
अनुवादः सुमन थापा सङ्गम
तिमीलाई नभेटेको भए
सक्दिनँ थिएँ बुझ्न–
प्रेमको कुनै समय हुँदैन
प्रेमको कुनै व्याकरण हुँदैन ।

रूमी लस्कर बोरा
तिमीलाई नभेटेको भए
कसरी थाहा हुन्थ्यो मलाई
जीवन–नदीको धारा
उल्टो पनि बग्न सक्छ,
मनको आकाशमा
हरेक पल उदाउँछ इन्द्रधनु
मयूरजस्तै भएर नाच्छ मन ।
जब तिमी भेटियौ
अँध्याराको प्रवेश निषेध भयो,
मेरो हृदयको बगैँचामा हिँड्न थाले
तिम्रा बलिया पदचापहरू,
अहिले–
हरेक पल उज्यालो खेल्छ
र हाँस्छ चन्द्रमा ।
तिमीले नै त दियौ
बाँच्ने असीम शक्ति
तिमीले नै त सिकायौ
हाँसी-हाँसी विष पिउने गुप्त मन्त्र
राखिदियौ मेरा दुवै हातमा
बलिया अस्त्रहरू ।
तिम्रो आगमनले नै
त्यो एउटा नदीलाई बुझ्न सकेँ
जो आफ्नै भुमरीमा
अल्झिनुको मादकतामा रमाउँछ ।
एउटा सागर हो
या फेरि महासागर हो
जसको मधुर आत्मीय अनुभूति
उसको गहिराइमा छ ।
तिमी आउँदैनथ्यौ भने
मैले कसरी बुझ्न सक्थेँ
प्रकृतिको पनि सीमा हुन्छ
यद्यपि—
मेरो मनको प्रकृतिमा छ
शरद्को एकता
वसन्तको हाँसो
इन्द्रको बगैँचा
जहाँ छ सधैँभरि
तिम्रो उपस्थिति ।
(रूमी लश्कर बोरा भारतको असम राज्यकी एक जना प्रसिद्ध असमियाभाषी कवि हुनुहुन्छ । उहाँको यो कविता मूल भाषा असमियाबाट भारतका कवि देवेन्द्रकुमार देवेशले हिन्दी भाषामा अनुवाद गर्नुभएको थियो भने हिन्दी भाषाबाट कवि सुमन थापा सङ्गमले नेपाली भाषामा अनुवाद गर्नुभएको हो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 







