शहरमा साँझ ढलिसकेको थियो ।

क्याफेको झ्यालबाहिर बत्तीहरू बल्न थाले तर उसको मन अझै उज्यालो खोजिरहेको थियो ।

त्यही बेला नूर भित्र पस्छिन्—सधैँझैँ मुस्कुराउँदै ।

ऊ: “तिमीलाई भेट्दा लाग्छ, जीवन साँच्चिकै बाँच्न मिल्छ ।”

नूर (नरम स्वरमा): “तर हरेक भेट सदैवका लागि हुँदैन ।”

उनको आँखामा पहिलोपटक उदासी टल्कियो ।

उसले नजिकै बसेर सोध्यो—

ऊ: “के कुरा हो नूर ? तिमी आज अलि फरक देखिन्छौ ।”

नूर: “म यात्रामा जाँदैछु… धेरै टाढा र यो बाटोबाट म कहिल्यै फर्कन सक्दिनँ ।”

उनको स्वरमा एक किसिमको अन्तिमता र आत्मीयता थियो ।

ऊ स्तब्ध रह्यो—

शब्दले साथ दिएन, आँसुले मात्र बाटो खोजे ।

नूर उठिन्, आफ्नो झोला समातिन् ।

अन्तिमपटक हेरिन्—

नयनमा सागर, मुस्कानमा पीडा र स्वरमा शीतलता ।

नूर: “स्मरण रहोस्… उज्यालो कहिल्यै हराउँदैन ।  तर म—अब तिम्रो जीवनको उज्यालो रहन सक्दिनँ ।”

त्यसपछि ढोका बन्द भयो ।

क्याफे सुनसान भयो ।

र ऊ—जीवनभरको अँध्यारोभित्र छोडियो ।

नूर अब केवल नाम मात्र रहिन्,

तर उसको आत्मामा अनन्त घाउ बनेर ।

उज्यालो खोज्ने उसका आँखामा

अब सधैँ आँसु मात्र टल्किरह्यो ।