“के हो यस्तो ? अलि गतिलो बनाउनु पर्छ नि ।” छोरीले नाक खुम्च्याउँदै भनी । राकेश मुसुक्क हाँस्यो मात्र । बाध्यता मात्र होइन अलिकति रहर पनि हो उसको आज यो मोर्चा सम्हाल्नुमा ।

“मन दिएर काम गरे पो हुन्छ ।” श्रीमतीको प्रतिक्रियाले भने राकेशलाई हल्का रिस उठ्न थाल्यो ।

“भयो अब, अरू बेला सुधार गर्नु पर्ला ।” राकेशले समस्याको बिट मार्न थाल्यो ।

“भयो भनेर हुन्छ ? छोरी भोकै कलेज जाने भई ।” राकेशले ठूलै अपराध गरे जस्तै गरेर श्रीमती चर्को गरी बोलिन् ।

अघि छोरीको प्रतिक्रियामा मुसुक्क हाँसेको राकेशको अनुहारमा क्रोधले ठाउँ लिन्छ जस्तो भयो ।

“सधैँ तिमीहरूले बनाएको खाना मैले खोट लगाएँ ? खुरुखुरु खाएको हैन । अन्नलाई दोष लगाउनु हुँदैन भन्ने थाहा छैन ।” उसले भन्यो ।

मुछेर मुखमा लैजान लागेको गाँस पुनः थालमा राख्दै श्रीमतीले भनिन्, “दोष लगाउन मिल्ने गरी पकाए पो दोष लगाउनु ।”

श्रीमतीले आफ्नै पाककलाको प्रशंसा गरिन् ।

उसो त राकेशलाई पनि आजको खानामा थोरै पनि स्वाद लागेको थिएन ।