् यिनीहरू …….।”
“त्यो नबुझाईकन त भिजा मिल्दैन । हवाई यात्राको टिकट पनि देखाउनुपर्छ ।”
“मेरो टिकट भोलि साँझको छ सर । हिजै जानुपर्ने थियो तर हिजो पनि भिजा भएन, अनि आज त्यसलाई एक्स्टेन्ड गरेको, भोलि बेलुकाका लागि ।” शुभेन्दुले चार ई-टिकट खुरानाका सामु प्रस्तुत गरे ।
“ठिक छ, तर इन्डियाको पासपोर्ट सबमिट नगरीकन त भिजा लाग्न सक्तैन ।”
“सर, मलाई सहयोग गर्नुहोस्, कुनै उपाय बताउनुहोस् ।” शुभेन्दुले यथासम्भव आफ्नो मनोभावमाथि नियन्त्रण राखे ।
“हेर्नुस्, मेरो समय बरबाद नगर्नुहोस् ।” यसो भन्दै खुराना निस्कियो ।
एकपल्ट फेरि उनलाई लाग्यो, त्यस सालेलाई तानेर एक झापड हानूँ । उसको कलर पक्डेर त्यसमाथि चढेर बसूँ । साला, गधा, तेरी आमा मरेकी भए बल्ल तैँले कुरा बुझ्ने थिइस् । के म ढाँटिरहेको छु तँलाई ।
खुराना गइसकेको थियो । उनी त्यसको अफिसबाहिरको प्रतीक्षालयको कुर्सीमा गएर बसे । केही बेर त्यत्तिकै बसिरहे । के गर्नु र ? यो फर्केर आएपछि पनि अलिक राम्रो व्यवहार गर्नेवाला त छैन । यसबाट आस गर्नु नै बेकार छ । खाना खान जाने पनि मन भएन । कुनै उपाय निकाल्नुपर्ला । उनी निरुद्देश्य यताउता घुमिरहे । काउन्सल जनरलको अफिस र असिस्टेन्ट जनरलको अफिसका बिचमा करिडोरको भित्तामा पेन्टिङ थियो । भारतीय चित्रकलाको विशिष्ट नमुना । उनले एक-एकलाई अडिई-अडिई हेर्न थाले, मानौँ उनी यिनै चित्रकलाहरू हेर्नका लागि आएका हुन् । काँधमा झुन्डिइराखेको ब्यागबाट पानीको बोतल निकालेर पानी पिए । फेरि हातको फाइललाई उनले पहिलेका झैँ ब्यागमै घुसारिदिए । खाली बोतललाई फोहोर फाल्ने भाँडालाई जिम्मा दिए र फेरि काउन्सल जनरलको अफिसतर्फ हिँडे । अफिसबाहिर एउटा बुलेटिन बोर्ड थियो । शुभेन्दु त्यो पढ्न थाले ।
“अरे वाह ।” उनको दिमागमा झिलिक्क बिजुली चम्क्यो- “भोलि त बुधवार हो ।” उनका नजर हतार-हतार सूचनामा चिप्लन थाले- काउन्सल जनरलले प्रवासी भारतीयहरूका समस्याहरू सुन्नका लागि बुधवारको दिन निश्चित गरेका छन्- बिहान एघार बजेदेखि बाह्र बजेसम्म । हरेक हप्ता ।”
उनले भेट्नेछन् तिनलाई, भोलि ।
उनी घर फर्केर आए । राखी उनलाई देखेर एकछिन त छक्क परी । प्रश्नाकुल आँखाले हेरी र आफैँ कुरा बुझिहाली, भिजा आज पनि लागेन । के भनोस् आज राति आफ्नी नन्द गोपालाई ? भोलि त तेस्रो दिन हो । कहिलेसम्म राख्ने आमालाई छोराबाट मुखाग्निको प्रतीक्षामा ? राख्नु ठिक हो र ? गोपाले बिहे गरेको भए त ज्वाइँसाहेबले पनि मुखाग्नि दिन सक्नुहुने थियो, तर उनलाई त आफ्नो जागिर खानु मात्र छ । आमा कहिलेसम्म साथैमा रहनुहुन्थ्यो र, जानुभयो ।
“भोलि लाग्छ भिजा ।” शुभेन्दुले राखीलाई ढाडस दिए ।
“ए ।”
अनि शुभेन्दुले पूरै दिनको खबर र काउन्सल जनरलसँग भेट्ने योजना बताए ।
“तपाईँ किन खोजीनीति गर्नुहुन्न खासमा किन यिनलाई पुरानो पासपोर्ट चाहिन्छ भनेर ?”
“सोधेकै हुँ । भन्छन्, जन्ममितिको प्रमाण चाहियो रे ।”
“अमेरिकाको पासपोर्टमा लेखेकै छ त ।”
“हत्तेरिका । पागल छन् ती सब ……।”
“आज वासिङटनबाट मीराको फोन आएको थियो । ऊ भन्दै थिई, पूरै अमेरिकामा सारा दूतावास यस्तै छन् र सबै ठाउँमा यस्तै गरी दुःख दिन्छन् । पोहोर उसका ससुरा बितेका थिए । उनीहरूसँग भारतको पुरानो पासपोर्ट थियो, उनीहरूले त्यो बुझाए पनि, तर उनीहरूले उनलाई अमेरिकन पासपोर्टका साथ नेचुरलाइजेसन सर्टिफिकेट मागिराखेका थिए । त्यो थिएन, हराएको थियो । उनीहरूले हार खाएर त्यसका लागि पनि निवेदन हाले तर त्यो पाउन त नब्बे दिन लाग्थ्यो । अनि अन्तमा त्यस रसिदको प्रतिलिपि देखाए, निवेदन दिएको छ भनेर । बल्ल इमर्जेन्सी भिजा दिए । तपाईँ पनि दस वर्षको भिजाको साटो इमरजेन्सी भिजा माग गरेर हेर्नुस् न ।”
“अनि त्यत्रो फिस तिरेको छ, त्यो त सब यिनका खल्तीमा जान्छ नि ।”
“के गर्नुहुन्छ त, खोलामा गयो भनेर सम्झनुहोस् । तपाईँलाई आफ्नो भिजा चाहिएको छ, हैन ? मेरो, राखाल र सुमितको भारतको भिजा अझै समाप्त भएको छैन । मीराका मान्छेहरूको पनि यसै गरी फिस त धेरै खेर गयो रे । टिकट एक्स्टेन्ड भयो, हाम्रै जस्तो ।”
यिनीहरूले तमासा सम्झेका छन् । दूतावासको बाहिर धर्ना दिऊँ भने हाम्रो इमेज खराब नगर भन्छन्, काम गर्ने वेला आएपछि भन्छन्- “म के गरूँ ? साला खुराना ……” शुभेन्दुको रिस अझसम्म मरेको थिएन ।
अस्तिकै हप्तादेखि उनी त्यसै पनि उत्पातै उद्विग्न भइरहेका थिए । जबदेखि उनको कम्पनीमा सिनियर म्यानेजरको रूपमा पदोन्नति भयो, काम पनि यति बढेको थियो कि घर आएपछि पनि अफिसको काममै अल्झिइरहन्थे । राति बाह्र बजेभन्दा पहिले त कहिल्यै ओछ्यानमा पुग्न पाउँदैनथे र बिहान आठ नबजी घर छोड्नुपथ्र्यो । गोपा लगातार उनलाई आमाका बारेमा भनिरहेकी थिई । आमाको स्वास्थ्य उमेरका हिसाबले त्यति सारो खराब पनि त थिएन नि, उनले यस्तो आकस्मिक विपत्तिकै आशङ्का पाल्नुपर्ने गरी ।
गोपाको फोन रातमा बज्यो- “भर्खरै दिउँसो एघार बजे आमा जानुभयो …..।”
यता रातको डेढ बजेको थियो । निद्राबाट बहुलाउँदै उठे उनी । राखीलाई उठाए । राखाल र सुमित निदाइरहे ।
“कहिले आउनुहुन्छ नि ?” रुँदैरुँदै बहिनीले प्रश्न गरी । जानु त उनले थियो नै । आफ्नी आमाका उनी एक्ला छोरा । उनैले आमालाई मुखाग्नि नदिए कसले दिने त ?
“अब तुरुन्तै टिकट बुक गरिहाल्छु । भोलि बिहान भिजा बनाउँला । फोन गर्दै गर्छु नि ।” उनले छोटो उत्तर दिएर फोन राखे ।
निद्रा भागिसकेको थियो । आमासँग गाँसिएका सारा स्मृतिहरू एकएक गरेर शिर उठाइरहेका थिए । यन्त्रचालित आधा निद्रामा उठेर उनी आफ्नो अफिस कोठामा गए, टेबलमा राखेको ल्यापटप उठाए र लिभिङ रुममा सोफामा गएर बसे । कम्प्युटरमा यात्राको समय हेर्दै र तुलना गर्दै रहे, कुन एयरलाइनबाट सबैभन्दा चाँडो पुग्न सकिने हो भनेर । पूरै परिवारका लागि टिकट बुक हुँदा बिहानको चार बज्न लागेको थियो ।
राखीलाई यात्राको व्यवस्था गर्न भनेर अह्राइसकेपछि उनी एकाबिहानै भारतीय दूतावासको भिजा कार्यालयमा आफ्ना जरुरी कागजातका साथ लाइनमा लागिसकेका थिए । अफिसमा इमेलबाट सूचना पठाए, आफ्नो बोसको इमेल उनले लाइनमा उभिई-उभिई आफ्नो फोनमा पढे । उनको छुट्टीको स्वीकृतिका साथै समवेदना सन्देश पनि । उनलाई राम्रो लागेको थियो, अमेरिकनहरू यस्ता औपचारिकताहरू पूरा गर्नमा कहिल्यै पनि ढिलो गर्दैनन् तर यता आफ्नो खुराना ….? मलाई खेद छ भन्नु त कता हो कता, ऊ भन्छ- “तेरी आमा मरिछ त मैले के गर्नु ?”
उनी रात गएको धेरै बेरसम्म ओछ्यानमा पल्टेरै जागा रहिरहे । गोपासँग कुराकानी गरे, भने- “एक दिन अरू लाग्ने भयो ।” मनमनै योजना बनाइरहे- “एकपल्ट भिजा पाइयोस् मात्र न, भारतबाट फर्कनासाथ खुरानाका विरुद्ध हस्ताक्षर अभियान चलाउनेछु । धर्ना बस्नेछु, दूतावासबाहिर, गुजराती समाजले गरेजस्तै गरी ।” त्यसै वेलादेखि त हो काउन्सल जनरलले यो बुधवारे मिटिङ सुरु गरेका । आफ्नो छवि सुधार्नका लागि । साले, त्यसका मनमा एउटा भद्दा गाली उम्लियो, उनले त्यो पनि मनैमा दबाए । राखीले यात्राका लागि सम्पूर्ण तयारी गरिसकेकी थिई । सहरमा सारा मित्र र परिचितहरूलाई सूचित गरिसकेकी थिई- उसको घरमा नजर राखिदिऊन् । लगभग एक महिना उनीहरू बेपत्ता हुनेछन् । आज पनि बिहानैदेखि मित्रहरूको फोन आउन थालेको थियो । भिजा पाइयो ? आज जाने हो ? अच्छा, शुभेन्दु कन्सुलेट कहाँ गए ? उनलाई भनिदिनू आफ्नो बोसबाट एउटा चिठी लेखाइमाग्न भनेर, ता कि उनी पक्कापक्की जाने भएका हुन् भनेर । उनकी आमा पक्कापक्की मरेकै हुन् भनेर । कुनै पत्रिकामा सूचना छापिएको छ भने देखाउनका लागि कम्प्युटर प्रिन्टआउट लिइहाल्नू भनेर । जो पनि उनीहरूलाई आफ्नो अनुभवबाट सल्लाह दिइरहेका थिए ।
मलाई त भिजा अन्तसम्म पनि मिलेन । मेरी सासूको डेथ भएको थियो । नीलेश गए, उनी अझैसम्म भारतकै नागरिक हुन्, तर मलाई दसौँ दिनसम्म दौडाइरहे । अन्तमा नीलेशले भनेका थिए, आइरहनु जरुरी छैन । सारा क्रियाकर्म भइसक्यो, म आफैँ फर्केर आउन लागेको ।- सानफ्रान्सिस्कोबाट अरुन्धतीले भनिन् ।
मेरा पिता त बडा हस्ती हुनुहुन्थ्यो, तिमीलाई थाहै छ । उहाँको मृत्युको खबर अखबारहरूमा छापिएको थियो । कम्प्युटरबाट अखबारको प्रिन्टआउट निकालेका थियौँ । लिएरै गएका थियौँ तर पनि एक हप्ताको दौडधुपपछि बल्ल इमर्जेन्सी भिजा दिएर पठाए । हामी पुग्दासम्ममा त सबै थोक भइसकेको थियो । यस्तो देखियो, मानौँ अनुहार देखाउनका लागि गएका थियौँ हामी । हाम्रो पनि नेचुरलाइजेसन सर्टिफिकेट हराएको थियो । यति थोक कसले राख्न सक्छ र यार ?- अटलान्टाबाट शकुन बोली ।
दिवाकर त त्यस घटनाको एक वर्षपछिसम्म पनि पागलजस्तै भइरह्यो- साला खुराना, तपाईँले नगई हुँदैन भन्ने के प्रुफ छ भनेर मलाई पो भन्दो रहेछ । एयर टिकट देखा अरे । मैले भनेँ- “एयर टिकट बुक गरूँ अनि तैँले भिजा दिइनस् भने डेढ हजार डलर तेरा बाउले तिर्छ ?” मलाई त कति हो कति रिस उठ्यो भन्या ।
हाम्रो त छ सय डलर बरबाद भइसक्यो । टिकट एक्स्टेन्ड गरेको छ । इमर्जेन्सी भिजा दिए पनि त दस वर्षको भिजाका लागि आवेदन दिएको यो फिस पनि बरबाद हुने नै भयो । राखीको काँतर आवाज फोनमा गुन्जियो ।
“विस यु लक ।”
“थ्याङ्क यु ।”
राखीले फोन राखिदिई । ऊ सबैका कहानी सुन्दा-सुन्दा हडबडाएकी थिई । कोही त शुभ-शुभ बोलोस् । शुभेन्दु पनि तीन दिनदेखि दौडिरहेका छन् । न ठिकसँग खान्छन् न सुत्छन् । आमाको देहान्तको दुःख त अलग्गै । उसले सोची अब कसैसँग पनि कुरा नगर्ने । शुभेन्दु दूतावास गइसके । दिनको एघार बज्न लागेको छ । ऊ खाना बनाउनेछे, अनि त्यति बेरसम्म फोन उठाउने छैन जबसम्म शुभेन्दुको फोन आउँदैन ।
शुभेन्दु दूतावासमा काउन्सल जनरल चोपडाको अफिसमा बसेका थिए । चोपडाकै सामु । उनले ज्यादा पर्खनु परेन । चोपडालाई भेट्नका लागि उनी पहिलो नम्बरमा थिए र उनका पछाडि अरू दुई जनाजति मानिस मात्र थिए । यस नयाँ व्यवस्थाको जानकारी सायद अझै मानिसहरूलाई थिएन, उनी सोचिरहेका थिए । कोठामा अरू पनि केही मानिस थिए । क्यामराका साथ, उनको पीठपछाडि । एक व्यक्ति चोपडाबाट अलिक टाढा हटेर बस्यो । कलम र कागजका साथ ।
गतिलो सुटमा सजधज गरेको, औसत उचाइ, अधबैँसे उमेरको, अगाडिबाट तालु खुइलिएको, औसत नाकनक्सा भएको, शुभेन्दु उनलाई गौर गरेर निरीक्षण गरिरहेका थिए । यस मानिसले पनि उनको काम गरिदिने हो कि होइन भनेर हिसाब गर्न कोसिस गरिरहेका थिए उनी । आफूतिर यसरी उनले हेरिरहेको देखेर चोपडा मुसुक्क मुस्कायो । आफ्नो कुर्सीबाट उठेर उसले टेबलको अर्कोपट्टि बसेको शुभेन्दुसँग हात मिलायो- “गुड मर्निङ ।”
“गुड मर्निङ ।”
“तपाईँ को हुनुभो नि ?”
“म शुभेन्दु सरकार ।”
यसपल्ट उसले घुरेर हेर्यो । शुभेन्दुलाई सम्झना भयो- यो मानिस जान्न चाहन्छ, उसको कार्यालयमा आएर गुनासो गर्ने हिम्मत यसलाई कहाँबाट आयो, यसका पछाडि को-को लागेका छन्, यसको तागत के छ ? तर उनी त शुभेन्दु सरकार स्वयं थिए, जन्मले भारतका र अब अमेरिकाका नागरिक । उनको परिचय यत्ति मात्र हो, झुटो किन बोल्नु र ?
“किन आएको त ?” यसपल्ट बिलकुलै रुखो स्वर आयो ।
शुभेन्दुले आफ्नो समस्या भने ।
“मलाई खेद छ, तिम्री आमा बित्नुभएकामा । मेरो समवेदना तिमीलाई ।” लेख्ने मानिसले नोट गर्यो । “तिमी यसो गर, इमर्जेन्सी भिजा लेऊ । छ महिनाका लागि हुन्छ, तिम्रो काम चलिहाल्छ ।”
गएका तीन दिनदेखि भिजाका कागजात हेर्ने प्राइभेट एजेन्सी र दूतावासका बिच दौडिँदा-दौडिँदा, मित्रहरूका कहानी सुन्दा-सुन्दा शुभेन्दुका ज्ञानचक्षु खुलिसकेका थिए । उनी इमर्जेन्सी भिजाको आवेदनपत्रका साथमा चोपडाको अफिसमा हाजिर भए । प्राइभेट एजेन्सीद्वारा “अग्रसारित” को छाप उनका कागजहरूमा थियो ।
चोपडाले उनका कागजहरूमा हस्ताक्षर गरिदिए । क्यामरा चम्के । चोपडाले मुस्काएर फेरि उनीसँग हात मिलाए- “ह्याभ अ सेफ जोर्नी ।”
“थ्याङ्क यु ।”
क्यामरा फेरि चम्के । लेख्ने मानिसको कलमले कागजमा केही अक्षर अरू पनि थप्यो ।
उनी कोठाबाट बाहिर निस्के । फर्केर हेरे, उनले कुरा बुझे, पूरा भिडियो रेकर्ड चलिरहेको रहेछ । भोलिको पत्रिकामा यो समाचार हुनेछ । उनको पिठ्युँ र चोपडाको चेहरा हुनेछ । भाडमा जाऊन् सब ।
उनलाई साँझको चार बजे भिजा मिलेको थियो । भोकैतिर्खै र थकित उनी परिवारका साथ आफ्नो फ्लाइट पक्रनका लागि एयरपोर्टतिर दौडेका थिए ।
साँझ सात बजे प्लेनमा चढेपछि उनले गोपालाई फोन गरे- “हामी प्लेनमा चढ्यौँ है ।”
“लासबाट दुर्गन्ध आउन थाल्यो । हामीले आमाको संस्कार गरिदियौँ । बाँकी कुरा त तिमी आउँदै नै छौ…..।”
शुभेन्दुले आफ्नो कुनाको सिटमा बसेर आधा चेहरा रुमालले ढाकेका थिए । उनी प्लेनको झ्यालतर्फ मुख गरेर क्वाँक्वाँ रोइरहेका थिए ।
============
लेखक परिचय – इला प्रसाद
सन् १९६० मा भारतको झारखण्ड राज्यको राँची सहरमा जन्मेकी इलाप्रसाद कहानीलेखन र कविताका लागि प्रसिद्ध छिन् । “यस कहानीको अन्त्य छैन” र “त्यस स्त्रीको नाम” कथासङ्ग्रह एवं “गर्मीका टुक्रा” कवितासङ्ग्रहले प्रसादलाई भारतीय साहित्य- त्यसमा पनि हिन्दी साहित्यमा महत्त्वपूर्ण स्थान दिलाएका छन् । अमेरिकाको टेक्सास राज्यमा बसोवास गरिरहेकी कथाकार इलाप्रसादका लेखनमा भारतीय जनजीवन तथा प्रवासी भारतीयहरूका जटिलताहरूको चित्रणमा विशिष्टता छ ।
अनुवादकको परिचय – प्रस्तुत कथा मूल हिन्दीबाट नेपालीमा दिनेश पौडेलले अनुवाद गरेका हुन् । इटहरीनिवासी दिनेश पौडेल मूलतः नेपाली साहित्यिक कृतिहरूको भाषासम्पादक हुन् । उनी नियात्रा र कथामा कलम चलाउँछन् । वि.सं. २०७४ मा प्रकाशित उनको उपन्यास “सीमारेखा” एक सशक्त आख्यानकृति हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।