नपिउँदासम्म एउटा मान्छे अस्तित्वमा देखिँदैन
अर्नेस्ट हेमिङवे

सन् १८९९ मा जन्मिएका अर्नेस्ट हेमिङवेलाई संसारभर नचिन्ने साहित्य पारखी छैनन् । उनका उपन्यास र छोटा कथा निकै चाखका साथ पढिन्छन् । अमेरिकाको लस्ट जेनरेसन भनेर चिनिने पुस्ताका उनी दमदार उदाहरण हुन् ।

केन्सास सिटी स्टारबाट पत्रकारका रूपमा उदाएका उनी लेखनमा संक्षिप्तता वा मिनिमलिस्टका रूपमा खुब चर्चित छन् । उनको दोस्रो उपन्यास द सन अल्सो राइजेजबाट नै उनी प्रख्यात भएका थिए । सन् १९५४ मा उनलाई साहित्यतर्फ नोबेल पुरस्कार प्रदान गरिएको थियो । यस्ता विख्यात साहित्यकारले सन् १९६१ मा आफैँलाई गोली हानी आत्महत्या गरेका थिए ।

भनिन्छ, रक्सी अत्यधिक पिउनेहरू गहिरो अवशादसँग जुझिरहेका हुन्छन् । त्यही अवशादका कारण उनको ज्यान गयो ।

त, साहित्य जगतमा पिउने कुख्यातहरूमा उनी पनि एक थिए भनेर भन्नै परेन ।

न्युयोर्कमा रहँदा अर्नेस्ट हेमिङवेको पिउने अड्डा कोस्टेलोज् भन्ने भट्टी (बार) थियो । त्यहाँ टन्न पिएलगत्तै हेमिङवेका एक जना साथी जोन ओ’हारा आइपुगे । उनको हातमा घुंगुरूको लाठी थियो । यो लाठी उनी हिँड्नका लागि उपयोग गर्थे । लाठीसहित बार छिरेका जोनलाई जिस्क्याए, ‘के सधैँ यो लुरे लाठी बोकेर हिँड्छस् ? तँ मात्तिएको बेला सम्हाल्न नसक्ने लाठी किन बोक्नु पर्यो ।’

जोनले यो दह्रो लाठी भएकाले जस्तोसुकै अवस्थामा पनि यसले सम्हाल्ने दाबी गरे । यसपछि उनले कति दह्रो छ भनेर दायाँबायाँ, भाँचकुँच गर्ने प्रयास गरे तर सकेनन् ।

रक्सीले टुन्न भएका हेमिङवेले भने, ‘यसलाई त म टाउकाले भाँचिदिन्छु ।’

जोनले पत्याएनन्, भने, ‘लु त लु !’

यसपछि हेमिङवेले लाठीलाई यताउति चलाए, हेरे र अलिकति खाली ठाउँ बनाए र टाउकामा सन्तुलित राखे । लाठीको दुई कुनामा हात राखेर स्वाट्ट ताने । लाठी त पिटिक्कै भाँचियो ।

रक्सीले ढुन्मुनिन लागेको बेलामा पनि यत्रो बल देखेर बारमा भएका सबै चकित परे ।

अहिले पनि कोस्टेलोज् भन्ने रक्सी भट्टीमा हेमिङवेले भाँचेको लठ्ठी झुण्डिएको देख्न सकिन्छ ।

०००

एउटा कोठामा एउटो कालो र अर्की गोरीलाई ह्विस्कीको बोतलसहित थुनिदिनु पर्छ र त्यहाँ जे जति परिणाम आउँछ, त्यो हिंसात्मक ट्राजिकमिक कथा बन्न पर्याप्त हुन्छ ।
चेस्टर हाइम्स

चेस्टर हाइम्स उपन्यासकार हुन् । उनी मूलतः डिटेक्टिभ (अपराध) उपन्यास लेख्थे । उनका पात्रहरू काला जाति नै हुन्छन् । उनका पात्रले अमेरिकी अपराध लेखनीमा निकै प्रभाव पारेको छ । उनी अमेरिकी भए पनि अधिकांश समय पेरिसमा बिताए । कटन कम्स टु हार्लेम उनको सबैभन्दा प्रख्यात उपन्यास मानिन्छ ।

अमेरिकाबाट उनी भर्खरै फ्रान्सेली राजधानी पेरिस पुगेका थिए । यात्रा थकानपूर्ण थियो । उनलाई प्यास लागिरहेको थियो तर यात्राबाट सिधै उनी एउटा पार्टीमा पुगे । उनलाई पार्टीमा उनका साथी रिचर्ड राइटले लगेका थिए । त्यहाँ जाँदै गर्दा बीच बाटामा अर्का लेखक जेम्स बाल्डविन फेला परे । रिचर्ड राइट र बाल्डविनबीच उति राम्रो सम्बन्ध थिएन किनभने बाल्डविनले निकै पटक सार्वजनिक रूपमा नै राइटको लेखनीलाई तिखो गरी प्रहार गर्ने गर्थे । तर पैसा चाहिएको बेला चाहिँ राइटसँगै जोतिन पुग्थे ।

पेरिसको चर्चित क्याफे डिउक्स म्यागट्समा दुई जना पुग्दै गर्दा उनीहरूलाई पछ्याउँदै बाल्डविन पनि पुगे । त्यहाँ पानी पिउने हाइम्स र रक्सी पिउने बाल्डविन यसरी गफिन पुगे कि त्यो सुन्दासुन्दा रिचर्ड राइट नै दिक्क मान्न थाले । दोस्ती राइटसँग भन्दा बाल्डविनसँग दह्रो भयो ।

पछिसम्म पनि राइटले बाल्डविनलाई यही कारण साथी चोरूवाको आरोप लगाउँथे ।

०००

भगवानको चेलो हुनुभन्दा रक्सीको चेलो हुनु साह्रै राम्रो ।
जेम्स जोन्स

सन् १९२१ मा जन्मिएका जेम्स जोन्स दोस्रो विश्वयुद्धमा लडेभिडेका लेखकमध्ये एक थिए । उनका उपन्यासहरू त्यही अनुभवबाट निश्रित छन् । उनी युद्धका क्रममा प्रशान्त क्षेत्रमा खटिएका थिए । उनको सबैभन्दा प्रख्यात उपन्यास फ्रम हेयर टु इटरनिटीले त्यो बेला नेसनल बुक अवार्ड हात पारेको थियो । सो उपन्यासले पर्ल हार्बर आक्रमणका वरपरको कथा बोकेको हुनाले त्यो ज्यादै लोकप्रिय बन्यो । युद्धपछिको अवस्था चित्रित गर्दै लेखिएको सम केम रनिङ लेखेका थिए । जसमा युद्धपछि सेनाको मनोविज्ञान केलाएका थिए । यस्तै उनको अर्को उपन्यास द थिन रेड लाइन उपन्यास पनि गोडेलकनालको लडाईंमा आधारित थियो ।

पेरिसमा जेम्स जोन्स र जेम्स बाल्डविनको निकै राम्रो दोस्ती थियो । उनीहरूको पहिलो नाउँ जेम्स भएकाले मितज्यू शैलीमा कुरा गर्थे । उनीहरूसँग अर्का साहित्यकार पनि सधैँ पिउने बेलामा भेला हुन्थे । उनको नाउँ थियो, विलियम स्टाइरोन ।

एक साँझ यी तीन जना शहर गएर पिउने कुरामा सहमत भए । खाँदाखाँदा सूर्य उदायो तर उनीहरू बारबाट निस्कने कुनै छाँट देखिएन । बाल्डविन चाहिँ आफूलाई पुग्यो भन्दै निस्किए तर जोन्स र स्टाइरोन भने त्यहीँ पिइरहे ।

दिउँसोतिर उनीहरूले यो ठाउँ पिउन लायक नरहेको ठहर गर्दै उनीहरू रित्ज बार जान सहमत भए । पिउन थालेको २० घण्टा बितिसकेपछि मात्र उनीहरू पिएर अघाएको घोषणा गर्दै जोन्सको घर जाने भए ।

जब स्टाइरोन र बाल्डविन जेम्स जोन्सकहाँ पुगे, त्यहाँ जोन्सकी पत्नी ग्लोरियाले झट्टी हान्दै रहिछन् । उनी पनि दुई दिनअघि छुट्टिएर घर नआई बल्ल घर पुगेकामा उनकी पत्नी ग्लोरिया बिछट्टै रिसाएकी रहिछन् । झट्टीका अन्य प्रहार त स्टाइरोनले छले, एउटा चियाको कित्लीले चाहिँ झण्डैझण्डै एक इन्चले लागेन ।

गलत समयमा छिरिएकामा पछुताउँदै बाल्डविन र स्टाइरोन टाप कसे ।