
तेह्र
भोलिपल्ट साँझ जब हामी लफ्ज, “बाबुले म छोरी दिन्छु भनेर बोल्ने समारोहमा भाग लिन ताहेरीको घरमा पुग्यौं, मैले कार लगेर बाटो पारिपट्टि राख्नुपर्ने भयो । उनीहरूको ड्राइभ वे कारै कारले जाम भइसकेको थियो । मैले बाबालाई ‘खास्तेगारी’ गरेर घरमा ल्याइसकेपछि, अस्तिमात्र किनेको नेभी ब्लू सुट लगाएँ । पछि हेर्ने ऐनामा टाई ठीक-ठाक छ छैन हेरेँ ।
“तँ त खोसटिप देखिइस्,” बाबाले भन्नुभयो । मतलब सुन्दर |
” धन्यवाद बाबा । तपाईंलाई ठीकै छ नि ? तपाईंलाई रमाइलो लागेको छ त ?”
“रमाइलो रे ?” यो त मेरो जीवनको सबैभन्दा खुसीको दिन हो अमीर,” थकित मुद्रामा मुस्कुराउँदै उहाँले भन्नुभयो ।
ढोकाको पल्लोपट्टि गफगाफ, हाँसो र मधुरो स्वरमा अफगानी गीत बजेको सुन्न सकिन्थ्यो । गीत उस्ताद सराहाङ्खले गाएको शास्त्रीय गजल जस्तो सुनिन्थ्यो । मैले घन्टी बजाएँ । एउटा अनुहारले फोईअर (Foyer) को झ्यालको पर्दो हटाएर चिच्च्यायो र बेपत्ता भो । “उनीहरू आइपुगे ।” एकजना महिलाको आवाज मैले सुनेँ । गफसफ बन्द भयो । कसैले बजेको गीत बन्द गन्यो ।
खान्नुम ताहेरीले ढोका खोलिन् । “सलाम अल्लाएकुम मुस्कुराउँदै उनले भनिन् !
मैले देखे कि उनले कपालको स्टाइल फेरिछन् र उनी बडो सुन्दर पिँडुलासम्म आउने पहिरनमा थिइन् । जब म फोइअर भित्र पसे, उनका आँखा रसिला भए | “तिमी मुस्किलले घरभित्र पसेका छौ अमीर जान, म त पहिल्यैदेखि रोइरहेकी छु उनले भनिन् ।” हिजो राति बाबाले सिकाए जस्तै गरेर मैले उनको हातमा खुम्चन गरेँ ।
उनले हामीलाई उज्यालो हल वे हुँदै बैठक कोठामा पुन्याइन् । वुड-प्यानेल्ड गरिएको भित्तामा मैले थुप्रै मान्छेको तस्विरहरू देखेँ जो मेरा नयाँ परिवार हुने वाला थिए : पछाडि कपाल फर्काएकी खान्नुम ताहेरी र जर्नेल उभिएका, तिनको पछाडि पर दृश्यमा नियाग्रा झरना, खान्नुम ताहेरी सफा कालो लुगामा, जर्नेल साहब कालो र लामो कपाल पालेर ल्यापेल ज्याकेल र सानो टाईमा काठको रोलर कोस्टरमा (रेलमा) हात हल्लाएर चढ्नै आँटेकी शोराया अनि उनी हाँस्दा दाँत बाँधेको चाँदीका तार घामले टिलिक्क टल्केको । सैनिक पोशाकमा ठाँटिएका जर्नेलको जोर्डनका राजा हुसेनसँग हात मिलाईरहेको एउटा फोटो । जाहिर शाहको हातले कोरेको तस्विर ।
बैठक कोठा भित्तामा लाइन लागएर राखिएका कुर्चीमा लहरै बसेका करिब दुई दर्जन पाहुनाहरूले भरिएको थियो । जब बाबा भित्र पस्नुभयो, सबैजना उभिए । हामी कोठाको चक्कर लगायौँ । बाबा अघिअघि म पछि लागेर पाहुनाहरूसँग हात मिलाउँदै अभिवादन गर्यौँ । त्यही खैरो सुटमा ठाँटिएका जर्नेल साहब र बाबाले एक आपसमा अङ्गालो मारेर पछाडि थपथपाउनु भयो । उहाँहरूले बडो सम्मानपूर्वक नसुनिने आवाजमा सलाम साटासाट गर्नुभयो ।
जर्नेल मलाई एक हात परैबाट समाते र मेरो अनुहारमा चिनेजस्तै गरी हेरेर हाँसे । मानौँ उनी भन्दै थिए, “यस्तो गर्नलाई यो ठीक तरिका हो, अफगान तरिका, छोरा ।’ हामीले तीन पटक एकअर्कालाई चुम्यौँ ।
त्यो भीडभाडयुक्त कोठामा बाबा र म सँगै, जर्नेल र उनी श्रीमतीको ठीक सामुन्ने बस्यौं । बाबाको सास फेराई अलि असजिलो भएको थियो र उहाँले रुमालले निधार र तालुको पसिना पुछिरहनुभयो । उहाँले मलाई मैले उहाँलाई नै हेरिरहेको देख्नुभयो र कसोकसो बल गरेर हाँस्नुभयो |
“म ठीकठाक छु,” उहाँले प्वाक्क भन्नुभयो ।
परम्परालाई मध्यनजर गर्दै, शोराया त्यहाँ अनुपस्थित थिइन् ।
जर्नेल “अहँ” गरेर बोल्नलाई घाँटी सफा नगरेसम्म केही बेर सानातिना गफगाफ चलि नै रह्यो । कोठामा सन्नाटा छायो र प्रत्येकले शिर निहुर्याएर सम्मान पूर्वक आ-आफ्ना हातहरूतिर हेरे । जनरलले शिर निहुर्याएर बाबातिर हेरे ।
बाबाले खोकेर घाँटी सफा गर्नुभयो । जब उहाँ बोल्न थाल्नुभयो सास लिनलाई बीच बीचमा नरोकिइकन वाक्य पूरा गर्न सक्नुभएन । “जर्नेल साहेब, खान्नुम जमीला जान ___ तपाईंहरूको आदर गर्दै आज म र मेरो छोरो __ आज तपाईंको घरमा आएको छौँ । तपाईंहरू _ सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ — प्रसिद्ध उच्च खानदानको हुनुहुन्छ र ___ र __ वंश गर्वको विषय हो | म यहाँ उत्कट ईहतिराम__ र तपाईंहरू, तपाईंहरूको ईज्जत, तपाईंको पूर्खालाई ससम्मान मेरो सम्झनामा लिएर आएको छु ।’ उहाँ रोकिनुभयो । सास लिनुभयो । निधारको पसिना पुछ्नुभयो ।
“अमीर जान मेरो एक्लो छोरो हौ ___ मेरो एक्लो सन्तान र मेरा लागि एउटा असल छोरो । मलाई आशा छ __ ऊ तपाईंहरूको दयाको भागिदार हुन लायक छ ।
म विन्ति गर्छु कि अमीर जान र मलाई सम्मान गर्नुहुने छ ___ र मेरो छोरोलाई तपाईंको परिवारमा समाहित गर्नुहुने छ ।”
जनरलले विनम्रतापूर्वक टाउको हल्लाएर सहमति जनाए ।
“तपाईं जस्तो सम्मानित व्यक्तित्वको छोरोलाई हाम्रो परिवारको,सदस्यको रूपमा स्वागत गर्न पाउँदा हामीलाई गर्व छ” उनले भनेँ । “तपाईंभन्दा तपाईंको इज्जत ठूलो छ । काबुलमा छँदा पनि म तपाईंको प्रशंसक हो र आज पनि छु | मलाई गर्व छ कि अब ऊ र हाम्रो परिवारमा नाता जोडिने भयो ।”
“अमीर जान म तिमीलाई मेरो घरमा छोरो र मेरी छोरी ज्वाइँको रूपमा स्वागत गर्छु, मेरी छोरी जो मेरो आँखाको नूर हो । तिम्रो दुःख हाम्रो दुःख हुने छ भने तिम्रो सुख हाम्रो सुख । मलाई आशा छ कि तिमी अब खाला जमिला र मलाई दोस्रो अभिभावकको रूपमा भेट्न आउने छौ । म तिम्रो र मेरी प्यारी शोरायाको खुसीका लागि भगवानसँग प्रार्थना गर्दछु । तिमीहरू दुवैले हाम्रो आर्शीवाद स्वीकार गर ।
सबैले ताली बजाए र तालीको हरियो झन्डासँगै सबैको आँखा हलवेतिर फर्कियो । मैले पर्खिएको क्षण पनि त्यही थियो ।
हल वेको पल्लो छेउमा शोराया देखिइन् । उनी भड्किलो वाइन रङको सुनौला जरिबुट्टे लामा बाहुला भएको परम्परागत अफगानी लुगामा सजिएकी थिइन् | बाबाले मेरो हात समातेर च्याप्प अँठ्याउनुभयो । खान्नुम ताहेरीले खुसीको आँसु थाम्न सकिनन् । विस्तारै शोराया हामी छेउ आइन् र उनका पछि तरूनी नातेदारहरूको लाइनै थियो । उनले बाबाको हातमा चुम्बन गरिन् र अन्तिममा लजालु हुँदै मेरो छेउमा बसिन् ।
तालीको गडगडाहटले हल थर्कियो ।
परम्पराको मुताविक शोरायाको परिवारले इन्गेजमेन्ट (टिकाटालो) उत्सवको पार्टी (भोज) आयोजना गर्नुपर्ने थियो जसलाई शिरनीखोरी (Shirni Khori) वा “मिठाइ खाने’ पनि भनिन्छ । अनि त्यसपछि टिकाटालोको समय सुरू हुनुपर्ने थियो र केही महिना समय बित्नुपर्ने हुन्थ्यो । अनि बल्ल बिहे जसको खर्च बाबाले बेहोर्नु हुने छ ।
शोराया र मैले शिरनीखोरी नगर्ने निर्णय गर्यौं जसमा सबैजना सहमत भए । कारण सबैलाई थाहा थियो, त्यसैले पनि कसैलाई पनि त्यो मान्न जरूरी थिएन कुरा के भने बाबाको दिन अब धेरै बाँकी थिएन ।
शोराया र म दुईजना मात्रै भएर बिहेको तैयारी चलिरहँदा कहिल्यै पनि बाहिर घुम्न निस्केनौं, किनकि अझै हामी विवाहित भइसकेका थिएनौँ । हाम्रो शिरनीखोरी भएको थिएन । विवाह पूर्व त्यसो गर्नु राम्रो मानिँदैनथ्यो । त्यसैले जसोतसो म पनि बाबासँगै डिनरको लागि ताहेरीकोमा जानुपर्थ्यो । शोराया र म टेबलको वारिपारि भएर बस्नुपर्थ्यी । उनले मेरो छातीमा टाउको अड्याउँदा कस्तो हुँदो हो र कपालको कस्तो वास्ना आउँदो हो भनी कल्पनामा डुबेर बस्नुपर्थ्यो । चुम्बन गर्दा कस्तो हुँदो हो ? उनलाई माया गर्न पाए कस्तो हुँदो हो आदि सपनामा डुबेर बस्नुपर्थ्यो ।
बाबाले विवाह उत्सवमा (अउरोउसीमा) झन्डै जीवनभरि दुःख गरेर जोगाएको हजार डलर खर्च गर्नुभयो । उहाँले फ्रिमोन्टको एउटा ठूलो अफगानी भोज गर्ने हल भाडामा लिनुभयो । त्यसको मालिकले बाबालाई नै चिनेको थियो त्यसैले उल्लेख्य छुट पनि दियो । बाबाले चिला (बिहेको बाजा बजाउने टोली) र मैले रोजेको हिराको औंठीको पनि पैसा तिर्नुभयो । उहाँले मेरो डिनर (कसम खाने उत्सव) मा लगाउने परम्परागत हरियो सुट पनि किनीदिनुभयो ।
बिहे हुने रात त्यत्रो ठूलो व्यापक तैयारी भयो । भगवानको कृपाले धेरैजसो काम खान्नुम ताहेरी र उनका साथीहरूले नै गरे तर यसको मलाई कताकती मात्रै सम्झना छ ।
म हाम्रो निकाह सम्झन्छु । शोराया र म हरियो पहिरनमा एउटा टेबलमा बसेका थियौँ । हरियो रङ ईस्लामको रङ हो र यो वर्षा र नयाँ जीवन सुरूवातको सूचक पनि हो । मैले सुट लगाएको थिएँ भने शोराया (जो त्यहाँ उपस्थित एक मात्र महिला थिइन्) ले बुर्का सहित लामो बाउला भएको ड्रेस लगाएकी थिइन् । बाबा र जर्नेल ताहेरी यसपाली भने डिनर सुटमा हुनुहुन्थ्यो र शोरायाका थुप्रै काकाहरू पनि त्यहाँ उपस्थित थिए । शोराया र म बडो गम्भीर र सम्मानजनक भएर निहुरेर तल हेरेर बस्यौं भने आकलभुक्कल हामी एकअर्कालाई छड्के आँखाले हेर्थ्यौं । मूल्लाहरे साक्षीलाई प्रश्न गरे र कुरानबाट केही पढे । हामीले कसम खायौं । प्रमाणपत्रमा सही गर्यौं । खान्नुम ताहेरीको भाइ, शोरायाको मामा शरिफ जान, जो भर्जिनियाबाटआएका थिए, जुरूक्क उठे र बोल्नलाई ‘अहँ’ गरेर घाँटी सफा गरे । उनी अमेरिका बसेको बीस बर्षभन्दा पनि बढी भइसकेको थियो भनेर शोरायाले मलाई बताएकी थिइन् । उनी आइएन.एस. (INS) मा काम गर्थे र उनकी श्रीमती पनि अमेरिकन थिइन् । उनी कवि पनि रहेछन् । सानो जीउडाल, चुच्चे अनुहार र पातलो नरम कपाल भएका ती मान्छेले होटलमा बास बस्दा एउटा पानामा शोरायालाई समर्पण गरेर लेखेको एउटा लामो कविता पढेर सुनाए । जब उनले पढेर सके सबैले ‘वाह ! वाह ! “शरिफ जान” भनेर मुक्त कन्ठले प्रशंसा गरे ।
म डिनर सुटमा अनि शोराया सेतो बुर्का भएको पारीमा (Pari) एकअर्काको हात समातेर स्टेजतिर जाँदै गरेको म सम्झिन्छु | बाबा लर्खराउँदै मेरै छेउबाट हिंड्नुभयो भने जर्नेल र उनकी श्रीमती छोरीको छेउबाट। आँखै टिप्ने गरी झिलिक्क झिलिक्क गरेका क्यामराहरू, ताली बजाइरहेका पाहुनाहरूको सागरलाई छिचोल्दै हामी हलभित्र छिर्यौ । काकाहरू, काकीहरू, भान्जा भान्जी र भतिजाहरूको जुलुस हाम्रो पछि लाग्यो । हामी बिस्तारै हिँड्दा शोरायाका एक जना काका शरिफ जानका छोराले हाम्रो शीरमाथि कुरानको किताब राखिदिए । बाबा र मैले काबुल छोडेको रात महिपारको चेक पोइन्ट (सुरक्षा जाँच चौकी) मा त्यही रूसी गाएको “आहिस्ता बोरो” बोलको बिहेको गीत स्पीकरहरूमा घन्किन थाल्यो । गीतको बोल यस्तो थियो :
बिहानीलाई चाबी बनाऊ र यसलाई ईनारमा फ्यालीदेऊ,
बिस्तारै जाऊ, मेरो प्यारो जून, बिस्तारै जाऊ ।
बिहानीको सूर्यलाई पूर्व उदाउन नपार,
बिस्तारै जाऊ, मेरो प्यारो जुन, बिस्तारै जाऊ ।
म सम्झन्छु कि स्टेजमा राजगद्दी जस्तै सजाइएको सोफामा शोरयाको हात समातेर बस्दा त्यस्तै लगभग तीनसय जति अनुहारले हामीलाई हेरेका थिए । हामीले “आइना मसहफ’ गर्यौँ। त्यो गर्न हामीलाई ऐना दिइयो र हाम्रो टाउको बुर्काले ढाकियो ता कि हामीले एकअर्काको अनुहार ऐनामा हेरेको हामी बाहेक कसैले पनि नदेखोस् । शोरायाको हँसिलो अनुहार ऐनामा हेरेर बुर्काले गराइदिएको निमेषभरको एकान्तमा पहिलो पटक मैले कानेखुसी गरेर भनेँ कि म उनलाई माया गर्छु । उनको गाला लाजले मेहदी जस्तै रातो भयो ।
चोपान कबाब (Chopan Kabab) शोलह- गोस्ती (Soleh-gosthi)र सुनौले रङको भातले रङीचङ्गी बनेका थालहरूको चित्र मेरो नजरमा अझै घुम्छ बाबा मुसुक्क हाँस्दै हामीबिच सोफामा बसेको म अझै देख्छु । थकित भएर केही मान्छे रिङभन्दा बाहिर ङङ्ग्रङ्ग नलडुन्जेल, पसिनाले लत्रक्क भिजेका मान्छे वृत्त बनाएर जति छिटो तबला बज्यो उति नै छिटोछिटो फनफनी घुम्दै, उफ्रिँदै गरेर परम्परागत अटान (Attan) नाच नाचेको म सम्झन्छु । म सम्झन्छु । मैले रहिम खान यहाँ भैदिएको भए कस्तो हुने थियो भनेर उनलाई सम्झेको थिएँ । र, म सम्झन्छु कि मलाई हसनले पनि बिहे गर्यो होला भनेर मलाई उसको याद आयो । यदि गरेको भए उसले ऐनामा कसको अनुहार हेर्यो होला ? उसले कसको मेहदी लगाएको हात समात्यो होला ?
लगभग २ बजे बिहान, भोज भएको हलबाट पार्टी बाबाको अपार्टमेन्ट तिर हिँड्यो । एक पटक फेरि चिया बग्न सुरू भयो र छिमेकीले पुलिस नबोलाएसम्म गीत घन्किरह्यो | राति अबेला, घाम उदाउनुभन्दा आधा घन्टाभन्दा पनि कम छँदा, सबै पाहुनाहरू गैसकेपछि शोराया र म पहिलो पटक सँगै सुत्यौँ । मेरो जीवनभर म पुरूषहरूकै वरिपरि थिएँ । त्यस रात नारीको कोमलता बल्ल थाहा पाएँ ।
हामी बाबासँगसँगै बस्नुपर्छ भनेर सल्लाह शोरायाले नै दिएकी हुन् ।
“मैले सोचेको थिएँ कि तिमी त हाम्रो छुट्टै बस्ने ठाउँ होस् भन्ने चाहन्छ्यौ होला,” मैले भनेँ ।
‘त्यस्तो बिरामी काका जानलाई छोडेर छुट्टै बस्ने ?’ उनले जवाफ दिइन् । उनका आँखाहरूले मलाई भन्दै थिए कि वैवाहिक जीवन सुरूवात गर्ने तरिका यो होइन | मैले उनलाई चुम्बन गरेँ र भनेँ, ‘धन्यवाद’ ।
शोराया मेरो बुबाको स्याहार सुसारमा लागि परिन् । उनले बिहानमा बाबालाई चिया र टोस्ट तैयार पार्थिन् र विस्तारमा सुत्न र उठ्नलाई सहयोग गर्थिन् । उनले उहाँलाई औषधि खुवाउँथिन्, उहाँका लुगाहरू धोइदिन्थिन्, प्रत्येक दिउँसो पत्रिकाको अन्तर्राष्ट्रिय खबर पढेर सुनाउँथिन् | उहाँले दुई चार चम्चाभन्दा बढी खान सक्नु हुन्थेन तैपनि उनले उहाँको सबैभन्दा बढी मनपर्ने परिकार आलुको शोरवा (Shorwa) पकाइदिन्थिन् र प्रत्येक दिन उहाँलाई ब्लकको वरिपरि घुमाउन लैजान्थिन् र जब उहाँ ओछ्यानमै पर्नुभयो, उहाँलाई प्रत्येक घन्टा यताउता फर्काइदिन्थिन् ता कि ढाडको छाला नखुइलियोस् |
एक दिन मैले फार्मेसीबाट बाबाको मर्फिन नामको औषधि लिएर आएँ । ढोका मात्रै लगाउन के भ्याएको थिएँ, मैले शोरायाले केही चीज बाबाको ब्ल्याङकेटमुनि घुसारेको फ्याट्ट देखेँ । “ओए,मैले देखेँ ! तिमीहरू दुईजना के गर्दै थियौ ?” मैले भनेँ ।
“केही पनि होइन, मुस्कुराउँदै शोरायाले भनिन् ।
“ढँटुई ।’ मैले बाबाको ब्ल्यांकेट उचालेँ । “यो के हो ? मैले भनेँ, तर छालाको गाता भएको किताब उठाउने बित्तिकै मैले थाहा पाएँ के रहेछ । सुनौला धागोले सिलाएको किनारमा मेरा औँलाले छामछुम गरेँ । मेरो तेह्रौं जन्मदिनको त्यो रात रहिम खानले मलाई यो दिँदाखेरीको बेलाको आतसबाजी, सुइँया गर्दै माथि गएर पड्किँदा निस्कने फूलका गुच्छाजस्तै रातो, हरियो र पहैलो रङको प्रकाश याद आयो ।
“तपाईं यस्तो लेख्न सक्नुहुन्छ भन्ने त मलाई विश्वासै छैन,” शोरायाले भनिन् ।
बाबाले तकियाबाट बल्लबल्ल टाउको उठाउनुभयो ।
“उनलाई यो गर्न मैले लगाएको । मलाई आशा छ तैँले गाह्रो मान्दैनस् ।”
नोटबुक मैले शोरायालाई नै फर्काइदिएँ र कोठाबाट बाहिरिएँ । जब म रोएँ, बाबाले त्यसको घृणा गर्नुहुन्थ्यो ।
मेरो बिहे भएको एक महिनापछि ताहेरी परिवार, शरिफ, उनकी श्रीमती सुजीर शोरायाका थुप्रै काकीहरू डिनरका लागि हाम्रो अपार्टमेन्टमा आए | शोरायाले शब्जी चाल्लो (Sabzi Challo) (चामलमा पालुङ्गे साग र ल्याम्ब मिसाएर पकाइने परिकार) बनाइन् । डिनरपछि हामीले ग्रीन टि लियौँ र चारचार जनाको समूहमा बसेर तास खेल्यौँ । बाबा ऊनको ब्ल्यांकेटमा गुटुमुटु परेर सोफामा पल्टिनुभएको थियो भने शोराया र म, शरिफ र सुजी चार जना उहाँकै छेउमा कफी टेबल राखेर तास खेल्यौँ । शरिफले र मैले जोक (मजाक) गरेको, शोराया र मैले हात समाता-समात गरेको, मैले शोरायाको कपाल तानेको बाबाले हेरेर बस्नुभयो | उहाँको अन्तरमनको मुस्कान (हँसाइ) मैले काबुलमा रातहरूमा देखिने चौडा आकाशजस्तै देखेँ जति बेला लहरे पीपलका रुखहरु हल्लिन्थे र झ्याउँकीरीको झ्याई-झ्याईले बगैँचा गुन्जिन्थ्यो ।
मध्यरात हुनुभन्दा ठीक अघि बाबाले हामीलाई विस्तारामा लगेर सुताइदिनलाई सहयोग माग्नुभयो । शोराया र मैले उहाँका एकएक हात हाम्रो काँधमा राखेर, अर्को चाहिँ हातले उहाँको ढाडमा अङ्गालो मारेर लिएर गयौँ । जब हामीले उहाँलाई सुताइदियौँ, उहाँले शोरायालाई बेडसाइड बत्ती निभाउन लगाउनुभयो । हामीलाई निउरिन भन्नुभयो र दुवैलाई चुम्बन गर्नुभयो ।
“म फेरि तपाईंको औषधि मर्फिन र एक गिलास पानी लिएर आउँछु, काका जान,“ शोरायाले भनिन् ।
“आज पर्दैन,” उहाँले भन्नुभयो । “आज दुखेको छैन ।’
“त्यसो भए ठीक छ, उनले भनिन् । उनले उहाँको ब्ल्यांकेट माथि तानिदिइन् । हामीले ढोका बन्द गन्यौँ ।
बाबा निद्राबाट कहिल्यै बिउँझनुभएन ।
हवार्डको मस्जिदको पार्किङ् गर्ने ठाउँ टनाटन कारहरूले भरियो । भवनभन्दा पछाडिको घाँस खुइलिँदै गरेको चौरमा कारहरू र एस.यूभी (SUV) हरू भीडभाड युक्त लाइनमा पार्क गरिएको थियो | गाडी पार्क गर्नलाई ठाउँ फेला पार्न मान्छेलाई तीन चार ब्लक पर मस्जिददेखि उत्तरतिर जान पर्ने भयो ।
मस्जिदमा पुरूषहरू बस्ने भाग चाहीँ ठूलो चारपाटे कोठा थियो जहाँ अफगानी रगहरूको थुप्रो अनि सीधा समानान्तर लाइनमा चकटीहरू राखिएको थियो । मान्छेहरू ढोका छेउ जुत्ता राखेर लाइनमा भित्र छिरे र चकटीमा पलेटी कसेर बसे । मुल्लाहले माइक्रोफोनबाट कुरानका सुर्राहरू (Surrahs) फलाके | म ढोका छेउ बसेँ जुन ठाउँ परम्पराले नै मृतकका आफन्त (परिवारजन) बस्ने भनेर किटान गरेको छ । जर्नेल ताहेरी मेरो छेउमा बसेका थिए । खुल्लै रहेको ढोकाबाट मस्जिद परिसरमा आउँदै गरेका कारका सिसा घाममा टिलिक्क टल्केको देख्न सकिन्थ्यो । टाउको परम्परागत सेतो हिजाब (Hijabs) ले ढाकेका, कालो पहिरनमा महिलाहरू र कालो सुट लगाएका पुरूषहरू कारहरूबाट झरे ।
जब कुरानका शब्दहरू कोठामा गुन्जिन थाल्यो, बाबा बलुचिस्तानमा कालो भालुसँग लडेको त्यो पुरानो कथा मेरो दिमागमा आयो | बाबा जीवनभरि त्यस्ता भालुहरूसँग लडी नै रहनुभयो । आफ्नो जवान श्रीमती गुमाएर, छोरो एक्लै हुर्काएर, आफ्नो प्यारो मातृभूमि, वतन छोडेर, गरिबीसँग लडेर, अपमानसँग जुधेरै आउनुभयो, तर अन्तिममा एउटा यस्तो भालु आयो जसलाई उहाँले पछार्न सक्नु भएन । त्यति हुँदाहुँदै पनि अन्तिममा आफ्नो जिद्दी पुन्याएरै छाड्नुभयो ।
प्रत्येक प्रार्थनापछि शोक सभाका सहभागीहरू समूह समूहमा लाइन लागेर बाहिर निस्कँदा मलाई अभिवादन गरे । म नम्रतापूर्वक मुस्काएँ, शुभेच्छाका लागि धन्यवाद दिएँ र बाबाको बारेमा जे जे भने सबै सुनी बसेँ । मान्छेहरू भन्थे-
“उहाँले मलाई ताइमानीमा घर बनाउनलाई ठूलो सहयोग गर्नुभयो…… ”
“….. भगवानले उहाँलाई आशीर्वाद दिउन् …..”
“….. मेरो सहारा कोही पनि थिएन, तर उहाँले मलाई ऋण दिनुभयो…..”
“…….मलाई जागिर खोजिदिनुभयो ……. मलाई राम्रोसँग चिन्नु पनि भएको
थिएन…….”
“__उहाँ मेरा लागि आफ्नै दाजुभाइ सरह हुनुहुन्थ्यो…….”
उनीहरूको कुरा सुन्दै गर्दा मैले महसुस गरेँ कि बाबाले मान्छेको जीवनमा कस्तो अमीट छाप छोड्नु भएको रहेछ, मेरो परिचय कसरी उहाँले नै बनाइदिनुभएको रहेछ, म को रहेछु, के रहेछु । जीवनभरि म “बाबाको छोरो’ मात्र भएको थिएँ । अब अहिले उहाँ बित्नुभयो । बाबाले मलाई अब बाटो देखाउन सक्नुहुन्न । त्यो म आफैँ खोज्नुपर्ने भएको छ ।
यो कुरा सोच्दा म आत्तिएँ ।
अलि अघि कब्रस्थानको मुस्लिमलाई भनेर छुट्याइएको एउटा सानो भागमा मान्छेले बाबाको मृत शरीरलाई खाल्टोमा राखेको मैले हेरेको थिएँ । दाहसंस्कार गर्दा भन्नुपर्ने कुरानको कुन चाहिँ आयात (Ayat) ठीक हो त भन्ने बारेमा एक जना मान्छे र मुल्लाको ठूलै बहस पर्यो । यदि जर्नेल ताहेरीले बेलैमा हस्तक्षेप नगरेको भए बहसले नराम्रो रूप लिन सक्थ्यो । त्यो अर्को मान्छेलाई रिसाएर हेर्दै मुल्लाहले एउटा आयात रोजे र बाचन गरे । मान्छेले बेल्चाभरि माटो चिहानमा हालेको मैले हेरेँ । अनि म त्यहाँबाट लागें । कब्रस्थानको अर्को भाग पट्टि हिँडे । रातो म्यापलको (Maple) छायाँमा बसे ।
अन्तिम श्रद्धान्जलि व्यक्त गर्ने व्यक्ति पनि आफ्नो श्रद्धा सुमन टक्र्याएर, गैसकेको थियो भने त्यहाँ बाँकी त्यही मुल्ला मात्र थियो जसले कुरानलाई हरियो कपडामा पोको पार्ने र माइक्रोफोन फुकाल फुकूल पार्दै थियो । जर्नेल र म मध्यानहको घाममा बाहिर निस्क्यौं । हामी खुड्किलाहरूबाट झरेर घुरूप्प बसेर चुरोटको धुवाँ उडाइरहेका मान्छेहरूलाई छोड्दै अगाडि गयौं । मैले उनीहरूको गफ कताकती सुनेँ । उनीहरू आउने हप्ताको अन्तिममा युनियन सिटीमा हुने फुटबल म्याच, सान्टा क्लारामा खुलेको एउटा नयाँ रेस्टुरेन्ट आदिको बारेमा गफिँदै थिए । बाबालाई पछाडि छोडेर जीवन अघि बढिरहेको थियो ।
“छोरा तिमीलाई सन्चै छ ?’ जर्नेलले भने ।
मैले दाह्रा किटे । मलाई दिनभरि नै त्रसित बनाएको त्यो आँसुलाई कसोकसो थामे। “शोराया कता गैछन् म खोज्न जाँदै छु,“ मैले भनेँ ।
“हुन्छ ।”
म मस्जिदमा महिलाहरू बस्नेतिर गएँ । शोराया खुड्किलामा आफ्ना आमा र अरू दुईजना महिलाहरूसँग उभिइरहेकी थिइन्, जुन महिलाहरूलाई मैले मेरो बिहेदेखि अलिअलि चिनेको थिएँ । मैले शोरायालाई हातको इसाराले बोलाएँ । उनले आमालाई केही भनिन् र आइन् |
“हामी अब जाने हो त ? मैले भनेँ ।
“अँ जाने ।’ उनले मेरो हात समातिन् ।
हामी चुपचाप लागेर दायाँबायौं होचो हेज भएको ग्रेबल गरेको घुमाउरो बाटो हुँदै तलतिर लाग्यौँ । हामी एउटा बेन्चमा बस्यौँ । एउटा पाको उमेरका जोडिले केहीलाई पर एउटा चिहानको छेउमा घुँडा टेकी बसेर हेडस्टोन छेउ डेजीको गुच्छा राख्दै गरेको हामी हेरी बस्यौँ ।
“शोराया ?”
“भन्नोस किन ?”
“मैले बाबालाई मिस गर्दै छु ।”
उनले आफ्नो हात मेरो काखमा राखिन् । बाबाको चिला (Chila) उनको साँहिली औंलामा टल्कियो । उनको पछाडिपट्टि बाबालाई श्रद्धान्जलि टक्र्याउन आएका व्यक्तिहरू मिसन बुलभार्ड (Mission boulevard) चढेर जाँदै गरेको देखिन्थ्यो । हामी पनि छिट्टै जानेवाला थियौँ र पहिलो पटक सदाका लागि बाबा एक्लै हुनुहुन्थ्यो ।
शोरायाले मलाई आफूतिर तानिन् र अन्तिममा बल्ल आँसु आयो ।
शोरायाको र मेरो ईन्गेजमेन्टको अवधि लामो हुनै पाएन । त्यसैले मैले परिवारको बारेमा धेरै कुरा त्यो परिवारमा मैले बिहे गरेपछि मात्रै थाहा पाएँ । उदाहरणका लागि मैले थाहा पाएँ कि महिनामा एक पटक जर्नेललाई अन्धो नै पार्ने खालको माइग्रेन (टाउको दुख्ने रोग) ले आक्रमण गर्दो रहेछ र झन्डै एक त पोड्दो रहेनछ | जब उनलाई टाउको दुख्न थाल्थ्यो, जर्नेल आफ्नो कोठामा जान्थे, लुगा खोल्थे, बत्ती निभाउँथे र दुखाइ कम नभएसम्म बाहिर आउँदैनथे । कसैलाई जाने अनुमति थिएन र ढोका टकटकाउन पनि पाइन्थेन । अन्तिममा उनी निद्रा र तन्नाको गन्ध र फूलेका राताराता आँखा लिएर फेरि त्यही खैरो सुट लगाएर बाहिर देखा पर्थे । शोरायाबाट मैले के थाहा पाएँ भने शोरायालाई याद भएसम्म उनी र खान्नुम ताहेरी अलग अलग कोठामा सुत्ने रहेछन् । मैले थाहा पाएँ कि उनी सानो कुरामा पनि कचकच गर्ने खालका रहेछन् । जस्तो कि श्रीमतीले उनको अगाडि कुर्मा (Qurma) राखिदिइन् भने एक पालि टोकेपछि सुइअँ गरेर पन्छाइदिन्थे । “म तपाईलाई अरू नै केही पकाइदिन्छु,” खान्नुम ताहेरीले भन्थिन्, तर उनले वास्तै गर्थेनन्, चुपचाप रिसाउँथे र प्याजसँग रोटी खान्थे । यसले शोरायाको रिस उठ्थ्यो र आमा चाहिँ रून्थिन् । शोरायाले मलाई भनिन् कि उनले एन्टीडिप्रेसेन्ट औषधि खान्थे रे । मैले थाहा पाएँ कि उनले आफ्नो परिवारलाई वेलफेयरको भरमै राखेका थिए र अमेरिकामा कहिल्यै पनि जागीर खाएनन् । आफ्नो जस्तो हैसियतको मान्छेलाई नसुहाउने काम गर्नुभन्दा त उनले सरकारले जारी गरेको चेक साटेर नगद निकाल्न नै मन पराएका थिए । उनले त्यो सेकेन्ड ह्यान्ड हाटलाई शोखको रूपमा हेर्थे जुन एउटा अफगानी साथीहरूसँग घुलमेल हुने उपाय थियो । जर्नेलले विश्वास गर्थे कि ढिलो वा चाँडो अफगानिस्तान स्वतन्त्र हुने छ, राजतन्त्र पुनर्स्थापना हुने छ र उनलाई फेरि सेवा गर्न बोलाइने छ | त्यसैले उनले प्रत्येक दिन खैरो सुट ढल्काउँथे, पकेट घडीमा दम दिन्थे र पर्खेर बस्थे ।
मैले थाहा पाएँ कि खान्नुम ताहेरी जसलाई म अहिले खाला जमिला भन्थेँ, एक ताका लठ्ठै पार्ने सुरिलो स्वरको लागि काबुलमा प्रसिद्ध रैछन् । उनले पेशागत रूपमा त कहिल्यै पनि गाएकी थिइनन् तापनि उनीसँग त्यो प्रतिभा चाहिँ थियो | मैले थाहा पाएँ कि उनी गजल, लोक गीत, राग समेत गाउन सक्थिन् जुन सामान्यतया पुरूषको क्षेत्र थियो । वास्तवमा जर्नेलसँग ठूलै मात्रामा अफगानी र भारतीय गायकहरूको उत्कृष्ट गजलहरूको चक्का थियो, तर संगीत सुन्न उनी जति पारखी भए तापनि उनी के विश्वास गर्थे भने सार्वजनिक रूपमा गाउँदा ति मान्छेको इज्जत घटेको थियो । जब उनीहरूले बिहे गरे उनको एउटा सर्त नै सार्बजनिक रूपमा नगाउने भन्ने थियो । शोरायाले मलाई भनेकी थिइन् कि उनकी आमाले हाम्रो बिहेमा पनि मात्र एउटा गीत गाउन चाहेकी थिइन् रे तर जर्नेलले उनलाई उही पुरानो हेराइले हेरे र त्यो कुरा त्यसै सेलाएर गयो । खाला जमीला हप्तामा एक पाली चिठ्ठी खेल्थिन् र प्रत्येक साँझ टि.भी. मा जोनी कार्सनको कार्यक्रम हेर्थिन । उनी आफ्ना दिनहरू बगैँचामा गुलाब, जिरानेयम, पोटाटो भाइन (Potato Vines) र सुनगाभाको स्याहार गरेर बिताउँथिन् ।
जब हाम्रो बिहे भयो, फूलहरू र जोनी कार्सनले कम समय पाउन थाल्यो । खाला जमिलाको जीवनमा मैले नयाँ आनन्द थपिदिएँ । उनले म प्रति देखाउने व्यवहार जर्नेलको जस्तो सिमित र कुटनैतिक पाराको हुन्थ्यो र उनले मलाई कति सारो माया गर्थिन् भन्ने कुरा कत्ति पनि लुकाउँथिनन् । विहेपछि पनि मैले उनलाई जर्नेल साहेब भनि नै रहँदा उनले मेर त्यो बोलि सच्याएनन् । एउटा कुरा मैले खुबै ध्यान दिएर सुनेँ त्यो थियो उनका रोगहरूको लामो सूचि जसलाई विगत लामो समयदेखि जर्नेलले सुन्न छोडेका थिए ।
शोरायाले मलाई भनेकी थिइन् कि आमालाई हृदयघात भएको बेलादेखि छाती भर्मरायो भने हृदयघात र जोर्नी दुख्यो भने रयूमाटोइड आर्थराइटिस् हो र प्रत्येक पटक आँखा फर्फरायो भने अर्को हृदयघात हो भन्ने लाग्दो रहेछ । खाला जमिलाले पहिलो पटक म सँग घाँटीमा कफ अड्केको कुरा गरेको म सम्झन्छु । “म भोलि स्कुल छोडिदिन्छु र तपाईलाई डाक्टरकोमा लिएर जान्छु,” मैले भनेँ । त्यो सुनेर जर्नेल मुसुक्क हाँसे र भने, तिमीले पनि राम्रै कामका लागि अध्ययन छोड्न लाग्यौ छोरा | तिम्री खालाको औषधि उपचारको कागजहरू रूमि (Rumi) का कृतिहरू जति छन् : तिनीहरूको ठेली नै बन्छ ।
कुरा यति मात्रै थिएन कि मात्र उनले आफ्ना रोगहरूको बारेमा मनका कुरा सुनिदिने श्रोता पाएकी थिइन् । मलाई पूरा विश्वास थियो कि यदि मैले हातमा राइफलै बोकेर हिस्रक हत्यामा ओर्लेकै भएपनि, मैले उनको अटल माया पाउने नै थिएँ, किनभने मैले उनको मुटुको सबैभन्दा ठूलो रोगबाट मुक्ति दिलाइदिएको थिएँ । मैले उनलाई प्रत्येक अफगानी आमाहरूलाई लाग्ने सबैभन्दा ठूलो डरबाट मुक्ति दिएको थिएँ : कुनै पनि इज्जतिलो खास्तेगारले (Khastegar) उनको छोरीको हात माग्ने छैन, अनि उनकी छोरी, बिनाबच्चा एक्लै ठूली हुने छन् । प्रत्येक महिलालाई लोग्ने त चाहिन्थ्यो नै । ऊ नारीको मनका कुरा नबुझ्ने स्वाँठ नै किन नहोस् ।
र मैले शोरायाकै शब्दमा भर्जिनियामा के भएको थियो भन्ने वृतान्त सुनेँ ।
हामी एउटा बिहेमा थियौँ । आइ.एन.एस. (INS) मा काम गर्ने शोरायाका काका शरिफले आफ्नो छोराको बिहे नेवार्ककी एउटा अफगानी केटीसँग गरिदिँदै थिए । बिहे त्यही हलमा भएको थियो, जहाँ छ महिना अघि शोरायाको र मेरो विवाह उत्सव (awroussi) भएको थियो । जब हामी पाहुनाहरूको भिडमा उभिएर बेहुलीले बेहुलाको परिवारको तर्फबाट दिइएको औँठी लिँदै गरेको हेर्दै थियौं, हाम्रो पछाडिपट्टि दुईजना अधबैंसे महिला बोलिरहेको सुनियो ।
“कति राम्री बेहुली, ” एकजनाले भनी । “बेहुली हेर त । जुन जस्तै साह्रै राम्री (Maghbool) ।”
“हो त अर्कीले भनी ।” “कुमारी पनि राम्रो चरित्र भएकी ।” केटा साथी नभएको ।
‘मलाई थाहा छ | म त भन्छु कि त्यो केटाले आफ्नो भतिजी बिहे नगरेर राम्रो गर्यो ।”
घर जाँदै गर्दा बाटोमा शोराया कार भित्रै रून थालिन् । मैले कारको गति नियन्त्रण गरेँ र फ्रिमोन्ट बुलभार्डको सडक बत्तीमूनि लगेर छेउमा पार्क गरेँ ।
“छोड्द्यौ, यी सब कुरा,” उनको कपाल पछिल्तिर फर्काइदिँदै मैले भनेँ । “त्यसको कसलाई चासो छ र ?”
“यो झ्याँक्ने पक्षपाती कुरा,” उनी कुर्लिइन् ।
“यसलाई बिर्सिदेर ।”
“तिनीहरूका छोराहरू मासुको खोजीमा नाइटक्लबमा जान्छन् र केटी साथीहरूलाई भूँडी बोकाइदिन्छन्, बिहे नै नगरी तिनले बच्चा जन्माउँछन्, तर पनि कुनै मूलाले एक शब्द बोल्दैन । ओहो, के रमाइलो गर्ने केटाहरूले मात्रै हो ? मैले एउटा मात्रै गल्ती के गरेकी थिएँ, प्रत्येकले ना (Nang) र नामू (namoos) को कुरा गर्दै छन् र मैले मेरो बाँकी जीवनभरि मेरो अनुहार नाम र इज्जतमै घोटेर सफा पार्नुपर्ने भयो ।’
मैले उनको जन्मौटे दागभन्दा माथि पट्टि चुहिएको आँशुको थोपा मेरो बूढी औंलाले पुछिदिएँ ।
“मैले तपाईंलाई भनेको होइन,” आँखा पुछ्दै शोरायाले भनिन् |
तर त्यस रात मेरो बुबा एउटा बन्दुक लिएर आइपुग्नुभयो । उहाँले -उसलाई भन्नुभयो __ कि बन्दुकमा दुईवटा गोली छ र यदि म घर फर्केर गइन भनें एउटा गोली त्यो केटालाई हुनेछ भने एउटा उहाँ आफैँलाई । म चिच्च्याएर रूँदै बुबालाई तथानाम भन्दै थिएँ । म भन्दै थिएँ, ‘हेरौँला तिमीले मलाई सँधैभरि कसरी थुनेर राख्दा रहेछौ ? मर्न नसकेको बूढो, आदि ।” उनका आँखा फेरि आँसूले भरियो | “मैले साँच्चिकै उहाँलाई ‘मर्न नसकेको बूढो’ भनेकै हो ।’
“जब उहाँले मलाई घर लिएर आउनुभयो, आमाले मलाई अङ्गालो हालेर रून थाल्नु भयो । उहाँ केही भन्दै रूँदै हुनुहुन्थ्यो, तर मैले केही पनि बुझ्न सकिनँ, किनकि उहाँ लेघ्रो तानेर रुँदै बोल्दै गर्नु भाथ्यो । त्यसैले बाबाले मलाई मेरो सुत्ने कोठासम्म पुर्याउनुभयो र मेरै अगाडि ड्रेसरको ऐनाछेउ बसाउनु भयो । उहाँले मलाई एउटा कैची हातमा थमाइदिनुभयो र शान्त स्वरमा मलाई सबै कपाल काट्न अह्राउनुभयो । मैले कपाल काट्दा हेरेर बस्नुभयो ।’
“म एक हप्तासम्म त घर बाहिरै निस्किइन र जब म निस्कैँ, मैले मान्छेले मेरो बारेमा खासखुस कुरा गरेको सुन्थे र जता गएपनि मेरै वरिपरि तिनै मान्छे छन् कि जस्तो लाग्थ्यो । त्यो तीनहजार माइल पर चार बर्ष अगाडिको कुरा थियो, तर म अझै त्यही कुरा सुन्दै छु ।”
“छोडिदेरऊ ती सालेका कुरा,” मैले भनें ।
उनले यस्तो आवाज निकालिन् जुन सुन्दा आधा हाँसो आधा रूवाई मिसिएको थियो । “जब मैले हाम्रो खास्तेगारी (Khastegari) को राति यो कुरा तपाईंलाई फोनमा भनेँ, मलाई लागेको थियो कि पक्कै तपाईंले आफ्नो सोचाइ बदल्नुहुनेछ ।
“त्यसको कनै सम्भावना थिएन, शोराया ।”
उनी मसक्क परेर मेरो हात समातिन् । “तपाईंलाई पाउनु नै मेरो अहो भाग्य हो । मैले भेटेका प्रत्येक अफगानी मान्छेभन्दा तपाई फरक हुनुहुन्छ ।’
“यसको बारेमा हामी अब कहिल्यै कुरा नगरौं, हुन्छ ?”
“हुन्छ ।”
मैले उनको गालामा चुम्बन गरेँ र कर्व (Curb) बाट कार अघि बढाएँ । जब म हाँक्दै थिएँ, म फरक किन थिएँ भनेर आश्चर्य मान्दै सोचेँ । हुनसक्छ मलाई एउटा पुरूषले हुर्काएको भएर पो हो कि ? म महिलाहरूको वरिपरि भएर स्याहार पाएर हुर्किएको थिइन र नारीहरूप्रति अफगानी समाजले कहिले काहीँ देखाउने दोहोरो मापदण्डसँग मेरो प्रत्यक्ष साक्षात्कार कहिल्यै पनि भएको थिएन । सायद यो मेरो बाबा अरू अफगानीहरूभन्दा अलि भिन्न स्वभावको, एउटा उदार मान्छे हुनुहुन्थ्यो जो आफ्नै नियमहरूको साहरामा जिउनुभयो । उहाँ यस्तो भिन्न विचारको व्यक्ति हुनुहुन्थ्यो कि कुनै सामाजिक परम्परालाई त्यो कति उपयुक्त छ भन्ने आधारमा त्यसलाई अँगाल्ने वा अवहेलना गर्ने गर्नु हुन्थ्यो ।
तर मलाई लाग्छ कि मैले शोरायाको विगतलाई वास्ता नगर्नाको मुख्य कारण चाहिँ के भने मेरो पनि एउटा विगत थियो । पछुतो भनेको के हो म सबै जान्दथेँ ।
बाबा स्वर्ग भएको छोटो समयपछि शोराया र म जर्नेल र खाला जमिलाको घरभन्दा २-४ ब्लक पर फ्रिमोन्टमा एउटा बेडरूम भएको अपार्टमेन्टमा सर्यौँ । शोरायाका बाबु आमाले हाम्रो घर सजाउन मिकासाको भाँडाकुँडा र एउटा खैरो रङको छालाको सोफा उपहार स्वरूप किनिदिए । जर्नेलले मलाई अरू थप उपहारमा आइ,बी.एम. (IBM) टाइप राइटर दिए । बाकस भित्र उनले एउटा फारसीमा लेखिएको चिट छिराइदिएका रहेछन्, जसमा फारसीमा लेखिएको थियो :
अमीर जान,
मलाई आशा छ कि यो टाइपराइटरको कि मा तिमीले धेरै
कथाहरू पाउने छौ ।
जनरल ईकबाल ताहेरी
मैले बाबाको भि डब्लु बस बेचिदिएँ र आजसम्म पनि म त्यो सेकेन्ड हयान्ड हाटमा फर्केर गएको छैन । प्रत्येक शुक्रबार म उहाँको समाधिमा जान्थेँ र हेडस्टोनको छेउमै ताजा फ्रिसियासको (freesias) को गुच्छा फेला पार्थे र थाहा पाउँथे कि शोराया पनि त्यहाँ गएकी रहिछन् ।
सानातिना रमाइला क्षणहरू सँगाल्दै शोराया र मैले व्यस्त वैवाहिक जीवन जियौँ । दुवैले एउटै दाँत माझ्ने बुरूश प्रयोग गर्ने, मोजा पनि एउटा साटासाट गरेर लगाउने र बिहानी खबर पत्रिका एकअर्कालाई दिने गर्थ्यौं । उनी बिस्तारामा देब्रे पट्टि सुत्ने गर्थिन् भने म दाहिने पट्टि सुत्न मन पराउँथेँ । उनलाई नरम तकिया मन पर्थ्यो भने मलाई साह्रो चाहिँ मन पर्थ्यो । उनले गेडागुडी सुख्खा खालको खाजाजस्तै खान्थिन् र दूधले निल्थिन् ।
त्यस ग्रीष्ममा मैले सान जोसे स्टेटमा भर्ना हुन स्वीकृति पाएँ र मूल विषय अंग्रेजी भाषा लिने निधो गरेँ । मैले सनीमेलको एउटा फर्निचरको गोदाममा दिउँसोदेखि साँझसम्म गर्नुपर्ने सुरक्षा गार्डको काम थालेँ । काम साह्रै दिक्क लाग्ने खालकी थियो, तर वचत चाहिँ पर्याप्त हुन्थ्यो । साँझ ६ बजेपछि जब सबै कामदार जान्थे र दोहोरा सिलिङ्गसम्मै छुने गरी चाङ पारेर प्लास्टिकले छोपेर राखेको सोफाहरूको बीचमा अँध्यारो छिर्न थालेपछि म आफ्नो किताब निकाल्थें र पढ्थेँ । त्यही सल्लाको गन्ध आउने फर्निचरको गोदामको अफिसमा मैले मेरो पहिलो उपन्यास सुरू गरेँ ।
शोराया पनि अर्को बर्ष म सँगै सान जोसे स्टेटमा आइन् र आफ्नो बुबालाई चिन्तित पार्दै शिक्षणकै लाइनमा भर्ना भइन् |
“तैले आफ्नो प्रतिभालाई किन यसरी बर्बाद गर्दै छस् म केही पनि बुझ्दिनँ,’ एक रात डिनर खाँदै गर्दा जर्नेलले भने । “तिमीलाई थाहा थियो त अमीर जान यसले हाई स्कुल पास गर्दा सबै विषयमा ‘ए’ ग्रेड ल्याएकी थिई ?”
उनी शोरायातिर फर्के । “तँ जस्तो प्रतिभावान् केटी त वकिल वा राजनैतिक अध्येता बन्न सक्थिस् र इन्साल्लाह, जब अफगानिस्तान स्वतन्त्र हुन्छ, तैँले नयाँ संविधान लेख्न सहयोग गर्न सक्थिस् । तँ जस्तो प्रतिभाशाली युवा अफगानीलाई त्यहाँ आवश्यकता पर्न सक्थ्यो । तेरो खान्दानी हैसियतले गर्दा तँलाई मन्त्री पद पनि दिन सक्थे ।’
मैले देखँ शोराया रिसाएर अनुहार अरठ्ठ पार्दै खाँदा खाँदै रोकिइन् | “पादर, म अब केटी होइन । म विवाहित महिला हुँ । त्यसको अलावा तिनीहरूलाई शिक्षक पनि त चाहिन्छ ।’
“पढाउन जसले पनि सक्छ ।’
“त्यहाँ अलिकति खाना छ त, मादर ?” शोरायाले भनिन् ।
जर्नेल हेवार्डमा केही साथीलाई भेट्ने बहानामा उठेर गइसकेपछि मात्र खाला जमिलाले शोरायालाई सान्त्वना दिने प्रयास गरिन् । “उहाँले भनेको ठीकै हो, उनले भनिन् | “उहाँले मात्र तँ सफल होस् भन्ने चाहनुहुन्छ ।’
“उहाँले अनि बल्ल आफ्नो कानुनविद छोरीको बारेमा गफ दिन पाउनुहुन्छ । अनि जर्नेलको तक्मा फेरि एउटा थपिन्छ,” शोरायाले भनिन् ।
“तँ यस्तो नचाहिने कुरा बोल्छेस् ।”
“सफल,” शोराया भुत्भुताइन् । “कमसेकम म उहाँ जस्तो अरू मान्छे शोरावीसँग (Shorawi) ज्यानको बाजी थापेर लडिरहँदा चुप लागेर बसेर कति बेला धूलो उड्न छोड्ला र फेरि अफगानिस्तान गएर गुमेको आफ्नो उच्च सरकारी पद दावी गरौंला भनेर कुरेर बस्ने मान्छे होइन । शिक्षण पेशामा तलब धेरै हुँदैन, तर म बन्न चाहेको टिचर नै हो | मलाई यो मन पर्छ र यो वेलफेयरको भरमा बाँच्नुभन्दा धेरै गुणा राम्रो काम हो ।
खाला जमिलाले आश्चर्य मान्दै जिब्रो टोकिन् । “तैँले यसो भनेको उहाँले कहिल्यै सुन्नुभयो भने तँसँग फेरि कहिल्यै पनि बोल्नुहुने छैन ।”
“तपाईं चिन्ता नलिनुस्,” न्यापकिन प्लेटमा फाल्दै शोरायाले प्वाक्क भनिन् | “मैले उहाँको प्यारो आत्मसम्मानमा चोट पुयाउने छैन ।’
सोभियत सेना अफगानिस्तानबाट फर्कनुभन्दा लगभग ६ महिना अघि सन् १९८८ को ग्रीष्ममा मैले एउटा बाबु-छोराको कथा भएको र सम्पूर्ण परिघटना काबुलमै घटेको दृश्य सहितको मेरो पहिलो उपन्यास सकाएँ जसको धेरैजसो भाग त्यही मलाई जनरलले दिएको टाइपराइटरले नै लेखेको थिएँ । मैले सोधपुछ गर्न एक दर्जन् ऐजेन्सीहरूलाई पत्र पठाएँ र अगस्तको कुनै एक दिन हाम्रो पत्र मञ्जुसा खोली हेर्दा म छक्क परेँ जब मैले त्यसमा न्यूयोर्क एजेन्सीले पूरा पाण्डुलिपी पठाइदिनलाई अनुरोध गरी पठाएको पत्र फेला पारेँ । मैले भोलिपल्टै त्यसलाई मेल गरेर पठाइदिएँ । राम्रोसँग प्याकिङ गरेको पाण्डुलिपीलाई शोरायाले चुम्बन गरिन् भने खाला जमिलाले त्यसमाथि कुरान राख्नलाई जिद्दी गरिन् | उनले मलाई भनिन् कि यदि भेरो किताब स्वीकृत भयो भने उनले मेरा लागि नज्न गर्ने छिन्, जुन एउटा भेडाको बली चढाउने र त्यसको मासु गरिबलाई दिने भाकल हो ।
“कृपया, नज्न नगरौं खाला जान,” उनको निधारमा चुम्बन गर्दै मैले भनेँ । “मात्र जकात गर्नोस् । त्यो पैसा जसलाई खाँचो छ त्यसैलाई दिनुस्, ठीक छ ? तर भेडा मार्ने होइन ।’
६ हप्तापछि एक जना मार्टिन ग्रिनवाल्ट नाम गरेको मान्छेले मलाई न्यूयोर्कबाट फोन गरेर मेरो एजेन्ट बन्न आफू तयार भएको जानकारी दियो । मैले यो कुरा शोरायालाई मात्रै भनेँ । “मात्र कुरा के भने मेरो एजेन्ट छ भन्दैमा मेरो उपन्यास प्रकाशन हुन्छ नै भन्ने होइन । यदि मार्टिनले उपन्यास बेच्यो भने अनि त्यसको उपलक्ष्यमा रमाइलो गरौँला ।”
एक महिनापछि मार्टिनले मलाई फोन गरेर जानकारी दियो कि म पनि आफ्नो कृति प्रकाशित गर्न सफल उपन्यासकार हुँदै छु । जब मैले शोरायालाई यो कुरा भनेँ, उनी खुसीले चिच्याइन् ।
त्यस रात हामीले त्यही खुसियालीमा शोरायाका बाबु आमासँगै डिनर खायौ । खाला जमिलाले कोफ्टा (Kofta) (मिटबल र भात) र फेर्नी (Ferni) पकाइन । जर्नेलले आँखामा खुसीको आँसु टिलपिल पार्दै भने, “मलाई तिमी माथि गर्व छ ।” जर्नेल ताहेरी र उनकी श्रीमती गएपछि शोराया र मैले महङ्गो खालको एक मेर्लोटसँगै रमाइलो गर्यौँ, जुन मैले घर आउँदा बाटोमा किनेको थिएँ । जर्नेल महिलाले मदिरा पिउने कुरामा सहमत हुन्थेनन् र शोरायाले उनको उपस्थितिमा पिउँथिनन् । “मलाई तपाईं माथि ठूलो गर्व छ गिलास उचालेर ठोकाउँदै उनले भनिन् । “काका -भएको भए उहाँले पनि गर्व गर्नुहुन्थ्यो होला ।”
“मलाई थाहा छ, बाबालाई सम्झदै, उहाँले मलाई देख्नुभएकै छ होला भन्ने चाहना गर्दै मैले भनेँ ।
त्यस रात अबेर शोराया सुतिसकेपछि म बालकोनीमा उभिएर गर्मीको हावामा सास फेरे । मदिरा सेवनले जहिले पनि उनलाई निद्रा लाग्थ्यो । मैले रहिम खान र उनले मेरो पहिलो कथा पढिसकेपछि मलाई हौसला दिएर लेखेको त्यो सानो नोटको बारेमा सोचेँ । मैले हसनको बारेमा पनि सोचेँ । “कुनै दिन ईन्साल्लाह तपाई पनि ठूलो लेखक बन्नुहुनेछ,” उसले एकपटक भनेको थियो | “र संसारभरिका मानिसले तपाईंको कथा पढ्ने छन् । “मेरो जीवनमा त्यति धेरै दया र त्यति धेरै खुसी थियो । मलाई आश्चर्य लाग्थ्यो के म त्यसको लायक थिएँ त ?
आउँदो बर्ष सन् १९८९ को ग्रीष्ममा उपन्यास प्रकाशित भयो र प्रकाशकले मलाई ५ वटा सहरको बुक टुरमा पठायो । म अफगानी समुदायमा एउटा सामान्य नाम चलेको व्यक्ति भएँ । त्यो त्यही बर्ष थियो जुन बर्ष शोरावी (Shorawi) हरू अफगानिस्तानबाट फर्किने काम पूरा भयो । अफगानीहरूका लागि यो एउटा गौरवको समय हुनुपर्ने थियो । त्यसको साटो यसपालि झन् अफगानीहरूको बीचमा युद्ध सुरू भयो । नाजिबुल्लाको नेतृत्वको रूसी कठपुतली सरकारको विरूद्ध मुजाहिद्धिनहरूले युद्ध छेडे र अफगानी शरणार्थीहरू पाकिस्तान ओइरिन थाले । त्यो त्यही बर्ष थियो जुन बर्ष शितयुद्धको समाप्ति भयो र बर्लिन पर्खाल ढल्यो । यो त्यानेनमेन स्क्वायरमा रक्तपात र बर्बर दमन गरिएको बर्ष थियो । यी सबै घटनाहरूको बीचमा अफगानीस्तानलाई बिर्सिइएको थियो र जर्नेल ताहेरी, जसका आशाहरू सोभियत फर्केर गएपछि सल्बलाएर बिउँझिएका थिए, पकेट घडीमा दम दिँदै अफगानिस्तान फर्किए ।
त्यो बर्ष त्यो पनि थियो जतिबेला शोराया र भैले एउटा सन्तान जन्मोस् भनेर कोसिस गर्न थाल्यौँ ।
बाबु बन्ने चाहना अचानक मभित्र जोडले झङ्कृत भएर घुम्न थाल्यो । मलाई यो कुरा एकै पटकमा डरलाग्दो, उत्साहवर्द्धक, र आनन्ददायी सबै लाग्यो । म कस्तो खालको बाबु बनूँला भनेर आश्चर्य मान्दै सोचेँ । म बाबा जस्तै बन्न चाहन्थेँ र चाहन्थिन पनि ।
तर एक बर्ष बित्यो केही पनि भएन । प्रत्येक पटक महिनावारी हुदाँ शोरया अझ निराश, अझ बढी अधैर्य र अझ बढी चिडचिडे हुन थालिन् । खाला जमिलाले सुरू सुरूमा “खो देगा !” त्यसैले हो मैले मेरो सानो नवासा (नाति) लाई अल्लाहवु भनेर कहिले गाउँन पाउँला ?” भनेर गर्ने गरेको मीठो संकेत अब प्रस्ट भइसकेको थियो । रगतैले पास्तुन ती जर्नेलले यस्तो सोधपुछ कहिल्यै पनि गरेनन् । प्रश्न गरिएको व्यक्तिले आफ्नो छोरीसँग बिहे गरेको चार बर्षभन्दा बढी भैसकेको भए पनि, यस्तो गर्नुको अर्थ उनका लागि आफ्ना छोरी र एउटा मान्छेको बीचमा हुने यौन सम्बन्धको बारेमा घुमाउरो संकेत गर्नु थियो, तर उनका आँखामा खुसीको भाव छचल्कियो जब खाला जमिलाले बच्चाको बारेमा कुरा गरेर हामीलाई गिज्याइन् ।
“कहिलेकाहीं यसलाई अलिकति समय पनि लाग्छ,” एक रात मैले शोरायालाई भनेँ ।
“एक बर्ष भनेको अलिकति समय होइन अमीर,” उनले यस्तो तनापपूर्ण आवाजमा भनिन्, जुन सुन्दा उनको जस्तो पनि लाग्दैनथ्यो ।
“मेरो केही गडबड छ, मलाई थाहा छ ।”
“अनि त्यसोभए डाक्टरलाई भैटौँन ?’
पुक्क परेको सानो अनुहार मिलेको दाँत, बाहिर निस्केको भुँडी भएका डा.रोजेन कताकता स्लाभिक जस्तो लाग्ने पूर्वी यूरोपीय लवजमा बोले । रेलप्रति उनको साह्रै मोह रहेछ । उनको अफिस कोठाभित्र जताततै रेलरोडको इतिहासका किताबहरु, नमूना इन्जिनहरू हरिया पहाडहरू छिचोल्दै पूलहरूमाथि गुडिरहेका रेलका तैल चित्रहरूले गर्दा फोहर देखिन्थ्यो । उनको डेस्कभन्दा ठीक माथिपट्टि एउटा सूचना जस्तो लेखिएको थियो : जीवन एउटा रेल हो, चढ ।
उनले हाम्रा लागि एउटा विस्तृत योजना बताए । पहिला मेरो परीक्षण गरिने भयो । “पुरूषलाई जाँच्न सजिलो हुन्छ ।’ महगोनीको टेबलमा तबला बजाएजस्तो गर्दै उनले भने । “पुरूषलाई जाँच्न उसको दिमाग जाँच्न जस्तै सजिलो छ : छक्क पार्ने कुरा थोरै मात्र हुन्छन् । अर्कोतिर तपाईं महिलाहरू भने के भन्नु भन्नु भगवानले तपाईंहरूलाई सृष्टि गर्दा धेरै सोचेर गरेको छ ।” उनी कहाँ जँचाउन आउने सबै जोडीलाई उनले त्यही कुराको खुराक दिँदा हुन कि के गर्दा हुन भनेर आश्चर्य मानेर सोची बसेँ ।
“हामी भाग्यमानी रहेछौँ,” शोरायाले भनिन् ।
डा. रोजेन हाँसे । उनको हाँसो नाप्दाखेरि प्राकृतिक (साँचो) हाँसोभन्दा एक दुई सुता कमै थियो । उनले मलाई प्रयोगशालाको स्लीप र एउटा प्लास्टिकको जार दिए भने शोरायालाई नियमित रगत जचाँउन अनुरोध गरिएको कागज । हामीले बिदाइको हात मिलायौं । “रेलमा स्वागत छ,” हामीलाई बाहिर जाने बाटो देखाउँदै उनले भने ।
मैले मेरो सबै परीक्षण उच्च सफलताका साथ पास गरेँ ।
आउने केही महिनासम्म शोरायामा गरिएका परीक्षणहरू अलि अस्पष्ट भए – शरिरको बेसल (basal) तापकम, प्रत्येक प्रस्ट देखिने हार्मोनका लागि रगत परीक्षण, मूत्र परीक्षण, “सेरभिकल म्यूकल परीक्षण”, अल्ट्रासाउण्ड, धेरै रक्त परीक्षण र धेरै पिसाब परीक्षण आदि । शोरायालाई हिस्टेरोस्कपी भनिने एउटा परीक्षण पद्दति पनि प्रयोय गरियो । डा. रोजेनले शोरायाको पाठेघरभित्र टेलिस्कोप पसाएर चारैतिर हेरे । उनले केही देखेनन् । “भित्र पाइपहरू सबै ठीक छन् ।” रबरको पञ्जा खोल्दै उनले भने । म चाहन्थेँ, उनले त्यसो नभनुन् । किनकि हामी बाथरूम त थिएनौं । जब सबै परीक्षणहरू सकियो अनि उनले हामीलाई बताए कि हामीलाई बच्चा किन हुन सक्दैन त भन्ने कुरा उनी किटानी साथ भन्न सक्दैनन् रे । प्रस्टै थियो कि उनले भनेको कुरा त्यति नाजायज पनि थिएन | यो समस्यालाई “नाम थाहा नभएको बाँझोपना” भनिन्थ्यो ।
अनि आयो उपचारको फेज ! हामीले एकपछि अर्को खुराक गरेर क्लोमीफेन र एचएमजी नामको औषधि खाई हेर्यौँ, जुन शोराया आफैँ खान्थिन । जब यी सबै औषधि नाकाम भए डा. रोजेनले कृत्रिम गर्भाधारण गर्न सुझाव दिए । हामीलाई सफलताको कामना गर्दै, तर खर्च व्यहोर्न नसकिने कुरामा पश्चाताप गरिएको व्यहोराको शालीन भाषामा लेखिएको हाम्रो एचएमओले पठाएको
चिठी हामीले पायौँ ।
मैले आफ्नो उपन्यासको पेश्की स्वरूप पाएको पैसा हामीले त्यसमै खर्च गर्यौँ । आइ.भि.एफ साह्रै कठिन, लामो, निराशाजनक र अन्तिममा असफल सावित भयो । ‘गुड हाउसकिपिङ्ग’ र ‘रिडर्स डाइजेस्ट’ जस्ता म्यागेजिनहरू महिनौँसम्म वेटिङ् रूममा बसेर पढ्दै गरेपछि कैयौँ पाली मर्करी बत्ती बलेको स्टेराइल एग्जाम रूममा कागजको गाउन लगाएर चिसो खाएपछि, कत्ति पनि नचिनेको मान्छेसँग पटक पटकको आत्मग्लानि हुनेगरी हाम्रो यौन क्रियाको एक एक केलाएर छलफल गरेपछि, सुई, खोजतलास, नमूना संकलनपछि हामी फेरि डा. रोजेन र रेलहरू भएको ठाउँमा पुग्यौँ ।
डा. हाम्रो सामुन्ने बसे, टेबलमा तबला बजाउन थाले र पहिलो पटक “धर्मपुत्र” भन्ने शब्द प्रयोग गरे । शोराया घर फर्किँदा बाटोभरि रोइरहिन् |
हामीले डा. रोजेनलाई अन्तिम पटक भेटेपछि हप्ताको अन्तिममा शोरायाले त्यो कुरा आफ्नो बा-आमालाई सुनाइन् । हामी ताहेरीको करेसामा पिकनिक चेयरमा बसेर मोहीको डो को चुस्कीसँगै ट्राउटको सेकुवा बनाउँदै थियौँ । यो बेला मार्च १९९१ को एक सबेरै साँझ थियो । खाला जमिलाले गुलाब र आफ्नो हनी सकल (Honey Suckles) लाई पानी दिइसकेकी थिइन् र पाक्दै गरेको माछाको बास्नासँगै फूलको बास्ना पनि मिसियो । उनी दुई पटकसम्म हात लम्काएर शोरायाको कपाल सहलाउँदै “राम्रोसँग त भगवानले नै जान्दछन्, छोरी । शायद यो तिमीहरूलाई लेखेकै थिएन,” भन्न भ्याइसकेकी थिइन् ।
शोराया उँघोमुन्टो लगाएर आफ्नो हातहरू हेरिरहिन् । उनी थकित भएकी थिइन् र म जान्दथैँ उनी यी सब कुराबाट थाकेकी थिइन् । ‘डाक्टर भन्थे कि हामी गोद लिन सक्छौँ रे” झिनो स्वरमा उनले भनिन् ।
यो सुनेर जर्नेल ताहेरीको टाउको चड्कियो । उनले बार्बिक्यूको ढकनो बन्द गरे | “डाक्टरले त्यस भनेकै हो त ?” आश्चर्य मान्दै उनले सोधे ।
“डाक्टरले भने कि यो पनि एउटा उपाय हो,” शोरायाले भनिन् ।
हामीले घरमा पनि गोद लिने बारेमा कुरा गरेका थियौँ । यसको बारेमा शोराया पूरै दोधारे थिइन् । “मलाई थाहा छ यो पागल कुरा हो र सायद व्यर्थ पनि हो,” उनको बाआमाको घर जाँदा उनले मलाई भनिन्, “तर म विवश छु । मैले सँधैभरी के सपना देखेकी थिएँ भने मेरो बच्चा अङ्गालोमा लिने छु र बुझ्ने छु कि नौं महिनासम्म यो मेरै रगतले बाँचेको हो । म एक दिन यसको आँखामा हेर्ने छु र मेरो वा तपाईंको अनुहार देखेर छक्क पर्नेछु । बच्चा हुर्केपछि उसको हाँसो या मेरो वा तपाईंको जस्तो हुने छ । त्यो बाहेक के मेरो सपना गलत हो ?’
“बिल्कुल होइन, मैले भनेको थिएँ ।
“के म स्वार्थी भएकी छु र ?’
“होइन शोराया ।’
“किनभने, साँच्चै तपाईं यदि यसो गर्न चाहनुहुन्छ भने…….”
“चाहन्न” मैले भनेँ । “यदि हामी साँच्चै यसो गर्ने हो भने, यसको बारेमा हामीलाई कत्ति पनि शंका हुनुहुँदैन र हामी दुवै सहमत हुनुपर्छ । नत्र भने त्यो बच्चाप्रति न्याय हुँदैन ।’
उनी झ्यालको सिसामा टाउको टेकाएर बसिन् र बाटोमा केही पनि भनिनन्
अहिले जनरल उनको छेवैमा बसेका थिए | “छोरी, यो गोद लिने कुरा अफगानीहरूलाई हो कि होइन यसको बारेमा म त्यति ढुक्क छैन ।’ थकित मुद्रामा शोरायाले मतिर हेरिन् र “सुइअँ” गरिन् ।
“एउटा कुरा के भने तिनीहरू हुर्कन्छन् र आफूलाई जन्माउने बा-आमा को हुन भनेर जान्न चाहन्छन्,” उनले भने । “न त तिमी तिनलाई दोष नै लाउन सक्छौँ । कहिलेकाहीँ आफूलाई जन्माउने बा-आमा खोज्ने भनेर तिनीहरू घर छोडेर जुन घरमा तिमीले तिनीहरूको लालन पालन गर्न बर्षौं बर्ष परिश्रम गरेकी हुन्छ्यौ । छोरी रगत बडो शक्तिशाली चीज हो भन्ने कुरा कहिल्यै नबिर्स ।”
“म अब अरू यसको बारेमा कुरा गर्न चाहन्न,” शोरायाले भनिन् ।
“म अझै एउटा कुरा भन्छु, उनले भनिन् । मैले बुझेको थिएँ कि उनी हुँदै थिइन् । हामी जर्नेलको छोटो भाषण सुन्न पाउनेवाला थियौँ । ‘अमीर जानकै कुरा गरौँ न । हामी सबैले उनको बुबालाई चिन्थ्यौँ । म जान्दछु काबुलमा उनको हजुरबुबा को थिए र जिजुबुबा को थिए । यदि तिमीहरू सोध्छौ भने म यहीँ बसेर उनका पूर्खाहरूको पुस्तौली पत्ता लगाउन सक्छु । त्यही भएर जब उनका बुबा (भगवानूले उनलाई शान्ति दिउन) खास्तेगरी (Khastegari) को लागि आए, म हिच्किचाइन । र, मलाई विश्वाश गर कि यदि उनका बुबाले तँ कसको वंश हो भन्ने थाहा नभएको भए तेरो हात माग्ने कुरामा उनी सहमत हुन्थेनन् । रगत बडो शक्तिशाली चीज हो नानी, र जब तैँले गोद लिन्छेस्, तँलाई थाहा हुन्न कि तैँले कसको सन्तान घरमा ल्याएको हो ।’
“तँ यदि अमेरिकन भइदिएको भए, यसको केही मतलब हुन्थेन । मान्छेले यहाँ प्रेमका लागि बिहे गर्छन् । समीकरण मिलाउँदा परिवारको ईज्जत र पुर्ख्यौली ख्याल गरिन्न | त्यसै गरी उनीहरूले गोद पनि लिन्छन् । जबसम्म बच्चा स्वस्थ छ, सबै खुसी हुन्छन्, तर हामी त अफगानी हौँ, छोरी ।”
“माछा पाक्नै लागेन त ?” शोरायाले भनिन् । जनरल ताहेरीले उनलाई एक टकले हेरे । जर्नेलले उनको घुँडामा थपथपाए । ‘मात्र खुसी हुनु किनभने तँ स्वस्थ छस् र राम्रो श्रीमान् पाएकी छस् ।”
“तिमीलाई कस्तो लाग्छ अमीर जान ?“ खाला जमिलाले भनिन् | मैले मेरो गिलास दवेकमा राखेँ जहाँ उनका गमलाका जिरानियम फूलबाट तपतप पानी चुहिरहेको थियो । “मलाई लाग्छ जर्नेल साहबसँग म सहमत छु ।”
ढुक्क हुँदै जर्नेलले सहमतिमा टाउको हल्लाए र फेरि ग्रील (सेकुवा बनाउने चुल्हो) मा माछा सेकाउन थाले ।
गोद नलिनलाई हामी सबैको आ-आफ्नै तर्क थियो । शोरायाको आफ्नै तर्क थियो र जर्नेलको पनि आफ्नै अडान थियो भने मेरो तर्क यस्तो थियो : सायद कहीँ कतै कसैले मैले गरेको पापको कारणले मलाई बाबु बन्न दिनलाई रोकिरहेको थियो । सायद यो मलाई सजाय थियो र सायद न्याय संगत पनि थियो । यो खाला जमिलाले भने जस्तै यो हाम्रो भाग्यमा लेखिएको थिएन । अथवा सायद यो नहुन लेखिएको थियो ।
केही महिना पश्चात मेरो दोस्रो उपन्यासका लागि आएको पेश्की रकम हामीले सानफ्रान्सिस्कोको बर्नल हाइट स्थित एउटा सुन्दर दुई बेडरूम भएको भिक्टोरियन घर किन्नलाई बैना लगायौँ । घरको दुईपाखे छानो, पार्केट गरेको भुई र सानो पिछाड जसको अन्तिममा सन डेक (घाम ताप्ते ठाउँ ) र दाउरा बाल्ने अगेनो थियो । जर्नेलले मलाई डेकको पुर्नमर्मत र भित्तामा रङ लगाउनलाई मद्दत गरे । खाला जमिला लगभग एक घन्टासम्म विलौना गर्दै हामीबाट परै बसिन् | विशेषतः किनभने उनले के सोच्थिन् भने शोरायाले पाउनुपर्ने माया र समर्थन सबै पाउनुपर्छ । उनले के तथ्यलाई बिर्सेकी थिइन् भने उनले छोरीप्रति चिताएको भलो, तर अति बढी सहानुभूतिले नै शोरायालाई ठाउँ सर्न बाध्य पारेको थियो ।
कहिले काहीँ शोराया मेरो छेउमै सुतेर निदाइरहँदा, म ओछ्यानमा बस्थेँ र चिसो हावा चल्दा जाली ढोका खुलेको र ड्याम्म बन्द भएको अनि करेसामा झ्याउँकिरी चिर्र कराएको सुनेर बस्थेँ । म झन्डै के अनुभव गर्थे भने शोरायाको गर्भ एउटा जीवीत सास फेरिरहेको मान्छेको नभएर त्यो काम नलाग्ने रित्तो भाँडो हो । त्यो रित्तो भाँडो हाम्रो बिहेमा, हाम्रा खुसीको हाँसोमा, प्रेम साटासाटमा काम लागेन किनकि त्यो चुहिएको थियो । हाम्रो कोठाको अँध्यारोमा राति अबेर म ठान्थेँ कि यो शोरायाभन्दामाथि ठूलो भएर उठ्दै छ र हामी बीचमा बस्दै छ । भर्खरै जन्मेको बच्चा जस्तै हामी, बीच सुतिरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









