स्याङ्जा । स्याङ्जा साहित्य प्रतिष्ठान र शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानले विभिन्न विधामा योगदान पुर्‍याउँदै आउनुभएकाे  तीन जना स्रष्टालाई सम्मान गरेकाे छ । प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको ८६औँ जन्मोत्सवको अवसर पारेर आइतबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा पर्वतमा रहेर साहित्य सिर्जनामा सक्रिय सरस्वती शर्मा जिज्ञासु, युवा आख्यानकार तथा पत्रकार लक्ष्मण वियोगी र लोकगायक लोकनाथ सापकोटा रहनुभएकाे छ । ‘जिज्ञासु’लाई ‘रुक्माङ्गत–यशोदा–लीलावती (रुयली) सम्मान’, वियोगीलाई ‘रजस्थल युवा प्रतिभा सम्मान–२०८३’ र सापकोटालाई ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गरिएको थियो ।

वि.सं. २०५२ सालदेखि निरन्तर प्रकाशन हुँदै आएको साहित्यिक त्रैमासिक पत्रिका रजस्थल पत्रिकामा विशेष योगदान पुर्‍याएको कदरस्वरूप वियोगीलाई प्रदान गरिएको सम्मानको राशि शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानले उपलब्ध गराएको हो । कार्यक्रममा सरुभक्तले सम्मान प्रदान गर्नुभएकाे थियाे । कार्यक्रममा बुद्धिबहादुर राना, सुबोधकुमार अधिकारी तथा विश्वप्रेम अधिकारीको उपस्थिति रहेको थियो ।

सोही अवसरमा शिवकुमार अधिकारीका छरिएका कविताहरूलाई समेटिएको कृति ‘शिवकुमार अधिकारीका कविताहरू’ को पनि लोकार्पण गरिएको थियो । कृतिमाथि समालोचक डा. बोधराज ढकालले समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा साहित्यकारहरू टिकाराम वाग्ले, त्रिलोचन ढकाल, तारापति सुवेदी, रामबहादुर थापा तथा नेता भरतराज ढकाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन तथा सञ्चालन मिलन समीरले गर्नुभएकाे थियाे ।