
जलवायु परिवर्तन जस्तै
परिवर्तित देक्छु आजकल तिमीलाई
तिमी कहिले अति तातिन्छौ
कहिले अति चिसिन्छौ।
तिम्रो मन
बन्-जंगलमा डढेलो लागेको जस्तै देख्छु
तिम्रो तन
गहिरो पैरोमा भासिएको जस्तै देख्छु।
आजकल
समुद्रको सतह बढेजस्तै
तिम्रो उच्छृङ्कला बढेको देख्छु
तिमीमा ईर्ष्याको उत्सर्जन् अनि
धैर्यको बाँध फुटेको देख्छु।
आजकल
हिमशिखर पग्लिएर ताल भरिएजस्तै
तिम्रो नयन रसाएर
हिउँदमा पनी खहरे उर्लेको देख्छु
बायुमन्डलमा हरितगृह ग्याँस भरिएजस्तै
तिमीमा तृष्णा चढेको देख्छु।
आजकल
चुरे पर्वत भूक्षयग्रस्त बनेर
मधेस डुबानमा परेजस्तै
बैंसालु ईच्छाहरू सबै लुकाएर
गहिरो चिन्तामा डुबेको देख्छु
कसैले तटबन्धन निर्माण गरिदिएर
तिम्रो जीवनको धार अन्तै मोडिदियो कि ?
किन हो? दु:खका भेलहरू सबै
तिम्रै ऑगनतिर पसेको देख्छु ।
त्यसैले
आऊ नदी किनार
तिम्रो तापक्रम घटाएर
तिमीलाई शितल पृथ्वी बनाउनु छ ।
त्यसैले
आऊ एउटा ईको-डेटिंगमा
तिमीलाई काठमान्डौमा भेट्नुपर्ने छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ माघ २०८२, बुधबार 










