हरेक बिहान उठ्थेँ, विद्यालय जान्थेँ, साथीहरूसँग हाँस्थेँ र दिन बिताउँथेँ । बाहिरबाट हेर्दा म अरू सबैजस्तै सामान्य देखिन्थेँ तर मेरो मनभित्र भने अर्कै संसार थियो । त्यहाँ अर्को ‘म’ बस्थ्यो ।
एउटा ‘म’ थियो जसले धेरै सपना देख्थ्यो, कविता लेख्न चाहन्थ्यो, कार्यक्रममा भाग लिन चाहन्थ्यो, हात उठाएर उत्तर दिन चाहन्थ्यो । अनि अर्को ‘म’ थियो जसले सधैँ सोच्थ्यो, “यदि गल्ती भयो भने ?, सबै हाँसे भने ?, मैले सकिनँ भने ?”
यी दुई ‘म’ सधैं एकअर्कासँग कुरा गर्थे । कहिले एउटा जित्थ्यो, कहिले अर्कोले । एक दिन विद्यालयबाट फर्किएर ऐनाअगाडि बसेँ । लामो समयसम्म आफूलाई हेरिरहेँ । अचानक यस्तो लाग्यो, ऐनाभित्रको ‘म’ बोल्न थाल्यो, “तिमी किन सधैं आफूलाई रोक्छौ ?”
मैले बिस्तारै भनेँ, “किनकि म डराउँछु ।”
उसले फेरि सोध्यो, “डर केको ?”
मैले उत्तर दिएँ, “गल्तीको, असफलताको, अरूले के भन्लान् भन्ने कुराको ।”
ऊ केहीबेर चुप लाग्यो अनि मुस्कुराउँदै भन्यो, “तिमीले कहिल्यै सोचेकी छौ ? प्रयास नगर्दा पनि त हारिन्छ ।”
उसले भनेको त्यो वाक्य मेरो मनमा बसिरह्यो ।
अर्को दिन विद्यालयमा शिक्षकले प्रश्न सोध्नुभयो । धेरैलाई उत्तर थाहा थिएन । मेरो मनमा उत्तर आएको थियो तर फेरि डर लाग्यो । त्यही बेला मलाई ऐनाभित्रको त्यो अर्को ‘म’ सम्झना आयो । मैले बिस्तारै हात उठाएँ । उत्तर सही निस्कियो । मेरा लागि त्यो धेरै ठूलो उपलब्धि थियो ।
त्यसपछि मैले स-साना परिवर्तन गर्न थालेँ । कार्यक्रममा भाग लिन थालेँ, आफ्ना विचार भन्न थालेँ, गल्ती हुनबाट डराउन छाडेँ । सबै कुरा एकैदिनमा बदलिएको थिएन, तर म बदलिँदै थिएँ । त्यसपछि मैले एउटा कुरा बुझें – त्यो अर्को ‘म’ कहिल्यै अलग व्यक्ति थिएन । त्यो त मभित्र लुकेको साहस, आत्मविश्वास र सपनाको आवाज रहेछ । आज पनि कहिलेकाहीँ डर लाग्छ । अझै गल्ती हुन्छन् । तर अहिले म भाग्दिनँ । किनकि अब मेरो साथमा ‘म’ नै छु । आज ऐनामा हेर्दा म दुईजना देख्दिनँ । म केवल आफूलाई देख्छु । अलि साहसी, अलि आत्मविश्वासी र पहिलेभन्दा धेरै आफ्नै ।
मानिसले संसार जित्नुभन्दा पहिले आफ्नै मन जित्नुपर्छ । अनि त्यो यात्राको शुरुवात हुन्छ “म, अनि म” बाट ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




