जीवन साथी
धेरै धेरै प्यार
मलाई लाग्छ यी स्वतन्त्र उड्ने
मलेवाहरूको घाँटीमा
एउरा हृदय उनेर पठाउँ
एउटा प्रेम-पत्र झुन्ड्याएर पठाउँ
एक पल्ट दोहोऱ्याउँ
शताब्दी अघिको प्रेमको भावुकता
तर आजको सीमा रेखा
कुन स्वतन्त्र चराले उड्न पायो र ?
यो कुँजिएको अस्तित्व
कुन सुस्केराले विश्वको हावामा
बिसाउन पायो र ?

२. प्रिय
हेर्नै नपाई आँखाबाट ओझेल
भएको तिमीलाई
बोल्नै नपाई टाढा भएको तिमीलाई
मस्तिष्कमा उभ्याउने
यथेष्ट साधन नै छैन
राकेटको उडानले कल्पनालाई
ढिला बनाइसकेछ क्यार
मानचित्र राखेर उड्दा उड्दै पनि
दुर्घटनामा परिदिन्छ मेरो आतुरता

अ बम …………. अब म
सात समुद्र पार गरेर आउँदिनँ
तिमीलाई यहीं म मेरै चौतारीमा हेर्छु
किनभने शरीर संगै मेरो मस्तिष्क पनि
सीमित भएको छ
शीला पत्थरमा गौतमी जस्तै

३.
प्रिय
प्रेम एक मृगतृष्णा
प्रेम एक चखेबाको लोभ
मेरो निम्ति प्रेम एक
निर्जीव सत्य
मानौं फाकाकुलको तिर्खा
मानौं घामलाई प्रेम गर्दा गर्दै सूर्यास्तमा जाम
परेको क्रीसो,

यो नश्वर शरीर
यो अनन्त चाहना
तर, प्रेम दुई शरीरको मिलन
तिम्रा अंगालोभित्र म
मृत्युलाई छेकाबार हालिरहेछ इच्छाको ताँती
प्रत्येक रात –
आह, म मेरा मिठा सपनाहरूलाई
हेर्दै पोल्दै गर्दैछु

४. प्रिय
तिमीले लेखेका थियौ
‘म तिम्रो बेलेटको तस्वीरमा मुस्कुराउँछु रे ?’
तिमी मलाई पाएर हराउन चाहन्नौ रे
मेरो सम्झनापत्रले तिमीलाई ?
‘फिनिक्स’ले भै’ बिउँझाउ छ रे ?
मेरो मायाँ बटवृक्षको मायालु छायाँ रे तिमीलाई ?
आह ! यी सब इतिहासबद्ध भइसक्यो

कसरी मैले बाँचेको थाहै नपाई
एक लामो अवधि बिताइसकेछु
अब तिमी अवश्य पाउँछौ मलाई
‘फिनिक्स’लाई झै आफ्नै खरानीमा जुनी फेरेको होइन
तर भन्न नपाई मनको कुरा
सधैं सधैं को निम्ति सुतेको निद्रामा

५.
प्रिय
म मरिसकें
तिम्रो प्रेमलाई आफूसंग जलाई सकें, गाडिसकें
म सुतिसकें
सुत्नेको निम्ति छँदैछ चिर निद्रा
तर बाँच्ने तिमी त भोलि ब्यूँझन्छौ
नयाँ घामसंगै
तिमी नरुनू संघर्षलाई व्यंग्य गर्दै
तिमी मान्छौ ?
कति बलियो थियो मेरो अन्त्य
जसले अनन्तको एक हिस्सा चोइटाएर लग्यो
कति बलियो मेरो मृत्यु
जसले अमरत्वलाई नै अधमरो बनाएर गयो
प्रेम मर्दैन तर यसलाई मार्न पर्छ
मेरो अन्त्य जस्तै तिन्नो सुरु पनि
बलियो हुनुपर्छ
अब यहाँ आउँछ यो पत्रको शेष
मेरो प्रेमको शेष
तिम्रो ‘फिनिक्स’को शेष
जीवनसाथी तिमीलाई
मेरो सबै प्यारको अवशेष

जेठ २०२१