
१
यौटा वृक्ष ठुलो खडा छ मअगी, बाक्लो छ फैलावट
यस्का शीतल पात चञ्चलमनी आरामको स्वर्गमा ।
मेरो धेर उमङ्भित्र रङका चल्दो हवामा उडे
फैलिन्छन्, यसका जरा हृदयमा हाँगाभरी फूल छन् ।।
२
ओबाई पसिना म गर्दछु कुरा प्यारो, पुरानोसँग
मीठो बन्दछ एकलो हुनु पनी यस्ता सँगातीसँग ।
भित्रै–भित्र विना कुनै शबदले हाम्रो समालाप छ
भाषामा नअटाउने कति कुरा छन् छातिका पीँधमा ।।
३
यस्मा जीव छ, हृदय छन्, यस्को पनी जीवन
नाना रङ्ग लिएर चल्दछ यहाँ, जस्तो छ मेरो पनि ।
नाच्ती छन् पृथिवी, अनेक ऋतुको पर्दा गिरी, खुल्दछ
छाया घाम चलीरहेछ यसमा, हावा हुरी आउँछन् ।
४
टाढाबाट जुरेलि, कोइलि यहीँ आई मिठो गाउँछन्
यस्मा नीड बनाउँछन् अरु चरा, झुल्छन् नबोली कुनै ।
यस्मा आउँछ दूर देशहरुको सन्देश क्या सुन्दर,
हामीभित्र उठेसरी स्वरहरु उत्तेजनाले छुँदा ।
५
माटोभित्र जरा छ, जाला गहिरो प्यूँछन् धराको रस
माथी बढ्दछ फुल्दछन् फुलहरु, छन् भाव झैँ सुन्दर ।
माटैभित्र जरा छ हामिहरुको, फुल्छौँ उचाई लिई
हामीभित्र वसन्तका पवनका खुश्बू र सौन्दर्य छ ।।
६
केही रङ्ग उषा र साँझहरुका, केही शशी माधुरी
वर्षाको रस, वायुको चपलता, ताराहरुको छवि ।
केही निर्मल पानिको मृदुलता, न्यानो तथा घामको
मिल्छन् फुल्छ कला विचित्र फूलमा, मानिसको भावना ।।
७
यस्का पात विचार झैँ बहुल छन्, वैलाउँछन्, आउँछन्
झर्छन्, फेरि पलाउँछन् तर लिई सादृश्य आकारमा ।
चल्छन् रम्य सजीव चाल रसिला आकाशको श्वासमा
जस्तो भित्र अदृश्यका लहरिमा हाम्रा पनी चल्दछन् ।
८
यस्को स्थान छ आफनो छ त्यसमा यस्को सबै कोशिश
त्यस्मै फैलिनु, फुल्नु हुन्छ यसको, त्यस्तै छ वैलाउनु ।
यस्को रुप छ भित्र, भिन्न यसको व्यक्तित्व सौन्दर्य छ
आफ्नो ठाउँ र भाग आफुकन छन् आफ्नै, जुदा जीवन ।।
९
यौटा बीज थियो, थियो रुख त्यहीँ अव्यक्त आकारमा
लाखौँ पात बनोट सुन्दर थिए त्यो बीचमा टम्म नै ।
फैल्यो क्षेत्र मिलेर वृक्ष हरियो, यो रुप, यो रङ्गमा
आजैको बिपना छ भोलि सपना, ज्वाला त्यहाँ खेल्दछ ।।
१०
फेरी बीज पलाउँछन्, रुख नयाँ हाल्छन् सुसेल्छन् पछि
फेरि पक्षि नवीन गाउँछ नयाँ गाना बिराना अरु ।
नाच्छिन् यो पृथिवी, शशी र रविको फेरि उही तालमा
फुल्नू सुन्दर भै दुवै दिन पनी हो सार संसारमा ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
क्लासिक निबन्ध : नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष
१४ असार २०८३, आईतवार 








