‘बखान’ गुरुङ समुदायको मृत्यु संस्कार कर्म उद्गारित कौतूहलपूर्ण हरफ, नरम शैली र कोमलताले प्रवाहित छ । शुरुवातमै गुप्त छ । भावकले आरम्भमै किंकर्तव्यविमुढ आकलन गर्न सक्छन्, गुरुङ समुदायको बहुमूल्य उपहार कालजयी छ र आवाज निषेधित समयमा कोलाहल परिवर्तन र विद्रोहको द्योतक हो । प्रतीकात्मक मौनता विरोधाभास सत्य हो । अपवाद जन्मिन्छ, अमूर्त हुन्छ । प्रतिविम्बित चिरकालिक चमत्कार हुन्छ । उल्टो देखिन्छ, ऐना हुन्छ । मेट्न सकिँदैन, स्वतन्त्र हुन्छ ।

जात, धर्म, मन्दिर, मजदुर र गजूरको आवाजमा सिक्री कस्ने स्वेच्छाचारी शासन सत्ता र समयको बोधमा बखान चिरन्तनदेखि चिरकालिक रहिरहन्छ । कर्ममा यो निरन्तरसम्म अनुहारको रङभन्दा सप्तरङ्गी आभा हुनेछ । म निर्धक्क छु, बखान सीमा रेखाङ्कन होइन, कागजको फूल र कृत्रिम बौद्धिकता त हुँदै होइन । माटोको सघन महाचेतन प्राप्तिमा एक छ, । ब्रह्म छ । स्निघ्ध र सपाट छ । चिन्तन, सिद्धान्त र सङ्घर्षलाई बेवास्ताले मेटाउन सकिँदैन । बखानले आर्जित नक्शा नानी हुन्छ, कालो हुन्छ । थोप्लो हुन्छ, दृष्टिपटलमा सपाट देखिन्छ । अनन्त हुन्छ, यो कलियुगको अनमोल दसी हो ।

बहुआयामिक कर्म शासकले मेटाउन सक्दैन । ब्रह्म ईश्वर हुन्छ । बखान सेतो सुनखानी हो, जो हिमालको प्रतिच्छायाले जन्माउन सक्छ र शुषुप्त चिरकालीन निवास हुन्छ । फराकिलो उर्वर माटो छचल्किएको सागर, चुमिरहेको सगर र अङ्कुरण नहुने बालुवाको निकट विचारमा पदार्थको उपज मस्तिष्क युरेनियम हुन्छ । गोला बारुद चुहिनुमा विस्फोट हुन्छ ।

बखानले खनिजमा प्वाल पारेर हीरा उब्जाउँछ, सती सराप गर्दैन । बस्ती सखाप पार्दैन, अन्तर्मनमा प्रेम सँगालेर रोटी चुँडेर एकाकार बनाउँछ । अनुहार खुम्चिएको वक्र रेखामा मनुज साँधको सिमानामा बखान मनु छ । काँसको सिमल भुवा किनार निषेध गर्दैन, यताउता उडिरहन्छ । हावामा लहरिइरहन्छ र बँचाएर जीवन चुलीमा विश्राम गर्छ । सिमल भुवाको विश्राम सेतो चुली हो । बखान प्रसिद्ध रहिरहनेछ ।

अपशकुन अनिष्ट सूचक, फ्याउरोको कोलाहल, कागको रोदन, पाती घारीबाट बिरालोले म्याउँ गर्दै बाटो काट्नु, पखेंटा फुकाएर चिल उड्नु, कालो बादल मडारिनु, पानी पर्न नसकेको रुदेलो दिन प्रतीकात्मक बहुसङ्केत यत्रतत्र वर्तमान र आगतको अपशकुन समयलाई साङ्केतिक बृहत्तर गर्छ । ईश्वर छ, कुन रूपमा हुन्छ ? उद्धृत पटल बखानसिंह गुरूङको अर्घु नाति चन्द्रध्वज गुरुङको परिवारले गरिसकेका छन् । गुरुङ समुदायको कथा भनेर प्रकटीकरण गरिरहनु परेन । सुषुप्त उपेक्षामा सञ्जीवनी बुटी मैले बखान र वसन्तलाई बुझेको छु । उभिइरहेको सिर्जना कठीन तपले आर्जित माटो हो । भावकले न्याय गर्नुहुनेछ ।

बखान बहुभाषा, बहुअनुहार, बहुसमुदाय र बहुसांस्कृतिक सौहार्दतामा समतापको टहक हो, जहाँ अनन्त दृष्टिपटल रहन्छ । मिर्लुङकोट, पुलिमराङको आराधनाबाट आशीर्वाद प्राप्त कल्किको चैतन्य वर हो, जहाँ रिस्ती र देउती खोलाको पवित्र जल प्रवाह समेटिएको छ । बखानमा आइते, सुकवीर, विष्णुमाया र मनकुमारी अगाध प्रेमका खनिज छन्, जो नानीले प्रेम कबुल गर्छन् । प्रेमकै आस्थाले समतापको उत्खनन् गर्छन् र प्राप्तिमा धरोहर ठड्याउँछन् । प्रेमका प्रतीक पारिवारिक कलहसँग सम्झौता गर्दैनन् ।

प्रेममा पुङ कबुलको सत्यनिष्ठ प्रतीक, रक्तगुलाब, ताजमहल, वृत्ताकार स्वयम्भर, श्वेत पानीहाँस र लतपत काजोलको ताजमहल स्मृतिचिह्नभन्दा माथि उठ्ने छन् । काँढा उम्रिन्छ, आकाश छेड्छ । बहुआयामिक उर्वरामा एक छ । मेरो माथ उँचो बनेको छ । चढ्नै नसकिने शिखर चुली माछापुच्छ्रेमा आत्म निवासको विश्वास छ । प्रयुक्त हरफ र आवाज अन्तिम छ, सम्यक् छ । बुझेका मान्छे घुमेका छैनन् । वर्तमानमा बखानभन्दा मजदुरको पसिनामा मैले पराकाष्ठा यातना देखिरहेको छु । सबैले पश्चाताप गर्ने छन् र मति सुधार गर्ने छन् भन्ने मेरो अपेक्षा छ ।

पार्श्व प्राक्कथन स्रष्टात्मक बहुआयाम छ, जो बखानसिंह गुरुङको डायरीमा रुपान्तरित हुन्छ । शिल्पले प्रखर बनेको छ । बखानसिंह गुरुङको युग्म एक वर्षमै लालध्वजको जन्म हुन्छ र लगत्तै धर्मध्वजको । लालध्वज र धर्मध्वज दरबार हाइस्कुल पढ्दा र बखानसिंह गुरुङ सेनामा भर्ती भएर भीमशमशेरको दरबारमा पोस्टिङ हुँदा बाबुछोरा राणाको गैरजिम्मेवारी, हुकुमी र विलासी शैली परिचित सूक्ष्म झल्कोसहित कलात्मक हरफ शिशु चाल बन्छन् र लम्किन्छन् ।

दरबारमा ढोके सुन्दरी हुन्छिन् । सुन्दरी शनिवार छुट्टीमा बगैँचामा भेट हुने क्रममा पटक पटकको ख्याली संवादले नै सम्बन्धलाई प्रशस्त बुझ्छन् । सुन्दरी मनकुमारी, बखानकी अर्की श्रीमती छ, जानेर पनि भागी समर्पण गर्छिन् । केही दिनपछि बखानले गोर्खा मकैसिं सरुवाको पत्र प्राप्त गरेपछि गोर्खा हानिन्छन् । यहाँ एकलाप एक आर्जित ममताको अनमोल प्राप्ति छ । यहीँ राणाशासनको यौन शोषण, वर्ग विभेद, वर्ग सङ्घर्ष र ओहोदासँगको वर्गीय यौनिक आकर्षण छ ।

परिवारमा बहुविवाह द्वन्द्व, प्रतिद्वन्द्व र लापरबाहीको कारक हुन्छ । निमिट्यान्नमा निषेध हुन्छ । क्रान्तिले आर्जित विद्वत वर्तमान कागज र सैद्धान्तिक विचारबाट माथि उठेर परिवारले समताप र समतामूलक व्यवहारको सिर्जना गरेका छन् । विवेक सत्ताको कोमलता हो, जो नबुझेर अहङ्कारले उन्मत्त हुन्छ । अन्ततोगत्वा अहमत्याइँ पतन अवश्यम्भावी हुन्छ । अनमोल नाम दिइरहनु परेन, लेखिएको छ । नक्शाभित्र क्रान्तिको परिणाममा योद्धाले प्राप्त गरेको दर्शन चिरकालीन छ । विचार र स्वतन्त्रतामा जब दमन हुन्छ तब क्रान्ति अवश्यम्भावी हुन्छ । क्रान्तिमा आफ्नै माटोको पराक्रमी सन्तानको टिठलाग्दो हत्या हुन्छ । स्वतन्त्रता, जात, धर्म, ओहोदा र परिश्रममा जब विभेद हुन्छ तब सत्ता ढल्छ ढल्छ ।

मजदुरले आर्जेको अल्प प्राप्ति नाम रहोस् भनि कुवा खनाएको, डिठ्ठा बिचारीलाई निवेदन दिएको भानुभक्तको कविता, बन्दीपुर आन्दोलनमा बखान पुत्र धर्मध्वजको शहादत बहुप्रतीकात्मक उत्प्रेरित क्रान्तिलाई इङ्गित गर्छ । ज्यादती सत्तासिन शासकका आफ्नै सन्ततिले पनि सहन गर्न सक्दैनन् । परिश्रमको पसिना शोषण, उडुस उपियाँको रक्तशोषणभन्दा विषाक्त हुन्छ । अहङ्कार कल्पित पतन पथ हुन्छ ।

पुस्तक बोलिरहेको छ । एक सय चार वर्षे राणाशासनमा शहादतप्राप्त वीर पुरुषको अदम्य साहस र तत्कालीन शासकले गरेको ज्यादतीको दसी बखान हो । मृत्यु मजाक होइन, रनाहाट हो । तापले सिर्जित उपहार गोला बारुदले डराउँदैन । एकाकार एउटै हुन्छ । बसाईको साइत समयमा सबदहनमा उपस्थित श्रद्धाञ्जली भाव ममत्वको प्रतीक बनेको छ ।

क्रान्तिमा दया, माया, संवेदना र अनाहकको हत्या वरण हुन्छ, खरको छानो अचानो हुन्छ । थातथलो छोड्दा प्रच्छाद्य प्रतीक सप्तरङ देखिन्छ । सत्र सालमा वीपी कोइरालालाई तरुण दलको भेलाबाट अचानक सेनाले गरेको अपहरण र नजरबन्दमा राखेको प्रसङ्ग र राजाले शासन व्यवस्था आफ्नै हातमा लिएको अभिलखीकरणमा यो गतिलो साक्षी हुने छ । जम्मु-कश्मीरको विवादमा नेपालले भारतलाई साथ नदिएको कारण भारत राजाकै पक्षमा रहेको यथार्थ सुबोध्य शैली छ ।

वर्तमानमा अर्धचेतन सिन्दुरे चन्द्रमा हेर्दा मैले लार्भा निमोठेको छु । लडाइँमा दुवै छोरा गुमाउनु, सत्तामा रहेर आफैँ भजन नगाए जेलमा सड्नुपर्ने र पारिवारिक सोच प्रजातन्त्र प्राप्तिको पक्षमा रहेको आन्तरिक द्वन्द्वमा एउटा लाचार बाउले प्रजातन्त्र प्राप्तिको लागि गरेको सङ्घर्ष र अनेक यातनाको सत्य निर्बन्ध आख्यान सिर्जना हो बखान । चितवन वरिपरिको पौराणिक मिथक र चितवनको प्राचीन पौराणिक गर्भले गर्वित सान हो । ऋतुराज नभएको भए बखान उखान बन्थ्यो, प्रमाण नष्ट हुन्थ्यो । हामी यस्तै छौँ । सत्य बोल्न जिब्रो, मुख र आवाजभन्दा खोज अपरिहार्य हुन्छ ।

भाइ धर्मध्वज सेनाको कारबाहीमा मारिएपछि वियोग र आक्रोशमै सेनाको लप्टन छोडेर मुक्ति सेनामा हाम फालेको लालध्वजले चितवन आक्रमण र कब्जामा गरेको सफलता र भूमिका राज्यसत्ताको चुनौतीमाझ अनुकरणीय छ । क्रान्तिले थातथलो छोड्नुपरेको, नयाँ ठाउँमा गास वास र कपासको लागि बेहोर्नुपरेको सङ्घर्ष, छोरो र नाति गुमाएर रनाहटमा रन्थनिएको हरफ पढ्दै जाँदा मुटु चर्केर जो कोहीको पनि धड्कनको गति एक हुन सक्दैन । वज्र र भावुकताले टुटेर फुटेको आँखाको मूल दबाउन खोजेर सकिँदैन । नक्शाभित्र चितवन यस्तो माटो रहेछ, जसले क्रान्तिमा बीभत्स चोट, डहन, रक्तपात र वियोग भोग्नुपरेको रहेछ ।

मिथक कथा, परमेश्वर थारुले वाचन गरेको चित्रसेनको कथामा विकट भूगोल, प्राकृतिक आस्था र विश्वासले पाइने धीरता र सिर्जनात्मक अटलताको सूचक छ । मल्लु र परमेश्वर अनन्य मित्रतामा कर्तव्यको सत्यनिष्ठ प्रतीक छन् । एकजनाको सङ्घर्ष र अनुभवको एकताले बहुसङ्ख्यकको उद्धार हुन्छ । राज्य पिँजरा होइन, औलो र मलेरियाको जोखिम नै किन नहोस्, उर्वरताको परिचयले वर्तमान लाञ्छित भविष्यमा बहुसङ्ख्यकको खुशी उज्जवल हुन्छ ।

बखान बालापनको भाँडाकुटी हो । झाडी र जङ्गलले भरिएको बिना छानो सर्वनग्न जन्मिन्छ र साधनाले घनिभूत हुन्छ । चितवनको बस्ती विकासको अनमोल दस्तावेज हो । वर्तमानको आँखो हो । भविष्यको विचार र दिग्दर्शन हो । प्रजातन्त्रको सेनानी हुन अपवाद त्रुटि भए पनि बखानसिंह गुरुङ बन्नुहोस् । सिक्नुहोस् मित्रहरू, भूतकालले गर्व गर्नेछ । वसन्तभन्दा माथि साहित्यले पनि युग पर्खिनु पर्ने छ ।

लालध्वजको पुलिमराङ बसाइमा सेनाले परिवारलाई गरेको ज्यादती, लालध्वजको हत्या, बखानपुरको घर परिवारलाई सेनाले दिएको खप्की र घर जलाइदिएको प्रसङ्गले भावक दया, माया, करुणा र भावुकताको क्षयले भक्कानिएर उराठ बन्छन् । आन्तरिक युद्ध साह्रै कठोर, निर्मम र संवेदनहीन हुँदो रहेछ । घरभित्र कहिल्यै नलड र मजदुरलाई तिरस्कार नगर । रक्तपातपूर्ण क्रान्तिले प्राप्त वर्तमान पनि मति सुधार हुन नसक्दा विक्षिप्त हुन्छु । डोकोको काफल घोप्ट्याउँदा मेरो मन अमिलो हुन्छ । सत्ताको अश्र श्रापित गोही हुँदोरहेछ । असहिष्णु जालन्धर भौतिक रहँदै देखिँदो रहेछ । सामना प्रतिउत्पादकमा ढिलो हुन्छ तर हुन्छ । करुणाको क्षयले मानिस कमजोर हुँदैन, क्रान्ति गर्छ ।

वसन्तले महिलालाई कमजोर ठान्ने पुरुष आतङ्कलाई भौतिक दृष्टिमै स्त्री पात्रको अदम्य साहस, कर्तव्य, दूरदर्शिता, समन र सामनाले धरोहर उत्पन्न गरेका छन् । परिवार र नक्शाको अनुकरण छ, जो वर्तमानमा सत्ता र सिंहासनलाई दिग्दर्शन छ ।

जीवन सम्झौता हो, जो अभिरुचिले एकाकार बन्छ । प्रेम कामवासनाले सम्मोहित हुँदैन । अनुरागले द्रविभूत हुन्छ । एकतृप्त आशक्तिको उत्कण्ठा धराले पनि अस्वीकार गर्छिन् । अन्तत्वगत्वा पशुमा पनि दुर्घटित बलात्कार हुन्छ । यौन अभिलाषा सामूहिक र सम हुन्छ । परस्परमा समाहित सम्भोगले मृदुल प्रेम सघन हुन्छ । प्रेम ब्रह्माण्डको सर्वोच्च शक्ति हो, जो ममताले पुलकित हुन्छ । चरमोत्कर्षमा व्यञ्जनार्थ पङ्क्तिमा अद्भुत चमत्कारी भाव व्युत्पत्ति भएको छ ।

फगुवा गीत नेपाली भाषामा पनि रूपान्तरण गरिदिएको भए सर्वग्राह्य हुन्थ्यो । गीतको स्वरूप मननीय बन्यो । थारु भाषा नजानेको स्रष्टालाई सिर्जना अबोध भयो । थारु समुदायको प्रशस्त अनुभवले आर्जित औलो निरोधक विधि, घरेलु, उपचार, चाडबाड, परम्परा, संस्कृति र परस्परको सौहार्दता अन्तर्मुखी छैन । अहिले पनि समुदायमा बहुआयामिक आञ्चलिकता छ । वर बधुमा पनि उदारता छ, सङ्कुचित छैन ।

राजपरिवारको शिकार खेल्ने परम्परा, विदेशी राजा महाराजा खुशी पार्न निमन्त्रित व्याधा र नेपाली भूगोलका वन्यजन्तुको सर्वनष्ट टिठलाग्दो विगत वर्तमानमा पारदर्शी छ । कञ्चनपुर जङ्गलको त्यसदिन संवेदनशील रहेछ । बखानसिंह, जसले संयक् सरकार, प्रजातन्त्र प्राप्तिको आन्दोलन, समाज व्यवस्थापन र सहकारी स्थापनामा सबथोक गुमाए । उनको सर्वस्व हरण भयो । बोलाउँदैमा भेट्न जानु र भेटघाटमा यति सुनेर फर्किनुले मैले उद्गारित पङ्ति देश र जनता माथिको व्यन्जनावृत्ति मानेको छु ।

बखान र राजा महेन्द्रको वार्तालापमा कञ्चनपुर जङ्गलमा शिकार गर्ने त्यो दिन बाह्रसिङ्गेको टाउकोमा निसाना ताकेको गोली सिङमा लाग्यो । फर्किएर बडामहारानी रत्नको पेटमा धसिन पुग्यो । साँझ परिसकेको थियो । बन्दै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिजुली बत्ती थिएन । रातको समयमा जहाज अवतरण गर्ने अवस्था थिएन । भर्भराउँदो दियालोको भरमा रनवे देखाएर जहाज अवतरण गराएको र तीन–तीन लिटर मट्टीतेल अट्ने सलेदोका ठुल्ठुला बत्तीको व्यवस्था गरिएको प्रसङ्गले विकासको गति र रानी रत्नको भयानक दुर्घटनाको नवीनतम बोध भयो । यद्यपि यहाँ व्यङ्ग्य छ ।

शक्ति र सत्ताले आलिसान बनेर पनि आवाज विश्रामको थलो चाहिँदो रहेछ । भुलचुक मानिसबाट हुन्छ र अपवादमा यसले आफ्नै परिवारको ज्यान लिनसक्छ । कर्ममा सावधानी दूरदृष्टि हो, जो अन्तःस्करणमा हरतत्पर जागृत हुनुपर्छ । इङ्गित वरण समर्पण नभएर महाचेतन प्राप्ति हो ।

जिउँदै हुँदा मानिसले मानिसलाई चिन्दैन । बखानसिंह लेख्छन्, प्रजातन्त्रका लागि मात्रै राजा महेन्द्र अनुदार थिए तर विकास निर्माणको लागि दूरद्रष्टा थिए । चितवनको बस्ती विकास, भारतले नेपालको सडक विस्तारमा अवरोध खडा गर्दा प्रतिकार र आफ्नो स्पष्ट अडान । बिना प्रविधिको मजदुर परिश्रमको युगमा निर्माणको उच्चतालाई मैले पनि उनलाई सम्मान गर्छु । चितवनको प्रेमले नै महेन्द्र बिरामी पर्दा चितवन आएको हुनुपर्छ र हृदयको समस्याले बिरामी महेन्द्रको अवसान भूमि पनि चितवन नै बनेछ ।

राजनीति र सत्ता यस्तो हिंस्रक हुन्छ । देशमा क्रान्तिको आगो सल्काउने बखानसिंह गुरुङ, जसको न बास रह्यो न त सन्तान नै । चितवनमा एउटा टोल थियो बखानपुर, त्यही पनि पञ्चायती व्यवस्थाको निर्वाचन भएपछि बखानपुरलाई शारदानगर बनाइयो । कति धुर्त हुँदोरहेछ सत्ता, कति गाह्रो हुन्छ राख्न नाम ? कति कुण्ठित हुँदोरहेछ सत्तासिन मान्छेको मन ? जसले आफ्नै सन्ततिको नाम पनि निमोठ्दो रहेछ ।

साधनाले असम्भव के छ ? गलेश्वर बाबा अर्थात् ईश्वरानन्द ब्रह्मचारीसँगको संवादमा डुङ्गा नचल्दा उनी आफूसँग भएको रुमालले नारायणी नदी पार गर्ने इन्द्रजाल जस्तै लाग्ने तपले प्राप्त चमत्कारी वरको रहस्य महात्माको बुझाइ रह्यो ।

प्रवाहित भइरहँदा बिच बिचमा मित्र संवादको प्रहर्षित कथनले भावकलाई उत्सुक बनाउँछ ।  वन, जलतट सयल, रनवनको सामूहिक नेतृत्व, साथीभाइको उक्साहट संवाद, भालुको आक्रमण शैली, जङ्गली जनावरको यौनिक गतिविधि, मूर्तिको भग्नावशेष, फुटेको टुटेको लामो जिब्रो भएकी कालीको मूर्ति, शिव मूर्ति, कालीसँगै रहेको बाघको मूर्ति आधा पुरिएको टाउको मात्रै देखिएको अवस्था र प्रकृतिलाई चिह्नको सङ्केत गरेर घटना भाव र अभिव्यक्तिको बहुमुखी चैतन्य चिन्तनले वसन्तको पथमा महाचेतन प्राप्ति छ ।

सूक्ष्मलाई सगर बनाउन साङ्केतिक चिह्न प्रयोग गरिन्छ । उपन्यासमा हुनैपर्ने साङ्केतिक चिह्न चित्रणमा वसन्त चुकेका छैनन् । चिह्नले खिसीटिउरी, कपटी, स्वार्थी, अभद्र, घमण्ड, अश्लील, क्रूर, उँचनिच, साहस, रमाइलो, दया, माया, संवेदना, उदारता, दमन, स्वतन्त्रता जस्ता मानवीय संवेगलाई वृहत्तिकरण गर्छन् । मननीय शैली झर्कोमुक्त छ ।

बखानकी कान्छी श्रीमती मनकुमारीको अवसानसँगै कथानकले अवतरणको तयारी गर्छ । २०३७ सालको जनमत सङ्ग्रहले पञ्चायत निर्वाचित भएर पनि सरकार स्थिर बन्न सक्दैन । २०३९ सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेपछि चौरासी वर्षको उमेरमा बखानसिंह भूमिसुधार तथा कानून मन्त्री बनेका छन् । नाति चन्द्रध्वजले बखानसिंहको नीलो डायरीको अन्तिम पाना पढ्दै गर्दा हजुरआमा विष्णुकुमारीले बखानसिंह र विगतलाई वर्तमानमा झलझली सम्झिदै भावुक हुन्छन् । प्राप्त पथ निर्माणमा प्रतिबद्ध रहन्छन् । २००७ देखि २०४० सम्मको समयावधिमा बखान दृष्टिपटल बनेको छ ।

निर्बन्ध पथमा बन्दीपुर, बाहुनपोखरा, किराँतखोला, समधोर, टुहुरे पसल, भन्सार, डुम्रे, बन्दीपुर, चुँदीखोला, चुँदीरम्घा, गोर्खा, लमजुङ, चितवन वरिपरि र नेपालको सोमेश्वरगढीको दक्षिणी ढलोको सिमाना हुँदै बिहार राज्यको पश्चिम चम्पारण जिल्लाको नरकटियागन्ज सम्मको अनुबन्धन छ ।

व्याकरणका दृष्टिपटल आफ्नै छन् । प्रवाहमा अशुद्ध भइ– भई, चमकदमक– चमकधमक, कमद– कदम, प्रजातन्त्रप्रेमी– प्रजातन्त्रेमी छिटफुट देखिन्छन् । आन्तरिक झर्रो शब्द पनि होइनन् । यसलाई मैले अपवाद भन्न मन पराउँछु ।

महाचेतन आवाज र लिपिमा पनि अपवाद हुन्छ । अपवादको परिभाषा द्रष्टाको रह्यो ।

बखान नारायणी र राप्ती तटको सुरम्य दिनचर्या हो । आज घना बस्ती पट्यारलाग्दा यही जल प्रवाहमा मनोभिराम गर्छन् । यो घनिष्ट मित्रता र प्रेमको प्रतीक निरन्तरसम्म साबित हुने छ । कपोलकल्पित आख्यान होइन । अग्रपङ्क्तिमा बखानसिंह गुरुङ रहे पनि बहुजाति, बहुभाषी, बहुसंस्कृति र बहुभूगोलले प्रतक्षीकरण गरेको बहु युगपुरुषको साक्षात्कार हो । यो भविष्य थियो, वर्तमानमा झन् डरलाग्दो छ र भविष्यमा पनि यस्तो अवस्थाको सामना गर्नैपर्ने छ ।