अकथानक
झुस्स दारी ,चिम्रा –चिम्रा आँखा , खासै बोसोको तह नभएको छाला, ख्याउटे स्वरुप , बोल्दा आदर्श पङ्क्ति मिसिएका वाक्यहरू । औसतमा शिक्षकको परिचय यही हो । महिला शिक्षक हुँदा पनि यही समानान्तर परिचय । यिनै भेषभुषा, लवज, छेकछन्द आदि सबैसँग कसैको मिल्दोजुल्दो पहिचान देखियो भने –त्यो शिक्षक हो, भनी भन्नेहरू पनि छन् ।
संसारमा ईश्वरको व्यापक चर्चा छ । कसैले ईश्वरको अस्तित्व स्वीकार गर्छन् भने कोही इन्कारी तर्क गर्दछन् । फ्रेडरिक नित्सेले ईश्वर मृत्युको घोषणा नै गरिदिए । समाजमा चर्चा गरिन्छ –साक्षात् ईश्वर सबैका ठाउँ पुग्न सक्दैनन् । त्यसका निम्ति केही पात्रहरू आवश्यक पर्दछन् । आमा, बुवा, गुरु जस्ता पात्रलाई ईश्वरको संज्ञा दिने गरिन्छ । पात्र चर्चा भन्दा पनि प्रवृत्ति चर्चा यो (अ)कथाको मूल स्वरुप हो । समय क्रमसँगै मूल्यह्रास गरिँदै गएको एउटा मूल्यको कथा हो यो ।
मूल्यह्रास –स्वकारण र परकारण । स्वकारण– आंशिक । विवेचना त्यसैको बढी ।
कथा प्रसङ्ग –शून्य
स्नातकोत्तर सकेको लामो समय भयो । लामो भन्नुको अर्थ, दुई वर्ष जति । हुन त यो लामो समय होइन तर उनको हिसाबले पढाइ सकिएको दुई वर्ष भइसक्यो तर जागिर गर्न सकेका छैनन् । उनलाई यो समय छोटो लागेको छैन । समय छोटो नहुनु नै लामो हुने विकल्पका लागि खुला हुन्छ । सम्भवत: यही कारण उनलाई यो समय लामो लागेको छ ।
घरमा एउटी दिदी पछिको उनी एक्लो छोरो । दिदीको बिहेबारी भइसकेको छ । बुवा आमा र उनी । घरमा परिवार सदस्य सङ्ख्या तीन जना । पहिलेको घर महोत्तरी, अहिले परिवार हेटौँडामा बसोबास हुन थालेको करिब पन्ध्र वर्ष भइसक्यो । सानो एउटा घडेरीको टुक्रा लिएको अवस्था छ तर घर बनाएर बस्न सकेको चाहिँ छैन परिवारले । बुवा सरकारी मास्टर र आमा गृहिणी । उनीचाहिँ केही नगर्ने । उमेरले तेत्तीस हानिसकेको छ । भन्नेहरूले भने –‘लोकसेवा पढ ।’ उनलाई मरिगए जाँगर आएको होइन । न त रुचि नै जागेको । विदेश जाऊँ लाग्ने– उनलाई । तर घरपरिवारको एक्लो छोरो परिवारको स्विकृति नहुने । शिक्षक बन्ने कुरा आउँदा उनका बुवा निकै चाँडो रिसाउँछन् । अरु पेशामा जान शिक्षा त्यो अनुरुपको छैन । शिक्षा शास्त्र लिई पढेका हुन् उनले । उनका बाबु लामो समय प्राथमिक तहको शिक्षक हुँदा पनि केही गर्न नसकेको, हेटौँडामा जग्गा किन्दा उतै महोत्तरीकै जग्गाजमिन मास्नु परेको र आफ्नो कमाइबाट सम्भव नभएकोे गुनासो गर्छन् ।
कथा प्रसङ्ग –एक
उनले शिक्षक सेवा आयोगबाट माध्यमिक तह–नेपाली विषयमा नाम निकाले । ‘उनी’ अर्थात् उमेश रेग्मी, आमा उमा रेग्मी र प्राथमिक शिक्षक हेम प्रसाद रेग्मीका छोरा । यस पटक आमा निकै खुसी भइन् । छोरो मास्टर भएकोमा उनमा उमङ्गले बास लियो तर बुवाको मन उति खुसी थिएन । बुवाले उनलाई बधाई त दिए । यो निकै हलुका मात्र थियो । बुवाको आवाजलाई तौलेर उनले यति बुझेका थिए । उमेशले त मिहिनेत गरेर नाम निकालेका । यही ठीक सम्झिँदै थिए । ‘शिक्षण’ पेशा किन यसरी कम रोजाइमा पर्न गयो ? सामाजिक न्याय सिकाएर सबैलाई उज्यालोतिर डोर्याउने पेशाप्रति किन यति वैरभाव ? उमेशको मनमा कुरा खेल्थ्यो । बुवासँग कहिलेकाहीँ तर्क गर्न मन लाग्थ्यो । डरले गर्न सक्दैनथे । नाम निस्केपछि केही साथीहरूले बधाई दिए । केहीले पार्टी खानुपर्ने बताए तर केहीले भने ओठ लेप्राए र भने –‘जाबो मास्टर’ ।
“तलब मात्र आउने एउटा मात्र पेशा कुन हो भनी सोध्यो भने उत्तर आउने पेशा हो– शिक्षण ।” साथीहरू तर्क गर्दै हुन्थे ।
कथा प्रसङ्ग –दुई
मास्टरीका लागि नाम निस्केपछि घर नजिकैका चिनेका र उनले अङ्कल भनी सम्बोधन गर्ने छिमेकीकहाँ उनी पुग्न भ्याएका थिए । ती छिमेकी अङ्कल पनि शिक्षक नै थिए । उनी अङ्ग्रेजीका नाम कहलिएका शिक्षक थिए । उनको नाम दामोदर शर्मा । माध्यमिक अङ्ग्रेजी विषयका शिक्षक दामु सर भनेपछि वरपर सबैले चिन्ने । ट्युसन पनि उत्तिकै पढाउने भएका कारण उनलाई दामु सर भन्दा पनि ‘अङ्ग्रेजी ट्युसन पढाउने सर’ भनेपछि वल्लो टोलदेखि पल्लो टोल सबैले सजिलै चिन्ने ।
दामोदर सर पिट्नमा पनि माहिर थिए । उनको पिटाइको स्वाद नचाख्ने विद्यार्थी कमै हुन्थे । धेरैले उनको नाम लिनासाथ अनेक किस्सा निकाल्न थाल्थे । हात र मुक्काका घटना त सामान्य नै थिए । एक दिन उनले विद्यार्थीलाई पिट्ने क्रममा बेल्ट नै निकालेर हिर्काउन भ्याएछन् । बेल्टले हिर्काएको विषयको घटना भने अलिक गरमागरम बनेको थियो । त्यही समयदेखि पढाउने क्रममा उत्ति हिर्काउँदैनन् भन्ने सुनिन थालेको थियो । पहिले पहिले कोही उनलाई ‘तोरी सर’ भन्थे भने कोहीले ‘धोबी सर’ । हिर्काएर तोरीको फूल देखाइदिने भएर उनले ‘तोरी’ नाम पाएका थिए । कसैले त्यसैलाई धोबी धुलाई सम्झिन्थे र ‘धोबी’ सर नाम दिन्थे । कोहीकोही भने उनले कडा अनुशासनका बीच पढाएकाले आफू सुध्रिएको । नत्र जीवन बर्बादीको अर्को नाम बन्ने कुरा पनि सुनाउँथे ।
दामोदर सरकहाँ पुगेर जम्ल्याहा हात नमस्कार गरिसकेपछि सरबाट सोधनी भयो, “के कति कामले आउनु भयो भतिजा बाबु ?” उमेशले आफ्नो नाम सरकारी शिक्षकमा निस्किएको बताए । शर्मा सरले भन्न थाले, “मेरो चाहिँ आंशिक बधाई छ है बाबु । तपाईँ नछिर्नुपर्ने पेशामा छिर्नुभयो । म त अङ्ग्रेजीको शिक्षक । ट्युसन नि पढाउँछु । तैपनि घर चलाउन मुस्किल छ । तलब आउँछ चौमासिक । घर बनाएको छु । घर बनाउँदा बैङ्कबाट ऋण गरेको छु । बैङ्कले महिनावारी ब्याज असुल्छ । हाम्रो तलब आउँछ चार महिनापारि । मास्टरका लागि भनेर बैङ्कले छुट्टै नियम नबनाउँदो रै’छ । ट्युसनबाट आएको पैसाले जेनतेन थेगेको छु । ट्युसन पढायो भनेर रिस गर्नेहरू पनि छन् । अझै बाबुलाई थाहा छँदैछ । एसइईमा लेटर ग्रेडिङ प्रणाली शुरु भएपछि त ट्युसन पढ्ने विद्यार्थी पनि घटेका छन् । तिनलाई मुख्य विषयमा फेल भएपनि कुनै चासो छैन । कलेज पढ्न पाइने भइहाल्यो, के भो र ? त्यही भएर ट्युसन तथा कोचिङ कक्षाबाट हुने आम्दानीको स्रोत घटेको छ । बैङ्कले महिनै पिच्छे ब्याज माग्छ । तलब चार महिना नपुगी आउने होइन । म त बैङ्कको ब्याजका पिरले बिमारी नै हुन पुगेछु । डाक्टरले डिप्रेसनको औषधी चलाएपछि पो थाहा लाग्यो त । यो मास्टरी पेशालाई सरकारी जागिर हो भनी भन्नु त फुस्रो धाक पेल्नु मात्र हो । औषधी गर्नुपर्ने बेलामा पैसा हुन्न । पसलबाट उधारो ल्याउँदा ल्याउँदै पसलेले पत्याउँदैन । तीन चार महिनासम्म पैसा नबुझाउँदा उधारो दिन गारो मान्छ । तलब नआएर नदिएको होइन बरु झुठो बोलेको सम्झिन्छ ।”
कथा प्रसङ्ग –तीन
शिक्षण पेशामा नाम निकालेपछि यो क्षेत्रको चर्चा भएको विषयमा उनको ध्यान अलिक बढी तानिनु स्वभाविक हो । एक समय एउटा पत्रिकाको फिचर आर्टिकलमा उनको आँखा पर्यो । जसमा लेखिएको थियो, “सरकारी शिक्षकहरू पढाउँदैनन् । जग्गा प्लटिङ, दलाली र राजनीति गर्छन् । आफ्ना बालबच्चा बोर्डिङ पढाउँछन् र सरकारी स्कुलप्रति गैरजिम्मेवार बन्छन् । हर क्षेत्रको ज्ञाता बन्छन् र नेतृत्व लिने होडबाजीमा हुन्छन् । पेशागत क्षमता अभिवृद्धि गर्दैनन् र टार्ने शैलीमा काम गर्छन् । अरुलाई सिकाउने गुरु नै यस्तो भएपछि भोलिको समाज कता जान्छ ?” उक्त लेखको अन्त्यतिर लेखिएको हुन्छ– “शिक्षकका पनि आफ्नै गुनासा छन् । शिक्षकको क्षमता र दक्षताका आधारमा उनीहरूलाई पुरस्कृत र दण्डित गरिन्न । शिक्षकका सरुवा र बढुवा कार्यदक्षता र न्यायिक शैलीमा हुन्न । उत्प्रेरणाको कुनै वातावरण छैन । समाजले शिक्षकलाई अलग्गै जीवको ढङ्गले हेर्छ । आखिर शिक्षक पनि मानवै हुन्, तिनका पनि गुण र दोष हुन्छन् नै । उनीहरूलाई आत्सम्मान हुने वातावरण निर्माण हुनुपर्छ ।”
यो लेखले उनलाई केही झङ्कृत गरायो । सचेतताको एउटा पाठ पढायो पनि ।
कथा प्रसङ्ग –चार
उनले सुनेका / पढेका केही भनाइहरू –
– शिक्षकहरू समाजलाई उज्यालोतिर लैजाने संवाहकहरू हुन् ।
– कोही मानिस असल भन्दा पनि माथि हुन्छन् भने ती शिक्षक हुन् ।
– शिक्षकले हरेक दिनलाई नयाँ र प्रेरक बनाइदिन्छन् ।
– असल शिक्षक भविष्य निर्माता हुन् ।
– शिक्षकले कालो / सेतो पाटीमा लेखेका कुरा जीवनबाट कहिल्यै मेटिएर जाँदैनन् ।
कथा प्रसङ्ग – अन्तिम / शुरु
उनी सम्झिँदै थिए, “हरेक क्षेत्रमा असल र खराब मानिसहरू हुन्छन् । असलबाट हामीले सिक्दै जाने हो । राज्यले अवश्य पनि पेशागत मूल्य र त्यसको महत्ताका बारेमा महसुस गर्नेछ र गर्नै पर्नेछ । सबै पेशाका आफ्ना आफ्ना विशिष्टता हुन्छन् तर त्यसका सामाजिक मूल्य निर्धारणमा केही भिन्नता पक्कै हुनुपर्दछ ।”
उनको आज पेशा प्रवेशको नियुक्तिपत्र बुझ्ने दिन । सपथको कार्यक्रम पनि आज नै निर्धारण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुखबाट शिक्षण पेशाका निम्ति उनले सपथ लिने दिन हो । उनी सोच्दै थिए, “सपथ लिनु भनेको महत्त्वपूर्ण जिम्मेवारीबोध गर्नेे कार्य हो । त्यो भन्दा महत्त्वपूर्ण आफैँले गर्ने आत्मबोध र जिम्मेवारीबोध हो । हरेक क्षेत्रका जिम्मेवारीहरू हुन्छन् नै तर शिक्षकका अझ थप जिम्मेवारी छन् ।
शिक्षकले आंशिक रुपमा धेरै जिन्दगी बाँच्ने गर्दछन् । डाक्टर नभएको ठाउँमा स्वास्थ्य सचेतता अपनाउन प्रेरित गर्ने, झगडा मिलाउने निकाय नहुँदा मनोवैज्ञानिक परामर्शदाता, कतिपय ठाउँमा समाचारका संवाहक, सामाजिक नेतृत्व लगायत धेरै पक्षमा शिक्षकलाई पाउने गरिन्छ । शिक्षक हुनु शिक्षक हुनुमात्र होइन । पूँजीतन्त्रको विकाससँगै पैशालाई प्रमुख र नैतिक मान्यता तथा सामाजिक मूल्यलाई कमजोर सम्झिने मनोविज्ञान विकास भएकाले शिक्षणलाई कमजोर पेशा सम्झिँदै आफ्नो जीवनलाई अँध्यारोबाट उज्यालोतिर लैजाने गुरुलाई ‘जाबो मास्टर’ भन्न थालिएको छ । यो सही होइन । “शिक्षण मैनबत्तीझैँ जलेर अरुलाई उज्यालो दिने पेशा हो” भन्ने मान्यता अब बदलिनु पर्छ । सिएफएल बत्तीजस्तै आफू पनि टिक्दै अरुलाई उज्यालो दिने पेशा बनाउनुपर्छ । ‘जाबो मास्टर’ को मानसिकतालाई बदलेर ‘वाह मास्टर’ बनाउनुपर्छ । यस्तो सोचाइ मनमा आउँदै गर्दा उनको अनुहारमा उज्यालोको आभा थपिँदै गएको महसुस हुन्थ्यो ।
आज सेवा प्रवेशको दिन उनी शिक्षा विकास तथा समन्वय इकाईतिर हिँडिरहेका छन् । उनको यो हिँडाइको चाल तेजपूर्ण लाग्थ्यो । चिटिक्क पोषाकमा सजिएर इकाईको कार्यालयतिर लम्किरहेका उनमा जीवन यात्राको गति यस्तै प्रभावी बनाउने इच्छा पनि उत्तिकै प्रबल बनिरहेको अनुभूति हुन्थ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










