बेलायत लेखक फ्रान्क कोट्रेल बोयस उमेरमा ६३ वर्षको लागे । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी भाषा पढेका उनले कोरोनेसन स्ट्रिट, ब्रुकसाइड तथा डक्टर हुजस्ता उपन्यास लेखेका छन् । उनका वेलकम टु साराजेभो (१९९७), २४ आवर पार्टी पिपल (२००२) र गुडबाई क्रिस्टोफर रबिन (२०१७) जस्ता फिल्मको पटकथासमेत लेखेका छन् । उनले बेलायती फिल्म निर्देशक ड्यानी बोयलसँग मिलेर लन्डन ओलम्पिकलाई रोचक बनाउने काम गरे, पहिलो पटक सन् २००४ मा बाल साहित्य लेखेर कार्नेगी मेडल पुरस्कार हात पारे । उनको पछिल्लो उपन्यास द वन्डर ब्रदर्स चर्चामा छन् । उनका सात सन्तान छन् ।
तपाईंले साह्रै प्रशंसा गर्ने व्यक्ति को हो ?
धेरै छन् तर मलाई ज्यादै मन पर्ने व्यक्ति भनेको बालबालिकालाई पढाउने शिक्षक शिक्षिका हुन् । तिनलाई झेलेर केही सिकाउनु कम्ता गाह्रो काम होइन !
तपाईंलाई आफैँलाई मन नपर्ने बानी ?
नाइँ भन्न नसक्ने बानी ।
अरूको के बानी तपाईंलाई साह्रै मन पर्दैन ?
कर छल्ने मान्छे म देखी सहन्नँ ।
साह्रै लाज लागेको क्षण ?
एक पटक म नर्वेको एउटा डिस्कोमा छिरेको थिएँ । त्यहाँ साह्रै सुन्दर पुरूष देखेर म बोल्न खोजेँ । हाइ, तिमी के गर्छौ भनेर सोधेको त, उसले जवाफमा म यो देशको राजा हुँ पो भन्यो । मैले दाँत मात्र देखाएर हिहि गर्न सकेँ ।
घरजग्गाबाहेक तपाईंले जोडेको साह्रै महँगो सम्पत्ति के हो ?
मेरो एउटा वंशाणु रोग छ । रगतमा केही कमजोरीका कारण मैले सारा परिवारका लागि स्वास्थ्यको इन्सुरेन्स गर्नु परेको छ र यो सबैभन्दा महँगो छ । मेरो त यसको पैसा तिर्न पैतालाबाट पसिना नै निस्कन्छ ।
तपाईंलाई बेखुस पार्ने चिज के हो ?
खासमा म दुःखी त हुन्छु तर बेखुस हुन्नँ । कहिलेकाहीँ दुःखी पनि हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
तपाईंलाई आफ्नो के मन पर्दैन ?
ऐनामा हेर्दा अनुहारमा खोपिल्टो परेको मन पर्दैन । धेरैले डिम्पल कति राम्रो भन्छन् तर मलाई मन पर्दैन ।
तपाईंको जीवनीमाथि फिल्म बन्यो भने कसले अभिनय गर्दा सुहाउँछ भन्ने लाग्छ ?
एलन कमिङ भन्ने कलाकार । मेरो जवानीका दिनमा ऊजस्तै देखिन्थेँ, ऊजस्तै सुन्दर देखिन्थेँ । एक पटक बाफ्टा फिल्म अवार्डका दिन एक जना फोटोग्राफरले मलाई अँगालो हालेर भन्यो, ‘ओई, एलन, कति बूढो देखिएको यार !’ भन्यो । म त छक्क परेँ ।
आफ्नो मन नपर्ने बानी ?
कुनै पनि कुरालाई बढाइचढाइ गर्ने बानी मलाई मन पर्दैन तर के गर्नु, आदत से मजबुर भनेजस्तो छ ।
तपाईंलाई मजा आएको सबैभन्दा घटिया काम ?
ट्याटु हान्नु ।
प्रेम के हो ?
अपराधबोध बिना नै लिन सकिने आनन्द !
तपाईंको जीवनकै सुन्दर चुम्बन ?
सन् १९८१ को नोभेम्बरका दिन घटेको घटनापछि त्यो सुन्दर चुम्बन घटेको छैन ।
आई लभ यु भने पनि खासै त्यसो भन्न नखोज्दा पनि आएको कुनै शब्द छ ?
फिल्म उद्योगमा आई लभ यु भन्नुको अर्थ, कुनै कामको बदलामा भनिएको थ्याङ्क्यु हो ।
तपाईंले साह्रै घटिया काम के गर्नु भएको छ ?
जवानीका दिनमा मैले पैसा कमाउन कुखुराको छाला उधिनेको छु ।
जीवनकै सबैभन्दा महत्त्वपूर्ण शिक्षा के पाउनुभयो ?
सबैलाई खुसी पार्न नसकिने रहेछ र अर्को चाहिँ मैले सिकेको शिक्षा म अरूलाई ठ्याक्कै सिकाउन नसक्ने रहेछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










