२१. स्वेच्छिक मृत्यु

धेरैजसो ढिलो मर्छन्, र केही भने चाँडै ।

तर, यस्तो उपदेश प्रायःलाई अचम्मको लाग्नेछ- “सही समयमा मर !”

“सही समयमा मर,”– जराथुस्त्र यसरी उपदेश दिन्छन् ।

तर जो कहिल्यै सही समयमा बाँच्न सकेन, ऊ कसरी सही समयमा मर्न सक्ला ? सोच्छु– यस्तो मानिस त कहिल्यै जन्मनै नपरे हुन्थ्यो ! म धेरैजसोलाई यस्तै भन्ने गर्छु । तर ती, (जसलाई मैले बताएँ) पनि आफ्नो मृत्युका बारेमा धेरै हल्ला गर्छन्, र सबैभन्दा खोक्रो बोक्रा भएको बदाम पनि फुटाउन चाहन्छन् ।

सबै जनाले मृत्युलाई ठूलो कुरा ठान्छन् । र पनि अहिलेसम्म मृत्यु उत्सव बन्न सकेको छैन । मानिसहरूले अझै पनि सबैभन्दा उत्कृष्ट उत्सवको उद्घाटन गर्न सिकेका छैनन् । म तिमीलाई पूर्णता दिने मृत्यु देखाउँछु, जसले बाँचेका मानिसहरूलाई प्रेरणा र प्रतिज्ञा दिन्छ ।

पूर्णता दिने मृत्यु त्यसको हुन्छ, जसको मृत्यु उत्सवमय तरिकाले हुन्छ, जो आशा र संकल्प बोकेका मानिसहरूबाट घेरिएको हुन्छ । यसरी मर्न सिक्नुपर्छ, र मृत्युको त्यस्तो उत्सव पनि हुनुहुँदैन, जहाँ मर्नेवालाले जीवितहरूको सपथलाई अपवित्र ठानेको होस् ।

यस्तै मरण सबैभन्दा उत्तम मरण हो; तर दोस्रो भनेको युद्धमा मर्नु र कुनै महान आत्माको बलिदान दिनु हो । तर लड्ने र जित्ने दुबैलाई तिमी मुस्कुराउँदै मरेकोमा घृणा लाग्छ, जुन चोरझैं लुकिछिपि आएर पनि अझ मालिकझैं प्रकट हुन्छ ।

मेरो मृत्यु, म तिम्रो प्रसंशा गर्छु, त्यो स्वेच्छिक मृत्यु, जो मसँगै आउँछ । किनकि म उसलाई चाहन्छु । र म त्यसलाई कहिले चाहन्छु ? जसको लक्ष्य र उत्तराधिकारी हुन्छ, उसले सही समयमा आफ्नो लक्ष्य र उत्तराधिकारीको खातिर मृत्युलाई चाहन्छ । र लक्ष्य अनि उत्तराधिकारीप्रतिको श्रद्धाले गर्दा ऊ यस्तोसम्म हुन्छ, जसले जीवनको मन्दिरमा सुकेका फुलका माला कहिल्यै झुण्ड्याउने छैन।

साँचो कुरा के हो भनेदेखिन्: म डोरी बनाउनेहरूजस्तो हुन चाहन्नँ, जसले आफ्नो डोरी त तन्काउँछन् तन्काउछन्, र पनि त्यसैलाई बेरेर पछाडि फर्किरहन्छन् ।

***

धेरैजना यस्ता छन्, जो अफ्ना सत्य र विजयी प्राप्त गर्नका लागि निकै बुढा भइसकेका हुन्छन् । अब दाँतविहीन मुखले हरेक सत्यको अधिकार राख्न सक्दैन ।

जसले प्रसिद्धि चाहन्छ, उसले बेलैमा सम्मानबाट बिदा दिनुपर्छ, र सही समयमै बाटो लाग्न सक्ने कठिन कलाको अभ्यास गर्नुपर्छ । स्वादिलो भोजन पाएपछि खान छाड्न जान्नुपर्छ, जो दीर्घकालीन प्रेम चाहन्छ, उसले यो कुरा जान्दछ ।

साँच्चै भन्नुपर्दा केही त्यस्ता अमिला स्याउ पनि हुन्छन्, जसको भाग्य भनेकै शरदको अन्तिम दिनसम्म कुर्नु हो । र त्यही समयमा ती पाक्छन्, पहेंलिन्छन्, अनि बिस्तारै खुम्चिन्छन् ।

कसैमा पहिला मुटु बुढिन्छ त कसैमा आत्मा । केही त युवावस्थामै सेतिन्छन्, तर ढिलो युवा भएका धेरैजसो कालान्तरसम्म युवा रहन्छन् ।

धेरैजसोका लागि जीवन भन्नु असफलता हो । विषालु कीराले उनीहरूको मुटु चपाइरहन्छ । त्यसैले उनीहरूले आफ्नो मृत्युचाहिँ अझ सफल होस् भन्ने कुराको ख्याल राख्नुपर्छ ।

धेरैजसो कहिल्यै गुलियो हुन पाउँदैनन् । तिनीहरू त गर्मीमै कुहिन्छन् । कायरताले नै तिनीहरूलाई कायारताकाे हाँगामा बाँधेर राख्छ ।

धेरैजसो अनावश्यक रूपमा बाँच्छन्, अनि हदभन्दा धेरै समयसम्म त्यही हाँगामा झुन्डिन्छन् र यस्तो कामना गर्छन्- काश ! एउटा आँधी आयोस् र कीराले खाएका फलहरू रुखबाट झारिदेओस् !

काश ! द्रुत मृत्युका प्रचारकहरू जन्मून् ! जीवनका रुखलाई हल्लाउने उपयुक्त आँधीहरू तिनीहरू नै हुनेछन् ! म भने यता केवल बिस्तारै मर भन्ने प्रवचन मात्रै सुनिरहेको छु, र यस पार्थिव चिजसँग प्रायःले धैर्य गर्न दिएको सल्लाह पनि सुन्छु ।

आहो ! तिमीहरू त सांसारिक कुरासँग धैर्य गर्नुपर्छ भन्ने आदेश दिन्छौ हैन ? तर यिनै सांसारिक कुराले तिमीहरूसँग अत्यधिक धैर्य गरिरहेको छ, हे निन्दक हो !

साँच्चै भन्नुपर्दा, सुस्त मृत्युका प्रचारकहरूले सम्मान गर्ने हिब्रू (येशू) काे मृत्यु निकै चाँडो भयो । त्यसपछि त मानिसहरूलाई लाग्यो कि उनी चाँडै मरेर ठूलो विपत्ति आइपर्यो ।

त्यसबेलासम्म त उसले आँसु मात्र देखेको थियो । यहूदीहरूको विषाद मात्र महसुस गरेको थियो । असल अनि न्यायीहरूबाट घृणा भोगेको थियो । त्यसपछि नै त हो ऊ मृत्युको तिर्सनाले ग्रस्त भएको ।

यदि ऊ उजाड स्थानमै बसेको भए, असल अनि न्यायीबाट टाढा भएको भए, सायद उसले बाँच्न सिक्थ्यो । पृथ्वीलाई प्रेम गर्न सिक्थ्यो । र हाँस्न पनि !

विश्वास गर मेरा साथी हो ! ऊ निकै चाँडो मरेको थियो । यदि ऊ मेरो उमेरमा पुगेको भए आफ्नो सिद्धान्तलाई आफै खण्डन गर्थ्यो ! किनकि ऊ अस्वीकारर्न सक्ने महान आत्मा थियो, जसले आफैंलाई खण्डन गर्न सक्थ्यो !

तर ऊ अझै अपूरो थियो । युवाले अपरिपक्व रूपमा प्रेम गर्छ, अनि अपरिपक्व रूपमै मानिस र पृथ्वीलाई घृणा गर्छ । उसको आत्मा अझै साँघुरो छ । चेतनाका पखेटा अझै असहज छन् ।

जुन मानिसमा युवाअवस्था भन्दा बढी बालकत्व हुन्छ, अनि उदासीपन अलि कम । उसले जीवन र मृत्युलाई अझ गहिरोसँग बुझ्दछ ।

मृत्युको लागि स्वतन्त्र, अनि मृत्युमा स्वतन्त्र; एउटा पवित्र नकार हो । जब हो भन्न सक्ने समय सकिन्छ, तब मानिसले जीवन र मृत्युको बारेमा बुझ्छ ।

मेरा साथी हो ! तिमीहरूको मृत्यु मानवजाति र पृथ्वीका लागि निन्दा नहोस् । तिमीहरूको आत्माको महबाट म यही कुरा माग्दछु ।

तिमीहरूको मृत्युमा तिम्रो आत्मा र सद्गुण साँझपख पृथ्वीको वरिपरि चम्कने उज्यालोझैँ चम्कोस् । नत्र तिम्रो मृत्यु असफल हुनेछ ।

म पनि यसै गरी मर्न चाहन्छु, ताकि मेरो सम्झनामा तिमीहरूले पृथ्वीलाई अझ बढी प्रेम गर । र फेरि म पृथ्वी नै बन्नेछु । त्यही आमाको काखमा विश्राम लिनेछु, जसले मलाई जन्माएकी थिइन् ।

साँचै भन्ने हो भने, जरथुस्त्रले एउटा गोल पोस्टमा गोल हानेका थिए, जहाँ उसले आफ्नो बल फ्याँके । अब तिमीहरू नै त्यस गोलका उत्तराधिकारी बन । म तिमीहरूतिर त्यो सुनौलो बल फ्याँक्छु ।

र सबैभन्दा प्रिय दृश्य मलाई के लाग्दछ भने नि मित्र हो, म तिमीहरूलाई देखिरहेको छु । त्यसैले अब सुनौलो बल फ्याँक्छु । म पृथ्वीमा अझै केहीबेर बाँच्छु । यसको लागि मलाई माफ गर !

जराथुस्त्रले यसरी भने ।