दश
मार्च – १९८१
हाम्रो ठिक सामुन्ने पारिपट्टि एक जना महिला बसेकी थिइन् । उनले जैतुन जस्तै हरियो रंगको लुगा लगाएकी थिइन् र रातिको चिसोबाट जोगिन कालो सल टनक्क पारेर टाउकोउमा बेरेकी थिइन् । प्रत्येक पटक ट्रक उफ्रिँदा वा खाल्डोमा अड्किँदा घन्द्रयाङ्ग घुन्द्रुङ्ग गर्दा र हल्लिँदा उनी “विस्मल्लाह” भन्दै प्रथाना गर्न थाल्थिन् । गठिलो शरीर, ब्यागी पाइन्ट र आकाशे रङको फेटा गुथेको उनको श्रीमान् एउटा हातले बच्चा च्यापेर हल्लाउँदै थियो भने अर्को हातले माला जपेर प्रार्थना गर्दै थियो । उसका ओठहरु प्रार्थना गर्दा चलिरहेका थिए, तर चुपचाप । बाबा र म लगायत ट्रक भित्र अरु लगभग एक दर्जन जति मान्छे थिए । टाङ्गमुनि आआफ्नो सुट्केश च्यापेर त्रिपालले ढाकेको थोत्रो रशियन ट्रकभित्र ति नचिनेका मान्छेहरुसँग हामी कोचाकोच गरी उभिएरै जाँदै थियौँ ।

बिहान सबेरै दुई बजे काबुलबाट हिँडेको बेलादेखि नै मेरो पेट हुँडुलीरहेको थियो । बाबाले त्यसो त कहिल्यै भन्नुभएन, तर पनि मैले बुझेको थिएँ कि मलाई “मोटर लाग्ने” कुरालाई उहाँले मेरा कमजोरीहरुको फेहरिस्तमा फेरि एउटा थपिएको रुपमा हेर्नुभएको थियो । २ पाली त मेरो पेट यस्तरी बाँउडियो कि म रोएको थिएँ र यसलाई उहाँले ठूलो कमजोरीको रुपमा लिनुभएको थियो भन्ने कुरा उहाँको लज्जित अनुहारबाट प्रस्ट देखिन्थ्यो ।
जब त्यो भजन माला लिएको गठिलो मान्छे, –त्यही राम राम भन्दै गरेकी महिलाको लोग्नेले “तिमीलाई सन्चो नहुने त होइन ? भनेर सोध्यो, मैले छाँटकाँट त्यस्तै छ भनेँ । बाबाले मबाट नजर अन्तै लानुभयो । त्यो मान्छेले आफ्नो छेउको त्रिपालको छेउ उचालेर ड्राइभरको झ्यालमा हिर्काउँदै “ए, रोक रोक” भन्यो, तर छिर्केमिर्के कालो किक्रिक्क दुब्लो अनुहार, अनि तिखो जुँगा भएको ड्राइभर करिमले “हुन्न” भन्दै टाउको हल्लायो ।
“हामी काबुलको नजिकै आइपुग्यौ,” उसले झर्को मान्दै भन्यो । “उसलाई पेट अलि दह्रो पारेर राख्न भन ।”
एकै सासमा बाबा केही भुत्भुताउनु भयो । म उहाँसँग “सरी” भन्न चाहन्थेँ, तर अचानक मेरो घाँति तितो भएर आयो र ¥याल निस्कन थाल्यो । म पछि फर्केँ, त्रिपाल उचालेँ र हिँडिरहेको ट्रकको बाहिर पट्टि लतपतिने गरी उल्टी गरेँ । मेरो पछिल्तिर बाबाले अरू यात्रीहरूसँग माफि माग्दै हुनुहुन्थ्यो । मानी लिउँ मोटर लाग्नु एउटा अपराध हो । मानि लिउँ अठार वर्ष पुगेको मान्छेले मोटर चढ्दा उल्टी गर्नै हुँदैन । आफ्नो गरी खाने भाँडो मैले छादेको उल्टीले नगनाओस्‌ भनेर मैले फेरि अर्को दुई पटक छादेपछि बल्ल करिम ट्रक रोक्न सहमत भयो । करिम मान्छे वसारपसार गर्न कालो धन्दा गर्थ्यो । त्यतिबेला यो कमाई हुने धन्दा थियो । शोरावी नियन्त्रित काबुलबाट मान्छेलाई ट्रकमा राजेर अलि सुरक्षित पाकिस्तानसम्म पुन्याउने | उसले हामीलाई काबुलबाट एक सय सत्तरी किलोमिटर दक्षिण पूर्वको जलालाबाद भन्ने ठाउँसम्म पुन्याउँदै थियो, जहाँ उसको भाइ तुर पर्खेर बसेको थियो । शरणार्थी दोस्रो डफ्फाले भरिएको तुरको ट्रक अझ ठूलो थियो र खिबर पास हुँदै पेशावरसम्म पुर्याइदिन्थ्यो उ हामीलाई पर्खिसबेको थियो |

जति बेला करिमले गाडी बाटोको छेउमा साइड लगायो, हामी महिपार फल्स (झरना) देखि मात्र केही किलोमिटर पश्चिमतिर थियौँ । महिपार, जसको अर्थ “उडिरहेको माछा’ भन्ने हुन्छ, जुन १९६७ मा जर्मनीले अफगानीस्तानलाई बनाइदिएको जलविधुत गृहतिर फर्केको अग्लो, डरै लाग्दो भिरालो चुचुरो भएको छाँगो थियो । जलालाबाद जाने क्रममा बाबा र म अनेकौं पटक गाडीमै बसेर उक्त चुचुरोमा गएका थियौँ । जलालाबाद साइप्रेस (Cypress) रूखहरू र रुखुको खेतहरू भएको सहर हो जहाँ अफगानीहरू जाडोमा छुट्टी मनाउन आउँथे ।

म ट्रकको पछाडिबाट हाम फलेर झरें र लुरूलुरू हिँडेर सडककै छेउको धुलैधुलो भएको बाँधमा पुगें । मेरो मुख स्यालले भरियो, जुन अब वाक्क वाक्क हुने पक्का हो भन्ने संकेत थियो । म लर्खराउँदै पहरोको छेउमा पुगैँ जहाँबाट तल हेर्दा गहिरो, अँध्यारो उपत्यका देखिन्थ्यो । म निउरी परेँ, घुँडाको जोर्नीमा हात राखेँ र उल्टी आउँछ कि भनेर कुरी बसेँ । त्यतै कतै जंगलमा एउटा हाँगो चर्याक्क भाँचियो र लाटोकोसेरो करायो । मन्द, चिसो हावाले रूखका हाँगाहरू हल्लियो र भिरालो पहाडमा कताकति उम्रेका बुट्यानहरू हल्लिए । तलबाट छङछङ गर्दै उपत्यकातिर खसेका पानीको आवाज सुनिन्थ्यो ।

बाटो छेउमा उभिएर मैले सारा जीवन बिताएको घर हामीले कस्तो पाराले छोडेका थियौँ त भन्ने बारेमा सोचेँ । अहिले मानौँ हामी बाहिर केही खान गैरहेका थियौं : भान्छाको सिङ्क छेउ थुपारेका कोफ्टा दलको खानेकुराहरू, बेतको टोकरीमा लबीमा थुप्रयाई राखेको लुगाहरू, नमिलाएको विस्तारा, बाहिर जाँदा लगाउने सुट दराजमा झुन्डिरहेको । बैठक कोठाको भित्ताहरूमा हातले बुनेका पर्दाहरू भुन्डिएकै थिए र मेरी आमाका किताबहरू बाबाको स्टडी रूमको दराजमा टनाटन थिए । हामी घर छोडेर हिँडेको संकेत राम्रो थियो : मेरो बुबा आमाको बिहेको फोटो थिएन भने त्यसै गरी मृत हरिणको छेउमा उभिएका राजा नादिर शाह र मेरो हजुरबुबाको दागी दागी परेको धमिलो तस्विर पनि थिएन । दराजका केही लुगाका आइटमहरू गायब थिए । पाँच बर्ष अगाडि रहिम खानले मलाई दिएको छालाको गाता भएको नोटबुक पनि गायब थियो ।

बिहान जलालुददिन, जो हाम्रो पाँच बर्ष भित्रको सातौ काम गर्ने नोकर थिये, ले शायद सोच्ने छ कि हामी कि त टहहिन गएका थियाौँ या गाडी लिएर हामी जाँदै छौं भनेर हामीले उसलाई भनेका थिएनौं । काबुलमा कसैले पनि कसैलाइ विश्वासै गर्न गाह्रो थियो । थोरै पैसाका लागि वा धम्कीको डरले मानिसहरू एक आपसमा पोलापोल गर्थे । छिमेकीले छिमेकीको, बच्चाले बाबुआमाको, नोकरले मालिकको, साथीले साथीको । मैले गायक अहमद जाहिरको बारेमा सोचेँ जसले मेरो तेह्रौँ जन्मदिनको दिन अर्कोडियन बजाएर गाएका थिए । उनी केही साथिहरूसँग गाडीमा घुम्न निस्किएका थिए र पछि कसैले टाउकोमा गोली लागेर बाटो छेऊ उनको मृत शरीर फेला पारेको थियो । राफिक्स वा कामरेडहरू जताततै थिए र तिनीहरूले काबुललाई दुई समूहमा टुक्र्याएका थिए : सुलसुले गर्ने र नगर्ने । धोका हुन सक्ने कुरा के थियो भने को कतापट्टिको मान्छे हो थाहै हुन्थेन । एउटा दर्जीलाई आफ्नो सुट चिटिक्क पारेर सिलाउन लगाउँदा खेरी भनिएको सामान्य भनाइको कारणले जो कोही पनि ठिंड्कोको नरक यातनामा पर्न सक्थ्यो । कसैले आफूले जानेको केही कुरा होस्‌ वा कर्फर्यूको बारेमा कसाहीसँग गुनासो गरोस्‌, ऊ थुनिइन्थ्यो र कलासनिकोभको बन्दुकको नाल टुलुटुलु हेरेर बस्नुपर्थ्यो । आफूनै घरको एकान्तमा डिनर टेबलमा बस्दा पनि मानिसहरूले अड्कलेर बोल्नुपर्थ्यो । राफिक्सहरूले कक्षा कोठा पनि छोडेका थिएनन्‌ | उनीहरूले स्कुले बच्चाहरूलाई पनि आफ्ना अभिभावकहरुको सुराकी गर्न सिकाएका थिए | के कुरा सुन्ने अनि कसलाई गएर सुनाउने ।

 

मध्यरातमा म यो रोडमा के गरेर बसिरहेको थिएँ त ? म यति बेला पुरानो भएर कुकुरकाने पानाहरू भएको किताब छेउमा राखेर ब्ल्यांकेट ओढेर सुतिरहनुपर्ने थियो । यो त सपना हुनुपर्ने थियो | हुनै पर्थ्यो । भोलि बिहान म उठेर झ्यालबाट चियाउने छु र देख्ने छु कि सडक पेटीमा उदास अनुहार लिएर रूसी सिपाहीहरू सडक पेटीमा गस्ती गरिरहेका हुने छैनन्‌, सुरक्षा घेराको टावर मा “ओए” भनेर चोरी औँलाले देखाएजस्तो बन्दुकको नाल घुमिरहेको हुने छैन, धूलो हुने छैन, कर्फ्यू हुने छैन, पर्सनल क्यारीमा बसेर सेनाले बजारको चक्कर लगाइरहेको हुने छैन | अनि, मेरोपछाडि बाबा र करिमले चुरोट तान्दै जलालबादमा के सुविदा छ भनेर कुरा गर्दै गरेको सुनेँ । करिमले बाबालाइ अाफ्नो दाजुको राम्रो र अति विशिष्ट खालको ट्रक भएको कुरा बताउँदै बाबालाई ढु्क्क पार्दै थिए । र, उनी भन्दै थिए कि पेशावर जाने त नियमित तालिका अचुसार नै हुने छ । “उसले त आँखा चिम्लेरै पनि तपाईहरूलाई त्यहाँ पुर्याइदिन्छ,” उसले भन्यो । करिमले र उसको भाइले चेकपोस्टमा बस्ने रूसी र अफगानी सैनिकहरू चिनेका रहेछन् र उनीहरूले ती सिपाहीहरूसँग दुबै पक्षलाई फाइदा हुने खालको आपसी समझदारी पनि गरेका रहेछन् । यो कुरा करिमले बाबालाई सुनाईरहँदा मैले सुनेँ । यो सपना थिएन । संकेत गरे जस्तो हाम्रो टाउको माथिबाटै एउटा मिग बिमान सुइँयाँ गरेर गयो । करिमले चुरोट फ्यालीदियो र कम्मरमा राखेको ह्यान्डगन निकाल्यो । गोली हान्न लागे जस्तो पारामा बन्दुक
सोझ्याएर थुक्दै मिग विमानलाई सराप्यो ।

मैले यति बेला हसन कहाँ होला भनेर सोचेँ: । अनि अवश्यम्भावी कुरा भएरै छाड्यो । मैले झारको बुच्कामा छादैँ । कानको जाली फुट्ला जस्तो गरी गर्जेको मिग । विमानको आवाजमा भैले ह्वाक्क ह्वाक्क गरेर छादेको आवाज त्यसै हरायो ।

बीस मिनेटपछि हामी महिपारको चेक पोइन्टमा पुंग्यौँ । हाम्रो ड्राइभरले ट्रकलाई आफूनै सुरमा रोकिन दिँदै भुक्क हाम फालेर हतारहतार नजिकिँदै गरेको आवाजलाई स्वस्ती गर्न गयो । उनीहरू हिँड्दा गिट्टी बज्यो । छोटो र स्याउती स्वरमा शब्दहरू आदान प्रदान भयो । झिलिक्क लाइटर बल्यो । “स्पासेबा’ (Spasseba) फेरि अर्को लाइटरको झिल्को । कोही तीखो स्वरमा हाँस्यो जसले गर्दा म जुरूक्क उफ्रैँ । बाबाले मेरो साँप्रामा समातेर बसाउनुभयो । हाँसेको मान्छेले लामो लेघ्रो तानेर नमिलेको तालमा धोद्रे रसियन आवाजमा गाउन थाल्यो । गीतको बोल थियो :
आहिस्ता बोरो, माह-ए-मान, आहिस्ता बोरो गो स्लोली, माई लब्ली मून, गो स्लोली ।

बुट जुत्ताको हिल अलकत्रमा टकटक बज्यो । ट्रकको पछाडिपट्टि झुन्डिएको त्रिपाललाई कसैले त्वात्त पन्छायो र तीनवटा अनुहारले भित्र चियाएर हेरे । एउटा रहिम थियो भने अरू दुईजना सिपाहीहरू थिए । एउटा अफगानी थियो भने अर्को बुलडगको जस्तो अनुहार भएको, ङिच्च हाँस्दै गरेको रशियन थियो जसको मुखको कुनामा चुरोट झुन्डिएको थियो । तिनीहरूको पछाडि आकाशमा सेतो जून झुन्डिएको थियो । करिम र त्यो अफगानीले पास्तु भाषामा छोटो कुराकानी गरे । उनीहरू तुर (Toor) र उसको दुर्भाग्य वा यस्तै केही बोल्दै थिए । मैले अलिकति मात्र सुनेँ । त्यो रसियन सिपाहीले ट्रकको पछाडिबाट भित्र टाउको छिरायो । ऊ बिहेमा गाउने गीत गुन्गुनाउँदै थियो र ट्रकको पछाडिको ढालामा औंलाले मादल बजाउँदै थियो । उसले एकपछि अर्को यात्री नियाली रहँदा मधुरो जुनको प्रकाशमा पनि उसका चम्किला डरलाग्दा आँखा मैले देखेँ । चिसोको अलावा पनि उसको निधारबाट पसिना छुट्यो । उसको नजर त्यो कालो सल ओढेकी आइमाईमाथि गड्यो । त्यो आइमाईबाट नजर नहटाइकन उ करिमसँग रसियन भाषामा बोल्यो । करिमले रसियन भाषाले छोटो जवाफ दियो, जसको जवाफ रसियनले झन्‌ छोटो पारामा प्वाक्क दियो । अफगानी सिपाहीले पनि मधुरो, सौम्य भाषामा केही भन्यो, तर त्यो रसियन सिपाही चिच्च्यायो र अरू दुईजना झस्किए । मैले थाहा पाएँ बाबा मेरो छेउमा रिसले जुर्मुराउँदै हुनुहुन्थ्यो । करिमले “अहँ ” गरेर गला सफा गन्यो र टाउको निहुन्यायो अनि भन्यो कि त्यो सिपाहीले ट्रकको पछाडि बसेकी महिलासँग आधा घन्टा बिताउन चाहन्छ रे ।

ती महिलाले सल तल झारेर मुख छोपिन्‌ । भक्कानिएर रून थालिन्‌ । उनको श्रीमानको काखमा बसिरहेको बच्चा पनि रून थाल्यो । श्रीमान्‌ चाहिंको अनुहार आकाशमा तैरिरहेको जुन जस्तै सेतो भयो । उसले करिमसँग करमसँग सहयोग गुहार्यो | उसले भन्यो कि तपाईंले “श्रीमान्‌ सिपाही साहेब” सँग भनेर हामीमाथि दया गर्न भनिदिनोस्‌ । सायद उसका पनि दिदी बहिनी वा आमा वा श्रीमान छन् होला । त्यो उसलाई सम्झाइदिनोस्‌ । रसियनले करिमको कुरा सुन्यो र के के भन्दै झुक्यो ।
“यो उसले हामीलाई जान दिए वापत लिने मूल्य हो, ” करिमले भने ।
करिमले श्रीमान्‌ चाहिंको आँखामा हेर्ने सकेनन्‌ ।
“हामीले उचित मूल्य तिरिसकेका छौँ । उसले राम्रो तलब पाउँछ । “श्रीमानले भन्यो ।

करिम र रसियन सिपाही फेरि बोले । “ऊ भन्छ कि — ऊ भन्छ कि हरेक मूल्यमा कर लाग्छ ।”

करिमले बोलेर के सकेको थियो बाबा जुर्मुराउँदै उठ्नुभयो । यसपालि बाबालाई तिघ्रामा च्याप्प समातेर बसाउने पालो मेरो थियो, तर बाबाले मेरो हात पन्छाउनुभयो र गोडा मेरो हातबाट फुत्काउनुभयो । जब उहाँ उठ्नुभयो जुनको प्रकाश छेकियो । “म चाहन्छु कि तपाईं यो मान्छेसँग केही कुरा सोध्नुस्‌ । बाबाले झोक्किँदै भन्नुभयो । बाबाले यो वाक्य करिमलाई भन्नुभयो, तर उहाँ सीधै त्यो रसियन अफिसरलाई नै हेर्दै हुनुहुन्थ्यो । “त्यसलाई सोध त त्यसको लाज कहाँ छ ।”

तिनीहरू केही बोले । “ऊ भन्छ कि यो युद्धको बेला हो, युद्धमा लाजसाज केही हुँदैन ।”

“त्यसलाई भन्देऊ यो गलत कुरा हो । युद्धले शिष्टतालाई निषेध गर्दैन | बरु शान्ति हुँदाभन्दा अझ बढी त्यसको माग गर्छ ।’

“के तपाईलाई सझैँ हिरो बन्न पर्ने ?” मैले सोचेँ । मेरो मुटु ढुकढुक गरिरह्यो । के तपाई एक पालीलाई छोडिदिन सक्नुहुन्न ? म जान्दथेँ उहाँ सक्नु हुन्नथ्यो । उहाँको स्वभाव यस्तो थिएन । समस्या के थियो भने उहाँको स्वभावले गर्दा हामी सबै मारिन जाँदै थियौँ ।

ओठ खुम्च्याएर मुसुक्क हाँस्दै रसियन सिपाहीले करिमलाई केही भन्यो । “अगा साहेब,” करिमले भन्यो, “यी रूसीहरू हामी जस्ता छैनन् । यिनीहरूलाई मान सम्मान भनेको के हो थाहै छैन ।”
“त्यसले के भन्यो ?”
“ऊ भन्छ कि तपाईंको टाउकोमा गोली हान्दा उसलाई त्यति नै मज्जा हुनेछ जति मज्जा………” करिम रोकियो तर त्यो गार्डको लोभी नजर परेको महिलालाई टाउकोको इसाराले बोलायो । सिपाहीले पिउँदै गरेको ठूटो चुरोट फुत्त फ्यालिदियो र ह्यान्ड गन निकाल्यो । अब बाबा मर्नुहुन्छ, मैले सोचेँ । अब पक्कै केही हुन्छ । मैले स्कुलमा स्कुलमा सिकेको ‘प्रार्थना’ मनममै भनेर भगवानलाई पुकारेँ ।

“त्यसलाई भनिदे कि यो लाजमर्दो कुरा देख्नुभन्दा अघि नै म बरू त्यसको हजार गोली खान तयार छु ।” बाबा जङ्गिनुभयो । मेरो मानसपटलमा ६ बर्ष अघिको हिउँदको एउटा चित्र आयो । म गल्लीका कुना कुना चाहार्दै हिँडेको | कमाल र अलीले हसनलाई भुइँमा लडाएर अँठ्याइराखेका । असिफको चाकको मांसपेशी खुम्चिने गरेको र हिप अगाडि पछाडि गरेको । त्यो चङ्गाप्रति उत्सुक केही बहादुरहरू मैले देखेको थिएँ | कहिले काहीँ मलाई शङ्का पनि लाग्थ्यो के म साँच्चै बाबाकै छोरो हो त ?

बुलडग जस्तो अनुहार भएको रूसीले बन्दुक तेर्स्यायो | “बाबा कृपया बस्नुस्‌ न “, बाहुला समातेर तान्दै मैले भनेँ । “लाग्छ उसले साँच्चिकै तपाईलाई गोली हान्छ ।”
बाबाले मेरो हात झड्कारेर पन्छाउनुभयो |
“तँलाई मैले आजसम्म केही पनि सिकाएको छैन ?” उहाँ चर्किनुभयो । उहाँ त्यो दाह्रा किटिरहेको सिपाहीतिर फर्कनुभयो । “त्यसलाई भन्देरु कि यसले पहिलो गोली मलाई नै हानोस्‌ र फुक्लुक्क मारोस्‌, किनभने म मरिन भनेँ त्यसलाई म टुक्राटुक्रा पारिदिन्छु, कुकुरको छोरो !”

रसियन भाषामा उल्था गरिदिएपछि जब उसले बाबाले के भन्नुभएको थियो भन्ने बुझ्यो, उसले झन्‌ बढी दाह्रा किट्यो । नाल बाबाको छातीमा तेर्स्यायो | मेरो मुटु भुटुकभुटुक गर्यो र मैले दुई हातले आँखा छोपैँ ।

बन्दुक ड्याङ्ग पड्कियो ।
ल अब गयो । म अठार बर्षको छु र अब एक्लै हुने भएँ । मेरो यो संसारमा कोही छैन । बाबा मर्नुभयो र मैले अब उहाँलाई गाड्नु पर्छ । उहाँलाई गैले कहाँ गाड्ने होला । त्यसमा पनि म काहाँ जान्छु होला ?

तर मेरो दिमागमा आँधीबेहरी सरह घुमिरहेको पागल बिचार त्यति बेला अन्त्य भयो जति बेला मैले आँखा खोलेँ र बाबा अझै उभिइरहेको पाएँ । त्यो रसियन अफिसर अरूहरूसँगै थियो । आकाशतिर फर्किएको उसको बन्दुकको नालबाट धुवाँ पुत्ताइरहेको थियो । बाबालाई गोली हान्न खोज्ने सिपाहीले चाहिँ हतियार राखिसकेको थियो । उ खुट्टा भुइँमा दरमर्याउँदै थियो । मलाई एकैपटक रून पनि र हाँस्न पनि मन लागिराखेको थियो । यस्तो पहिले कहिल्यै भएको थिएन ।

खैरो कपाल अनि मोटो शरीर भएको त्यो दोस्रो रसियन अफिसर हामीसँग नजानी नजानी फारसीमा कुरा गर्यो |

“रसियाले उनीहरूलाई यहाँ लड्न पठाएको हो”, उसले भन्यो । “तर यिनीहरू अल्लारे ठिटाहरू छन्‌ । अनि जब उनीहरू यहाँ आउँछन्‌, लागु पदार्थको कुलतमा फस्छन् ।” छोरोको बदमासीले वाक्क भएको बाबुले उसलाई जसरी हेर्छ त्यो अर्को ठिटो अफिसरलाई टोकुँला जस्तो गरी हेन्यो । “यो पनि अहिले लागु पदार्थमा फस्याँछ । म यसलाई छ म यसलाई रोक्ने कोसिस गर्दै छु — । ” उसले हामीलाई हातको इसारामा जान भन्यो |

एकैछिन पछि हामी जाँदै थियौँ । कोही हाँस्यो र त्यो पहिलो सिपाही लेघ्रो तानेर सुरताल नमिलाई पुरानो त्यो बिहेमा गाउने गीत गाउँदै थियो ।

त्यो तरूनी आइमाईको लोग्ने एक्कासि उठेर केही गर्नुभन्दा अघि हामी पन्ध्र मिनेट जति चुपचाप गाडीमा बस्यौं । उसले यस्तो चिज गन्यो जुन मैले ऊभन्दा अघि अरू धेरैले गरेको देखेको थिएँ : उसले बाबाको हातमा चुम्बन गर्यो ।

तुरको दुर्भाग्य । महिपारमा गफ हुँदा त्यो कुरा मैले कताकति सुनेको थिइन र ?
घाम उदाउनु लगभग एक घन्टा अघि हामी जलालाबाद छिर्यौँ । करिमले हामीलाई हतारहतार दोहोरै एक तले घरहरू र बन्द पसल अनि आकासिया (Acacia) रुखहरु भएको र दुईवटा फोहोर बाटोहरूको संगम छेउ अवस्थित एउटा एक तले घरमा लिएर गयो । ठिहिर्याउने चिसो छल्न मैले कोटको कल्लर तान्दै हाम्रा सामानहरूको पोको घिसारेँ । मुलाको बास्ना आएको म आफैँ सम्झन्छु । त्यसको पछाडि केही कारण छ | मधुरो बत्तीको उज्यालोमा देखिएको त्यो नाङ्गो बैठक कोठामा हामीलाई पुग्याउने बित्तिकै हसनले अगाडिको ढोका बन्द गर्यो र च्यातिएका तन्नाहरूको पर्दा झान्यो । अनि उसले लामो सास तान्यो र हामीलाई नराम्रो खबर सुनायो : उसको भाइ तुरले हामीलाई पेशावर पुन्याउन नसक्ने भयो रे । लाग्थ्यो तुरको ट्रकको इन्जिन अघिल्लो हप्ता पड्केको रहेछ र तुर अझै पाटपुर्जाको पर्खाइमा रहेछ ।

“गत हप्ता ?” कसैले आश्चर्य मान्दै भन्यो । “यदि तिमीलाई यो पहिल्यै थाहा थियो भने हामीलाई यहाँ किन लिएर आको त ?”
यसो छड्के आँखाले हेर्दा मान्छेको गल्याङ्ग मल्याङ्ग देखियो | कोही कोठामा खुर्र दगुरेर पल्लो छेउतिर गए जस्तो अस्पष्ट आवाज सुनियो । र, अर्को मैले के देखेँ भने करिम ड्याम्म भित्तामा बजारियो र लड्यो र उसका चप्पल लगाएका दुई खुट्टा जमिन भन्दा दुई फिटमाथि ठडियो । बाबाले उसको घाँटी अँठ्याउनुभयो ।
“म तपाईंलाई बताउँला मैले यसो किन गरेको,” बाबा जङ्गिनुभयो । “किनभने आफूनो ट्रिपको पैसा पाइसक्यो । यसलाई त्यसको मात्र चिन्ता रहेछ ।,”
करिमको घाँटी घ्यार्रघ्‌यार्र बज्दै थियो । उसको मुखको कुनाबाट र्याल चुहियो ।
“छोडिदिनुस्‌, अगा, तपाईंले त मार्नै लाग्नुभयो,” एउटा यात्रिले भन्यो ।
“मेले खोजेकै त्यही हो,“ बाबाले भन्नुभयो । कोठमा भएका सबैलाई थाहा थियो कि बाबाले जोक गर्नुभएको होइन । करिमको अनुहार रातो हुदै थियो र उसले गोडा फाल्दै थियो । त्यो रसियन अफिसरले अाँखा गाडेको तरूनी अामाले बिन्ति नगरेसम्म बाबाले करिमको घाँटि अँठ्याइरहनु भयो ।

जब बाबाले छोडिदिनुभयो, करिम भुइँमै लम्पसार परेर वरिपरि गुल्टिदै एकछिन लामोलामो सास फेरिरह्यो । कोठामा सन्नाटा छायो | दुई घण्टाभन्दा धेरै समय अघि स्वतस्फूर्त रूपमा बाबा आफूले चिन्दै नचिनेको महिलाको ईज्जत जोगाउन गाली खान तैयार हुनु भएको थियो । अहिले उहाँले झन्डै एक जना मान्छेलाई घाँटि अँठ्याएर मार्नुभाथ्यो । त्यही आइमाईले विनम्र अनुरोध नगरेको भए सायद अारामले मारी पनि दिनुहुन्थो ।

केही चिजले पल्लो ढोकामा ड्याम्म लाग्यो । होइन, पल्लो ढोकामा होइन तल ।
“के हो हँ ?’ कसैले सोध्यो ।

“अरू नै मान्छे हुन्‌,” स्वाँस्वाँकै बीचमा करिम बोल्यो ।
“भुइँ तलामा हो ।’
“तिनीहरूले पर्खेर बसेको कति समय भयो ?” करिमको छेवैमा उभिँदै बाबाले सोध्नुभयो ।
“दुई हप्ता ।’
“मैले त तैँले ट्रक गत हप्ता बिग्रियो भनेको थिइस्‌ भन्ने ठानेको थिएँ ।’
करिमले आफ्नो घाँटी मुसान्यो । “सायद दुई हप्ता अघि होला,” रून्चे स्वरमा भन्यो ।
“कति समय लाग्छ ?”
“के ? ”
“पाटपुर्जा आइपुग्न कति समय लाग्छ?” बाबा गर्जिनुभयो ।
करिम झस्कियो, तर केही बोलेन । अन्धकार भएकोमा म खुसी थिएँ । म बाबाको हत्याराको जस्तो हेराइ हेर्न चाहन्नथेँ ।

जति बेला करिमले ढोका खोले, ओसिलो दूँसी गनाएजस्तो दुर्गन्धले मेरो नाकै पोल्यो । ढोका छेउको काठको कर्याककुरूक चुँइकिने भर्याङ्ग झरेर भुइँतलामा पुगिन्थ्यो । हामी एकै लाइनमा हिँडेर तल झन्यौँ । बाबाको तौलले गर्दा उहाँले प्रत्येक पाइला टेक्दा भर्याङ्ग कर्याक्क गर्थ्यो । चिसो भुइँतलामा उभिँदै अँध्यारोमा आँखा झिमिक्क पारेर हेरेँ । कोठा वरिपरि केही आकृतिहरू देखियो । दुईवटा टुकी बत्तीको मधुरो प्रकाशमा ती वस्तुको धमिलो छायाँ भित्तामा परेको देखियो । भुइँतलामा मधुरो गुनगुनाएको आवाज सुनियो । अलि पर कतै पानीको थोपा तपतप गरेको र अर्कै केही कोतारेको जस्तो आवाज पनि सुनियो ।

मेरो पछाडि बाबाले लामो सास फेर्नुभयो र झोला भुइँमा राख्नुभयो ।
करिमले हामीलाई भन्यो कि ट्रक मर्मत गर्नु मात्र छोटो दुई दिनको कुरा हो । अनि हामी पेशावरको बाटो समात्ने छौँ । स्वतन्त्र । सुरक्षित ।

अर्को हप्तासम्म त्यो भुइँ तला हाम्रो घर भयो । अनि तेस्रो रात मैले पत्ता लगाएँ त्यो कोतारेको जस्तो के को आवाज रहेछ । मुसाहरूको आवाज ।

अँध्यारोमा मेरा आँखाहरूले अलि भेउ पाउने वित्तिकै गनेको त भुइतलामा लगभग तीस जना जति शरणार्थी रहेछन्‌ । हामी भित्ताको आडमा बस्यौँ, क्रयाकर, खजुर र रोटी, स्याउ खायौँ । त्यो पहिलो रात मान्छेले सँगै प्रार्थना गरे । एउटा शरणार्थीले बाबाले किन अरूसँग सँगै प्रार्थना नगर्नु भएको भनेर सोध्यो । “भगवानले हामी सबैलाई बचाउँदै छन् । तपाईँले उनको प्रार्थना किन नगर्नुभएको ? ”

बाबाले एक चिम्टी नस सँघ्‌नु भयो । गोडा तन्काउनु भयो । “हामीलाई मात्र कै लै जोगाउँछ भने त्यही आठवटा सिलिन्डर र राम्रो कार्बोरेटरले ।’ बाबाको उत्तरले भगवान्‌को विषयमा बोल्ने बाँकी सबै मुखहरू बन्द भए ।

पहिलो रातभन्दा अलिपछि मैले देखेँ कि हामीसँगै लुकेका २ जना मान्छे कमाल र उसको बाबु पो रहेछन्‌ । भुइँ तलामा म भन्दा मात्रै केही फिट पर कमाल बसिरहेको देख्दा मलाई ठूलै चोट पुग्यो ।

तर जब कमाल र उसको बाबु कोठामा हामी भएपट्टि नै आए, मैले कमालको अनुहार देखेँ । साँच्चिकै देखेँ _____ ।

ऊ ओइलाएको थियो | योभन्दा बाहेक उसको अनुहारलाई सुहाउने अर्को शब्द नै थिएन । उसका आँखाहरूले मलाई बिनास्वादले हेरे र ती आँखाहरूमा मलाई चिनेको कुनै संकेत थिएन । उसको काँध कुप्रिएको थियो र गालाहरू यस्तरी झोल्लिएका थिए कि मानिलिउँ तिनीहरू साह्रै थाकेर हाडसँग टाँसिन पनि सकेका थिएनन्‌ । उसको बाबु जसको काबुलमा सिनेमा हल थियो, बाबासँग तीन महिना अगाडि अन्तैबाट आएको गोलीले उसको श्रीमतीको कन्चटमा लागेर मृत्यु भएको कुरा सुनाउँदै थियो । मैले कुराको कता कति अंश मात्रै सुनेँ : उसलाई एक्लै जान दिन हुन्थेन __ सधैँ सुन्दर, लायक, तपाईंले बुझ्नुभो ___ चार जना ___ लड्न खोजे हे भगवान् ___ लिएर गए ___ तल रगत चुहिराथ्यो____ उसको पायन्ट _ धेरै बोल्दैन ___ मात्र क्वारक्वार्ती हेर्छ

छरपष्ट मुसाहरू भएको त्यो भुइँतलामा एक हप्ता बिताइसकेषछि करिमले भन्यो कि ट्रकको व्यवस्था हुनेवाला छैन | ट्रकको मर्मत हुन नसक्ने भयो |

‘अर्को एउटा उपाय छ”, रूवाइको बीचमा चर्को स्वरमा करिमले भन्यो । उसको
भतिजको ईन्धन बोक्ने टेंकर रहेछ र २ पटक उसले त्यसमा मान्छे राखेर ओसारपसार गरिसकेको रहेछ । उ यहाँ जलालबादमै रहेछ र सायद हामी सबै त्यस भित्र अटाउन सक्ने पनि रहेछौँ ।

एउटा अलि बूढा दम्पति बाहेक अरु सबैले जाने निर्णय गरे | बाबा र म, कमाल र उसको बाबु र अरूहरू सबै त्यस रात जलालाबादबाट रबाना भयौं । करिम र चारपाटे अनुहार र तालु खुइलिँदै गरेको अजिज नाम गरेको उसको भतिजले हामीलाई टेङ्की भित्र पस्न मद्दत गरे | हामी सब एकएक गर्दै इन्जीन बन्द नै नगरी रोकिराखेको ट्रकको पछाडिको डेकमा चढ्यौँ, भर्याङ्ग उक्ल्यौँ र फुत्तफुत्त टेङ्की भित्र छिर्यौँ । म सम्झन्छु बाबा भर्याङ्गको अाधासम्म माथि उक्लनु भयो, फेरि फुत्त बट्टा खाली गर्नुभयो र त्यो धूले बोटोको बीचबाट एकमुठी माटो उठाउनुभयो त्यो फोहोर माटोलाई चुम्बन गर्नुभयो । बट्टामा खन्याउनु भयो । त्यसलाई सर्टमा अाफ्नै मुटुको छेउको खल्तीमा सुरक्षित राख्नुभयो ।

त्रास
तपाईँ मुख खोल्नु हुन्छ । यति धेरै बाउनु हुन्छ कि बंगाराको जोर्नी पड्किन्छ । फोक्सोलाई सास तान्न निर्देशन गर्नु हुन्छ । तुरून्तै । तपाईंलाई हावा तुरून्तै चाहिन्छ, तर तपाईको स्वास-प्रस्वास प्रणालीले टेर्दैन । प्रणाली फेल खान्छ, कडा हुन्छ, खुम्चिन्छ र अचानक तपाईंलाई लाग्छ कि तपाई चिसो पेय पिउने सानो पाइपले हावा तान्दै हुनुहुन्छ । मुख बन्द हुन्छ, ओठहरू च्याप्प जोडिन्छ, मात्र निसास्सिएर घाँटी बज्छ । हातहरू बाउँडिन्छन्‌ र थरथरी काम्छन्‌ । कतैतिर बाँध फुटेजस्तो गरी चिसो पसिनाको बाढीले शरीर लचप्प भिज्छ | चिच्च्याउन मन लाग्छ | सकेदेखि चिच्च्याउनु हुन्थ्यो होला, तर चिच्च्याउन पनि सास त फेर्नै पर्छ |

त्रास
पिंध अँध्यारो थियो । टेङ्की भित्र अन्धकार थियो । मैले तलमाथि, दायाँबायाँ हेरेँ र मेरो आँखा अगाडि हात हल्लाएँ, तर चलेको संकेतसम्म पनि देखिन । पटक पटक आँखा झिम्कयाएँ । केही पनि देखिएन । हावा ठीक थिएन । गुम्सिएको, कडा । हावा कडा नहुनुपर्ने थियो । म हावालाई हातले समातेर, कच्याककुचुक पारेर ससाना टुक्रा पारेर स्वास नलीभित्र कोच्न चाहन्थेँ । पेट्रोलको गन्ध । पेट्रोल उडेको भापले मेरो आँखा यसरी चहर्यायो कि मानौँ मेरो आँखाको ढकनीहरू उघारेर कसैले त्यसमा कागती दलिदिएको छ | प्रत्येक पाली सास लिँदा नाक पोल्यो । मैले सोचेँ यस्तो ठाउँमा मर्न के बेर । चिच्च्याहट आउँदै थियो । आउँदै थियो, आउँदै थियो ………. ।

र अनि त्यसपछि एउटा जादुमय घटना घट्यो । बाबाले मेरो बाउला समातेर तान्नुभयो र अँध्यारोमा केही हरियो वस्तु टल्कियो । उज्यालो ! बाबाको घडी पो रहेछ । ती उज्यालो हरिया सुईहरूमा मैले एकटकले आँखा गाडी रहेँ । ती सुईहरूले मलाई यति राहत दिएकी, फेरि हराउने पो हुन कि भनेर मैले आँखै नझिम्क्याएर हेरिरहेँ ।

विस्तारै मेरो वरिपरिको वातावरणको बारेमा मलाई थाहा भयो | म प्रार्थना र रूवाईका स्वरहरू सुन्थें । आमाले विस्तारै च्वच्च गरेर बच्चा फुल्याउँदै थिई भने, बच्चा रूँदै थियो | कसैले वाक्कवाक्क गन्यो । अर्को कसैले सोरावी (Shorawi) लाई सत्तोसराप गन्यो | ट्रक गर्ल्याङ्-गुर्लुङ्ग, तलमाथि गर्दै हिँड्यो । टाउकोहरू । ड्याङ ड्याङ टेङ्कीमा ठोक्किन्थे ।

“ दिमागले राम्रो कुरा सोचिराख“, बाबाले मेरो कानमै मुख जोडेर भन्नुभयो । “केही रमाइला कुराहरू ।“ केही राम्रा कुराहरू । मैले मन बहलाएँ । अनि दिमागमा यो आउन दिएँ: शुक्रबारको दिउँसो पघमानमा । कताकति फूल्दै गरेका किम्बुका रूखहरूले छिर्केमिर्के भएको ठूलो घाँसे मैदान हसन र म पिडुँलासम्म आउने घाँसमा उभिन्छौँ । लट्टाई हसनको ठेला परेको हातमा घुमिरहन्छ र हाम्रा आँखाहरू आकाशतिर फर्केर चङ्गा हेरिरहन्छन्‌ हामी एक शब्द पनि बोल्दैनौं । बोल्ने कुरै केही पनि नभएर होइन | मात्र के भने हामी भन्न जरूरी केही पनि थिएन । एउटै आमाको दूध खाएका मान्छे, अनि एकअर्काको पहिलो स्मृति बनेको मान्छे बीच यस्तै हुन्छ । सर्र हावाले घाँस हल्लिन्छ र हसनले लट्टाई घुम्न दिन्छ । चङ्गा फनफनी घुम्छ, तल झर्छ, आकाशमा सीधा माथि उड्छ | हाम्रा जुम्ल्याहा छायाँ बयली खेलेको घाँसमा नाच्छन्‌ । चौरको पल्लो छेउको होचो ईंटाको पर्खाल पर कतैबाट गफ गाफ हाँसो र छहराको आवाज आउँछ । अनि पुरानो र परिचित संगीत सुनिन्छ । मलाई लाग्छ गीत रबाब (Rubab) को तारको सुरमा “या मौला’ भन्ने बोलको हो । कसैले हामीलाई पर्खाल पारीबाट बोलाउँछ र भन्छ चिया र केकको समय भयो ।

त्यो कुन साल र कुन महिना थियो म सम्फिन्नथेँ | म के जान्दथेँ भने त्यो कुरा मेरो सम्झनामा जीवितै थियो । भूस भित्रको अन्नको दाना जस्तै लुकेर बसेको एउटा रमाइलो विगतका दिन । सादा क्यानभास जस्तै बाँझो भएको हाम्रो जीवनमा बुरूशले रङ दलिदिए जस्तै ।

त्यस यात्राको बाँकी कुरा मेरो सम्झनामा टुक्राटुक्री भएर छरिएर बसेका छन्‌ जुन आउँछन्‌ र जान्छन्‌ | धेरै जसो त आवाज र गन्ध : टाउको माथिबाटै गर्जेर सुइँअँ जाने मिग विमान, पटट्‌ गोली चलेको आवाज, नजिकै कराइरहेको गधा, घन्टीको टङ्ग्रयाङ टुङ्ग्रुङ र भूडाहरूको म्याँग्याँ, ट्रकका ‘टायरले कुल्चँदा गिट्टी फुटेर सुनिने आवाज, अँध्यारोमा रोइरहेको एउटा बच्चा, पेट्रोलको गन्ध, बान्ता र आची ।

त्यसपछि अर्को कुरा म के सम्झन्छु भने जब म ईन्धनको टेड्रीबाट बाहिर निक्कन्छु, सबेरै बिहानीको उज्यालोले मेरो आँखा टपक्क टिप्छ । आकाशतिर अनुहार फर्काएर, आँखीभौं खुम्च्याएर यस्तरी लामो सास फेरे मानौं यो संसारमा हावै छैन । म यो सम्झन्छु छ चट्टानी ट्रेच (Trech) को छेवैको फोहोर बाटोमा डङरङ लडँ, खुल्ला हावा पाएकोमा कृतज्ञ हुँदै, उच्यालोप्रति कृतकृत हुँदै । जीवीतै भएकोमा कृतज्ञ हुँदै बिहानीको उज्यालो हेरेँ |

“हामी पाकिस्तानमा छौँ, अमीर,“ बाबाले भन्नुभयो । उहाँ मेरो छेउमा उभिइरहनु भएको थियो । “करिमले भन्छ कि हामीलाई पेशावर पुन्याइदिन उसले एउटा बस मिलाइदिन्छ रे ।”

त्यही चिसो फोहरमै पल्टिएर लडीबुडी गरेँ र हाम्रो सुट्केसहरू बाबाको टाङमुनि देखेँ । उल्टो ‘भी’ अक्षर जस्तै देखिने बाबाको टाङ मुनिबाट सडक छेउमा घ्यार्रघ्यार्र गरेको ट्रक रोकिराखेको देखेँ । बाटो पर खैरो, अाकाशमुनि जस्ता पाता जस्तै देखिने खेतहरू छिचोल्दै नागबेली घुम्तीहरू जस्तै पर वाउल जस्तै देखिने पहाडहरूमा पुगेर बिलायो । अलि पर पुगेपछि बाटो घमाइलो भिरालोको टाकुरोमा बसेको लामो गाउँ भएर जान्थ्यो ।

मेरो नजर सुटकेसतिर फर्क्यो । सुटकेस देखेर मलाई बाबाको टिठ लागेर आयो । प्रत्येक चीज निर्माण गरिसकेपछि, योजना गरिसकेपछि, संघर्ष गरिसकेपछि, सपना देखिसकेपछि, उहाँको जीवनको अन्तिम शार नै यस्तो रह्यो : एउटा निराश छोरो र दुईवटा सुटकेश । कोही चिच्च्याउँदै थियो । होइन, चिच्च्याएको होइन । बिलौना गर्दै । यात्रीहरू ठेलमठेल गरेर बृत्ताकारमा उभिएर कुरा गर्दै गरेको देखेँ । उनीहरूको आवाज सुन्दा लाग्थ्यो केही गर्न ढिलो भैसकेको छ | कसैको मुखबाट “धुवाँ” शब्द निस्कियो । अर्को कसैले त्यही शब्द दोहोन्यायो । बिलौना घाँटी नै चिरिने चिच्याहटमा बदलियो |

बाबा र म रमितेहरूको भीड छिचोलेर अघि बढ्यौँ । कमालको बाबु त्यो वृत्तको बीचमा, गोडामाथि गोडा राखेर हल्लिँदै, आफ्नो छोराको फुम्रो अनुहार चुम्दै थिए |

“उसले सासै फेर्दैन ! मेरो छोरोले सासै फेर्दैन !” भन्दै उनी रूँदै थिए | कमालको मृत शरीर बाबुको काखमा लम्पसार परेको थियो । उसको लल्याक-लुलुक भएको लमतन्न हात बाबु चाहिँ सुँक्क-सुँक्क गरेको तालमा हल्लिँदै थियो । “मेरो छोरो ! उसले सासै फेर्दैन ! ए अल्लाह, यसलाई बिउँताइदेक !”

बाबा उसकै छेउमा घुँडाले टेकेर बस्नुभयो र उसलाई अँगाल्नु भयो, तर उसले बाबाको हात पन्छायो र करिमलाई पुकार्यो जो आफ्नो भतिजको नजिकै उभिइरहेको थियो । त्यसपछि जे भयो त्यो यति छिटो भयो कि त्यति छिटोलाई “झगडा” भन्ने पनि कसरी । करिमको मुखबाट अचम्मको रूवाइ निस्क्यो र ऊ पछि हट्यो । मैले कोही चार हातखुट्टा फालेर छटपटाएको देखेँ । एकैछिन पछि कमालको बाबु करिमको बन्दुक हातमा लिएर उभिइरहेको थियो ।

” मलाई नहान्नुस्‌ !” करिम रोयो ।
तर हामी कसैले पनि केही भन्न वा गर्न भ्याएकै थिएनौं, कमालको बाबुले नाल आफ्नै मुखभित्र घुसार्यो । त्यो पड्काइको थर्को म कहिल्यै पनि बिर्सन्न होला । त्यो झिलिक्क भिल्केको र त्यो रगतको छिर्का म कहिल्यै बिर्सन्न होला ।

मेरो ओठ-तालु सुक्यो र घुँडो र मुन्टो जोडेर माटो छेउ लडिरहेँ ।