विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गर्ने घोषणा गरिएका विभिन्न साहित्यिक पुरस्कारहरू नेपाली साहित्यका विविध विधा र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएकाे चार जना स्रष्टालाई एक विशेष समारोहबीच पुरस्कार समर्पण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपाने, विशेष अतिथि प्राज्ञ विवश पोखरेल, साहित्यकारहरू बलराम पोखरेल, प्राध्यापक कविराज न्यौपाने, सरला चापागाईं, प्राज्ञ गंगा सुवेदी, पुरस्कार दाताहरू तथा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतका अग्रज स्रष्टाहरूले संयुक्त रूपमा पुरस्कार समर्पण गर्नुभएको थियो।
यस वर्ष नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रु. १५ हजार) नेपाली साहित्य, समालोचना, अनुवाद तथा प्राज्ञिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका बहुआयामिक व्यक्तित्व प्रा. डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ। त्यस्तै, नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु. १५ हजार) नेपाली कविता, समालोचना, बालसाहित्य तथा अनुसन्धान क्षेत्रमा निरन्तर सक्रिय रहँदै साहित्यको श्रीवृद्धि र प्रवर्द्धनमा योगदान पुर्याउनुभएकी साहित्यकार प्राज्ञ डा. कौशिला रिसाललाई अर्पण गरिएको छ।
छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु. ११ हजार) पाँच दशकभन्दा लामो समयदेखि लेखन, सम्पादन तथा संस्थागत नेतृत्वमार्फत नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्याउनुभएकाे साहित्यकार मधु पोखरेललाई प्रदान गरिएको छ भने माधव–नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) नेपाली मुक्तक साहित्यका समर्पित साधक शिव अधिकारी (इलामे जेठो) लाई समर्पण गरिएको छ।
कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व तथा कृतित्वबारे कविहरू विन्दु दाहाल ‘मुकदर्शक’, नानुमैया दाहाल, गोपाल निर्भिक र लक्ष्मी पोखरेलले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपानेले यस्ता कार्यक्रमहरूले नेपाली साहित्यको उन्नयन र विकासमा दरिलो खम्बाका रूपमा काम गर्ने बताउनुभयो। त्यस्तै, प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलले मुक्तकको अनुसन्धानात्मक विकासका लागि अन्य साहित्यिक विधासरह समान तहमा मुक्तकको अध्ययन, चिन्तन, मनन र गहन छलफल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रम प्रतिष्ठानका सचिव मदन भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो भने कोशी प्रदेशका साहित्यकार तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१८ माघ २०८२, आईतवार 





