घर

खलिल जिब्रान
नगरको सीमानामा
घर बनाउनुभन्दा पहिले
तिमी वन प्रान्तरमा
कल्पनाको एक कुञ्ज बनाऊ
किनभने –
यद्यपि गोधूलि वेलामा
तिमी त आफ्नो घर फर्कन्छौ
तर तिम्रो अन्तर्मनको पर्यटक
हमेशा दूरस्थ एवं एकाकी नै रहन्छ
तिम्रो घर
तिम्रै विस्तृत शरीर हो,
त्यो सूर्यको प्रकाशमा विकसित हुन्छ
अनि रात्रिको सन्नाटामा सुत्दछ
अनि त्यो निद्रा
स्वप्नरहित हुँदैन,
के तिम्रो घरले सपना देख्दैन ?
अनि सपनामा नगरलाई छोडेर
कुनै निकुञ्जमा
अथवा पहाडका टाकुरामा जाँदैन र ?
आहा ! कस्तो मज्जा हुन्थ्यो
मैले तिम्रा घरहरूलाई
अन्नका बीऊ झैं
मुट्ठीका मुट्ठी मुठ्याएर
तिनलार्ई जङ्गल र चौरहरूमा
छर्न सक्ने भए
अनि यी उपत्यकाहरू
तिम्रा सडक हुन्थे
अनि हरिया गोरेटाहरू
तिम्रा गल्ली,
त्यसबेला तिमीहरूलाई
एक अर्कासम्म पुग्न
अङ्गूरका बगैंचाका बीचबाट
टहलिंदै जानुपर्ने हुन्थ्यो
अनि जब तिमी घर फर्किन्थ्यौ
तिम्रा लुगाबाट
माटोको सुगन्ध आउने गथ्र्यो
तर, अहिले त्यस्तो हुन सक्दैन
भयको वशीभूत भएर
तिम्रा पूर्वजहरूले तिमीहरूलाई
एक–अर्काको ज्यादै नजीक समेटेर
बसाइदिएका थिए,
त्यो डर अझै
अरु केही दिनसम्म रहिरहने छ
केही दिन अझै
तिम्रा नगरका पर्खालहरू
तिम्रा घर र खेतका बीच
व्यवधान बनेर ठडिइरहने छन्
मलाई भन्नुहोस् मित्रहरू !
यी घरहरूमा तपाईंहरूले
कुन कुरा जतन गरेर राख्नुभएको छ,
तपाईंहरू ढोका बन्द गरेर
जुन वस्तुको सुरक्षा गर्दै हुनुहुन्छ
त्यो के चीज हो ?
के तपाईंसँग मनको शान्ति छ ?
अथवा त्यो मौन आकाङ्क्षा
जुन तपाईंका शक्तिको प्रकाशक हो,
के तपाईंसँग मधुर स्मृतिहरू छन् ?
ती झलमलाउने गजूरहरू
जो मनका शिखरहरूमा
यहाँदेखि त्यहाँसम्म फैलिरहेका हुन्छन्
के तपाईंसँग सौन्दर्य छ
जसले हृदयलाई
काठ र ढुंगाले बनेका वस्तुहरूबाट मोडेर
पवित्र पर्वतहरूतिर लैजाओस्,
मलार्ई भन्नुहोस्-
के तपाईंका घरमा त्यस्तो सम्पदा छ ?
अथवा तपाईंसँग
केवल इन्द्रिय सुख
अनि त्यस सुखको वासनामात्र छ ?
त्यो चोर-
जो तिम्रा घरमा
अतिथि बनेर प्रवेश गर्दछ
अनि फेरि घरको सदस्य
र अन्त्यमा घरको मालिक बन्न पुग्छ,
अँ, त्यही चोर
पछि यस्तो क्रूर शासक बन्दछ
जसले अङ्कुश र कोर्राको
डर देखाएर
तिम्रा उच्चतर चाहनाहरूलाई
कठपुतली नचाए झैं नचाउँछ,
त्यसका हात रेशमले बनेका हुन्छन्
तर दिलचाहिं फलामले,
त्यसले किन तिमीलाई
थपथपाएर सुताइदिन्छ भने
पछि तिम्रा सिरानीनेरि उभिएर
लाजलाग्दो अवस्थामा पुगेको
तिम्रो शरीरका गरिमामाथि
उसले हाँसो उडाउन सकोस्,
उसले तिम्रो संयमको उपहास गर्दै
तिम्रा वासनाहरूलाई
जो ठोकर लाग्नासाथ
पर पुग्ने भाँडाहरूजस्ता हुन्छन्—
काँडाघारीमा लगेर फ्याँकिदिने गर्छ
साँच्चिकै,
इन्द्रिय सुखको मोहले
पहिले त तिम्रो आत्माका भावावेशको हत्या गरिदिन्छ
अनि त्यसपछि निर्लज्जतापूर्वक हाँस्दै
त्यसैको शवयात्रामा आफैं सामेल हुने गर्दछ,
तर तिमी
हे आकाशका सन्तान !
जो शान्तिमा पनि अशान्त रहने गर्दछौ
तिमी न जालमा फँस्नेछौ
न घरपालुवा बन्नेछौ,
तिम्रो घर
तिम्रो नाउको लंगर होइन
नौकादण्ड हुनेछ,
त्यो घाउलाई ढाक्ने
चम्किलो कलिलो छाला होइन
आँखाको रक्षा गर्ने परेली बन्नेछ,
त्यस घरका ढोकाहरूबाट भित्र पस्दै गर्दा
अड्किने डरले
तिमी आफ्ना पखेटाहरूलाई समेट्ने छैनौ
न छतमा ठोकिने डरले
आफ्नो शिर झुकाउनेछौ
न सास लिंदा
भित्ताहरू चर्किएर
लड्ने पो हुन् कि भनी डराउनेछौ
तिमी ती मुर्दाघरमा बस्ने छैनौ
जो मृतकहरूले
जीवितहरूका लागि बनाएका हुन्
तिम्रा त्यस घरको
भव्यता र जगमगाहटले
तिम्रा रहस्यहरूको
रक्षा गर्ने छैनन्
न तिम्रा वासनाहरूलाई
आश्रय दिनेछन्
किनभने
तिम्रा अन्तरमा
जुन उन्मुक्त आत्मा रहन्छ
त्यो उच्च गगन–मण्डलको
राज–भवनमा निवास गर्दछ,
बिहानीको हुस्सू
जुन राजभवनको द्वार हो
अनि रात्रिको गीत र सन्नाटा
जसको आँखीझ्याल ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









