काठमाडौं ।  नेपालयको ‘आर’शालामा नियमित रूपमा आयोजना हुँदै आएको चर्चित सांगीतिक कार्यक्रम ‘पलेँटी’मा दार्जिलिङका गायक पवन गोले चौध वर्षपछि पुनः प्रस्तुत हुनुहुने  भएकाे छ । आगामी अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार हुने कार्यक्रममा उहाँले आफ्ना पुराना चर्चित गीतसँगै नयाँ सिर्जनाहरू पनि सुनाउनुहुनेछ ।

यसअघि सन् २०१२ मा ‘पलेँटी’मा प्रस्तुति दिनुभएकाे गोले यसपटक नयाँ ऊर्जा र तयारीसहित मञ्चमा उत्रिन लाग्नुभएकाे हाे । उहाँका नयाँ गीतहरूमा संगीतकार रमेश गुरुङ को धुन समावेश रहनेछ । हाल उहाँहरू अभ्यासमा जुटिरहनुभएकाे छ ।

नेपाली आधुनिक संगीतलाई प्राथमिकता दिँदै करिब दुई दशकअघि सुरु गरिएको ‘पलेँटी’ कार्यक्रमले स्थापित तथा उदाउँदा कलाकारलाई एकै मञ्चमा प्रस्तुत गर्दै आएको छ । कार्यक्रम नेपालयद्वारा सञ्चालन हुँदै आएको हो ।

‘हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ’ जस्ता लोकप्रिय गीतमार्फत परिचित गोले दार्जिलिङको सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकाे छ । उहाँले पश्चिम बंगाल सरकारअन्तर्गतको ‘इन्फर्मेशन एण्ड कल्चर डिपार्टमेन्ट’मा कलाकारका रूपमा सेवा गर्दै सन् २०२१ मा अवकाश लिनुभएकाे थियाे ।

यसपटकको प्रस्तुतीमा उहाँले संगीतकार सुवर्ण लिम्बू लगायतका सर्जकका धुनहरूमा आधारित गीतहरू प्रस्तुत गर्नुहुनेछ । गीतकारहरूमा शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन प्यासी, पुरन गिरि, सुरेन थिङ, संजय बान्तवा, संजय बिष्ट, कालूसिंह रनपहेली, प्रमोद स्नेही र अरुण तिवारी रहनुभएकाे छ ।

कार्यक्रम कालिकास्थानस्थित नेपालय आरशाला मा आयोजना हुनेछ । दर्शकले अनलाइनमार्फत टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ भने प्रत्यक्ष उपस्थित हुन नसक्ने दर्शकका लागि Pay-Per-View मार्फत लाइभ हेर्ने सुविधा पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ ।