काठमाडौँ । लेखा तथा व्यवसाय क्षेत्र तीव्र रूपमा डिजिटल रूपान्तरणतर्फ अग्रसर भइरहेका बेला साना तथा मझौला व्यवसायबीच लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिग (Tigg) ले आगामी माघ १८ गते (फेब्रुअरी १) ‘टिगकन २०२६’ आयोजना गर्ने भएको छ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ४ बजेदेखि आयोजना हुने उक्त सम्मेलनमा प्रविधि, डेटामा आधारित वित्तीय प्रणाली तथा लेखा फर्महरूको विकसित भूमिकाबारे गहन छलफल हुने आयोजकले जनाएको छ।

लेखा तथा व्यवसायिक इकोसिस्टमसँग सम्बन्धित प्रोफेसनल र निर्णयकर्ताहरूलाई एकै थलोमा ल्याई भविष्यका प्रवृत्ति, चुनौती र अवसरबारे संवाद गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको टिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले जानकारी दिनुभयाे । सम्मेलनले सहभागीहरूलाई लेखा तथा व्यवसाय क्षेत्रको भविष्यबारे रणनीतिक दृष्टिकोण प्रदान गर्नुका साथै डिजिटल युगमा विश्वास, बुद्धिमत्ता र दिगो विकास हासिल गर्न सघाउने अपेक्षा गरिएको छ।

‘Where Trust, Intelligence and Growth Converge’ नारासहित आयोजना हुने टिगकन २०२६ मा तीन प्रमुख सत्र रहनेछन्।
पहिलो सत्रमा ग्लोबल आइएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेलले ‘Trust as Collateral: The Future of Lending Powered by Reliable Financial Data’ विषयमा प्रस्तुति दिँदै डेटामा आधारित ऋण प्रणाली, विश्वास र बैंक–ऋणी सम्बन्धबारे धारणा राख्नुहुनेछ ।

दोस्रो सत्रमा अनुभवी चार्टर्ड एकाउन्टेन्ट अरूण राउतले ‘Driving Growth in Accounting Firms: From Compliance to Continuous Business Services’ शीर्षकमा लेखा फर्महरू अडिट र कर सेवाभन्दा अघि बढेर निरन्तर व्यवसायिक साझेदारका रूपमा कसरी विकसित हुन सक्छन् भन्ने विषयमा प्रस्तुति दिनुहुनेछ ।

अन्तिम सत्रमा रारा ल्याब्सका सह–संस्थापक तथा प्रविधि उद्यमी मनोज घिमिरेले ‘When Software Thinks: The AI-Led Transformation of Business Operations’ विषयमा एआई–आधारित प्रणालीले व्यवसायिक कार्यप्रवाह, निर्णय प्रक्रिया र स्केलेबिलिटीमा ल्याइरहेको परिवर्तनबारे प्रकाश पार्नुहुनेछ ।

टिगकन २०२६ मा लेखा व्यवसायी, अडिट, कर तथा परामर्श प्रोफेसनल, साना तथा मझौला व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, वित्तीय प्रमुख तथा वित्तीय प्रविधि क्षेत्रमा क्रियाशील उद्यमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी हुन इच्छुकले https://www.tiggapp.com/tigg-con-2026 मार्फत नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ।