तिम्रो हृदयको मौन
तिम्रा दिनहरू
अनि तिम्रा रातहरूको
रहस्यलाई जान्दछ

तर तिम्रा कानहरू
हृदयको त्यस आवाजलाई
सुन्नका लागि तिर्खाइरहन्छन्

जे जति तिमीले
हमेशा आफ्ना विचारहरूमा जानेका छौ
त्यसलाई तिमी
शब्दहरूमा पनि जान्न चाहन्छौ

तिमी आफ्ना स्वप्नहरूको
नग्न कायालाई
आफ्ना औंलाहरूले छुन चाहन्छौ
– अनि राम्रो पनि हुनेछ
तिमीले यसो गरे

तिम्रा आत्मामा रहेको
अदृश्य जल-स्रोतको मुहान फुटोस्
अनि कलकलाउँदै
समुद्रतिर बहँदै जाओस्
अनि तिम्रा गहिराइमा लुकेको खजाना
तिम्रा आँखाका सामू
प्रत्यक्ष भइदेओस्

तर यी अज्ञात खजानाहरूलाई
जोख्नका लागि
कुनै तराजू हुनु हुँदैन
न ज्ञानका गहिराइहरू नाप्नका लागि
कुनै मापदण्ड

किनभने आत्म-तत्त्व
एउटा समुद्र हो –
असीम अनि अगाध

यसो नभन –
मैले सत्य पाएको छु,
तिमीले त यसो भन्नुपर्ने हो –
मैले एउटा सत्य पाएको छु

यसो नभन –
मैले आत्माको मार्ग भेटेको छु,
तिमीले त यसो पो भन्नुपर्ने हो –
आफ्नो आत्मासँग
मेरो त्यसबेला भेट भयो
जब ऊ
मेरो बाटामा विचरण गर्दै थियो

किनभने
आत्मा त सबै बाटाहरूमा
विचरण गर्ने गर्छ
आत्मा
एउटा सरल रेखामा हिंड्दैन

अनि न त बेतको बिरुवाजस्तै
सोझो भएर बढ्छ
त्यो त
सहस्रदल कमल झैं
स्वयंलाई प्रस्फुटित गर्दछ ।