साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जोन ग्रिसमका थ्रिलर किन लोकप्रिय छन् ?

Chovar Blues Mobile Size
John Grisam

 

जोन ग्रिसमका थ्रिलर किन लोकप्रिय छन् ?

१९८४ ताका २९ वर्षीय जोन ग्रिसम अमेरिकाको मिसिसिपी राज्यस्थित हर्नान्डोको डेसोटो नामक सानो शहरस्थित अदालतमा काम गर्ने वकिल थिए। त्यो अदालतमा काम गर्दै जाँदा जब उनले एउटा घटना र त्यससम्बन्धी अदालती प्रक्रिया देखे, त्यसले उनको जीवन नै परिवर्तन गर्यो। मिसिसिपीको त्यो दूरदराजको इलाकामा दुई किशोरी दिदीबहिनीमाथि आक्रमण मात्र गरिएको थिएन, उनीहरू बलात्कृत समेत भएका थिए ।

कार्यालयबाट केही किलोमिटर टाढाको फार्महाउसमा घटेको त्यो दुर्दान्त घटनाका बारेमा १२ वर्षीया बालिकाले दिएको पीडादायी गवाही सुनेपछि ग्रिसमको दिमागमा कथा घुम्न थाल्यो । पीडिता बालिकाका बुबाले अदालतलाई छाडेर आफैँ न्याय दिने वा बदला लिने निर्णय गरे भने के हुन्छ भनेर सोच्न थाले। त्यस क्षणमा, ग्रिसमको डेब्यु थ्रिलर ‘ए टाइम टु किल’को बीउ रोपिएको थियो।

“मैले झिल्को देखेको छु किनभने म सही समयमा सही ठाउँमा पुगेको थिएँ,” अहिले ६७ वर्षका ग्रिसम भन्छन्, “धेरै वकिलहरू राम्रो कथाकार हुन् किनभने तिनीहरूले धेरै पागल व्यवहार देख्छन्। मैले पहिले कहिल्यै लेखेको थिइनँ। कहिल्यै सोचेको पनि थिइनँ, लेखूँला भनेर तर मैले एउटा गज्जबको कथा कस्तो हुन्छ भन्ने चाहिँ थाहा पाएको थिएँ ।”

यसरी उनको पहिलो थ्रिलर उपन्यास अ टाइम टु किल सन् १९८८ मा प्रकाशित भयो र एउटा साहित्यिक करियरको शुरुवात गर्‍यो । यसले उनलाई विश्वकै सबैभन्दा धेरै बिक्री हुने लेखकहरूमध्ये एक बनाउन पुग्यो । उनका पुस्तकहरू विश्वभर ३०० मिलियन प्रतिहरू बिक्री भएका छन् । विगत तीन दशकमा लगातार २८ वर्षसम्म बेस्टसेलरहरू किताबहरू लेख्नु चानचुने कुरा होइन । उनको प्रथम उपन्यासले राम्रै व्यापार गरे पनि जीवनकै स्वादिलो सफलता चाहिँ सन् १९९१ मा बजारमा आएको उनको दोस्रो उपन्यास ‘द फर्म’ले दिलायो । यो उपन्यास एक जना महत्त्वाकांक्षी युवा वकिलका बारेमा छ, सफलताको भोकले ऊ संगठित अपराधको संसारमा भासिन पुग्छ । यो उपन्यासको बेस्टसेलर सूचीमा ४७ हप्ता बितायो र १५ लाख प्रतिभन्दा बढी बिक्री भयो । अझ १९९३ मा त टम क्रुज र जीन ह्याकम्यानले सो उपन्यासमा आधारित फिल्ममै अभिनय गरे । यसपछि पनि उपन्यासको बिक्री अझ चुलियो ।

sagarmani mobile size

“यो उपन्यास यति सफल भयो कि यसले मलाई कमाउनुपर्ने बाध्यताबाट मुक्त गर्यो,” ग्रिसम सम्झन्छन्, “यसले साँच्चिकै तीव्र गतिमा बजारमा पकड जमायो, लोकप्रिय भयो । झन् चलचित्र बनेपछि त बिक्री संख्या झनै बढ्यो । यसपछि मलाई वकिल पेसाबाट दिक्क लाग्न थाल्यो । लेखेरै म धेरै पैसा कमाउन सक्छु भने, अल्छीलाग्दो काम किन गरूँ ? महसुस गरेँ ।”

ग्रिसमको जन्म ८  फेब्रुअरी १९५५ मा अर्कान्सस राज्यको जोनेसबोरोमा भएको थियो। उनी पाँच सन्तानमध्ये माइला थिए । उनका बुवा खेती किसानी गर्थे । कपासका लहलहाउँदा खेतमा उनी हुर्किए । उनी सानो छँदा बुबालाई खेतमा कपास उठाउन मद्दत गर्ने गर्थे । किशोरावस्थामा भने ग्रिसमले नर्सरीमा गुलाबको झाडीमा पानी हालेर घण्टाको एक डलर कमाउने गर्थे । उनका लागि यो एक डलरको कमाई कम मूल्यवान् लाग्दैन अहिले पनि ! यसपछि उनले कयौँ कामहरू गरे । यी सबै कामका पछाडि आफूले कलेज पढ्ने खर्च आफैँ बनाउनु थियो । यस्तै कामबाट जोगाएको पैसाले उनले १९८१ मा उनी कानुनको स्नातक बने । स्नातक भएपछि उनी वकिलका रूपमा काम गर्न साउथवेन शहर फर्किए ।

वकिलका रूपमा उनी काम गर्नुको एउटै मात्र उद्देश्य सर्वसाधारणलाई सहयोग गर्नु् थियो । तर अमेरिकी कानुनी प्रणालीका अनेकन अप्ठेराका कारण उनको सपना चकनाचुर भयो । त्यहाँ गरिब, दुःखीलाई न्याय दिलाउने बाटो कठिन र लामो देखे । त्यो लामो र कठिन बाटो सहज बनाउनका लागि कानुनै परिवर्तन गर्नुपर्ने उनले आवश्यकताबोध गरे । त्यसैले कानुनी काम पनि नछोडी उनी मिसिसिपी राज्यको स्थानीय सांसद हुन अघि सरे र डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी दिए । उनले १९८३ मा जिते पनि । यसपछिका दिनमा उनले कानुन सहज बनाउन, त्यसलाई परिवर्तन गर्न निरन्तर रूपमा स्थानीय अखबारमा लेखिरहे ।

उनको मुख्य रूचिको विषय अपराध कानुन थियो । यसलाई सुधार गर्न अनेक प्रयास गरे पनि उनी एक्ला वृहस्पति भए । उनी भन्छन्, ‘यी ३० वर्षमा पनि हाम्रो कानुनमा उति धेरै परिवर्तन भएको छैन । जसका कारण हजारौँ निर्दोष सर्वसाधारणले नारकीय जीवन भोगिरहेका छन् । र, यसमा सबैभन्दा ठूलो चाहिँ काला जातिमाथिको विभेद छ । काला भएकै कारण उनीहरू बिना कारण थुनिने, शंका गरिने, अदालती प्रक्रियामा लगिने र जेल पर्ने भएका छन् । त्यसो त यत्तिका वर्षमा केही परिवर्तन नभएको चाहिँ होइन तर त्यो पर्याप्त छैन ।’ आफू सांसद भएर यस क्षेत्रमा केही गर्न खोजेको जिकीर पनि उनले गरे ।

द फर्मको सफलताले ग्रिसमलाई पूरै समय लेख्नमा दिए र उपन्यास शृङ्खलाको थुप्रो नै लगाइदिए । रोचक त, ती सबै उपन्यास बेस्टसेलर बन्न पुगे । खासगरी १९९२ मा उनले लेखेको सस्पेन्स थ्रिलर ‘द पेलिकन ब्रिफ’ कतिसम्म रूचाइयो भने त्यसमा आधारित फिल्ममा जुलिया रोबर्ट्स र डेन्जेल वाशिंगटन अभिनीत हिट चलचित्र तयार भयो । अर्को वर्ष ‘द क्लाइन्ट’ प्रकाशित भयो, जसमा सुसान सारान्डन र टमी ली जोन्स अभिनीत फिल्म तयार भयो । ग्रिसम भन्छन्, ‘मैले आफ्ना कथाहरू नियन्त्रण गर्न चाहिनँ । तिनलाई सिधा र निसङ्कोच स्टुडियोलाई सुम्पिएँ ।’ उनका उपन्यासलाई पनि सिड्नी पोलक र जोएल सुमाकरजस्ता  सिद्धहस्त निर्देशकहरूले जिम्मा लिए । “म मेरा सबै पुस्तकहरू चलचित्रमा रूपान्तरण गर्न चाहन्छु,” उनी भन्छन्, “राम्रो चलचित्र वा शृङ्खला कसलाई मन पर्दैन र ?”

यसै महिनाको अन्त्यमा, बेलायतको चर्चित साहित्य महोत्सव सान्ता फेमा उद्घाटन गर्न उनी पुग्नेछन् । उनले आफ्ना थ्रिलरहरूको सफलताका पछाडि प्रामाणिकता नै ठूलो सूत्र मान्छन् । “कानुनी थ्रिलरहरू लेख्ने गैरवकिलहरूले अक्सर चीजहरू गलत रूपमा देखाइरहेका हुन्छन्, जुन मेरोमा त्यस्ता गल्ती पाठकले पाउँदैनन्,” कानुनी थ्रिलरको सफलताको रहस्य खुलाउँदै उनले भने, “कथा जे पनि हुन सक्छ तर यो विश्वासयोग्य हुनुपर्छ । त्यसपछि मनपर्ने नायक वा नायिका गम्भीर समस्यामा पर्नुपर्छ । उपन्यासमा खतरा भिलेनहरू पनि महत्त्वपूर्ण हुन्छन्, किनकि तपाईंले खत्रा खलनायकले तपाईंलाई पृष्ठ पल्टाउन बाध्य पारिदिन्छन् । महत्त्वाकांक्षी थ्रिलर लेखकहरूले आफ्ना कथाहरूसँग खेल्न जान्नुपर्छ । यसका लागि केही नाटकीय र केही यथार्थवादी पुटका साथ तपाईंले पहिलो अध्याय शुरू गर्नुपर्छ । कथामा नाटकीय अन्त्यमा पनि उत्तिकै जरूरी छ ।”

ग्रिसमलाई आफ्ना सिर्जनामध्ये कुन चाहिँ बढी मन पर्छन् त ? उनी भन्छन्, “यसलाई क्रमबद्ध रूपमा भन्न असम्भव छ । ‘अ टाइम टु किल’ सधैँ मनपर्छ किनभने यही उपन्यासका कारण र मेरो करियर नै परिवर्तन गर्ने उपन्यास बन्यो । २००१ मा लेखेको ‘अ पेन्टेड हाउस’ चाहिँ अर्कान्सासमा बिताएका बाल्यकालका सम्झनाबाट प्रेरित भएकाले पनि उनलाई यो उपन्यास मन पर्छ । उनी बेलाबेला यसका पन्ना पल्टाउने गर्छन् ।” यी दुई बाहेक पनि उनका रूचिका उपन्यास अरू पनि छन् । ती उपन्यास नलेखिएको भए उनको यो पहिचान पनि त बन्ने थिएन !

उनका उपन्यासहरू संसारका २० भन्दा बढी भाषामा अनुवाद गरिएका छन् भने एक दर्जन उपन्यासमाथि फिल्म र वेबसिरिज बनाइएको छ । उनले दुई पटक हार्पर ली पुरस्कार जितिसकेका छन् । साथै २००९ मा फिक्शनका लागि कंग्रेस क्रिएटिभ अचिभमेन्ट अवार्ड, १९९३ मा अमेरिकन एकेडेमी अफ अचिभमेन्टबाट गोल्डेन प्लेट अवार्ड, २००५ मा पेगी वी. हेल्मेरिच विशिष्ट लेखक पुरस्कार, २००७ मा ग्यालेक्सी ब्रिटिस लाइफटाइम अचिभमेन्ट अवार्ड, २०१२ मा द फर्म मार्फत युएस्सी स्क्रीप्टर अवार्डहरू पाइसकेका छन् ।

लेखक परिचय
मक
मिलन कार्की
प्रतिक्रिया
Loading...