श्रब्य साहित्य

यतिकै अनुमान गर्नु ठीक होइन
सुरुवाल वा कुर्ताको
जिन्स, पेन्ट वा ज्याकेटको
अथवा अरु पहिरनको
गोजीमा हात राखिरहेको मानिस
सोचेजत्तिकै निस्क्रिय नहुन पनि सक्छ

भर्खरै कामबाट फुर्सद पाएर
एकछिन सुस्ताइरहेको
जाडोले काँपिरहेका औंलाहरू सेकाउन
उद्यमशील भइरहेको
वा सोचका घेराहरू नाघ्न
केहीबेर ध्यानस्थ मुस्कुराइरहेको
यस्तो केही पनि हुन सक्छ
गोजीमा हात राखिरहेको मानिस

यो स्मरणीय छ
गोजीमा हात राखिरहेको मानिस
सधैँ गोजिमा हात राखिरहँदैन
यो उसको अस्थायी सत्य मात्र हो

अलिक लामो यात्रालाई पर्खिरहँदा
वा कुनै सुखद् आगमनको स्वागतमा उभिइरहँदा
अक्सर मानिसका हातहरू गोजीका बासतिर लम्किन्छन्

केही ननिकाल्न
वा केही नभेट्टाउन
यसै पनि
मानिस गोजीमा हात राख्न सक्छ

प्राप्तिको आविष्कारमा कुदिरहेको समयको उत्खनन्
यसो पनि नहुन सक्छ गोजीको अस्तित्व

एउटा सानो प्रक्रिया
एउटा सानो अध्याय
गोजीमा हात राख्नु

अनुमान गरे जत्तिकै निष्क्रिय नहुन सक्छन्
गोजीभित्र चुपचाप बसिरहेका औंलाहरू ।