मूल: केन सारो-विवा

अनुवाद: गोविन्द गिरी प्रेरणा

 

सँगै खाना खाने भनेर मैले पूरै यो साँझ कुरेकी छु । तर उसको भने अत्तोपत्तो छैन । मैले अफिसमा फोन गर्न  सक्थें । तर मैले फोन गर्ने बित्तिकै ऊ उडेर आउने थियो र ! यदि त्यहाँ भेटिएन भने त मेरो डर सत्यमा परिणत हुन्थ्यो ।

यति रातीसम्म अफिसको कामले बाहिर अलमलिने कुरा त हुनै सक्दैन । मलाई निश्चित छ – ऊ पक्कै पनि अर्की आइमाईको अँगालोमा व्यस्त छ । मैले उसको कमिजमा कैयौंपल्ट लिपिस्टिकको दाग भेटेकी छु । उसको कमिजको अघिल्लो पाटाभरि अनुहारमा लगाउने पाउडर समेत भेटिन्छ । मलाई लाग्छ, उसलाई केही भएको छ । मैले आफूलाई त्यसमा पूर्ण विश्वस्त बनाउन सकिनँ । म आफैं पो भ्रममा छु कि भन्ने ठानिरहें । तर निश्चित छु, म भ्रममा छैन । अथवा छु ?

ऊ सधैं गम्भीर प्रकृतिको मानिस हो । म ऊप्रति गर्व गर्थें । उसकै निम्ति बसेकी हूँ । निश्चित गरेकी हुँ उसको स्तर थामेर बस्न । दश वर्ष सँगै बस्यौं हामी । एक‌दिन पनि मैले कुनै पुरुषप्रति स्वेच्छाले आँखा लगाइनँ । म सोच्थें ऊ पनि मप्रति त्यत्तिकै निष्ठामा छ । ऊ रहेको छ त ?

म भन्न सक्तिन कुनै खराब कुरा उब्जेको छ । समयले मसँग केही लिएको छैन । निश्चय नै मैले विचार गर्नुपर्छ । म अहिले मायाको खोजीमा अधिक इच्छुक छु । दुई छोरा, एक छोरी ! तीन वटा केटाकेटीपछि अलिकति बढी मासु यहाँ र त्यहाँ, केही बोसो पाखुराभन्दा माथि, निश्चय नै यो त अपेक्षित नै कुरा हो । उसले सधैं भनिरह्यो अब ऊ बच्चा चाहँदैन । उसले चाहेको भए म अरू बच्चा पाउन तयार थिएँ ।

मलाई यो पनि थाहा छ, ऊ तिनलाई पनि पाल्न सक्थ्यो निश्चित रूपले । चाहेको त्याग गर्न म तत्पर थिएँ । म त्यसो गर्न इच्छुक छु । भगवान् ! म इच्छुक छु । उसले जे भन्छ, उसले जे चाहन्छ यदि त्यसले मात्र उसलाई यताउति जानबाट रोक्न सक्छ भने । अथवा मैले पनि उसको लागि धेरै राम्रो व्यवस्था गर्नुपर्छ । यसले उसका गल्तीहरू देखाएर केही शिक्षा दिन सकिन्थ्यो । अलिकति उसलाई चुनौती दिएर । अलिकति उसलाई होशमा ल्याएर ।  त्यसले के मद्दत गर्न सक्थ्यो ? ऊ के चाहन्छ ? पुरुषहरू के चाहन्छन् ? तिमी राम्री, गुनिली, सत्यवादी, कडा मेहनती, आमा र स्वास्नी हौ । तिमीले ती सब पुस्तकहरू पढेका छौ । लोग्ने र परिवार कसरी खुशी पार्न सकिन्छ भन्ने बारे  तिमी जान्द‌छौ । ऊ जे चाहन्छ ती सब तिमी उसलाई दिन्छौ । उसले तिमीप्रति कहिल्यै असन्तुष्टिको सङ्‌केतसम्म पनि देखाउँदैन र अझै ? ऊ के चाहन्छ ? रमाइलो ? तिमी ऊसँग पार्टी र रात्री क्लबहरूमा जान इच्छुक छौ, अरू कुनै तरुनी वा बुढाबुढी आइमाई झैं ? आखिर ऊ के चाहन्छ ?

म सोच्छु – बाहिर कारको आवाज आए जस्तो छ । हो । हैन, ऊ हैन । उसको खाना चिसो हुँदैछ । मलाई सधैं एक्लै खान के मन पर्दो हो र ! तर मलाई टेबुलको अर्कोपट्टि ऊ होस् भन्ने बानी परेको छ । मलाई उसले रक्सी खाँदा लोभलाग्दो पाराले हेर्ने बानी परेको छ । मलाई उसले मेरो पाककलाको बारेमा टिप्पणी गरेको मन पर्छ । …..के ऊ यी सबलाई घृणा गर्छ ? सधैं राम्रो खाना प्राप्त गर्दा उसलाई दिक्क लाग्छ ?

अहँ,उसले त कहिल्यै गुनासो गरेको छैन त । उसले गुनासाका छर्राले हानेदेखि त म संसारका सबै पाकविधाका पुस्तकहरू किनेर ल्याउँथें अनि उसले जे चाहन्थ्यो त्यो म पुर्‍याइदिन्थें … । टेलिफोन बजेको आवाज त हैन ? हैन । मेरो दिमागले भ्रमलाई यथार्थ मान्न सिकाएको छ मलाई । किन ऊ मलाई, टेलिफोन गरेर ऊ कहाँ छ अहिले, बताउँदैन ? स्पष्ट भन्ने हो भने यदि ऊ कुनै ककटेल पार्टीमा भए अथवा क्लबमा अथवा कुनै अर्की आइमाई को घरमा, म चित्त दुखाउने थिइनँ ।

…. अर्की आइमाई को घर ? साँच्चै यही त रहस्यको कुरा छ जसले मलाई डस्छ । मार्छ । माने लिऊँ ऊ घर आइरहँदा कतै दुर्घटनामा पो पर्‍यो कि ? तब के ? हुन सक्छ मैले अस्पताल वा प्रहरी कार्यालयमा फोन गरूँ ?  यसो गरें भने त सम्भवतः मैले आफूलाई सार्वजनिक रूपमा मूर्ख साबित गरेको हुन्छु । तैपनि यसले मेरो दिमागको एउटा भार त हल्का हुन्थ्यो कि ? अथवा हुन्थ्यो नै के ?

तिमी जान्द‌‌छौ, म धेरै के को सपना देख्छु ? त्यो एक दिन मैले सुन्नेछु ऊसँग एउटा बच्चा छ, कुनै दुःखी अभागी केटीको, शहरको कुनै एकान्त स्थानमा । ओह ! मैले आत्महत्या गर्नु पर्छ । छैन, पर्ख ! हैन, आत्महत्या हैन । बरु मेरा अति उत्तम कपडाहरू लगाएर मैले उसका अति घनिष्ठ साथीहरू अथवा उसका अफिसका सहायकलाई बोलाएर प्रेमको आह्वान गर्नुपर्छ । तिनीहरूलाई प्रेम गर्नु पर्छ । त्यसले उसलाई ठीक ठाउँमा ल्याउनेछ । उसको घमण्ड‌को आकार बाउन्ने तुल्याउनेछ । सुँगुरको बच्चा !! हुन देऊ, तर ल्याऊ त्यो गधालाई यस घरमा । म सबै बच्चाहरूलाई तयार पारिराख्छु । तर यो सब गर्न सकुँला मैले ?

तर माने लिऊँ, साँच्चै एक दिन उसले कान्छी स्वास्नी ल्याएको सूचित गर्‍यो भने ? आखिर उसका साथीहरू पनि त त्यही गरिरहेका छन्, त्यसैले उसले मात्र गर्न नहुने किन ? उफ् त्यसले मलाई साँच्चै हतोत्साह तुल्याउनेछ । उसको प्रेमको भागबन्डामा बाँच्नु पर्ने ….बरु बेस त यो हुन्थ्यो कि अर्कै किसिमले यसलाई व्यवस्थित गरियोस्, संस्थागत किसिमले कार्यक्रम बनाएर, समय तालिका मिलाएर, सोमवार, बुधवार, शुक्रवार मेरो पालो । मंगलवार, विहिवार, शनिवार उसको ।  आइतवार चाहिं ? भगवानले सुरक्षा दिउन् हामीलाई यी डरलाग्दा जन्तुहरू विरुद्ध । आऊ यसैको बारे सोचौं, यूरोपेलीहरू बरु यसमा वेश काइदा गर्छन् । यसपछि तिमी एक अर्काप्रति पूरै उदासीन हुन्छौ, तिमी सम्पर्क टुटाउँछौ, उत्तरदायित्वहरू भागबन्डा गर्छौ र जान्छौ फेरि शुरु गर्दै । सब थोक फेरि कुनै अर्कासँग । तर पुरुषहरू – जन्तुहरू यी सब आफ्नै किसिमको होस् भन्ने चाहन्छन् । सुँगुरहरू ! हरामीहरू ! भगवान् किन तिमीले यो निर्दयी दुनियाँमा स्वास्नीमानिसको निर्माण गर्‍यौ ? किन दुई, तीन अथवा चार तिनीहरू एकै लोग्ने मान्छेको भागमा पर्छन् ? के कुनै लोग्ने मानिस अर्को लोग्ने मानिससँग आइमाई भाग लगाउन सहमत हुन सक्छन् ? तर प्रायः आइमाईहरू यसो गर्नु अघि दुई पल्टसम्म पनि सोच्दैनन् । म भगवानलाई धन्यवाद दिन्छु म अरू आइमाई जस्तो छैन । यदि ऊ अलि कडा हुन्छ भने म पनि उसलाई एक‌ दुई थोक देखाइदिन सक्छु । साँच्चै ।

तर पर्ख ! उसको कोठाबाट के आवाज सुन्दैछु ? घुरेको जस्तो आवाज । ओह ! मैले पुछपाछ गर्न लाग्दा र उसको मन पर्ने किसिमको हुन लाग्दा ऊ आएको हुनसक्छ …. हत्तेरिका, उसको खाना त पूरै चिसो भै सक्यो । ऊ घर आइपुग्दा खाना खाने टेबुलमा खाना नदेखेर कति झोंक्कियो होला । कति पल्ट उसले मलाई यस विषयमा भनिसकेको छ ।… हे भगवान्, पक्कै ऊ नै हो त्यो रिस र भोकले घुरिरहेको ।

हाय प्राण । ओ प्रिय !…   अझै म आफू चिन्तित भइसकेकी छु ।

“प्रिय ! डार्लिङ ! उठ ! खाना खाने बेला भयो । प्रिय, उठ न भन्या ।”