
मैले विभिन्न यात्राका पचासौँ टुक्रे भिडियो युट्युबमा राखेको छु, ती सबको लिङ्क आफू जोडिएको ग्रुपमा राखेर फोहोर पारूँ ? हुँदैन । मेरी छोरीले गतिलो नोकरी पाई भन्ने समाचार राखूँ ? हुँदैन ।
…
मेरा केही बन्धु र मित्रहरू हुनुहुन्छ जसले दिनहुँ गुड मर्निङको मेसेज पठाउनुहुन्छ । झन्नै पाँच हजार फेसबुक फ्रेन्ड भएको मेरा लागि यो अत्यन्त अनावश्यक सूचना हो । मैले ती सबैलाई यस्तो मेसेज पठाएँ वा हरेकलाई गुडमर्निङ भन्न थालेँ भने मेरो एक घण्टा त्यसैमा बित्नेछ । प्रदेशभरि मरेका मान्छेलाई हार्दिक श्रद्धाञ्जलि लेख्ने, तिनका परिवारजनलाई हार्दिक समवेदना पोख्ने, तिनको सङ्क्षिप्त जीवनी फोटोसहित फेसबुकमा स्टाटस राख्ने, विवाह गरेर भर्खरै फोटो अपलोड गर्ने प्रत्येकलाई वैवाहिक जीवनको शुभकामना दिने, हरेकलाई विवाह वार्षिकोत्सव, छोराछोरीको जन्मोत्सव, परीक्षा पास गरेमा वा जागिर पाएमा बधाई, नयाँ व्यवसाय शुरु गरेमा शुभकामना दिँदै जाने हो भने मेरा लागि अरू कुनै कामका लागि समय बाँकी रहनेछैन ।
मेरा चिनारुले इन्स्टाग्राम, युट्युब आदिमा राखेका हरेक सामग्री हेरेर उचित प्रतिक्रिया जनाउने हो भने मलाई तीस घण्टाको दिन चाहिनेछ । त्यसमाथि धनकुटा, धनगढी, नुवाकोट वा पाल्पा भ्रमणमा जाने, गाउँको फलानो सहकारी संस्थाको ‘सदस्यजस्तो गरिमामय पद’मा निर्वाचित हुने, बाबुआमाको श्राद्ध गरेको फोटो अपलोड गर्ने प्रत्येकलाई समुचित कमेन्ट गर्ने हो भने मेरो अलिअलि बचेखुचेको समय र सामर्थ्य पूरै सकिन्छ ।
म निकैवटा पारिवारिक, सामाजिक, साहित्यिक, वर्गीय, पेशागत संस्थासँग सम्बद्ध छु । यस्ता सङ्गठनमा नजोडिने हो भने समाजमा बाँच्न कठीन पर्छ । अनि यी हरेक समूहका आफ्नै मेसेन्जर ग्रुप, फेसबुक पेज हुन्छन् । तिनमा सयौँ सदस्य हुन्छन् र प्रत्येक सदस्य आफ्नो उपस्थिति वा सक्रियता प्रदर्शनका लागि स्टाटस या मेसेज ठेलिरहन्छन् । अभिव्यक्तिकला प्रदर्शन गर्न वा वैचारिक तर्क–वितर्कमा अग्लो देखिनका लागि हरेक व्यक्ति त्यहाँ खुट्टा उचाली–उचाली उभिइरहेको हुन्छ, चिच्याइरहेको हुन्छ ।
हामी टेलिफोन र इन्टरनेटका कारण यसबेला विश्वको सूचना र सञ्चारको सबैभन्दा ठूलो चौबाटामा उभिएका छौँ । सूचनाको बाढी चारैतिर बढिरहेको छ । तर मेसेन्जर, इन्स्टाग्राम आदि सामाजिक सञ्जालका अनेक ग्रुपमा जोडिने लोभ, फेसबुक, युट्युब, लिङ्क्ड इनहरूमा गरिने फलो आदिले हामी चौबीसै घण्टा अनावश्यक सूचनाको ल्यान्डफिल साइट बनिरहेका हुँदा रहेछौँ । हो, हामी ती ग्रुपमा विभिन्न जानकारी पाइरहने लोभले जोडिएका हुन्छौँ । तिनीहरू कुनै एक बेलाका लागि लाभदायक भए पनि छिटै तिनबाट हामी पीडित हुन थाल्छौँ । हुँदाहुँदा यति धेरै किचिन्छौँ कि हामी निसास्सिइसकेको पनि थाहा हुँदैन ।
हामी जोडिएका ग्रुपहरूमा धेरै पोस्ट भएमा थाहा नपाई नहुने कुरा स्क्रोलमा पर्न जान्छन्, जब कि विनाकामका वा हाम्रो मनोदशालाई बिथोल्न पुग्ने सूचनाले हामीलाई कोट्याइरहेका हुन्छन् । भनौँ न, हामीलाई सर्पले डसेमा के गर्ने, तरकारीमा बढी नुन परिहालेमा कसो गर्ने, छोराछोरीले ढाँट्न थालेमा कसरी सुधार्ने, यसपालिको धान्यपूर्णिमा कहिले हो, विश्वको सबैभन्दा पहिलो रेकर्ड कुन आवाजको गरियो, अनारका दाना कसरी छोडाउने, कपडामा लागेको दाग कसरी हटाउने, निरन्तर रुघा लागिरहे के–के विचार पुर्याउने, ओस्टियोपोरोसिस वा अल्साइमर्सबाट जोगिने तरिका के होला, धनी बन्ने सरल सूत्र के हुन्, घडेरी किन्दा विचार पुर्याउनुपर्ने कुरा के–के हुन्, अचेल ट्रेन्डमा रहेको अन्डर–कन्जम्सन र मिनिमालिस्ट थ्योरीको सम्बन्ध के छ, “त्वमेव माता च पिता त्वमेव….” कसले कसलाई भनेको हो, चीनले गरेको कृषिक्रान्ति र युक्रेन–रुस युद्ध कसरी अघि बढिरहेका छन्, अमेरिकाको नयाँ करनीतिले नेपाललाई नाफा–घाटा के होला आदि हरेक विषयका जानकारी काम लाग्छन् ।
सामाजिक सञ्जालमा आउने सबै खबर सत्य हुँदैनन्, सबै जानकारी प्रमाणित हुँदैनन् । सबै जानकारी आवश्यक पनि हुँदैनन् । मानिसहरूको काम छैन, र जे मन पर्यो त्यो सेयर गरिदिन्छन् अनि पीडा तपाईँलाई पर्छ । मानिसहरूको काम छैन र हरेक दिन दुइटा क्यान्सर पीडित महिला वा बालिकाका लागि क्युआर कोडसहित चन्दा मागिदिन्छन्, भेटिएको बालकको बाबुआमा खोज्न मद्दत मागिदिन्छन्, यस्ता स्टाटस सेयर गरेर आफू महान् समाजसेवी बनेर हामी जोडिएका ग्रुपको मेसेज बक्समा हालिदिन्छन् ।
आफूले गाएको गीतको लिङ्क, कुनै भिडियो लाइक र सेयर गरिदिनुहुन अनुरोध गर्ने अनि छोराछोरी कुनै कम्पिटिसनमा छन् तिनलाई भोट माग्नेहरू इन्टरनेटभरि लाइन लागिरहेका हुन्छन् हामीकहाँ आइपुग्न । तिनीहरूलाई यसो नगर्न अनुरोध गरौँ । हामी त्यस्ता कुनै ग्रुपका एडमिन छौँ भने अनावश्यक समाचार पोस्ट वा सेयर गर्न नदिऔँ । यसो गर्नेहरू मानसिक रोगी हुन् भनेर सहानुभूतिपूर्वक तिनलाई रोकौँ, अटेर गरे त्यस्ता सदस्यलाई ससम्मान समूहबाट बिदा गरौँ ।
प्रत्येक चिनारुका जन्मदिन र विवाह वार्षिकोत्सवमा बधाई शुभकामना दिने, प्रतिदिन कुनै न कुनै प्रसङ्गको फोटो अपलोड गरेर कमेन्ट अनि लाइकको अपेक्षामा मेसेज पठाउने, सबैलाई प्रतिदिन मेसेन्जरमा गुड मर्निङ लेखेको स्टिकर पठाउने व्यवहार बन्द गरौँ । यो अति हो । हामी धेरैले अनावश्यक कुरा आफ्नो समूहमा पोस्ट गरेमा के विषयमा कसले के पोस्ट गर्दै छ सबै सुन्न, हेर्न र पढ्न असम्भव हुन्छ । हाम्रो सिर्जनशीलता समाप्त हुन्छ ।
मलाई कसैले पनि आफूले मन परेको भिडियोको लिङ्क पठायो भने झर्को लाग्छ । मैले विभिन्न यात्राका पचासौँ टुक्रे भिडियो युट्युबमा राखेको छु, ती सबको लिङ्क आफू जोडिएको ग्रुपमा राखेर फोहोर पारूँ ? हुँदैन । मेरी छोरीले गतिलो नोकरी पाई भन्ने समाचार राखूँ ? हुँदैन । श्रीमतीको जन्मदिनको उपलक्ष्यमा फोटो हालेर उनको प्रशंसामा एक प्याराग्राफ लेखूँ ? हुँदैन । मेरो घरअगाडि भयानक दुर्घटना भयो, मेरो मिल्ने छिमेकी सख्त घाइते भयो, अनि ऊ अस्पतालमा छटपटाइरहेको छ । त्यो मेरा लागि ठूलो विषय हो । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै त्यो समाचार सम्बन्धित व्यक्तिको स्तब्ध पार्ने फोटोसहित मेरा आफन्तजनको मेसेन्जर वा त्यस्तै ग्रुपमा हालूँ ? हुँदैन । त्यसो गरेमा सम्बन्धित ग्रुपमा मेसेजको बाढीले सदस्यहरूका साझा सरोकारका वा थाहा नपाए नोक्सान हुने समाचार पोस्ट गरेको पनि स्क्रोल भएर जानेछ ।
म अनुरोध गर्छु, विशेष प्रयोजनका लागि बनाइएको ग्रुप हो भने त्यहाँ कसैले आफूलाई मन परेको गीतको लिङ्क नदिऔँ, आफूले मन लागेर नाचेको नाच नराखौँ । आफ्नो घरमा आयोजित पूजाआजामा निम्ता या पुराण कार्यक्रमको भिडियो नराखौँ । दशैँ–तिहार वा विवाह–व्रतबन्धको उपलक्ष्यका फोटो भिडियोहरू असम्बन्धित ग्रुपमा नराखौँ । तिनका लागि अन्य उपयुक्त फोरममा राख्न सकिन्छ । आफ्नो वालमा राखे वा सम्बन्धित व्यक्तिलाई मात्र पठाएमा अन्य कसैलाई बाधा पुग्दैन । आफ्नो युट्युब च्यानल, इन्स्टाग्राम आदिमा राखे सहज हुन्छ । खोजी गर्नेले त्यो खोज्नेछन् ।
उदाहरणका लागि म पौडेल महासङ्घको केन्द्रीय सदस्य हुँ र त्यस समितिका सूचना र जानकारीहरू सदस्यबीच राख्न सहज होस् भन्नाखातिर फेसबुकमा एउटा मेसेन्जर ग्रुप बनाइएको छ । त्यहाँ देश–विदेशका सय जति प्रतिनिधि सदस्य जोडिएका छौँ । देशभरका पौडेलहरूको घरमा हुने मृत्युमा दिइने श्रद्धाञ्जलि, व्रतबन्ध र विवाहमा दिइने शुभकामना, दुर्घटनामा दिइने समवेदना, र समितिका सदस्यको जीवनका महत्त्वपूर्ण घटना एवम् विषयहरू राखिन्छ । कसैले शिव वन्दना, कृष्ण–भजनहरूका लिङ्क राखिदिन्छन् । एक–दुई छन् तिनको सायद अरू केही काम छैन र दिनहुँ गुड मर्निङ भन्ने स्टिकर टाँस्छन् । यस्ता सूचना सबैको सरोकारका विषय हुँदैनन् र तिनको वास्ता गरेर साध्य पनि हुँदैन । यसो भएपछि महासङ्घले पठाउनुपर्ने महत्त्वपूर्ण सूचना र जानकारी नोटिफिकेसनको बाढीमा कतै डुब्छन् र हराउँछन्, हाम्रो नजर पुग्दैन ।
हामी सबैसँग संसारलाई सुनाऊँ–सुनाऊँ लागेका हजारौँ कुरा छन् । ती सबै भन्न पाउनुपर्छ । तर सामाजिक सञ्जालको एकै ग्रुपमा त्यसो गरेमा कसैले कसैको कुरा सुन्न सम्भव हुनेछैन । दिनको पचासवटा नोटिफिकेसन एउटै ग्रुपबाट आउन थाले कहाँ भाग्ने ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

