फिलिप्पो तोमासो मारिनेत्ती

सन् १९०९ मा इटालियन कवि तथा सम्पादक फिलिप्पो तोमासो मारिनेत्तीले “ला फिगेरो” पत्रिकामा प्रकाशित गरेको घोषणापत्रसहित “भविष्यवाद”को जन्म भएको हो । भविष्यवादको नामाकरण पनि माटिनेत्तीले गरेका हुन्। यसका कतिपय सकारात्मक र निर्माणपरक उद्देश्यहरू भए पनि “हामी म्युजियमहरू भत्काउँछौं, पुस्तकालयहरू नष्ट गर्छौं र नैतिकतावादसंग संघर्ष गर्छौं, नारिवादीसँग लड्छौं …” जस्ता आक्रामक घोषणाले जनसाधारण‌लाई एक्कासि चकित तुल्यायो । यी भविष्यवादीहरूले फासिवादीसँग सम्मिलित भएर, “हामी युध्दलाई सकार्छौं- एउटै मात्र संसारको सत्य स्वस्थ र सुन्दर विचार जसले हत्या गर्दछ…” समेत भनेर हुनसम्मको आश्चर्य उत्पन्न गरे ।
भविष्यवाद आन्दोलनको केन्द्रबिन्दु इटाली नै रह्यो र यसले गतिशिलता आन्दोलनलाई बढी जोड दियो । यो आन्दोलनको मुख्य र धेरै प्रभाव तथा निष्कर्षहरू दृश्यपरक कलामा देखिए पनि भविष्यवादले साहित्य, रङ्‌गमञ्च र संगीतमा समेत ठूलो प्रभाव पा-यो ।
मारिनेत्ती कवि, उपन्यासार र नाटककार भए पनि भविष्यवादको सिद्धान्तको व्याख्याताका रूपमा बढी महत्त्वपूर्ण मानिन्छ्न । सन् १९०९ मा प्रकाशित घोषणापत्र पश्चात् पनि उनको हात कवितासम्बन्धी घोषाणापत्रहरुको सिलसिला, रङ्गमञ्च, संगीत, रेडियो इत्यादिमा पनि सक्रियतापूर्वक चलिरह्यो । साथै, उनी कला क्षेत्रभन्दा इतर क्षेत्रमा समेत सक्रिय रहे । उनले सन् १९०५ मा पेरिशमा स्थापना स्थापना गरेको “पोइसी” पत्रिका जुन “The great incendiary poets’ का लागि सुरु गरिएको थियो, त्यही समूह नै भविष्यवादी कविहरूका रूपमा देखा प-यो । बेलायत, फ्रान्स, जर्मनी र रसियामा यसै सिलसिलामा भएको भ्रमणले उनले अंग्रेजी भोर्टिसिजमका संस्थापक वैण्डहाम लेविज तथा घनवाद कवि गुइलाउमे एपोलोनारलाई ठूलो प्रभाव पारे ।
रुसमा मारिनेत्तीको भ्रमणले इटालियन शैलीभन्दा पृथक् प्रकारको भविष्यवादको जन्म गरायो, सामाजिक र राजनैतिक अलग पृष्ठभूमिसहित । मारिनेत्तीको भविष्यवादले रुसका दुई साहित्यकारलाई ठूलो प्रभाव प-यो र पछि तीनै रुसका भविष्यवादका जन्मदाता मानिए । ती थिए भ्लादिमिर केलवनिकोव र भ्लादिमिर मायाकोव्स्की । र सन् १९१२ मा रुसमा भविष्यवादको बेग्लै घोषणापत्र निस्क्यो, जसमा इटलीको भविष्यवादभन्दा बेग्लै थियो । जसमा इटालीको भविष्यवादको प्रतिध्वनि त छँदै थियो-यसले कविताको भाषालाई सडकको भाषासँग साम्यता राख्ने प्रयास भयो। यो घोषणापत्रलाई दोस्तोयब्स्की र टोल्सटोय लगायतले संशोधन तथा पुर्पक्ष गरेका थिए । सन् १९१७ को वोल्सेभिक क्रान्तिसँग हृदयदेखि नै लागेर कलाकारहरूको पहिलो समूहले आफ्नो परिचय कायम गर्न खोजे, भविष्यवादीहरूले क्रान्तिपछिको संस्कृतिलाई होच्याए र नयाँ जनवादी कलाको सिर्जना गर्न उद्यत रहे । उनीहरूलाई सोभियतका पहिलो कमिश्नर अनातोली लूनाचार्स्कीले सहयोग गरेका थिए र सांस्कृतिक पदहरू दिएका थिए ।
रूसको गृहयुद्धको समयमा जब पुस्तकहरू प्रचारित हुन्थेन, न पढिन्थ्यो – भविष्यवादीहरू सडकमा ओर्लिए, क्याफेमा पढे र बैठकहरूमा वाचन गरे, नाटकहरूको मञ्चन गरे, पोस्टरहरू बनाए र छोटा र सरल ‘Agit poetry’ नाराहरू लेखे – आफ्नो उदेश्यपरक । राजनीतिसँग सम्बद्ध नरहने सह‌यात्रीहरूको मनशाय र त्यसको विरोधले गर्दा सन् १९३० मा मायाकोब्स्कीको मृत्युसँगै रुसी भविष्यवाद सेलायो ।
इटालीका भविष्यवादीहरूले सन् १९१२ मा पहिलो भविष्यवादी कविता सङ्ग्रहप्रकाशन गरे । इटालीका भविष्यवादी कविहरूले इटालीको प्रथम विश्वयुध्दमा सम्मिलित हुने कुरालाई समर्थन गरे र जेल गए मुसोलिनीसँगै । र सन् १९१९ मा युध्दपछिको राजनैतिक गतिविधिले भविष्यवादीहरूलाई फासिवादसँगै जोड्यो र २० को दशकको मध्यतिर यो आन्दोलन ओइलायो । भविष्यवादीहरूको साहित्यिक नारा थियो “शब्दको लागि स्वतन्त्रता” (Freedom For Word).
भविष्यवादीहरूको प्रभाव मुख्यतया एज्रा पाउण्ड, डी.एच.लरेन्स एवं गियोभानी पापिनी माथि परेको देखिन्छ ।
मारिनेत्तीकै सहयोगले कलाकारहरू उम्वर्त वोसिनी, कार्ल कारा, लुइगी रो, जियाकोमोवल्ला र जिनो सेभरितिले सन् १९१० मा घोणापत्र तयार गरे । उनीहरू गतिशील आन्दोलन चाहन्थे । यसका लागि तिनीहरूले घनवादको शैली अपनाए । उनीहरूको कलाले Emotional Involvement र गतिशील आधुनिक जीवनलाई बढी जोड दियो । भविष्यवादी अराजकतावाद (Nihilism) ले दादावादी आन्दोलनलाई समेत मुखरित गरेको देखिन्छ । मस्को समूहमा डेभिड तथा भ्लादिमिर बुर्लिक तथा न्यूयोर्कमा जोसेफ स्टेला सम्मिलित भए ।
सन् १९१५ मामिलियो सेट्टमेलीको साथमा मारिनेत्तीले रङ्गमञ्चीय भविष्यवादी घोषणा जारी गरे । उनले Synthetic Theatre को परिल्पना गरे जहाँ अति कम शब्द हुन्थ्यो । जस्तो २० वर्ष लामो प्रेमको अभिव्यक्ति एकै शब्दले प्रतिनिधित्व गर्दथ्यो। नाटकमा या त पात्रहरू नै हुन्नथे अथवा भए पनि अति थोरै हुन्थे । यसमा कलाकारको साटो दर्शकहरूको सहभागितालाई प्रोत्साहित गरिन्थ्यो ।
संगीतकार लुइसी रसेलोले पहिलो तीन भविष्यवाद संगीतका घोषणापत्रहरू सन् १९१० देखि १९१२ सम्म जारी गरे The Art of Noises को साथमा ।
पेरिशमा सन् १९२१ मा भविष्यवादी संगीतको कार्यक्रम सम्पन्न भयो । त्यसमा सम्मिलित गीतकारहरू थिए आर्थ होनेगर, दारियल मिलहाड, मरस रावेल एबम् एडगार्ड मरियस ।
भविष्यवादका प्रमुख कलाकारहरुको मृत्युपछि र प्रथम विश्व युध्दको चपेटामा परेर भविष्यवादको अस्त भयो तर भविष्यवादले साहित्य र कलामा पारेको प्रभाव, प्रयोग र प्रतिच्छायाहरू विश्वको साहित्य र कलाको इतिहासमा एक महत्त्वपूर्ण अध्यायका रुपमा अङ्कित छन् ।
०००