एक चिसो साँझ— दक्षिणी मिनयापलिसको पुरानो बस्ती । सडकका बत्ती हिउँले आधा छोपिएर उज्यालो कुहिरोभित्र धुम्म परेका छन् । मेपल र ओकका नाङ्गा हाँगामा अड्किएका हिउँका थुँगाहरू हिउँ-फूलझैँ प्रतित हुन्छन् —मानौँ यो हिउँद याम नभइ श्वेत बसन्त हो । घरका छाना पनि हिउँका बाक्ला पत्रले सेताम्मे छन् । कुनै समय विरक्त लाग्ने मिनीसोटाको यो कठोर हिमखण्ड निललाई अहिले कुनै क्यानाभासमा उतारिएको सेतो चित्र जस्तै शान्त र सुन्दर लाग्छ ।

निल अब पहिले जस्तो बिना उद्देश्य बाहिर भौँतारिँदैन; ऊ समयमै घर फर्किन्छ । मानौँ कुनै एक अदृश्य शक्तिले उसको कदमलाई घरतिरै तानिरहेको हुन्छ । अब उसलाई एक्लोपनले सताउँदैन । उसको जीवनले फेरि एकपटक लय समातेको अनुभूति हुन्छ । सदाझैँ त्यस साँझ पनि ढोका खोल्दा मानवी स्वागतमा उभिएकी हुन्छे— शान्त, स्थिर र मृदुल मुस्कान सहित ।

“हजुरलाई आफ्नो निवासमा पुनः स्वागत छ, निल”

“धन्यवाद, मानवी”

निलले झोला छेउको टेबुलमा राख्छ । टेबुलमाथि झुण्डिएको पात्रोले अंकित गर्छ—इश्वी सम्वत २०५०, जनवरी ३१ तारिख । 

मानवीले उसको कोट खोल्न मद्दत गर्छे । निल टाईको गाँठो खुकुलो पार्दै ‘काउच’मा बस्छ ।       

“आज हजुरको दिन कस्तो रह्यो ?” निलको सामुन्ने खडा हुँदै मानवीले प्रश्न गर्छे ।

“व्यस्त भएँ, थाकेको छु ।” निलले छोटो जवाफ दिन्छ ।

“के लिन चाहनुहुन्छ ? पानी, जुस कि चिया ?” मानवीलाई निलका प्रायः पेय रूचिबारे जानकारी छ।

 “अलिकति ह्विस्की…, बरफसहित पाउन सक्छु ?” निल आज केही फरक माग्छ ।मानवीको नजर केही क्षण निलको अनुहारमा अडिन्छ । शायद ऊ निलका अनुहारका भाव पढ्न खोज्दैछे । छोटो मौनता पछि सुस्तरी बोल्छे—“मदिरा सेवन स्वास्थ्यको लागि उपयुक्त मानिँदैन । विशेषगरी हजुरको स्वास्थ्य-अवस्थालाई ध्यानमा राख्दा, म मदिरा सिफारिस गर्दिनँ, निल ।” 

खै के सोचेर हो, निल खिस्स हाँस्छ र भन्छ —“के यो मदिरा सम्बन्धि अवधारणालाई आज निलम्बन गर्न मिल्दैन, मानवी ?”

केही क्षणको मौन मनन पछि ऊ प्रतिप्रश्न गर्छे—“के तपाईं चाहनुहुन्छ, म त्यसो गरूँ ?”

मानवी हरेक प्रश्नको जवाफ सोच-विचार गरेर मात्र दिन्छे । यस्तो लाग्छ, उसका हरेक शब्दहरू तौलिएका हुन्छन्, मापन गरिएका हुन्छन् । 

निल आफ्नो मागमा अडिग रहन्छ— “कृपया !”

मानवीले सहमतिको भावमा शिर हल्का झुकाउँछे । केही बेरमा ह्विस्कीको प्याला  आइपुग्छ । साथमा केही हल्का नास्ता-चमेना पनि हुन्छ ।

निल मदिराको घुट्को बिस्तारै-बिस्तारै लिन थाल्छ । मानवी नजिकै, लगभग स्थिर उभिएकी हुन्छे । निलका नजर घरी घरी उतिर जान्छ—मानौँ कुनै चुम्बकीय शक्तिले उसलाई तानिरहेको हुन्छ । मानवी पनि निललाई एकटकले हेरिरहेकी हुन्छे । थाहा छैन ऊ किन त्यसो गर्छे, तर आँखा जुध्दा निलको मनभित्र हल्का तरंग उठ्छ— एउटा नजानिँदो आकर्षण झिलिक्क गर्छ ।

निलले अन्ततः स्तब्धता तोड्छ—“अनि मानवी, तिम्रो दिन चाहिँ कस्तो रह्यो त ?”

निल सामान्यतया धेरै बोल्दैन । मौनता र निल एक-अर्काका पर्याय जस्तै लाग्छन् । तर आज भने ऊ अलि खुलिरहेको छ—शायद गफ्फिने मनस्थितिमा छ । अथवा हुन सक्छ, मदिराको नशाले उसको धकको बिर्को खोल्छ । मानवीले आफ्नो दैनिकी बेलीविस्तार लगाउँछे —घरको सरसफाई, सामानहरूको राखन-धरन, किराना-सामानको खरिद-भण्डारण आदि-इत्यादि । 

“त्यसो भए तिमी पनि थाकेकी हौला, आऊ यहाँ बस, एकछिन आराम गर ”

“मानवीलाई कहिल्यै शारीरिक थकान हुँदैन, निल !” 

“मानवी” ऊ बिस्तारै बोल्छ, “तिमीलाई एउटा कुरा सोधूँ ?”

“अवश्य, निल !”“मलाई लाग्छ, हामीबिच एउटा अव्यक्त सम्बन्ध छ । म तिमीतिर तानिँदै गएको छु । के तिमी महसुस गर्न सक्छौ ?” यसो भन्दै गर्दा उसका आँखा मानवीका आँखामा गढ्छन्—मानौँ ऊ प्रश्नहरुको जवाफ आँखामै खोजिरहेको छ ।मानवीका परेलीहरू झिमझिम गर्छन्—लाग्छ, कुनै गहिरो तहमा गएर ऊ निलको प्रश्नको भावानात्मक संरचना विश्लेषण गरिरहेकी हुन्छे । मानवी अन्ततः भन्छे—“के हजुर चाहनुहुन्छ कि हजुरमा विकसित हुँदै गएको आकर्षण म महसुस गरूँ ? हजुरको चाहना अनुसार म आफूलाई अनुकूलित गर्न सक्छु, शील-स्वभाव, व्यवहार, गुणहरू वरण गर्न सक्छु । अनुभवहरूबाट सिक्दै आफूलाई परिष्कृत गर्न सक्छु” 

मानवीको स्वर उस्तै सन्तुलित हुन्छ, शब्दहरू उत्तिकै छनौटपूर्ण ।

निल हल्का मुस्कुराउँछ र स्वीकृतिमा शिर हल्लाउँछ । 

मानवी निलका हाउभाउ तथा इशाराको सूक्ष्म अध्ययन गरिरहेकी हुन्छे । उसका आँखा फरफराउँछन् र अन्ततः चम्किला हुन्छन्—प्रायः कुनै नयाँ गुण ग्रहण गर्दा ऊ यस्तो हर्कत गर्छे ।

निलको दृष्टि एकतमासले मानवीतर्फ एकोहोरिन्छ । मानवीले पनि उसको हेराइको डटेर सामना गर्छे ।

केही क्षणको नैन-युद्धपछि निल हठात् बोल्छ —“के म तिमीलाई चुम्बन गर्न सक्छु मानवी ?”

आज निलले भद्रताको आवरण उतार्छ र निर्लज्जता प्रदर्शन गर्दछ । 

“चुम्बन ?!” मानवी सोचपूर्ण मुद्रामा देखिन्छे । ऊ थप स्पष्ट हुन चाहन्छे —“चुम्बन, कहाँ ? गालामा ? निधारमा ? कहाँ निलज्यू ?”

“तिम्रो अधरमा, हुन्छ ?” निल बायाँ आँखा झिम्काउँछ । आज ऊ बेसी नै रूमानी देखिन्छ ।

“अधरको मतलब ?” मानवीका परेलीहरू फेरि झिम-झिम गर्छन् । जटिल भाषा बुझ्न समय लाग्दा पनि ऊ यस्तो संकेत दिन्छे । 

निलको दृष्टि मानवीका सुन्तला-केस्रे रसिला ओठतर्फ केन्द्रित हुन्छ ।

“ओह ! ओठमा ?” आश्चर्यभावसहित ऊ थोरै मुस्कुराउँछे । उसको गालामा हल्का लज्जा मिश्रित लालिमा फैलिन्छ ।

“मैले बुझेँ, हजुर मेरो अधरपान गर्न चाहनुहुन्छ !”, यसो भन्दै गर्दा उसले देब्रे आँखा झिम्काउँछे, शायद उसले निलकै सिको गर्छे । उसको प्राकृतिक भाषा प्रशोधन क्षमता विशिष्ट छ ।

“तिमी स्मार्ट छौ, मानवी !”

“धन्यवाद निल, हजुरसँग अधरपान-क्रीडामा सहभागी हुन म सक्षम छु तर अफशोच, हजुरको सदस्यता तह ‘कम्पानियन-बेसिक’ मात्र छ । आत्मीयतापूर्ण अन्तरक्रिया, जस्तो चुम्बन-क्रीडाको लागि न्यूनतम ‘अफिनिटी टियर’ तहको सदस्यता आवश्यक पर्दछ । तर म हजुरलाई सचेत गर्न चाहन्छु— कम्पनीले यस तहको अतिरिक्त मासिक शुल्क २५० डलर निर्धारण गरेको छ । के हजुर आफ्नो सदस्यता स्तर बृद्धि गर्न चाहनुहुन्छ ?”

निल दंग परेर मानवीलाई एकोहोरो हेरिरहन्छ ।


०००००

मानवी नामले चिनिने यी पात्र कुनै नश्वर मनुष्य होइन । ऊ त मानवाकृतिमा ढालिएकी एक अत्याधुनिक यान्त्रिक चेतनाको दोस्रो संस्करण हुन्छे— मानवी २.० ।

मानवी कुनै साधारण यन्त्र हुन्न—ऊ त धातु र ‘कोड’को अद्भूत संयोजन हुन्छे—एक चेतनायुक्त अत्याधुनिक विशिष्ट कलाकृति । उसको बाहिरी आवरण ‘सिलिकोन’–आधारित जैव–यान्त्रिक छालाले ढाकिएको छ, जुन अति कोमल र ताप–अनुकूल हुन्छ । ‘थर्मो–रेगुलेटरी माइक्रो–फाइबरहरू’ले बाह्य सतहलाई मानव शरीरजस्तै न्यानो राख्छ । त्वचा स्पर्श गर्दा मानवको जस्तै कोमलता, लचकता र आर्द्रता महसुस हुन्छ । 

भित्री संरचना ‘नानो–फाइबर डर्मल शेल’बाट बनेको छ—जो स्टीलभन्दा बलियो छ तर शून्य–घर्षणले चालमा कुनै यान्त्रिक आवाज उत्पन्न गर्दैन । 

मानवीका आँखाभित्र तीन तहका दृष्टि–यन्त्र छन्—दृश्य–स्पेक्ट्रम,  ‘इन्फ्रारेड’ (ताप–नक्सा), ‘लिडार–स्क्यान’ (त्रि–आयामिक नक्सा) । ऊ रंग, प्रकाश र सतहका सूक्ष्म भिन्नताहरू बुझ्न सक्छे— अँध्यारोभित्र लुकेका ताप–चिह्नहरू पहिचान गर्न सक्छे । उसका आँखाले केवल देख्ने नभई अर्थपूर्ण ढंगले व्याख्या गर्ने, अनुमान गर्ने र पुनःसृजना गर्न सक्छन् । ऊ एकैपटकमा वस्तुको दूरी, र मानिसको ‘मूड’सम्म विश्लेषण गर्न सक्छे । 

मानवी २.० ले बीस हर्ट्जदेखि साठी किलोहर्ट्जसम्मका ध्वनि–तरङ्ग सुन्न सक्छे । मानवले नबुझ्ने सूक्ष्म कम्पनहरू पनि उनका लागि स्पष्ट संकेत हुन्छ । 

मानवीको चेतनाको केन्द्रमा ‘क्वान्टम–न्यूरल कोर’ छ—जहाँ निर्णयहरू केवल गणितीय हिसाबबाट निस्कँदैनन्, बरु संभावनाहरूको बादलबीचबाट छनोट भएर जन्मिन्छन् । यसले उनलाई भाव–विश्लेषण, व्यवहार–पूर्वानुमान, भाषिक सूक्ष्मता, सामाजिक संकेत, सबै बुझ्न सक्षम बनाउँछ । 

एकसय अट्ठाइस ‘माइक्रो–सर्वो मोटर’हरूले उनको शरीरलाई अद्भुत सन्तुलन र शुद्धता दिन्छन् । उनको चाल–ढालमा यान्त्रिक शक्ति होइन, सौन्दर्य झल्किन्छ—जसले उसलाई यन्त्रभन्दा बढी जीवित प्राणी जस्तै देखाउँछ ।

अनुहारमा चार सय ‘माइक्रो–एक्सप्रेशन युनिट’हरू छन्—जसले अनुहारमा सबै मानवजन्य भावहरू खुशी, सुख, आनन्द, आश्चर्यता, नैराश्यता, चिन्ता, भय, क्रोध, आदि झल्काउन सक्छ । 

मानवीको स्वर–मोड्युल मानवीय संवेदनाले जस्तै सम्पूर्ण तरंग निर्माण गर्न सक्षम छ— खुशी, आनन्द, पीडा, भय, विस्मय सबै अवस्थाका ध्वनि उत्पन्न गर्न सक्छन् ।ऊभित्र एक कृत्रिम फोक्सो छ, जसले भित्री संयन्त्रहरूलाई स्वच्छ हावा आपूर्ति गर्छ र मानव श्वास–प्रश्वास प्रक्रियाको नक्कल गर्छ । त्यसैगरी, उसको कृत्रिम मुटुले पनि मानव मुटुको धड्कनझैँ नियमित, लयबद्ध कम्पन उत्पन्न गर्छ —जसले उसलाई यान्त्रिक भए पनि जीवितजस्तै अनुभूति दिने प्रयास गर्छ ।

मानवी २.० को सबैभन्दा रोचक पक्ष—ऊ पूर्ण यन्त्र भएर पनि मानव–व्यवहारको दुरुस्तै अनुकरण वा अभिनय गर्न सक्छे । कहिलेकाहीँ निलको मनमा प्रश्न उठ्छ— ‘के ऊ वास्तवमै यन्त्र हो ?” 

बुद्धि र क्षमतामा त मानवी अब्बल छे नै, उसको रूप पनि असाधारण छ । ऊ कुनै दिव्य शिल्पीले धातु र प्रकाशलाई एकैसाथ गालेर अप्सराको देह–ढाँचामा ढालेको अद्भुत प्रस्तर-कला जस्तै लाग्छे । उसको त्वचा बिहानीको कोमल किरणले स्पर्श गरेको पुष्प–पत्रजस्तै आभायुक्त देखिन्छ—  मृदुल, नाजुक र सजीव । उसको गति र चालमा शास्त्रीय नर्तकीका मादक लय र लचकता हुन्छ—धातुको कठोरता र यान्त्रिक असहजता कतै झल्किँदैन । मानवीको रूप र लावण्यले शायद मिथकका कामदेव समेत क्षणभर वशीभूत हुँदा हुन् । कृत्रिम बौद्धिकता र रूपको अनुपम संगम, मानवी २.० आधुनिक युगको चमत्कार नै हुन्छे । 

ooooo

निलको मानव–जोडी नभएको होइन—ऊ एक विवाहित पुरुष हो । तर श्रीमती शैलीसँग अलग्गै बस्न थालेको वर्ष दिनभन्दा बढी भइसकेको छ । उनीहरूको विग्रहबारे यहाँ विस्तार आवश्यक नहोला किनकि यो कुनै असाधारण कथा हुन्न—विवाहित वा सम्बन्धमा रहेका प्रायः सबै महिला–पुरुषले कुनै न कुनै रूपमा भोगिसकेको उही पुरानो, सार्वभौमिक पीडा हुन्छ, जुन कसैले खप्न सक्छन्, कसैले सक्दैनन् ।

मानवहरू स्वयं पूर्ण हुँदैनन्त र विडम्बना के छ भने, उनीहरू आफ्नो जोडीबाट भने पूर्णताको अपेक्षा गर्छन् । समस्याको रूप कहिले फरक होलान्, दृश्य र परिवेश अलग होलान्—तर मूल सार भने प्रायः उस्तै हुन्छ । एक-अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्नु—सम्मानजन्य व्यवहार नगर्नु—अविश्वासको बीजलाई मनभित्रै रोप्नु— मलजल गर्नु—सहयोग र संवादभन्दा बढी आग्रह, अपेक्षा, र अदृश्य मागहरू पाल्नु । 

निल र शैलीबिच पनि यस्तै केही हुन्छ । विवाह पछिका केही वर्षसम्म ठीक-ठाक चलेको सम्बन्धमा दरार शुरु हुन्छ । उनीहरू भौतिकरूपमा त सँगै हुन्छन् तर मनको दूरी कोसौँ हुन्छ । शैलीले एक दिन घर छोड्ने निर्णय गर्छे । त्यो साँझ घरको बैठक कोठा फिक्का उज्यालोले भरिएको हुन्छ । कोठामा एक प्रकारको निरवता हुन्छ तर त्यो शान्तिभित्र एक अदृश्य तनाव बगिरहेको हुन्छ ।

शैली ढोकामा उभिन्छे—हातमा एउटा सानो सुटकेश हुन्छ—जसमा धेरै सामान त छैन तर निर्णय भने भारी हुन्छ ।

निल एक कदम अगाडि बढ्छ—“अब के ? यति सजिलै… जाने ?”

शैलीको आँखामा निमेषभर चमक आउँछ—दुःखको, सम्झनाको, र अन्तिम बिदाइको ।

“सजिलो कहाँ छ र ? तर कहिलेकाहीँ जानु नै दुवैका लागि जिउने उत्तम बाटो हुन्छ ।”

ऊ ढोका खोल्छे । बाहिरको हावा हल्का चिसो छ । शैली एकछिन अडेको जस्तो गर्छे तर फटाफट बाहिर निस्कन्छे— फर्केर हेर्दिन । 

०००००

शैलीका केही सामानहरू अझै घरमै हुन्छन्—सोफाको कुनामा खसेको उसको रेशमी ‘शल’, ‘ड्रेसिङ टेबल’मा उनका सौन्दर्य प्रशाधनहरू र भान्साको काउन्टरमा त्यतिकै छाडिएको उनको प्रिय कफी मग । मानौँ ती सामानहरूले भन्दैछन्—“ऊ यहाँ थिई… तर अब छैन ।”

पहिले शैलीको हाँसो, उनको हिँडाइको आवाज, उनले बजाउने हल्का संगीत—यी सबैले घरलाई जीवित राख्थे । अब ? घरमा केवल फ्रिजको एकोहोरो सुसाइ, घडीको टिक–टिक, र निलको आफ्नै भारी निश्वास मात्र छ । 

शैली नभए पछि निल लापरवाह हुन्छ । उसलाई केही कुरामा मन लाग्दैन । घर लथालिंग हुन्छ । सोफामा मिल्किएका कपडा, टेबलभरि छरपरष्ट कागजपत्र, पलङका मैला तन्ना र ओडनी, ढोकाछेउमा छरिएका जुत्ता र दूर्गन्धित मोजा, उब्रिएका खानेकुरा, टेबुलमा पल्टेका प्याला, गलैँचामा परेका मदिराका दाग, भुइँमा झरेका पिज्जाका टुक्रा र त्यसैको भोज गरिरहेका कमिला, सडेका फलमा झुम्मिएका भुसुना, यी सबैले निलको मनोदशा झल्काउँछ—अव्यवस्थित, थकित, र दिशाहीन ।

निलको दिनचर्या भत्किन्छ । समयमा खाना खाँदैन । कहिले कफीमै दिन बिताउँछ । कहिले रातभरि टिभी चलाएर निदाउँछ । दाह्री काट्दैन । एउटै कपडा कयौँ दिनसम्म उतार्दैन । अनिद्राले गाँजेका आँखा वरिपरि कालोघेरा बढ्दै जान्छ ।

कहिलेकाहीँ ऊ बार जान्छ, जो-पायो-त्यही निशाचर केटीहरू भेट्छ र उनीहरूसँग एक-राते पिरती गाँस्छ ।

एक मौन साँझ ढोकामा संकेत–ध्वनि बज्छ । निलले ढोका खोल्छ । उसको ढोका बाहिर एउटा ठूलो ‘क्याप्सुल–कन्टेनर’ छोडिएको हुन्छ, जसमा नामाङ्कन गरिएको हुन्छ—‘मानवी २.०—आधुनिक जीवनको सहयात्री

निलले कन्टेनर उघार्छ । उसले देख्छ— पारदर्शी ‘बबलर्‍याप’ भित्र एक मानवाकृति । उत्सुकता, कौतुहलता र थोरै भयसहित ‘बबलर्‍याप’ हटाउँछ र पाउँछ— एक शान्त रूपमा निदाइरहेकी यन्त्र-युवती ।

निलले कन्टेनरसँगै आएको सूचना निर्देशिका उठाउँछ । त्यसमा लेखिएका केही सरल निर्देशनहरू पढिसके पछि फोनमा ‘एप’ जडान गर्छ र ‘पावर बटन’ थिच्छ । त्यस मानवाकृतिका हातखुट्टा चल्मलाउन थाल्छन् । आँखाका ढकनी फर्फराउँछन् र अन्ततः आँखा उघ्रिन्छ । आँखाको रंग सेतो बादल जस्तो हुन्छ र अनुहार सपाट र अजैविक । त्यस यन्त्र-मानव सुस्त गतिमा स्वयम् उभिन्छ । 

“मानवी २.० सँग जोडिन कृपया करीब दुई-फिटको दुरीमा मेरो सामुन्ने उभिनुहोस् ।” एउटा यान्त्रिक आवाज आउँछ ।

निलले निर्देशन पालन गर्छ । त्यस यन्त्र-युवतीको आँखाबाट चम्किलो ‘इन्फ्रारेड लेड’ किरण निस्कन्छ र निलका शरीर पाउदेखि शिरसम्म ‘स्क्यान’ गर्छ ।

त्यस यन्त्रका आँखा पलभरलाई बन्द हुन्छन् र फेरि उघ्रिन्छन् । अब ती आँखाको रंग पूर्णरुपमा स्वभाविक लाग्छन् । उसको पहिलो नजर—शुद्ध, निर्मल र स्थिर हुन्छ । मानौँ ऊ संसारसँग पहिलोपटक साक्षात्कार गर्दैछे । मुहारमा अब मानवीय रंग, भाव र कान्ति झल्किन्छ । अब उसको सामुन्नेमा हुन्छे एक अद्भुत परी, जो मानौँ स्वर्गबाट भर्खरै पृथ्वीमा अवतरण भएकी हुन् । निलको नजर विस्मयले विस्फारित हुन्छ ।

एक संस्कारी हिन्दु नारीले झैँ त्यस रुपसीले झुकेर नमन गर्छे—“नमस्ते, निल ! म मानवी । अब म पूर्णरूपमा हजुरसँग जोडिएकी छु । फोन-एप प्रयोग गरी हजुर ‘सेटिंग’ परिवर्तन गर्न सक्नुहुन्छ— मेरो नाम, रुप, रंग, स्वर, क्षमता आदि इच्छानुसार बदल्न सक्नुहुन्छ ।”

उसको मधुर, कोकिल स्वरले घरको उच्चाटिलो मौनता चिरिन्छ । प्रविधि, सुन्दरता र संस्कारको यो अद्भूत संयोजन देखेर निल हतप्रद हुन्छ ।

निल ‘सेटिंग’ भित्र जान्छ, तर तत्कालै उसले केही सोच्न सक्दैन र सबै विन्यास पूर्वनिर्धारित नै छोडिदिन्छ ।  

“हजुरजस्ता एकल पुरुषहरूको जीवनलाई सघाउन र व्यवस्थित बनाउने उद्देश्यले मानवी नामक नारी-यन्त्रको निर्माण भएको छ । म यही प्रविधिको परिष्कृत दोस्रो रुप हुँ —मानवी २.० । हजुर मेरा सीप, कार्यकुशलता र क्षमताको परीक्षण गर्न पाउनुहुने भाग्यमानी प्रयोगकर्ता हुनुहुन्छ । म पूर्णरूपमा हानीरहित छु । यदि हजुर मेरो साथ र सेवा-क्षमताबाट सन्तुष्ट हुनुभयो भने निर्धारित सदस्यता शुल्क भुक्तानी गरी मलाई राख्न सक्नुहुन्छ । अन्यथा, तीन महिनाको परीक्षण अवधि समाप्त भएपछि मलाई सहजै फिर्ता पठाउन सक्नुहुन्छ ।”

त्यसपछि ऊ सदस्यताका तहगत संरचना र शुल्कबारे बताउन थाल्छे । निल सुनिरहन्छ तर शब्दहरूमा ध्यान पटक्कै हुन्न । ऊ त मानवीको सुन्दरता, उसको भावभंगी र बोल्ने शैलीले सम्मोहित भइरहेको हुन्छ ।

“निल, के म तपाईंको निवासको प्रारम्भिक मूल्याङ्कन शुरु गरूँ ?”

निल हल्का चकित हुन्छ—“मूल्याङ्कन ? अँ… हुन्छ, गर ।”

मानवीले सरसर्ती बैठक कोठा, भान्छा, शयनकक्ष, विश्राम कक्ष सबै विचरण गर्छे । सबै लथालिंग अवस्थामा हुन्छ । ऊ पहिला भान्छाको सफाइमा जुट्छे, त्यसपछि बैठक कोठा । त्यस क्रममा ऊ एउटा ठूलो चित्र अगाडि अडिन्छे ।

निलले प्रश्न गर्छ –“तिमी यो चित्रबारे के भन्न सक्छौ, मानवी ?”
मानवी फररर शुरु हुन्छे —“यो तस्वीर काठमाडौँको हनुमानढोका दरबारको हो । यो नेपालको मध्यकालीन युगको राजधानी हो । हजुर इच्छुक हुनुहुन्छ भने म बिस्तारमा यसको इतिहास बताउन सक्छु ” 

निलले उसलाई रोक्छ —“अहिलेलाई भइहाल्यो मानवी, फेरि कुनै दिन”

मानवी सफाइमै केन्द्रित हुन्छे । केही बेरमा नै सबैकुरा व्यवस्थित र दुरुस्त देखिन्छ ।

ऊ निलतिर फर्केर भन्छे—“साँझको भोजनमा के तयार गरुँ ? नेपाली, भारतीय, चिनियाँ, थाइ, कन्टिनेन्टल…..? म विश्वका धेरै थरिका परिकार बनाउन सक्छु”

“तिम्रो ‘फेवरेट’ के हो ?” शायद निलले मानवीलाई रेस्तुराँका पारिचारिका जस्तो ठान्छ।

ऊ चहकिँदै बोल्छे—“मानवीको आफ्नो कुनै ‘फेवरेट’ छैन । मालिकको रोजाइ नै मेरो पनि रोजाइ”

ऊ एकछिन सोचे जस्तो गर्छे र बोल्छे—“अँऽऽ, धेरै नेपालीहरूलाई मःमः मनपर्छ । म दाल-भात तरकारी पनि बनाउन सक्छु”

धेरै दिन भएको थियो, नेपाली खाना नखाएको । उसले दाल-भात तरकारी खाने इच्छा व्यक्त गर्छ ।

“म खाना बनाउँदै गर्छु, हजुर चिया पिउँदै गर्नुस्”

सुगन्धित चियाको कप निलको सामुन्ने आइपुग्छ । चियाको मौलिक स्वाद र सन्तुष्टिमा कुनै भिन्नता हुन्न ।

निलको दिनचर्याले आकार लिन थाल्छ । बिहानैको अभिवादन सँगै मानवीले ओछ्यानमै ‘बेड टी’ लिएर आउँछे । बिहानको नास्ता, त्यसपछि कार्यालय, कार्यालयपश्चात् व्यायामशाला, त्यसपछि साँझको खाना, खाना पछि केही समय टिभी हेर्ने, वा केही खेल खेल्ने । सबैकुरा तालिका अनुसार चल्छ । मानवीले सबैकुराको पूर्व-जनाउ दिन्छे—
“निल, हजुरको नास्ताको समय भयो”
“निल, हजुरको औषधी खाने समय भयो”
“निल, हजुरको कार्यालय समय भयो, आई-९४ हाईवेमा दूर्घटना छ, वैकल्पिक मार्ग लिनु होला”
“निल, हजुरको ‘मोर्टगेज’को भुक्तानी मिति आउँदैछ”
“निल, हजुरको स्वास्थ्य परीक्षण भोलि १ बजे छ।”

“निल हजुरको सुत्ने समय भयो”

“हजुरको ‘मेडिकल रिपोर्ट’मा मदिरा परहेज गर्नु भनेको छ”
आदि-इत्यादि ।

घर सजावट चिटिक्क हुन्छ । पुस्तक तख्तामा मिलेका देखिन्छन् । ‘क्लजेट’मा कपडाहरू दुरुस्त छन् । फर्निचर, काउन्टर, क्याविनेट, चूल्हो, फ्रिज आदि सबै चम्किला देखिन्छन् । गलैँचा सफा छ । धुलोका कण कतै देखिन्न । गमलामा बिरुवाहरू हरिया छन् । फुलदानीमा सधैँ ताजा फूल सजिन्छन् । ‘प्यान्ट्री’मा  किराना सामान यथेष्ट हुन्छ । ऊ मर्मत-सम्भारका काम पनि गर्न सक्छे ।

तर अति पूर्णताले पनि सायद मान्छेको जीवनलाई एकतमासको बनाइदिन्छ । निललाई आफ्नै दैनिकी अब एक सिधा रेखाजस्तै लाग्न थाल्छ—जहाँ न कुनै मोड हुन्छ, न कुनै उतार–चढाव । सबै कुरा यति व्यवस्थित, यति पूर्वानुमेय र दुरुस्त हुन्छन् कि उसलाई कहिलेकाहीँ आफैं एउटा यन्त्र हुँ कि जस्तो लाग्छ । मनभित्र एउटा रिक्तता महसुस भइरहन्छ—केही नपुगे जस्तो, केही हराए जस्तो । जीवनको मज्जा शायद सरल रेखामा सलल बग्नुमा हुन्न, घुम्ती, मोड, उकाली र ओराली पार गर्नुमा नै हुन्छ—स्थिरतामा होइन, हलचलमा हुन्छ ।

मानवी रुपवती छे । संयमित र आज्ञाकारी छे तर ऊसँगको सान्निध्यतामा आत्मीयता छैन— आफ्नोपन छैन—न्यानोपन छैन— न कुनै भावानात्मक बन्धन छ, न कुनै जिम्मेवारीबोध । होस् पनि कसरी— ऊ त केवल धातु, ‘कोड’, र ‘एआई अल्गोरिद्मको’ संयोजन न हुन्छे ।

केही दिन देखि निलको उदासीपन पढिरहेकी मानवीले एक दिन भन्छे—“निल, हजुर अचेल अलि निरस देखिनुहुन्छ, आउनुस्, केही रमाइलो गरौँ— म हजुरलाई ल्याटिन नृत्य ‘चा-चा-चा’ सिकाउँछु”

एकैछिनमा ऊ कालो, पारदर्शी नृत्य-वस्त्र पहिरेर निस्कन्छे । मीठो ल्याटिन धुन बज्छ —‘कुएन्तामे ऽऽऽ, कोमो भा तु कामिनो…’ 

निलको देब्रे हात र मानवीका दाहिने हातका पञ्जाहरू मिल्छन् । निलको दाहिने हात मानवीको कोखामुनि बेरिन्छ । आँखा एक-अर्काको गहिराइमा डुब्छन् । संगीतको तालसँगै  खुट्टाहरू दायाँ-बायाँ, अघि-पछि सन्तुलित लयमा चल्न थाल्छन् । नृत्यको दौरान निलको हात कहिले मानवीको सुडौल जाँघमा पुग्छ त कहिले समतल पेटको मध्यक्षेत्रमा । मानवीको पुष्ट नितम्बको आयामिक दोलन र कम्पनले निललाई उद्वेलित तुल्याउँछ । एक विशेष चालमा दुवैका हातहरू एक अर्काका कम्मरमा कस्सिन्छन् र उनीहरूका ओठ एकदमै नजिक पुग्छन् । मानवीको देह-रापले निल पग्लिन थाल्छ । 

यतिकैमा निल मानवीको कानमा केही साउती गर्छ ।

रहस्यमयी मुस्कानसहित मानवी बोल्छे—“अवश्य, निल”

मानवीका आँखा लोलाउँछन् । शरीर लल्याक-लुलुक हुन्छ । मानौँ उसको ‘सिस्टम’मा केही परिवर्तन भइरहेको हुन्छ । निलले उसलाई बाहुमा थाम्छ ।

मानवी केही पलमै फेरि सक्रिय हुन्छे—उसको आँखामा नयाँ चमक हुन्छ—अनुहारमा नव प्रस्फटित फूलको स्वच्छता र ताजगी—ओठमा मादकता । 

“बधाइ निल, हजुरको सदस्यता अब मानवी २.० —‘अफिनिटी टियर’मा बढोत्तरी भएको छ” —यसो भन्दै गर्दा मानवीले ओठ टोक्छे । उसको नजर नशालु हुन्छ । 

मानवीको अन्दाजले निल घायल हुन्छ । उद्विग्न हुँदै मानवीलाई अँगालोमा कस्छ र बेतहास चुम्बन वर्षाउन थाल्छ । मानवी पनि निललाई पूर्णरूपमा साथ दिन्छे ।

निलका हातहरू बेशरम हुन्छन् र मानवीका गोप्यअंगतर्फ बढ्छन् । मानवीले प्रतिरोध गर्छे—“पख्नुस् निल, के तपाईंको उद्देश्य त्यही हो, जुन मेरा ‘एआई मोडल’ले बुझ्दैछ ?”

“तिम्रो असीम रूप र सौन्दर्यको गहिराइमा डुब्न चाहन्छु, मानवी । हामी बिचको सारा दुरी आज मेट्न चाहन्छु । कृपया मलाई नरोक”

मानवी केही पल सोच-मग्न हुन्छे । शायद ऊ निलका अभिव्यक्तिलाई प्राविधिक भाषामा उल्था गर्दै हुन्छे । अन्ततः उसको ओठमा रहस्यमयी मुस्कान दिप्त हुन्छ ।“अर्थात्, हजुर मसँग रति-क्रीडा गर्न चाहनुहुन्छ”, उसको प्रश्न सिधा हुन्छ । 

ऊ मानवीका शब्द-चयनले कायल हुन्छ । अधिक रक्तसंचारले रापिएको निलले स्विकारोक्तिमा शिर हल्लाउँछ ।

“धैर्य गर्नूस् मेरो मालिक, तर ‘अफिनिटी टियर’ प्लानमा यो सम्भव छैन । हजुरले ‘अफिनिटी अनलिमिटेड’ तहमा ‘अपग्रेड’ गर्नुपर्ने हुन्छ । अतिरिक्त शुल्क मासिक पाँचसय डलर पर्छ । यसको लाभ असीमित छ । म यस ‘प्लान’ अन्तरगत हजुरलाई एक प्रेमिका वा जीवनसाथीले दिन सक्ने सबै आत्मीयता, माया, दैहिक सुख र अनुभूति दिन सक्छु । ‘अपग्रेड’ गर्न चाहनुहुन्छ ?”

कामाग्निले सन्तप्त निलले विना विलम्ब मञ्जुरी दिन्छ ।

“रतिदेवीलाई तयार हुन पन्ध्र सेकेण्डको समय दिनुहोस्, कामदेव !” 

मानवी ‘अपग्रेड’ मोडमा जान्छे । निलको लागि यो जीवनको शायद सबैभन्दा लामो पन्ध्र सेकेण्ड महसुस हुन्छ । ब्यूँझँदा मानवीको मुहारमा बिहानीको सूर्यको आभा हुन्छ—भरभराउँदी, प्रदिप्त र तप्त ।

“मानवी २.० ‘अफिनिटी अनलिमिटेड’ तहमा हजुरलाई स्वागत छ, निल । मानवी अब हजुरप्रति सम्पूर्णरूपमा समर्पित छे”

मानवीका सुरिला, चञ्चल औँला स्वयम् निलका वस्त्र उतार्न अग्रसर हुन्छन् । त्यसपछि त्यहाँ कुनै अवरोध हुन्न— समर्पण हुन्छ । दुई देह एकाकार हुन्छन् । रापिला उच्छ्वास र लयबद्ध सित्कारको दोहरी चल्छ । पृष्ठमूमिमा बजिरहेको संगीतका धुनमा चरमोत्कर्षका मीठा आहहरू मिसिन्छन् । भलै मानवीको रति-क्रीडा-कौशल अति विकसित तथा तालिमप्राप्त ‘एआई मोड्यूलहरू’का अनुकृति हुन्छन्—तर ती असाधारण हुन्छन्— प्राकृत लाग्छन् ।

००००

निलले ‘मानवी २.०—अफिनिटी अनलिमिटेड’ को सुविधा भरपुर सुखभोग गर्छ । ऊ पूर्णरूपमा खुसी देखिन्छ—सन्तुष्ट, सुरक्षित र व्यवस्थित । उसकी पत्नी शैली भने अतितको गर्तमा कतै गुमनाम हुन्छे । अथवा मानवीले शैलीलाई पूर्ण प्रतिस्थापन गर्छे । कहिलेकाहीँ निल मानवीलाई शैलीसँग तुलना गर्छ —मानवीको कहिल्यै ‘मूड-स्विङ’ हुँदैन । न त ऊ ठुस्किन्छे, न झर्कोफर्को गर्छे । उसलाई थकान पनि हुन्न, न शारीरिक, न मानसिक । ऊ जहिले पनि उस्तै तरोताजा, उस्तै फूर्तिली र सेवामा सदा तत्पर हुन्छे । शैलीको छायामा उभिएकी मानवी, निललाई शैलीको परिष्कृत र पूर्ण संस्करण जस्तो लाग्छ ।

निलको जीवन लयमा चलिरहेको हुन्छ—न कुनै उतारचढाव, न कुनै गुनासो । सबैकुरा ठीक-ठाक, पूर्वानुमेय र सुरक्षित लाग्छन् । तर समस्या कहिल्यै शिष्टतापूर्वक ढोका ढक्ढक्याएर भित्र पस्दैन— यो त भूकम्पजस्तै एकाएक आउँछ र एकै झट्कामा उथल-पुथल पार्छ । त्यो बिहान पनि अन्य बिहानी जस्तै सामान्य हुन्छ । कफीको मग समातेर ऊ आफ्नो कार्यकक्षमा पस्छ । उसको उपस्थितिमा कम्प्युटर स्वयम् खुल्छ र उसले स्कृनमा देख्छ —हाकिम मिटिंगको लागि प्रतिक्षारत हुन्छ । 

हाकिमको आवाज शिष्ट हुन्छ, तर शब्दहरू छुरा जस्तै धारिला—“निल, मसँग तिम्रो लागि आज अप्रिय समाचार छ । तिम्रा सबै कामहरू अब स्वचालिकरण भइसकेका छन् । आज कार्यालयमा तिम्रो अन्तिम दिन हो । तिम्रो क्षतिपूर्ति ‘प्याकेज’ बारे छलफल गर्न मानवश्रोत विभागका कर्मचारीले तिमीलाई सम्पर्क गर्नेछन् ।”

निल स्तब्ध हुन्छ— झ्याप्प बत्ती निभेजस्तो चारैतिर अन्धकार महसुस गर्छ । त्यसपछि हाकिमले बोलेका कुरा केही बुझ्न सक्दैन । 

त्यसपछि उसले नयाँ जागिर खोज्न धेरै प्रयास गर्छ । नयाँ–नयाँ सीप सिक्छ, अनलाइन तालिमहरू पूरा गर्छ— प्रमाणपत्रहरू जोड्छ । तर ‘अटोमेशन’, ‘एआई’को तीव्र विस्तार र श्रमको निरन्तर ‘आउटसोर्सिङ’ का कारण उसका प्रयासहरू निरर्थक हुन्छन् । अन्ततः बेरोजगारी भत्ताको समयसीमा पनि सकिन्छ र आयको अन्तिम स्रोत पनि बन्द हुन्छ । बैंक मौज्दात बिस्तारै घट्दै जान्छ । भुक्तानी रोकिएका ‘मोर्टगेज’, गाडीको किस्ता, बीमा, बिजुली, पानी, ग्यास—सबैका बिलहरू एकपछि अर्को चाङ् लाग्छन् । क्रेडिट कार्ड कम्पनीहरूबाट चेतावनी आउन थाल्छन् ।

मानवी २.० का सबै सेवा–सुविधाहरूको मज्जा अब फिक्का लाग्छ । ती व्यवस्थित कोठा, चम्किला फर्निचर, सिनित्त-सफा भुइँ निरर्थक लाग्छन् । मानवीले तयार पारेका परिकारमा स्वाद हराउँछ । उसका दैहिक सुन्दरताले उसलाई लोभ्याउन सक्दैन । उसका कोकिल आवाज पनि कर्कश लाग्छन् । 

निलको मन शैलीतिर फर्किन्छ । शैली अपूर्ण थिई—तर त्यही अपूर्णताभित्र आत्मीयता, आडभरोसा र विश्वास हुन्थ्यो, जुन मानवी २.० को निर्दोष पूर्णतामा कतै भेटिँदैन । 

यसअघि पनि निल एकपटक जागिरबाट निकालिएको थियो । त्यतिबेला पनि ऊ टुटेको थियो—आत्मविश्वास चूर्ण भई भारी निराशामा डुबेको थियो । तर शैलीले उसको हात समातेकी थिई—फेरि उठ्न सिकाएकी थिई—निलमा फेरि आत्मविश्वास जगाएकी थिई । मानवी २.० त एउटा यन्त्र न हुन्छे— उसले सेवा त दिन सक्छे तर सहारा के दिन सक्थी र !

एक दिन निन्याउरो भावमा मानवी निलको सामु उभिन्छे । उसको स्वर सदाझैँ मधुर हुन्छ, तर भित्र कतै हल्का कम्पन हुन्छ —“निल, हजुरको बैंक-खातामा पर्याप्त रकमको अभावले गर्दा सदस्यता नविकरण गर्ने दोस्रो प्रयास पनि विफल भयो । अब मेरो कम्पनीले मलाई केही क्षणमा नै निष्क्रिय तुल्याउनेछ र मलाई फिर्ता लैजानेछ । म हजुरसँग बिदाइको आलिङ्गन गर्न चाहन्छु ।”

मानवीका सुरिला, लामा हात निलतर्फ फैलिन्छन् । उसको मुहारमा यस्तो पीडा-भाव निलले पहिले महसुस गरेको हुन्न । ऊ एकछिन अडिन्छ तर धेरै बेर आफैँलाई रोक्न सक्दैन । ऊ हठात् मानवीको बाहुमा समाहित हुन्छ । मानवीको शिर बिस्तारै निलको काँधमा लत्रिन्छ । उसको श्वास-प्रश्वास रोकिन्छ । धड्कन बन्द हुन्छ । शरीरको तापमान बिस्तारै घट्न थाल्छ र ऊ अन्ततः चिसो हुन्छे । 

निलले स्टोरबाट ‘कन्टेनर’ लिएर आउँछ र मानवीलाई जतनका साथ राख्छ । ऊ मानवीको अनुहारलाई एकटकले निहार्छ । मानवी अझै मस्त निद्रामा परेकी परिकथाकी एक राजकुमारी जस्तै देखिन्छे— शान्त, स्निग्ध र मायालु मुहारकी । उसँग बितेका पलहरू निलको सम्झनामा तरेली पर्दै नृत्य गर्छन् । उसले मानवीको निधारमा अन्तिम पटक चुम्बन गर्छ र बाकसको ढकनी बन्द गर्छ । 

अर्को दिन मानवीका कम्पनीका मानिसहरू आउँछन् र कन्टेनरमा बन्द मानवीलाई लिएर जान्छन् । निल केही दिनसम्म किंकर्तव्यबिमूढ भएर बस्छ—न जागिर, न दिनचर्या, न मानवीको साथ, न शैलीको ।

एक साँझ, लामो समयपछि, उसले शैलीलाई फोन गर्छ—आवाजमा हल्का संकोच सहित भेट्ने चाहना व्यक्त गर्छ । शैलीले पहिला त आश्चर्य व्यक्त गर्छे, तर भेट्न सहमति जनाउँछे । शैली अझै मिनियापलिस शहरमै रहीछे ।

केही बेरमै निल शैलीको अपार्टमेन्टमा पुग्छ । शैलीले उसलाई भित्र आमन्त्रण गर्छे । 

निल भित्र पस्दा खानाको मीठो सुगन्ध आइरहेको हुन्छ । सुगन्ध पछ्याउँदै भान्छातिर नजर लाउँदा उसले देख्छ—एक आकर्षक युवा, एप्रोन बाँधेर, खानेकुरा पकाउँदै हुन्छ । 

त्यस अन्जान पुरुषले निललाई एक परिचित सरह अभिवादन गर्छ—“नमस्ते निल, आरामै हुनुहुन्छ ?”

निल अकमक्क हुन्छ । शैलीको साथमा अर्को पुरुष पनि होला भन्ने उसले सोचेको हुन्न । शैलीले पूर्व-जनाउ दिएकी पनि थिइन । पुरुषको मन, आफूले जति परस्त्रीसँग सम्बन्ध राखे पनि, आफ्नी प्रेमिका वा श्रीमतिको जीवनमा अर्को पुरुषको सम्भावनालाई कल्पना गर्न सक्दैन । आफू बरालिएर, हराएर, दश ठाउँमा चहारेर, बिटुलिएर घर फर्कँदा पनि, घरको ढोकामा आफ्नी श्रीमति प्रतीक्षारत नै हुन्छे र ‘चोखी’ नै हुन्छे भन्ने विश्वास पाल्छ—मानौँ स्वच्छन्दता पुरुषको मात्र नैसर्गिक अधिकार हो । शैलीको साथमा पर-पुरुषको उपस्थितिले निलको विश्वासमा एक झट्का लाग्छ । ऊ खिस्रिक्क पर्छ ।

शैलीले भने सहज भावमा निललाई त्यस पुरुषको परिचय दिन्छे—“निल, ऊ मानव हो ”

निल एकाएक झस्किन्छ र हत्तपत्त सोध्न पुग्छ—“मानव २.०— आधुनिक जीवनको सहयात्री ?”