
परिच्छेद- २०
पैदल रेजिमेन्टहरू, जसलाई दुस्मनले अकस्मात् जङ्गलमा आएर घेरेको थियो, भागदौड गरिरहेका थिए र विभिन्न कम्पनीहरू एकआपसमा मिस्सिएर क्रमहीन जमघटको रूपमा गइरहेका थिए । एउटा सिपाहीले भयभीत भएर अर्थहीन क्रन्दन गर्यो, “मरियो” यस युद्धमा नराम्रोसँग । फलस्वरूप सम्पूर्ण भीडमाथि नै यस शब्दको प्रभाव पर्न गयो ।
“हामी घेरियौँ, मारियौँ पनि कि ? हामीहरू कहाँ हरायौँ ?,” भागाभाग गरिरहेका मान्छेहरू मुखबाट यस्ता शब्द निकाल्दै चिच्याइरहेका थिए ।
पछाडिपट्टि गोली चलेको र कोलाहलयुक्त शब्द सुन्नेबित्तिकै त्यो रेजिमेन्ट कमान्डर जर्नेलले आफ्नो रेजिमेन्टमा कूनै भयङ्कर दुर्घटना भएको हुनुपर्छ भन्ने अड्कल गर्यो र उसले यस्तो विचार गर्यो कि अहिले कुनै बातकसुर नलागेको ऊजस्तो साहसी अफिसरलाई हेडक्वाटरबाट लापर्वाही वा अदक्षताको आरोप लाग्यो भने के होला भन्ने गुप्त भयले यति आक्रान्त भयो कि ऊ घोडसेनाको आदेश लत्याउने कमाण्डर तथा जर्नेलको हैसियतले आफ्नो प्रतिष्ठा र सबभन्दा ठूलो कुरा त आफूमाथि आइपर्ने जोखिम तथा आफ्नो आत्मरक्षाको पनि वास्ता नगरेर तत्काल आफ्नो घोडाको काठी कसेर लगाम हातमा समात्यो र घोडालाई एडी मार्दै गोली चलिरहेको ठाउँमा दौडाएर लग्यो । सौभाग्यले उसलाई कुनै गोली लाग्न पाएन । परिस्थितिको वास्तविकता जानकारी प्राप्त गर्नु, आफ्नो तर्फबाट कुनै भूल भएको रहेछ भने पनि त्यसलाई कुनै पनि मूल्यमा सुधार्नु र आफ्नो बाइस वर्षको सैनिक सेवाकालमा आजसम्म कुनै प्रकारको हप्कीदप्की नखाएको एउटा आदर्श अफिसरको निधारमा कुनै प्रकारको कलङ्कको टीका लाग्न नदिनु उसको एक मात्र इच्छा थियो ।
फ्रान्सेलीहरू माझबाट सकुशल ज्यान बचाएर निस्केपछि ऊ घोडा दौडाउँदै जङ्गलपछाडि, त्यो मैदानतिर लाग्यो, जहाँबाट हाम्रा सैनिकहरू भागिरहेका थिए र कुनै पनि आदेश पालना गर्नेतिर ध्यान नदिएर उपत्यकाको पहाडबाट तल ओर्लिदै गइरहेका थिए । नैतिक दुविधाको त्यो क्षण आइसकेको थियो, जसले लडाइँको भाग्य निर्धारण गर्दथ्यो । के यो अस्तव्यस्त र आत्तिइरहेका सिपाहीहरूको, भीडले यस बखत आफ्नो कमाण्डरको आदेश पालना गर्लान् ? अथवा उनीहरू आदेश पालना नगरेर भागी मात्र रहलान् ? ‘केही समय अगिसम्म कमाण्डरको आवाज सुन्दा मात्र पनि थर्कमान हुने सैनिक अहिले ऊ जतिसुकै ठूलो आवाजमा गर्जे पनि रिसले चूर भएको उसको रातो-पिरो र पराइको जस्तो लाग्ने अनुहार देखाए तापनि र उसले आफ्नो नाङ्गो तरबार जतिसुकै नचाए पनि सैनिकहरू भागिरहेका मात्र थिए । उनीहरू आपसमा कुरा गर्दै र हावामा गोली पड्काउँदै गइरहेका थिए । तर उसको आदेशको अपहेलना गरिरहेका थिएनन् । लडाइँको भाग्य निर्धारण गर्ने नैतिक दुविधा प्रष्ट रूपमा एउटा आतङ्कको पराकाष्ठामा पुगिरहेको थियो ।
कोलाहल र बारुदको धूवाँको कारण जर्नेल खोक्न लाग्यो र आत्तिएर रोकियो । उसलाई सबै थोक समाप्त भएजस्तो लाग्दै थियो । तर त्यसै बखत हाम्रो सैनिकमाथि आक्रमण गरिरहेका फ्रान्सेलीहरू कुनै स्पष्ट कारणबिना नै अकस्मात् भाग्न थाले र वनजङ्गगलको छेउछाउमा लुकेर अदृश्य भए । जङ्गलमा उत्निखेरै रसियाली निसानाबाजहरू प्रकट भए । यो तिमोखिनको कम्पनी थियो । यही कम्पनी मात्र जङ्गलमा व्यवस्थित रूपमा खाल्डामा घात गर्ने स्थितिमा लुकेर बसेको थियो र त्यही कम्पनीले नै फ्रान्सेलीहरूमाथि अकस्मात् आक्रमण गरेको थियो । हातमा सानो खालको तरबार लिएको तिमोखिन उन्मत्त भएर फ्रान्सेलीहरूमाथि यसरी जाइलाग्यो कि उनीहरूको होसहवास नै गुम भएर गयो र उनीहरू हातको बन्दुक पनि त्यहीँ फ्यातफुत्त फ्याँकेर भागाभाग भए । तिमोखिनसँगै रहेको दोलोखोभले नजिकैबाट एक जना फ्रान्सेलीलाई गोली ठोकेर मारिदियो । र, आत्मसमर्पण गरिरहेको एक जना अफिसरलाई सबभन्दा पहिले उसले कठालोमा समातेर तान्यो । हाम्रा भगौडाहरू फर्केर आए । वटालियन पुन: क्रमवद्ध भएर आयो र हाम्रो वटालियनको बायाँ किनारलाई दुई भागमा चिनैं लागेका फ्रान्सेलीहरूलाई केही बेरका लागि पछाडि धकेलिदिइयो । हाम्रो फौजी दस्ता आपसमा मिल्न सफल भयो र भगौडाहरू पनि रोकिए । रेजिमेन्ट कमाण्डर, मेजर एकोनोमोभसँग पुलको नजिक उभिएको थियो । र, पछाडि हटिरहेका कम्पनीहरू उसको नजिकबाट बढिरहेका थिए । यही बेला एक जना सैनिक उसँग आयो, उसले कमाण्डरको घोडाको रिकाव समात्यो र त्यसको सहारामा झुण्डियो । उक्त सैनिकले नीलो रङको नैनकिलाटको फौजी कोट लगाएको थियो । उसको थैली र टोपी पनि थिएन । शिरमा पट्टि बाँधिएको थियो । र, काँधमा फ्रान्सेली कार्तुसको थैलो झुण्डिएको थियो । उसको हातमा अफिसरले लिने तरबार थियो । यस फौजीको अनुहार पहेँलो थियो । उसका नीला आँखाले घ्रृष्टतापूर्वक रेजिमेन्ट कमाण्डरको मुख ताकिरहेका थिए र उसका ओँठमा मुस्कान दगुरिरहेको थियो । यद्यपि कमाण्डर मेजर एकोनोमोभ आदेश दिने काममा व्यस्त थियो तथापि ऊ यस सैनिकतर्फ ध्यान नदिइरहन सकेन ।
“हजूर, यिनै हुन् जितेर ल्याइएका दुइटा चीज, दुइटा विजयचिह्न,” दोलोखोभले फ्रान्सेली तरबार र थैलोतिर इसारा गर्दै भन्यो, “मैले नै फ्रान्सेली अफिसरलाई बन्दी बनाएको हँ । र, मैले नै कम्पनीलाई रोकेको हुँ ।” दोलोखोभ थकाइका कारण स्वाँस्वाँ गर्दै थियो । ऊ अड्की-अड्की बोल्दै थियो । “यो पुरै कम्पनि यस कुरामा साछी छ,
“हजूर । हजूरसँग मेरो एउटा निवेदन यत्ति छ कि हजूरले यस कुरालाई नबिर्सिदिनु होला ।”
“ठीक छ, हुन्छ ।” रेजिमेन्ट कमाण्डरले भन्यो र पुनः एकोनोमोभसँग बात मार्न लाग्यो ।
तर दोलोखोभ त्यहाँबाट डेग चलेन । उसले आफ्नो टाउकोमा बाँधेको रुमालको गाँठो खोल्यो, त्यसलाई कष्टसाथ फुकाल्यो र रौँहरूमा जमेको रगतका डल्ला देखायो ।
“यो घाउ संगीनले घोँचेका कारण भएको हो, यस्तो अवस्थामा पनि म सबभन्दा अगाडिको पंक्तिमा डटेर उभिएँ । मेरो निवेदन यत्ति हो । हजूरले यो कुरा बिर्सिदिए पाप लाग्ला ।”
यता तुसिनको तोपखानाको त कसैलाई ख्यालै भएन छ । लडाइँ सिद्धिएपछि मात्र मोर्चाको मध्यभागबाट तोपको गड्गडाहट सुनिरहँदा बल्ल राजकुमार बग्रातिओनले पहिले त ठूला अफिसर र पछि राजकुमार आन्द्रेइलाई यो आदेश पुर्याउन त्यहाँ पठायो- “त्यो तोपखाना जति सक्यो छिटो पछाडि हटोस् ।” तुसिनको रक्षार्थ खटिएको सेना लडाइँ हुँदाहुँदै कसैको आदेशअनुसार त्यहाँबाट पलायन भएको थियो तर तोपखानाले भने गोलावारी गरिरहेको थियो । फ्रान्सेलीहरूले यसको अर्थ रसियालीहरूको मुख्य शक्तिकेन्द्र यही मध्य केन्द्र विन्दुमा नै केन्द्रित भएको अर्थ लगाए । त्यसै भएर उनीहरूले यसमाथि दुई पटकसम्म आक्रमण गर्ने प्रयास गरे र दुवै पटक यत्रो उँचाइमा तैनाथ यिनी चार ओटा तोपहरूले नै छर्रावाला गोला बर्साएर उनीहरूलाई लखेट्न सफल भए । राजकुमार बग्रातिओन यो पहाडबाट तल गएको एकैछिनपछि नै तुसिन सेन ग्रावेनमा आगो लगाउन सफल भएको थियो ।
“हेर त कस्तो भागाभाग भइरहेको छ । आगोको ज्वाला उठिरहेको छ । लौ हेर धूवाँ कसरी उठिरहेछ । वाह । मान्नै पर्छ । कमाल भयो । हेर त धूवाँ उडेको । हेर न कसरी उडिरहेछ,” तोपचालकहरू उल्लसित स्वरमा भन्दै थिए ।
“चार ओटा तोपले कुनै आदेशविना नै आगो लागेको, दिशातर्फ गोला बर्साइरहेका थिए । तोपचालकहरू एउटाले अर्कोको साहस बृद्धि गर्ने हेतुले गोला चलेका बेला ठूल्ठूलो स्वरमा चिच्याउँथे । वाह ! जवाफ नै छैन । धेरै राम्रो भो । आहा ! क्या मजा भयो ” हावाको गतिमा फैलिने आगोको लहर झन्झन् फैलिदै गइरहेको थियो । गाउँबाट अगाडि रहेको फ्रान्सेली सैनिक दल पछाडि हट्यो र उसले आफ्नो. यस असफलताको प्रतिशोध लिनका लागि गाउँको दाहिनेतिर दस थान तोप तैनाथ गर्यो र तिनै तोपहरूमार्फत् तुसिनक्का तोपहरूमाथि जवाफी गोलावारी गर्न लाग्यो ।
गाउँमा आगो लागेका कारण हाम्रा तोपचालकहरूको मनमा जागेका केटाकेटीका जस्ता खुसीका लहर र फ्रान्सेलीहरूमाथि भएको सफल गोलावारीबाट, उत्पत्न जोसका करण बस तोपखानातिर,हामीहरूको-ध्यान तब मात्र गयो, जब दुई ओटा तोपका गोला र त्यसपछि लगत्तै अरू चार गोला हाम्रा तोपहरूका बीचमा आएर पड्किए । एउटा गोलाले दुइटा घोडाको ज्यान लियो र अर्को गोलाले बारुदवाला घोडागाडीको चालकको एउटा खुट्टा चुँडालिदियो । तर हाम्रा तापचालकहरू, जसरी एक पटक जोसमा आएका थिए त्यो पनि कम भन्न मिल्दैन । खाली त्यसको स्वरूप मात्र फरक भएको थियो । एउटा तोपगाडीको घोडाहरूलाई मरेका घोडाका स्थानमा नारियो । घाइतेहरूलाई हटाइयो र चार ओटा तोपको मुख दुस्मनको दस ओटा तोपका दिशातर्फ ताकियो । तुसिनको अफिसर साथी लडाइँको प्रारम्भमा नै मारिएको थियो र एक घन्टा जतिको लडाइँमा चालिस ओटा तोप चालकहरूमध्ये सत्रवटामड्रपाङ्ग भएका थिए तर पनि तिनीहरू सवलाङ्गजस्तै लडाइँ लडिरहेका थिए । उनीहरू पहिलेकै जस्तो जोस र जाँगरकासाथ लडिरहेका थिए । दुई पटक उनीहरूले फ्रान्सेलीहरूलाई आफूहरूनजिक आएको देखे र उनीहरूलाई छर्रावाला बन्दुक पड्काएर भए पनि लखेटे ।
पुड्को पुड्को, दुर्बल र अक्मकिएकोजस्तो गरी यताउति घुमिरहेको तुसिन आफ्नो अर्दलीलाई उसकै शब्दमा भन्ने हो भने “आफ्नो लागि अर्को सुल्फी सल्काइदिन भनेर” लगातार आदेश दिइरहेको थियो र त्यसबाट धूवाँ उडाउँदै कुदेर अगाडिअगाडि जान्थ्यो र हातको पाँच औँलाको चरबाट फ्रान्सेलीहरूलाई नियालेर हेर्थ्यो ।
“यिनीहरूलाई स्वाद चखाइदेउ, सिपाहीहरू हो,” उसले भन्थ्यो र तोपका चक्का समातेर आफैले पेँच कसकास गरेर ठीक पार्थ्यो ।
तोपहरूका अविरल कोलाहलबाट बहिरोजस्तो भएको र पटकपटक सम्बेदनशील हुने गरेको तुशीन मुखमा च्यापेकी सुल्फीबाट धूवाँ फाल्दै एउटा तोपबाट अर्को तोपसम्म दगुर्थ्यो । कहीँ निसाना ठीक गर्थ्यो भने कहीँ गएर गोला कति गिर्यो भनेर गन्थ्यो । कहीँ मरेका तथा घाइते भएका घोडाहरूको ठाउँमा स्वस्थ घोडा नार्थ्यो र आफ्नो क्षीण भएको, मसिनो र लटपटिएको आवाजमा चिच्याउँथ्यो । उसको अनुहारमा अधिकाधिक रूपमा सजीवता प्रकट भइरहेको हुन्थ्यो । आफ्ना मान्छेहरू मरेको वा घाइते भएका देखेर मात्र उसले नाकमुख खुम्च्याउँथ्यो र मृतकहरू भएका ठाउँबाट टाउको अर्कोतिर बङ्ग्याएर ती मानिसहरूप्रति सङ्केत गर्दै चिच्याउँथ्यो जस्तो कि सधैँजसो हुने गर्छ, घाइते वा मरेका फौजीहरूलाई भुईंबाट उठाउँदै फर्कन्थ्यो । धेरैजसो सङ्ख्यामा सुन्दर तन्नेरी सैनिक थिए, (जस्तो कि सामान्यतया तोपखानामा हुने गर्छ आफ्नो अफिसरभन्दा धेरै हट्टाकट्टा) अप्ठ्यारोमा फसेका केटाकेटीहरूले जस्तै सबैले आफ्नो कमाण्डरतर्फ हेर्थे र उसको अनुहारमा देखिने भाव हुवहु उनीहरूको अनुहारमा पनि झल्किन्थ्यो । एकातिर यो असामान्य खालको होहल्ला र अर्कोतिर आफ्नो क्रियाकलाप र कर्तव्यमा ध्यान दिनु पर्ने आवश्यकताले गर्दा तुसिनलाई अलिकति पनि भय र त्रासको अनुभव भएन र त्यसैले गर्दा मसँला वा नराम्रोसँग घाइते होउँला भन्ने विषयमा पनि तुसिनलाई रत्तिभर चिन्ता भएन । ऊ त बरु झन्भन्दा झन् उत्तेजित र उत्साहित हुँदै गयो । उसलाई यस्तो लाग्थ्यो कि धेरै पहिले, सम्भवत एकदिन पहिले, जुन दिन पहिलो पटक उसले दुस्मनलाई देखेथ्यो, पहिलो मार हानेथ्यो र जुन मैदानको कुनामा ऊ अहिले उभिएको थियो, त्यो मैदानसँग ,ऊ चीरपरिचित थियो या भनौँ त्यो मैदान उसले राम्ररी जानेबुझेको मैदान थियो । यद्यपि उसलाई सबै कुरा थाहा थियो, सबै कुरा बुझिरहेको थियो, सबथोक गरिरहेको थियो, जो एउटा कुशल र योग्य अफिसरले यस्तो जटिल परिस्थितिमा गर्न सक्थ्यो, ऊ चित्तभ्रान्त वा मदमत्त मान्छेको अवस्थामा पुगेजस्तो थियो ।
आफ्नै तर्फका बन्दुकहरूको आवाजले कानै फुट्ला जस्तो अवस्था र शत्रुपक्षको तोपका गोलाका ढ्याङ्ढुङ र चर्का आवाज, तोपवरिपरि दौडधूप गरिरहेका तोपचालकहरूको पसिनाले लुथ्रुक्क भएका अनुहारहरूले मान्छे र घोडाहरूका रगत र अर्कोतर्फ शत्रुका तोपबाट निसृ;त धूवाँ र पटकपटक जमिन, मान्छे, घोडा र तोपहरूमाथि बज्जने गोला यी सबै कुराहरूका कारणले गर्दा उसको निम्ति एक प्रकारको स्वप्नलोकजस्तो अवस्था निर्माण भएको थियो, जुन लोकले उसलाई यतिबेला सुख प्रदान गरिरहेको थियो । उसका कल्पनामा शत्रुका तोप, तोप थिएनन्, मात्र सुल्फी थिए, जुन सुल्फीहरूबाट कुनै अदृश्य धुम्रपानकर्ताहरूले कहिलेकाहीँ धुम्रपान गरेर धूवाँ उडाउने गर्थे ।
“लौ हेर, फेरि उसले सुल्फी तान्यो र धूवाँ मज्जाले उडायो,” तुसिन आफूसँग आफै बोल्यो । पहाडबाट उठेको सानो बादलको मुस्लो हावाले उडाएर बायाँ दिशातिर लग्यो भने पनि उसले यस्तै ठान्थ्यो।। “अब एउटा भकुण्डो आउने छ – हामीले त्यसलाई खुट्टाले हानेर उतैतिर फर्काइदिनु पर्छ ।”
“हजूरलाई के चाहियो ?” उसको नजिकै उभिएको एक जना तोपचालकले सोध्यो, जसले ऊ एक्लै बोलिरहेको सुनिरहेको थियो ।
“केही होइन ……. एउटा बम,” उसले जवाफ दियो ।
मसँग आऊ, हाम्री मात्भेभ्ना (माथ्यूकी छोरीको नाम) उसले आफूसँग आफैले भन्यो ! उसको कल्पनामा पुरानो खालको मुख भएको तोप मात्भेभ्ना थियो । आफ्ना तोपका तुलनामा उसलाई त्यो तोप: कमिला जस्तो लाग्थ्यो । उसको त्यो कल्पनाको संसारमा अर्को तोपको सुन्दर र एक नम्बरको जँड्याहा चालक “काका” थियो । अरूका तुलनामा तुसिनले “काकालाई” बढी माया गरेर हेर्यो र उसको हरेक गेतिविधिसँग प्रसन्न रहन्थ्यो । पहाडको फेदीमा कहिले एकदम शान्त हुने र कहिले एकदम ठूल्ठूलो हुँदै जाने गोलीहरूको आवाजलाई उसले कसैले घरी ठूलो र घरी सानो सास फेरेजस्तै ठान्थ्यो । यी ठूलो-सानो हुने आवाजहरूलाई उसले खूब ध्यान दिएर सुन्थ्यो ।
“ओहो, फेरि उस्तै किसिमले सास फेर्न लाग्यो,” ऊ एक्लै बोल्थ्यो ।
उसले आफूलाई असाधारण रूपमा अग्लो र शक्तिशाली मानिस भएको ठान्यो, जसले दायाँबायाँ दुवै हातले फ्रान्सेलीहरूमाथि तोपका गोला बर्साइरहेको थियो ।
“हेर है, माल्भेभ्ना प्यारी बुढिया ! मलाई निराश नपार है ।” तोपबाट हट्ने बेला उसले भनिरहेको थियो र त्यही बेला उसलाई एउटा चिनजान नभएको एकदम अपरिचित आवाजले उसको कानैमा आएर भन्यो । “कप्तान तुसिन, कप्तान तुसिन ।”
तुसिन आतिँदै पछाडि फर्केर हेर्यो । त्यो उही स्टाफ अफिसर रहेछ, जसले उसलाई ग्रुन्थको अस्थायी आश्रयबाट निकालेको थियो । प्याकप्याक भएको मुखले ऊ भनिरहेको थियो, – “वहुलायौ कि क्या हो तिमी ? तिमीलाई दुई-दुई पटक पछाडि हट्ने आदेश दिइसकिएको छ,…….तर तिमी ………. ।”
“मलाई के कुराको लागि झपारेको होला ?” तुसिन डराइडराई ठूलो अफिसरतिर हेर्दै सोच्दै थियो ।
“म……….म त केही पनि …….. ” “उसले टोपीमा दुइटा औँला टाँस्दै भन्यो ।”म…………..”
तर स्टाफ अफिसरले के भन्न खोजेको थियो पूरा गर्न सकेन । उसको नजिकैबाट गइरहेको गोलाले उसलाई घोडामाथि नै झुकेर काठीमा टाँसिन बाध्य तुल्यायो । ऊ चुप लाग्यो । र उसले फेरि केही भन्ने विचार गरेको मात्र थियो – एउटा अर्को गोलाले उसलाई फेरि चुप लाग्न बाध्य तुल्यायो । अत: उसले घोडा मोड्यो र सर्पट दौडाउँदै कतै लग्यो ।
“पछि हट । सबै पछाडि हट ।” उ टाढैबाट चिच्यायो ।
सिपाहीहरू गललल्ल हाँसे । एकैछिनपछि त्यही आदेश लिएर एक जना कार्यरथी आइपुग्यो ।
ऊ राजकुमार आन्द्रेइ थियो । जुन ठाउँमा तुसिनका तोप तैनाथ थिए, त्यस ठाउँ नजिक पुग्दापुग्दै सबभन्दा पहिले उसको ध्यान तोपगाडीमा नारेका घोडाहरूभन्दा अलग्गै, त्यो घोडातिर आकर्षित भयो, जुन घोडाको खुट्टा भाँचिएको थियो र जुन घोडा तोपगाडीमा नारिएका घोडाहरूको नजिकै पल्टिएर पीडाले चीत्कार गरिरहेको थियो । उक्त घोडाको खुट्टाबाट रगतको धारा बगिरहेको थियो । तोपगाडीहरूको बीचमा केही, लाशहरू लडिरहेका थिए । ऊ यता आइरहेको बेला एकपछि अर्को गोला उसको टाउकोमाथिबाट गइरहेका थिए र उसलाई आफ्नो पीठमा एक प्रकारको भयमिश्चित कम्पन महसुस भइरहेको थियो । तर यही डरको कारणले नै उसलाई नडराउने साहस प्रदान गर्थ्यो । “मलाई कुनै किसिमको डर छैन,” उसले सोच्यो र विस्तारै तोपगाडीहरूको बीचमा गएर घोडाबाट ओर्ल्यो । उसले आदेश पुर्याइ दियो तर तोपखाना भने छोडेन । उसले आफ्नै अगाडि तोपहरू लादेर त्यहाँबाट पछाडि पठाउने निर्णय गर्यो ।
तुसिनसँगै लाशहरूका बीचमा ओहोरदोहोर गर्दा फ्रान्सेलीहरूको त्यो भयङ्कर गोलावर्षाको वास्तै नगरेर ऊ तोपहरू लाद्ने कामेमा व्यस्त भयो ।
“भर्खरै एक जना अर्को अफिसर आएको थियो, तर ऊ हतारहतार गरेर यहाँबाट हिँडिहाल्यो, एक जना तोप चालकले राजकुमार आन्द्रेइसँग भन्यो, “उनी तपाईंजस्ता थिएनन्, हजूर ।”
राजकुमार आन्द्रेइले तुसिनसँग कुनै किसिमको कुराकानी गरेन । उनीहरू दुवै जना यति व्यस्त थिए कि यस्तो लाग्थ्यो मानौँ उनीहरू आपसमा एउटाले अर्कोलाई देखेकै छैनन् । जब चारमध्ये ठीक दुरुस्त अवस्थामा रहेका दुइटा तोप तोपगाडीमा लादियो (बिग्रेका दुइटा तोप त्यहीँ छोडियो), तब राजकुमार आन्द्रेइ तुसिनसँग गयो ।
“लौ त, फेरि भेटौँला, नमस्ते,” राजकुमार आन्द्रेइले तुसिनतर्फ हात बढाउँदै भन्यो ।
“नमस्ते प्रिय मित्र, तुसिनले जवाफ दियो । असल मान्छे, तिमीलाई नमस्कार छ,” तुसिनले आँखाबाट आँसु चुहाउँदै भन्यो तर के कारणले उसका आँखामा आँसु आएका थिए, थाहा भएन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 




