मूलः सुवागियो सासतरी वरडोयो
अनुवादः गोविन्द गिरी प्रेरणा
तारमीनाह अविवाहित थिई । उसको उमेर प्रशस्त ढल्किसकेको थियो । दुई महिनापछि नै उसको उमेर पैँतीस वर्षको हुँदै थियो । पाँच वर्षपछि त चालीस । यसको कल्पना मात्रले पनि उसको मनमा विचित्र किसिमको डरलाग्दो भावना उत्पन्न हुन लागेको थियो। यस प्रकार उसको सम्पूर्ण व्यक्तित्वमाथि एउटा भयानक छायाझैँ आवरण देखा पर्न थाल्यो । ऊ आफ्नो चढ्दै गरेको उमेरकै कारणबाट अत्यधिक भयभीत हुँदै थिई । उसलाई अरू कुनै पनि किसिमको चिन्ता थिएन । यद्यपि समय आफ्नो तीव्र गतिमा बग्दै थियो। हेर्दाहेर्दै एक वर्ष बित्यो । तीव्र गतिमा बढिरहेको समयको यही ब्यहोराले उसलाई हरक्षण उदेक लगाइदिन पर्याप्त थियो।
उसलाई स्वतः नै यस्तो अनुभव हुन्थ्यो मानौं उसको शरीरमा आनन्दको रसधाराको गति बन्द भइसकेको छ । ऊ निस्तो भइसकेकी छ । वास्तवमा जब उसको प्रेमीसँग विछोड भयो, त्यसैबेलादेखि उसले आफ्नो शरीरको वास्ता गर्न छाडिदिएकी थिई। धेरै समयदेखि यसै परिस्थिति एवम् आफ्नो यौवनप्रति उसले उदासिनता अपनाएकी थिई ।
“मीन ! म छिट्टै फर्केर तिमीलाई भेट्न आउँछु । तिमी मलाई पूरा विश्वास गर ।” त्यति बेला उसको प्रेमीको आँखामा एउटा अपूर्व दृढताको किरणको प्रकाश स्पष्ट रूपले परिलक्षित हुन्थ्यो र तारमीनाह सदैव नै त्यस दिशातिर हेरेर ऊ फर्कने बाटो हेरिरहन्थी, जहाँ उसको प्रेमी मास प्राप्तो अक्सर लुकेर बस्थ्यो । ऊ यस्तो कल्पना पनि गर्थी‑ जब इण्डोनेशिया एउटा स्वतन्त्र देश होला तब देशभरि शान्ति होला। मास प्राप्तो अचानक उसलाई भेट्न आउला ।
ऊ सोच्थी, मास प्राप्तो अचानक ढोकामा आएर ठिङ्ग उभिएला, त्यति बेला उसलाई देखेर प्रशन्न होली। उसको त्यो मुस्कुराहटमा पूरा विश्वास झल्मलाउला । ऊ घरभित्र प्रवेश गर्नुअघि नै ऊ तुरुन्त उठ्ली । अनि सँगसँगै उसको शुभागमनको उल्लास प्रकट गर्न चिच्याउली। चारैतिर दौडेर उसको स्वागत गर्ली।
त्यसपछि मास प्राप्तोले पहाडी क्षेत्रमा शत्रुसँगको भिडन्तको पूरा विवरण सुनाउला । उसले आफ्नो विरहको व्यथा पनि सुनाउला । यी सब त्यसरी नै होलान् जसरी सधैँ ऊ चिठीमा वर्णन गर्ने गर्छ।
“तारमीनाह! तिमी सधैँ भगवान् माथि पूरा विश्वास गर।”
ऊ आफ्नो चिठीमा बारम्बार लेख्थ्यो कि “म निश्चय नै फर्केर आउँछु मीन! यदि भगवान् हाम्रो रक्षक हो भने म अवश्य फिर्ता आउँछु । निश्चय नै हाम्रो मिलन हुनेछ । र, म तिमीलाई प्यारी श्रीमती बनाउने छु ।”
तारमीनाहलाई लाग्थ्यो, अझै पनि त मधुर शब्दध्वनि सुनिरहेकी छ। ती शब्द कति आनन्ददायक थिए ! विशेषगरी अन्तिम शब्दले त उसको हृदयमा मधुर रसको धारा नै बगाइदिन्थ्यो । ऊ आफ्नो हृदयलाई बारम्बार आश्वस्त गरिरहन्थी, “म उसकी श्रीमती हुँ ।” र, एकै क्षणमा ऊ आफ्नो मधुर कल्पना संसारमा डुबेर आनन्द मग्न भइदिन्थी । बारम्बार यो सोचेर कि मास प्राप्तोको प्रेमको चिनो स्वरूप ऊ गर्भधारण गर्ने छे र गर्भको भारको मृदुतालाई आनन्दपूर्वक वहन गर्नेछे, जसले उसलाई अपार सुखको अनुभव होला ।
तारमीनाह सधैँ नै आफ्नो प्रेमीको विचारसँग एउटा अनुपम समानताको अनुभव गर्थी । उसलाई लाग्थ्यो, मानौं ऊ वैचारिकता पनि आफ्नो प्रेमीसँग पूर्ण समान छे । यहाँसम्म कि ऊ मास प्राप्तोको आन्तरिक हार्दिक विचारमा पनि उसको जीवनमा झैं प्रवेश गर्न चाहन्थी, जसबाट उसको हृदयको मधुरो धड्कनको आहट पनि अत्यन्त निकटबाट सुन्न सकियोस् । ऊ उसको सङ्घर्षको सम्वाहिकाको रूपमा पनि उसको कठिनाइमा साथ दिएर आफ्नो जीवन सार्थक बनाउन चाहन्थी । एकपल्ट त, चिठ्ठी समाप्त गरिसकेपछि पनि सबभन्दा तल निकै ठूलो हिम्मत गरेर लेखी – “तिम्री श्रीमती तारमीनाह!”
एक हप्ता भनेझैँ पछि उसको प्रेमीको मानौं अन्तिम चिठी उसलाई प्राप्त भयो, ” मीन! चाहे जे सुकै होस्, म जीवन पर्यन्त तिमीलाई प्रेम गरिनै रहन्छु । यद्यपि मैले आफ्नो प्रेमसूत्र सधैँ सधैँलाई सुदृढ गरेर गतिशील पार्न पाइनँ । फेरि पनि तिमीसँग भेट्न नपाए पनि म तिम्रो प्रेमबाट कहिल्यै विमुख हुन सक्दिनँ, चाहे आफ्नो प्रियतमाको रूपमा तिमीलाई सम्झना मात्र गरिरहूँ। चाहे त्यो मधुर स्मृति मेरालागि अहङ्कारको प्रतीक नै किन नहोस् !”
तारमीनाहले आफ्नो प्रत्युत्तरमा मास प्राप्तोलाई सन्तोष दिलाउँदै अत्यन्त मधुरो कुराले सङ्घर्षलाई बिर्साउँदै फस्ल्याङ फुस्लुङ पार्दै प्रशन्न तुल्याउने प्रयत्न गरी तर मास प्राप्तोलाई अझै पनि मधुर सङ्केतले भुलाउन सक्दैनथ्यो । वास्तवमा अन्तिम चिठीको उत्तरको एक दिनपछि नै शत्रु सेनाको टुकडीले गस्ती लगाउँदा मास प्राप्तोलाई समाते र उसका अन्य साथीहरूसँगै कुकुरलाई झैँ गोलीले उडाइदिए । उनीहरूको लाश त मानिसहरूले एउटा झाडीमा भेट्टाएका थिए ।
पहिला त तारमीनाहलाई मास प्राप्तोको मृत्युको विश्वास नै लागेन किनभने उसलाई भगवानको अपार करुणा र दयाप्रति विश्वास थियो । यति मात्र होइन, उसलाई आफ्नो प्रार्थनाको पनि ठूलो सहारा थियो। आफ्नो प्रेमीको चिठी पढेर उसलाई यस्तो लाग्थ्यो, मानौं तारमीनाहलाई आफ्नो सङ्घर्षको बारेमा बताउँदैछ र वास्तविकता के हो बुझाउँदैछ ।
ऊ मास प्राप्तोको चिठ्ठी बारम्बार पढ्थी । यही चिठ्ठीले उसलाई अपार शान्ति दिन्थ्यो । चिठ्ठीका शब्दले उसलाई यस्तो आभास हुन्थ्यो मानौं स्वयम् मास प्राप्तो वार्तालाप गर्दैछ। मानौं ऊ उसको सामुन्ने प्रस्तुत गएको छ। यसपछि त्यो चिठ्ठीलाई ऊ अनेक पल्ट म्वाई खान्थी । यतिसम्म कि कहिलेकाहीँ त प्रेमको आँशूले त्यो चिठ्ठी लफ्रक्क भिज्थ्यो ।
युवावस्थाको प्रथम चरणमा जब तारमीनाहको शरीर सुन्दर एवम् आकर्षक थियो, त्यति बेला उसको वक्षस्थलमा मातृत्वको भावना चुल्बुलिन्थ्यो र त्यहाँबाट अनुपम रसमय धारा बहन्थ्यो । उसलाई पूरा विश्वास थियो, एक न एक दिन उसको यो कल्पना निश्चय नै साकार हुनेछ। उसले दृढतापूर्वक मास प्राप्तोको फोटो सामुन्ने प्रतिज्ञा गरेकी थिई- ऊभन्दा अरु कसैलाई पनि जीवन पर्यन्त विवाह गर्नेछैन। ‘तिमी टाढा परदेशमा मेरो प्रतीक्षा गरिरहू, मास प्राप्तो।’
उसको यो आवाज आदेश झैँ गुञ्जन थाल्थ्यो । जब प्रेमको आवेशमा उसले आफ्नो प्रेमीको फोटो छातीमा टाँसी, तब उसका दुवै आँखाबाट अविरल अश्रुधारा बग्न थाल्यो मानौं स्वयम् उसको प्रेमीले आएर उसलाई म्वाई खाएको होस् ।
उसको यो कार्य र अभिलाषा पूर्तिप्रति उसको कुनै पनि प्रकारको पछुतो थिएन। उसको शपथ नै मानौं उसका यी सब कार्यमा साकार हुँदै थियो जुन वास्तवमा उसको मानवीय भावनाको गहिरो अनुभूतिले नै प्रकट भएको थियो। केवल आफ्नो आत्मत्याग एवम् साधनाद्वारा नै ऊ सम्भवतः आफ्नो प्रतिज्ञा एवम् महान् मानवीय मूल्यको प्रतिष्ठा गर्न सक्थी ।
ऊ आफ्नो निर्णयमा पूर्ण रूपले दृढ थिई । यद्यपि केही यस्ता मानिस पनि थिए जो उसको उपहास पनि गर्ने गर्थे । कयौँ यस्ता युवक पनि थिए जो उसलाई पाउने गहिरो अभिरुचि राख्थे । सारजोनो पनि तीमध्ये एक थियो । तारमीनाहका लागि ती सब भोका बाघसिवाय अरू क्यै लाग्दैनथे जो प्रतिदिन उसको वरिपरि घुमिरहन्थे । तिनीहरू यस्तो अवसरको प्रतीक्षामा थिए मानौं भेट्टाउना साथ उसमाथि आक्रमण गरिहाल्ने र उसको शरीरका मासु टुक्रा टुक्रा पारेर खाइहाल्ने भने झैं ।
परन्तु यी सबमा सारजोनो बढी इमानदार थियो। यद्यपि तारमीनाहले उसको याचना पनि अस्वीकार गरिदिएकी थिई । तैपनि ऊ सम्पूर्ण प्रेम भावनाले उसको आदर सम्मान गर्थ्यो । वास्तवमा ऊ चित्रकार थियो । उसले एकपल्ट तारमीनाहको एउटा सुन्दर तस्वीर बनाएर उपहार दिएको थियो । त्यो तस्वीर तारमीनाहको घरको भित्तामा झुण्डिरहेको थियो ।
तारमीनाहले अब गम्भीर रूपमा आफ्नो आत्म परीक्षण गर्न शुरू गरिदिएकी थिई किनभने चिन्तनको सम्पूर्ण गतिविधिसँग ऊ राम्ररी परिचित थिई र त्यसको गहिरो रसस्वादन पनि गरिसकेकी थिई। मास प्राप्तोको विषयमा अथवा अन्य युवकको सम्बन्धमा उसलाई थाहा थियो, किनभने उसलाई तिनीहरू भेट्ने अवसर प्राप्त भएको थियो । परन्तु जुन कुरा उसले अझसम्म बुझ्न सकेकी थिइन, त्यो थियो – युवकको मनको गहिराई कति हुन्छ, जसले कहिले कहिले विदिर्ण तुल्याइदिन्छ । जब ऊ आत्माको गहिरो अनुभवको लागि त्यस क्षेत्रमा चारैतिर छटपटाइरहेकी थिई, त्यसै बेला उसलाई मानवीय रगतको तिर्खाको गहिरो अनुभव भइरहेको थियो ।
“आफ्नो प्रेम चिन्तन गतिशील बनाउन हामी विवाहको बन्धनमै बाँधिन किन जरुरी छ ? त्यो त विवाह विना पनि त सम्भव छ,” उसले सारजोनोको प्रस्ताव अस्वीकार गर्दै भनेकी थिई । विशेष रूपले जब सारजोनोले आफ्नो इच्छालाई साह्रै बल दिँदै प्रस्ताव गरेथ्यो ।
हामी दुई यस प्रकारका प्रेमी प्रेमिकाको रूपमा जीवन बिताउन सक्छौं। अतएवं निश्चय नै तिमी मेरो मित्र तथा मेरालागि यस्तो विश्वास पात्र व्यक्ति हौ, जसमाथि म सदैव आफ्नो हृदयदेखि नै विश्वास गर्न सक्छु र सदैव तपाईंको कलाकारलाई प्रेरणा दिएर दैवी शक्ति प्रदान गरिरहन्छु ।”
“म कुनै देवदूत त होइन, जो अग्निज्वालामा नै जीवित रहन सक्दछ,” सारजोनोले दुःखी भएर आफ्नो भावना प्रकट ग-यो ।
अन्तमा सारजोनोले पनि तारमीनाहलाई अन्य युवकहरूले झैँ छाडेर गयो किनभने ती सब अग्निज्वालामा जीवित रहने देवदूत थिएनन् ।
यस प्रकार सारजोनोलाई पनि आफ्नो जीवनबाट हटाइसकेपछि तारमीनाहको हृदयमा एउटा नयाँ चेतना जागृत भयो। परन्तु यो चेतनाले विस्तार विस्तार एउटा गहिरो वेदनाको रूप लिन थाल्यो।
आफ्नो जीवनको अन्धकारको शून्यतामा तारमीनाहलाई स्वतः आभास हुन थाल्यो – ऊ स्वयम् अब एउटा अग्निपुञ्जको स्वरूप भएकी छ, जसको ज्वाला दिन प्रतिदिन बढ्दै जाँदैछ जसले उसको जीवन डढाएर खाक नै तुल्याउने पो हो कि ! अब मास प्राप्तोको त्यो प्रेमपत्र, त्यो अग्नि ज्वाला शमन गर्न ऊ पूर्णतः असमर्थ एवम् असफल भई।
अब ऊ सधैं जीवनको अतृप्त तिर्खाको सपना देख्थी र अभिलाषाका सुख्खा प्रदेशको पनि उसलाई बारम्बार कल्पना आउन थाल्यो। अक्सर आफ्नै चीत्कारको आवाजले ऊ झस्कन्थी । त्यो चीत्कार रातको अन्धकारमा बिलाउँथ्यो। त्यसको कुनै प्रतिध्वनि समेत कहिले पनि सुनिँदैनथ्यो ।
उसको स्त्रीत्वकालको अब मात्र पाँच वर्ष बाँकी थियो । त्यसपछि उसको जीवन लहराझैं हुनेछ जो आफ्नो अस्तित्व जोगाउन जसो तसो बाँचिरहेको हुन्छ तथा स्मृति मात्र उसको बाँच्ने शेष विकल्प रहनेछ । त्यसपछि त न ऊ स्त्री नै रहन्छे, न पुरुष नै । ऊ त यस्तो प्राणी हुनेछे, जसको न त कुनै स्पष्ट रूप हुनेछ न जीवनको कुनै अभिलाषा, आकाङ्क्षा अथवा कामेच्छा नै शेष रहनेछ ।
ऊ यो पनि बुझ्न सकिरहेकी थिइन, उसको चेतनाको कुन स्वरूप होला । उसको आदि अथवा अन्त के होला । यो पनि उसको जीवनको अतृप्त इच्छाहरूझैं एउटा प्रश्नचिह्न थियो ।
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




