बेली र चमेली चाहिं एकदम सुन्दर लाग्छन् । तिनीहरूको बास्नाले मेरो हृदय जागृत हुन्छ । तर तिनलाई हाम्रो सेवा दिनहुँ चाहिँदैन । दिनहुँ सेवाशुश्रूषा गर्न नपाइने फूल त वनमै लगाए भइगो नि, घरमा किन ?

000

बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजार हेर्‍यो भने त्यहाँ आधुनिक जीवनका लागि चाहिने सबैथोक देखिन्छन् तर अलिक पर्तिरको जुगाडा अन्धकारमै बाँचेको थियो । त्यहीं त हो मेरो भेट रमेन्द्र मल्लसँग भएको ।

रमेन्द्रका पिता सर्वेश्वर मल्ल त्यस भेगका राजा नै मानिन्थे, रहेछन् । तर रमेन्द्र आधुनिक विचारको मानिस थियो । अब परम्परागत ढर्राले चल्दैन भन्ने उसले बुझेको थियो । जुगाडाको हेल्थपोस्टमा नियुक्त भएर गएकै दिन बजारमा ऊसित भेट अनि चिनारी भयो मेरो । उसैको सल्लाहमा मैले उसको छिमेकीकहाँ डेरा लिएँ । हेल्थपोस्टमा कर्मचारीका लागि क्वार्टर त थियो तर त्यहाँ न पुग्दो पानी थियो न साँझबिहान हारगुहारका लागि छिमेकी । जुगाडा बजारमा अझै बिजुली पुगेको थिएन, तर यता बजारमा बस्यो भने धेरै सहज हुन्थ्यो ।

रमेन्द्र किताब पढ्नमा रुचि राख्थ्यो । ऊ सबै खालका किताब पढ्थ्यो । इतिहास, भूगोल, संस्कृतिका किताब उसको दराजमा भरिभराउ थिए । साहित्य पनि पढ्दो रहेछ । उसले मेरो डेराबाट समकालीन नेपाली कथा–सङ्ग्रह र उपन्यास लगेर पढ्यो । कविता–सङ्ग्रहहरू पनि पढ्यो । उसले मलाई पनि कतिपय किताब पढ्न दियो । पुराना किताब त उसको पुस्तकालयमा मनग्गे । शायद बाजुरा जिल्लाभरिमा उसले जत्तिको गतिलो पुस्तकालय कसैले राखेका थिएनन् ।

रमेन्द्रलाई गाउँलेहरू साना राजा भन्दा रहेछन् । धनीमानीको छोरो भए पनि कुलतमा थिएन तर कामधाम पनि खासै केही थिएन । सरकारी कर्मचारी हुनाले र सानो राजाको साथी भएकाले मलाई एक–दुई हप्तामै सबै गाउँलेले चिने ।

रमेन्द्रकी बहिनी थिई लीला । त्यो गोरी ठिटी बिछट्ट फुर्तिली, हँसिली र टाठी थिई । ठूला चौडा ठकुरी अनुहार ! फराकिलो निधार र एकदम सानो थेप्चो नाक भएकी चिटिक्क परेकी होचीहोची, राम्री, लोभलाग्दी र गोरी थिई । म भन्छु, ठकुरीकी छोरीको रूपमा नलट्ठिने कुनै मानिस हुँदैन । ऊ घरेलु कामधन्दा, सिलाइबुनाइ, चित्रकारिता र गायनमा विलक्षण रहिछ ।

त्यो केटी कति बोलैया भने, खै के भन्ने, जुनसुकै विषय र प्रसङ्गमा पनि एकदम गतिला विचार पस्कन्थी । ऊ बजारभरिका सबैलाई साइनो लगाएर बोल्थी– कान्छाबा–कान्छीआमा, सानाबा–सानिआमा, मामा, माइजू, ठूलोबुबा–ठूलीआमा, दिदी–भिनाजु, फुपू–फुपाजु, भाइ–बहिनी, दादा–दिदी आदि । उसले साइनो नलगाएको मानिस नै कोही थिएन । आफूभन्दा ठूला वा मान्नुपर्ने सबैलाई साइनोपछि ऊ ‘–हजुर’ फुर्का थपेर बोलाउँथी : फुपूहजुर, मामाहजुर, दादाहजुर । साइनो लाउनु नपर्नेलाई वा सानालाई ऊ ‘–राजा’ वा ‘—मैयाँ’ फुर्को लाएर सम्बोधन गर्थी : भाइराजा, कान्छीमैयाँ ।

तर लीला पूर्ण निरक्षर थिई । रेडियो सुनेर र टिभी हेरेर देशदुनियाँको बारेमा अथाह जानकारी बोकेर त्यो निरक्षर केटी बजारमा डुल्थी र भेटिने सबैलाई साइनो अनुसारको अभिवादन गर्थी ।

त्यसले पहिलो भेटमै मलाई ‘सोल्टी सर’ साइनो लगाई । पातला रसिला ओठ भएको उसको सानो ठकुरी मुखबाट निस्केको सोल्टी सर शब्द खूब मन पर्‍यो मलाई । हुन त जुगाडामा सोल्टी साइनो लगाउने चलन खासै छैन, तर खै किन कुन प्रेरणाले हो लीलाले मलाई जहिल्यै ‘सोल्टी सर’ भनी । कहिलेकाहीँ उसले ‘सोल्टीहजुर’ साइनो पनि लाउँथी, तर त्यो त्यति सुहाउँदिलो लाग्दैनथ्यो मलाई ।

लीलाको जानकारीबाट बजारको कुनै कुनो छिप्तैनथ्यो, कुनै कुरो छिप्तैनथ्यो । कसको घरमा कहिले के पाक्यो, को कहिले नेपालगन्ज गएर कहिले फर्क्यो, कसले कसलाई के के भन्यो त्यो सबै यसलाई थाहा हुने । कोही उसको जानकारीबाट उम्कन र बच्न सक्तैनथ्यो । गाउँमा कुनै नयाँ घटना घट्यो भने ऊ मलाई सुनाउन आइपुग्थी ।

घाम निकै तल पुगिसकेका थिए । पश्चिमपट्टिको भलायाडाँडामा घाम बस्न अब धेरै समय बाँकी थिएन । चोकको चौतारामा चुपचाप बसिरहेको थिएँ, उताबाट लीला मुस्कुराउँदै आई । साथमा उसकी भदै रहिछ ।

“सोल्टी सर ! नमस्कार ! यस देशलाई कसरी उन्नतिको मार्गमा डोर्‍याउनुपर्ने हो भनेर एक्लै बसेर सोचिसिँदै जस्तो छ नि ?” ऊ चिच्याई ।

अभिवादन फर्काउँदै मैले भनेँ– “यस देशको पार्टपुर्जा थोत्रो छ । यिनै पार्टपुर्जाको भरमा हामी अघि बढ्न सक्तैनौँ ।”

“एकछिनका लागि त्यो थोत्रो पार्टपुर्जा र देशको भारी बिसाइस्यो । भोलि बिहान बजारभरिका सबैलाई बोलाएर त्यो भारी बाँडिदिनुपर्छ । हजुरलाई अलिक हल्का हुन्छ ।” ऊ हाँसी ।

“मेरो भारी थामिदिने मन छ भने भन न त, भदैलाई कहाँ पुर्‍याएर ल्यायौ ?” मैले उसलाई सोधेँ ।

“शाम्भवीकहाँ गएकी थिएँ । हजुर साम्बविक्रम मल्ल फुपाहजुरलाई चिनिसिन्छ नि, उहाँकै ठूली छोरी । मेरी बालसखा हो । बिहे भएर गई । नौडाकोटका चल्लठकुरीले बिहे गरेर लगेका । आज माइत आएकी रहिछ, भेट्न गएकी थिएँ ।”

“डाकोट कहाँ छ नि ?” मैले सोधेँ ।

“लौ ! हजुरलाई नौडाकोट पनि कहाँ छ थाहा छैन हगि ? हुन त हो नि, पूर्वको मान्छे, के थाहा होस् । नौडाकोट त एकदमै नजिकै छ यहाँबाट । फटाफट हिँड्नेका लागि तीन घण्टाको बाटो पनि नहोला । हामीजस्तालाई चाहिँ पाँच घण्टा …। गौमूलबाट उता, डाँडामान्डु जाने बाटामा ..।”

“निकै टाढा रहेछ ।” मैले भनेँ ।

“हस् त सोल्टी सर, हामी जाऔँ है ? घरमा माँ–हजुर एक्लै होइसिन्छ ।” यति भनेर ऊ फटाफट हिँडी । अलि पर पुगेर उसले फर्केर हेरी । मोडमा नबिलाउन्जेल म उसैलाई हेरेर बसिरहेँ ।

अर्को दिन ऊ हेल्थपोस्टमा आई । आइरन चक्की माग्न आएकी रहिछ ।

“छाउ हुने बेला भयो । एकदम धेरै रगत जान्छ । कमजोरी हुन्छ । आइरन चक्की खानुपर्छ कि भनेर ।” उसले भनी ।

प्रशासनिक कर्मचारी हुँ म, तर स्वास्थ्य प्राविधिकले गर्नुपर्ने कामसमेत गर्नुपर्छ कहिलेकाहीँ । उसलाई आइरनका केही गोली दिएर पठाएँ ।

अफिसबाट फर्कंदा लीला घरअगाडिका गमलामा पानी लगाइरहेकी रहिछ । ऊ मलाई देखेर त्यही जादुमय मुस्कान मुस्काई । उसको मुस्कानको फैलावट ओठबाट शुरू भयो, गालामा फैलियो, तुरुन्तै आँखामा पुगेर पूर्ण आकार लियो ।

“सोल्टी सर ! टाढैबाट ?”

“एकदम टाढाबाट । म आफू कहिल्यै पुग्न नपाएको देशतिरबाट ।” मैले खिस्स गर्दै भनेँ ।

उसले उदास अनुहार देखाएर भनी– “यहाँ त्यस्तो देश भेटिस्यो ?”

“भन्न मिल्दैन ।”

“कुन देशतिरबाट आइस्या हो र ? साउदी, कतार, मलेसिया, कोरिया कि जापानबाट ? कि अस्टे«लिया र अमेरिकैबाट आइस्या पो हो कि ?” उसले संवादलाई सहज मार्गमा मोडिदिई ।

“यता एउटा विशाल देश रहेछ । एकदम सफा, सुन्दर र हराभरा । त्यस देशमा एउटी राजकुमारी रहिछन्, बिछट्टै सुन्दरी । तर….होस् ! भन्दिनँ ।” यति भनेर म सरासर आफ्नो डेरातिर लागेँ ।

अर्को दिन फेरि ऊ चौतारामा देखा परी । ऊसँग उसकै उमेरकी एउटी ठिटी पनि थिई । सिन्दुरपोतेमा सजिएकी त्यो ठिटी एकदम औपचारिक लुगामा थिई । शायद कतै टाढा पुगेर आएका थिए ती ।

“यही हो शाम्भवी । मेरी साथी …..।” लीलाले मेरा प्रश्नसूचक आँखा देखिछ ।

“अच्छा ! अनि नौडाकोटको खबर के छ ?” मैले शाम्भवीतिर फर्केर भनेँ ।

“सबथोक ठीक छ हजुर । तर मैले हजुरलाई चिन्न सकिनँ ।” उसले नमस्कार गर्दै भनी ।

“हेहे । हिसाब–किताब बराबर । तर म चिनिरहनुपर्ने मान्छे हैनँ । बाहिरिया । पूर्वेली । उता मदेसको । जागीर खान मात्र आएको यता । हेल्थपोस्टमा । डेढ–दुई वर्षपछि त सरुवा भइहाल्छ ।” मैले हात जोडी–जोडी भनेँ ।

“हत्तेरिका ! हाम्रो सोल्टी सर क्या !” लीलाले भनी ।

“त्यसो भए फेरि नमस्कार गरेँ । सुबोध सर भनेको हजुर होइसिँदो रेछ । हेल्थपोस्टको इन्चार्ज ।”

“म इन्चार्ज हैनँ, प्रशासनिक कर्मचारी हुँ ।” मैले फेरि नमस्कार फर्काएँ ।

“त्यसोभए अब सुनिस्यो सोल्टी सर ! जुगाडामा जागीर खान बाहिरबाट जो आउँछ, त्यसले दुई वर्षभित्रमा तीनवटामध्ये एउटा काम गर्नैपर्छ । हजुरले बेलैमा थाहा पाएको राम्रो ।” शाम्भवीले चौतारामा बस्तै भनी । लीला चाहिँ उभिई–उभिई मुसुमुसु मुस्काइरहेकी थिई ।

“के हुन् त्यस्ता काम ?” मैले छक्क परेर सोधेँ ।

“यहाँ आउने पुलिस, टिचर, ब्याङ्क वा सरकारका कर्मचारी जो भए पनि दुई वर्षभित्रमा यी तीन काम नगरी उम्कन पाएको छैन कोही आजसम्म ।” उसले फेरि भूमिका बाँधी ।

“भन न सोल्टिनी, के हुन् त्यस्ता काम ? हजार काम दिनहुँ गरिरहेकै छु । अब अझ के गर्नुपर्ने हो र ?” मैले हाँस्तै लीलातर्फ फर्केर सोधेँ ।

“त्यस्ता कामलाई यहाँ कसले काम भन्छ ? त्यो त जागीर खाएको पो त ! अब कामको कुरा : यहाँ आएर जो मानिस तीन वर्ष बस्छ, उसले गर्नैपर्ने पहिलो काम हो यहाँकी केटी बिहा गर्ने । यदि पहिलो काम गर्न तयार नभए दोस्रो काम गरे पनि हुन्छ । दोस्रो काम हो यहाँ जुगाडा बजारमा घरघडेरी किन्ने । दोस्रो काम गर्न पनि तयार नहुनेले तेस्रो काम नगरीकन चाहिँ उम्कन पाउँदैन ।” शाम्भवीले अन्तिम वाक्यमा विशेष जोड दिएर भनी ।

“खै, पहिलो र दोस्रो कामचाहिँ गरिँदैन होला, तेस्रो विकल्प नै रोज्नुपर्ला । के हो नि त्यो तिम्रो तेस्रो काम ?” मैले साइनो नलगाई भनेँ ।

“तेस्रो काम हो– यहाँका केटाहरूको हातबाट कुटाइ खानु । यहाँ आएका बाहिरियाले तीन वर्षमा यति तीनमध्ये एउटा पनि काम नगरी आजसम्म कोही उम्केको छैन ।” ऊ एकदम जोडले हाँसी ।

“मलाई पहिलो स्वीकार छ बरु, दोस्रो विकल्पलाई पनि खराब भन्दिनँ, तर भो, तेस्रो चाहिँ चाहिएन ।” आफ्नो प्राथमिकता–क्रममा संशोधन प्रस्ताव पेस गरेर मैले पनि हाँसेरै जबाफ दिएँ ।

“त्यसो भए कुरो मिलिहाल्यो नि सर हजुर । सर हजुरले यस दुखियालाई यस्सो एक चिम्टी सिन्दुर दिस्यो न, भइहाल्छ । यो केटी अर्थोक केही माग्दा पनि माग्दिन । केही चाहिँदा पनि चाहिँदैन  यसलाई ।” उसले लीलातर्फ हातले देखाउँदै भनी ।

लीला लाजले रातीपीरी भई । उसले शाम्भवीको काँधमा एक कठोर मुक्का हिर्काई ।

“फिक्री नलेऊ शाम्भवी । यताका मान्छेलाई चाहिने नै हो भने एक चिम्टी मात्र किन, खच्चरमै भारी बोकाएर ल्याउँला न सिन्दूर त ! यस बजारका मात्र होइन, जिल्लाभरिका सबै कन्नेकेटीलाई पुग्छ ।” मैले गम्भीर अनुहार बनाएर भनेँ ।

शाम्भवीले अलिक झर्केको आवाजमा भनी– “हजुरले सिन्दुरको भाउ मात्र जानिस्या रे’छ, सिन्दुरको मूल्य बुझिस्या रे’नछ !”

लीलाका आँखा अचानक रसिला देखिए । म चूप भएँ ।

“चल् ! जाम्, हिँड् !” ओसिला आँखा मतिर सोझ्याउँदै लीलाले शाम्भवीलाई तानी । शाम्भवीले मलाई आँखा झिम्क्याई र  बिदा मागेको इशारा गर्दै हात हल्लाएर लीलाका पछाडि दगुरी ।

केहीबेरमा म पनि कोठातिर लागेँ ।

झमक्क साँझ पर्दा लीला मेरो कोठामा आई । हातमा केही खानेकुरा थियो ।

“के हो ?”

“सेलरोटी । शाम्भवीले पठाइदिएकी । उसले भनेकी छे– गधाले ल्याएको चल्ला बरु, तर खच्चरमा बोकाएर ल्याएको सिन्दूर यहाँ चल्दैन रे ।”

“ए । मलाई त्यस्तो नियम थाहा थिएन नि त ।” म हाँसेँ ।

“सोल्टी सर ! एउटा प्रश्न सोधूँ ? मानिसले केलाई प्रेम गर्नुपर्छ ?” उसले मेरो भनाइलाई बेवास्ता गर्दै भनी ।

“जेप्रति प्रेमभाव पैदा हुन्छ त्यसैलाई ।”

“त्यो त हो, तर सचेत प्रेम केलाई गर्नु बेस हुन्छ भनेर सोधेको ।” उसले सोधी ।

मलाई भन्न मन थियो– पुस्तकलाई । तर यो निरक्षर बिचरीलाई त्यसो भनिदिएर दुःखी बनाउनु बाहेक केही फाइदा थिएन ।

मैले भनेँ– “मानिसलाई । मानिसको कल्पना र सिर्जनालाई ।”

“मैले खोजेको उत्तर पाएँ । संसारमा मानिस नै सबैभन्दा सुन्दर सृष्टि हो । मानिसले आफ्नो सुन्दर रूप, सुन्दर कल्पना र सुन्दर सिर्जनाले यस संसारलाई झनभन्दा झन् सुन्दर बनाइरहेको छ । मानिसको प्रेमको असली हकदार मानिस नै हो ।” लीलाले भनी । यति भनेर ऊ जुरुक्क उठी ।

उसले निस्कने बेलामा फेरि मतिर फर्केर भनी, “हवस् त सोल्टी सर, म लागेँ । म हजुरको सन्देश शाम्भवीलाई सुनाइदिनेछु ।”

जुगाडा सानो बजार हो । मुख्य चोकमा ठूलो चौतारो छ । बेलुकातिर वरपीपलको छायामा गाउँका बूढापाका भेला हुन्छन् । देशदेशावरका कुरा हुन्छन् । कहिले त तल गौमूल बेँसी र माथि महादेवडाँडा सम्मका मानिस पनि यहाँका गफगाफमा भेला हुन्छन् । ठूलो चौतारो जुगाडाको सामाजिक जीवनको केन्द्र हो, सम्पर्कको केन्द्र हो । म घाम भलायाडाँडामा पुग्न लाग्दा त्यहाँ पुग्थेँ । बिहान अँध्यारैदेखि दिनभर एकदम चहलपहल भए पनि घाम भलायाडाँडामा पुगेपछि  सुनसान हुन्थ्यो बजार । दोकानहरू बन्द गरेको आवाजबाहेक केही सुनिँदैनथ्यो । कुकुरहरू समेत त्यतिखेर चुपचाप धुले सडकमा गुँडुल्किइरहेका भेटिन्थे ।

लीला फूलकी सौखिन थिई । घरभित्र, बाहिर, बरन्डा र पिँढीमा अनि बाटाछेउसम्म उसले जताततै फूल रोपेकी थिई । सीसाका बोतल, प्लास्टिकका बट्टा, गमला र पुराना बाल्टिनमा पनि उसले फूल रोपेकी थिई । प्लास्टिकका बोतल काटेर उसले सानासाना गमला बनाएकी थिई । प्लास्टिकका बट्टा, खानेतेलका ग्यालन र पुराना बाल्टिनलाई पनि मिलाएर काटेर उसले आकर्षक गमला बनाएकी थिई । जुगाडामा हामीकहाँ झैँ सिमेन्ट वा माटाका गमलाको चलन थिएन ।

“यति धेरै फूल छन् । घिउकुमारी र क्रोटोनहरू खोइ ? क्याक्टसहरू, बेलाफूल र चमेलीहरू खोइ ?” मैले एक दिन सोधेँ ।

“मलाई घिउकुमारी र क्याक्टसहरू फूल लाग्दैनन् । क्रोटोन र नीलकाँडाहरू समेत फूल लाग्दैनन् । ती त रङ्गीचङ्गी पात मात्र हुन् । बेली र चमेली चाहिं एकदम सुन्दर लाग्छन् । तिनीहरूको बास्नाले मेरो हृदय जागृत हुन्छ । तर तिनलाई हाम्रो सेवा दिनहुँ चाहिँदैन । दिनहुँ सेवाशुश्रूषा गर्न नपाइने फूल त वनमै लगाए भइगो नि, घरमा किन ?” लीलाले आफ्नो सानो ठकुरी मुख हल्लाउँदै भनी ।

एक दिन रमेन्द्रको कोठामा हामी दुई कुनै विषयमा बहस गर्दै थियौँ, ऊ चिया लिएर आइपुगी । हामी दुईको गफगाफ सुन्न भनेर ऊ पनि सामुन्नेको कुर्सीमा बसी ।

चियाको सुर्को तान्दै मैले सोधेँ– “लीला सोल्टिनी ! मानिसको जीवनमा फूलको महत्त्व के  छ ?”

“मलाई अरू मानिसको जीवनमा फूलको के अर्थ छ थाहा छैन, म आफ्नो अनुभूति मात्र भन्न सक्छु ।”

“के छ त त्यस्तो अनुभूति ?”

“हामी चेली भनेका यिनै फूल जस्ता हौँ ।”

“कसरी नि ?” मैले सोध्न नपाई रमेन्द्रले सोध्यो ।

“चेली भनेको गमलाको फूल हो । त्यसलाई बिहान–बेलुका पानी दिइएन भने ओइलाउँछ । गमलाको फूल असहाय छ, हाम्रा हातको पानीको तिर्सनामा ऊ बाँच्छ ।” लीलाले आफ्नो ठूलो ठकुरी निधारमा हात राख्तै भनी । उसले आफ्नो बाक्लो कालो कपाल दुवै हातले सुम्सुम्याउँदै भनी ।

“गमलाको फूललाई कति मजा छ ! मानिसले दिनहुँ प्रेमपूर्वक पानी दिन्छन् । फूलको सुन्दरतामा मक्ख पर्छन् । फूलको बयानमा गीत र कविता लेख्छन् ।” मैले भनेँ ।

“खुला जमीनमा रहेका फूललाई गमलाको साँघुरो घेरामा थुनेर त्यसको असहायपनमा रमाएका हुन् मानिस । मानिसले फूलको निरीहता र त्यसको सुन्दरताको क्षण–भङ्गुरतालाई कविता र गीतमा उतारेका हुन्, त्यसको सुन्दरतालाई होइन । फूल जति सुन्दर हुन्छ त्यति नै परतन्त्र पनि हुन्छ ।” लीलाले आफ्नो तर्क अकाट्य छ भन्ने आत्मविश्वासका साथ भनी ।

“म मेरी बहिनीलाई आइन्दा गमलाबाट ओरालेर खुला जमीनको स्वतन्त्रता दिन्छु । स्वतन्त्रतापूर्वक जमीनमा अडेकी मेरी बहिनीको सुख हेर्न चाहन्छु ।” रमेन्द्रले घोषणा गर्‍यो ।

“हजुर मानिसको सत्ता र सामर्थ्यसँग भिड्न सकिसिन्छ ? अहँ । बरु चुपचाप फूलहरूको सुन्दरतामा मीठा गीत र कविता गाइस्यो । गमलामा फुलेका सुन्दर–सुन्दर फूलको प्रेममा कथा लेखिस्यो । टाढा–टाढासम्म गएर सुन्दर फूलहरू ल्याइस्यो र घरमा सजाइस्यो ।” उसको नजानिँदो असन्तुष्टि छल्कियो ।

“किन र ?” मैले वातावरण नियन्त्रणमा लिँदै भनेँ ।

“पहिले म एउटा प्रश्न सोध्छु : हामी बाख्रा किन पाल्छौँ ?” उसले गम्भीर भएर भनी ।

रमेन्द्रले प्रश्न बुझेन शायद, ऊ बोलेन ।

मैले भनेँ, “बाख्रा पाले त्यसले पाठा पाउँछ । पाठा हुर्काउने हो । बोको भए खसी पारेर ठूलो होउन्जेल पाल्ने हो । चाडबाड आएपछि त्यसलाई ढाल्ने हो । आफू नखानेले बेच्ने हो । पैसा आउँछ । पाठीहरूलाई हुर्काएर फेरि बाख्री बनाउने हो । कसैले दूध पनि खान्छन् …।”

“ठीक । हजुरले एकदम ठीक भनिस्यो । हामी चेली जाति तिनै पाठी हौँ । तर सोल्टी सर ! दुष्ट मानिसले यिनलाई काटेर खाने भो भनेर कुनै दयालु मानिसले आएर बाख्रालाई वनमा लगी छाडिदिए के हुन्छ ? युगौँदेखि मानिसको संरक्षणमा हुर्केका बाख्रा जातिले वनमा आत्मरक्षा गर्न सक्छन् ? वनका जन्तुबाट आफू बच्न सक्छन् ? सक्तैनन् । म भन्छु, बाख्रा, हाँस र कुखुराको जातिलाई स्वतन्त्रता दिने नाममा मृत्युको बाटो पठाउनुहुँदैन । तिनको जाति समाप्त हुन्छ ।”

“त्यसो भए गुनासोको अर्थ के त ? हामीलाई गमलामा कैद गरियो र हाम्रो असहायपनमाथि खेलबाड गरियो पनि भन्ने अनि स्वतन्त्रतापूर्वक बाँच भनेर भूमिमा रोप्न पनि नपाउने, यस्तो पनि भन्ने हो ?” मैले भनेँ ।

“मानव सभ्यताको मूल समस्या नै यही हो । स्त्री जातिलाई दिइने स्वतन्त्रता, सम्पत्तिको हक आदिले भोलिका दिनमा स्त्रीजाति अझ कमजोर बन्नेवाला छ । नेपालबाट बर्सेनि तीस–चालीस हजार चेली बम्बई आदि शहरमा बेचिन्छन् भनेर समाचार आउँछन् । आफ्नै शरीर खोसी–बोकाझैँ बेचिएर लग्दासमेत थाहा नपाउने कमजोर नेपाली नारीलाई सम्पत्तिको हक आदि दिएर समान बनाएको ठान्नु भनेको बाख्रालाई आफैँ बाँच भनेर वनमा पठाए जस्तै हो । हामीलाई वनका बाघभालु र स्याल–ब्वाँसाले बाख्रा खाएझैँ आर्थिक जीवनका अनेक समस्याले निल्नेछन् । अनि फेरि स्त्रीजातिले आत्मरक्षार्थ पुरुषको पाउमा पर्नुपर्नेछ । तर त्यो दिन स्त्रीजातिका लागि आजको भन्दा नराम्रो हुनेछ ।” लीलाले भनी । लीला नारी स्वतन्त्रता, समानता र सम्पत्ति अधिकारको विपक्षमा खुलेर लागेकी रहिछ ।

रेडियो सुनेर र टिभी हेरेर कमाएको शिक्षा पनि स्कुलमा वर्षौं धाएर कमाएको शिक्षाभन्दा कमजोर देखिएन उसमा । अठार–बीस वर्षे लीला चार वर्षे स्नातक गरेका कुनै केटीभन्दा कम थिइन व्यावहारिक ज्ञान र चेतनामा । उसको भाषामा यथेष्ट सभ्यता, संस्कार र शिल्प थियो । उसको शब्दभण्डारमा पठिता नारीमा हुने सामर्थ्य प्रचुर मात्रामा थियो । उसको तर्कशीलताका अगाडि म झुकेँ ।

पटकपटक म लीलासँग तर्कवितर्कमा जुधेको थिएँ । उसका बुद्धिमत्तापूर्ण संवाद सुनेर एकदम प्रभावित भएको पनि थिएँ । मलाई लीलासँगको सान्निध्य सुखकर र प्रिय पनि लाग्थ्यो तर म उसलाई अपनाउन सक्तिनथेँ । जुगाडाकी यस फूलले मेरो जीवन सिँगार्न सक्तिनथी । उसको निरक्षरता मेरा लागि अस्वीकार्य कुरूपता, अक्षम्य कमजोरी र अलङ्घ्य सीमा थियो । मैले पटकपटक उसलाई अक्षरको महत्त्व बताएँ । ऊ मेरो भनाइलाई सुन्दर गीत मानेर सुन्थी तर मैले देखाएको बाटो हिँड्दिनथी ।

एकपल्ट मैले मदेसबाट जाँदा उसका लागि एक जोर नयाँ सुन्दर चप्पल किनेर लगेको थिएँ ।

उसले भनेकी थिई, “यी चप्पलले मलाई जीवनका गेग्र्यान बाटामा झन् पीडा पो दिने हुन् कि ? यिनलाई कस्तो रूपमा बुझूँ ?”

“यी चप्पल मात्र हुन् ।” मैले भनेँ ।

लगत्तै सरुवा भई रौतहटको गौर आउने भएँ म । हिँड्नुभन्दा अघिल्लो साँझमा सधैँका जस्तो मसित अनुमति नमागी लीला मेरो कोठामा पसी । उसले बिदाइका शब्दमा भनी– “यो ठकुरीकी चेलीले हजुरलाई जीवनमा कहिल्यै भुल्न सक्नेछैन । मेरो जीवनमा आएका कुनै पनि पुरुषले हजुरको स्थान लिनेछैनन् ।”

त्यो प्रेमको पूर्ण अभिव्यक्ति थियो । तर त्यसमा जीवनभर साथ दिने कसम थिएन, जीवनभर साथ पाउने आशा पनि थिएन ।

मैले पनि जबाफमा भनेँ, “म पनि तिमीलाई भुल्ने छैन ।”

लीलाले मलाई आफैँले बुनेको हाते रुमाल दिई, मैले यता सुनसरीबाट लगेको जुटको नयाँ ठूलो झल्ला पोलिथिन झोलामा हालेर दिएँ ।

यसैबेला रमेन्द्र मेरो कोठामा आइपुग्यो ।

“के चल्दै छ ?” उसले भन्यो ।

“व्यापार चल्दै छ ।” मैले भनेँ ।

“आँसुको व्यापार हो ।” लीलाले भनी । उसको अनुहारमा पोतिएको उदासी क्षणिक आवेगले दिएको पीडाजस्तो थिएन । ऊ त मानौँ जन्मैदेखि उदास जिइरहेकी थिई । त्यो उदासीपन अनुहार, कपाल, हातगोडा, जीउको कपडा र सम्पूर्ण जीउमा गढेर फैलिएको थियो ।

दाजुबहिनी अरू केहीबेर मसँग बसे । रमेन्द्र बहिनीको यस मनोदशाले केहीबेर अवाक् भयो । हामीबीच कुनै खिचडी पाक्तै छ भन्ने भयो होला उसलाई । तर उसको ठकुरी आत्मसम्मानले तुरुन्त प्रतिक्रिया दिन दिएन । ऊ सम्भवतः त्यस विषयमा बहिनीसँग लामै छलफल गर्नेछ र उपयुक्त दृढ क्रियामा उत्रनेछ भन्ने देखियो ।

तुरुन्तै ऊ सम्हालियो  र मलाई हेरेर मुस्कायो, मानौँ यस संसारमा कहीँकतै केही गडबड भएको छैन ।

अनि मैले रमेन्द्रलाई केही पुस्तक उपहार दिएँ । उसले मलाई जुगाडाको सम्झनास्वरूप त्यहाँ बनाइने विशेष प्रकारको डाडु उपहार दियो ।

हिँड्नुअघि लीलाले भनी– “एउटा कुरा भनूँ ?”

“भन न । अनुमति मागिरहन पर्छ र ?”

“हजुरलाई दिऊँ भनेर एकदम मन लागेको अर्को एउटा उपहार छ । दिऊँ कि नदिऊँ ?”

“त्यो उपहार जीवनभर बोकेर हिँड्नुपर्ने हो भने नदेऊ । कहीँ लगेर बिसाउन पाउँछु भने ठीकै छ देऊ ।”

“हजुरले यो उपहार घरको आँगनमा लगेर बिसाइसेला । अन्यत्र कहीँ नबिसाइसेला । यो जुगाडाकी चेलीको मायाको चिनो हो ।” उसले दाजुकै अगाडि मुस्काउँदै एउटा सानो पोको दिई । अहिले ऊ अलिक सामान्य अवस्थामा आइसकेकी थिई ।

“एउटा कुरा चाहिँ मलाई नभनी चित्त बुझेको छैन । तिमी किन फूल हुनुपरेकामा पीडित छौ ? अब साहस गर । वनमा पनि बाँच्नसक्ने बेली बन, चमेली बन, सुनगाभा बन, सुनाखरी बन । संसारलाई मधुर सुगन्ध देऊ । कम्तीमा क्रोटोन त बन । क्याक्टस त बन । हेर लीला ! अक्षरले तिमीलाई बेली–चमेली बनाउनेछ । अक्षरले तिमीलाई हिमाली वनका सुनाखरी र लालीगुराँस बनाउनेछ । म तिमी मदेसको पलाँस बनेर चित्त बुझाऊ भन्दिनँ, पहाडी पाखाका टाँकी वा पैयुँका फूल बनेर चित्त बुझाऊ पनि भन्दिनँ । सन्तोष उन्नतिको बाधक हो ।” भनूँ कि नभनूँ भनेर केहीबेर सोचेपछि हिम्मत गरेर भनेँ ।

मैले मुस्कुराएर त्यो पोको स्वीकार गरेँ । दिउन्जेलसम्म मुस्काउन सक्षम लीलाको अवस्थालाई तुरुन्तै उदासीले छोप्यो, मानौँ सुनौला सुन्दर हिमाललाई हुस्सुले छोपेको हो ।

तीनवटै मुखहरू चुप भए । छ वटै आँखाहरू जलाम्य भए । अनि दुई दाजुबहिनी उठेर चुपचाप मेरो कोठाबाट निस्के । उनीहरू गइसकेपछि खोलेर हेरेँ, पोकामा गोदावरी फूलको बीउ थियो ।

आजसम्म हामीकहाँ उसैले दिएको गोदावरी फूल फुलिरहेको छ । आँगनको उत्तरी किनारमा । हामी त्यसलाई गमलामा रोप्तैनौँ ।