कास्कीको पोखरा महानगरपालिकामा जन्मिएका गजलकार मीनराज बास्तोला बिगत एक दशकदेखि जापानमा सङ्घर्षरत् छन् । फेवाताल र बेगनास तालका किनारहरूमा गजलका शेरहरू मिसाउँदै हिंड्ने बास्तोला उच्च शिक्षासँगै कर्म गर्न जापान प्रवेश गरेका हुन् । जापानको व्यस्ततामा पनि उनको गजलप्रतिको रुचि र लगावमा कमी आएको छैन । त्यही लगावले उनलाई टोकियोमा भइरहने नेपाली साहित्यका कार्यक्रमहरूमा डोराइरहन्छ ।
गजलकार मीनराज बास्तोला सामाजिक रूपमा सचेत छन् । समाजको यथार्थ धरातलमा टेकेर श्रमजीवी वर्गप्रति गहिरो सहानुभूति राख्दछन् । प्रेम, वर्गभेद, वर्तमान समयको राजनीति र मानवीय मूल्यहरू उनका गजलका केन्द्रीय सरोकारका विषयहरू हुन् । सरल र सरस शैलीमा समाजको गहिराइमा पुग्नु, विद्यमान विकृतिप्रति व्यंग्य गर्नु र वर्गीय तथा सामाजिक असमानतालाई प्रश्न गर्नु उनको काव्यगत विशेषता नै हो । आजको मुगलानी चराको शृङ्खला १० मा हामी गजलकार मीनराज बास्तोलाका तीनवटा निकै सुन्दर गजलहरू प्रस्तुत गर्दैछौं-
गजल १
म बाँच्नकै लागि दाम चाहिन्छ काम चाहिन्छ ।
मालिक सोच्दैन मजदूरलाई पनि आराम चाहिन्छ ।
म कसैको याद र सम्झनाले पलपल जलिरहेछु
तिमी भन्छौ मान्छे जल्न आगो चाहिन्छ घाम चाहिन्छ ।
आँसु पिउनलाई रहेछ जिन्दगीमा दुःख पीर चाहिने
सराब पिउन त तिम्रै यादहरूको गोदाम चाहिन्छ ।
ए मान्छे, मलाई प्रहार गर्नु अघि यो कहिल्यै नबिर्सनू
म फलाम हुँ फलाम काट्न पनि त फलाम चाहिन्छ ।
धनी रोजेर गयौ शायद खुशी छ्यौ होला महलमा
मलाई त अझै पनि खुशी हुन तिम्रै नाम चाहिन्छ ।
= = =
गजल २.
खुशी फुल्छ जीवनको,डर र भयभन्दा माथि
केही छैन कोही रहेनछ, यो समयभन्दा माथि !
टाउको हल्लाएकै भरमा, करोड कमाउँछ मान्छे
आफू शिर पाउ जोड्दा पनि, हुन्न सयभन्दा माथि !
पढाइ लेखाइ र बौद्धिकताको कुनै सम्बन्ध छैन
बालाई देख्दा लाग्छ, एउटा विद्यालयभन्दा माथि !
पर्ख.. धनी बिस्तारै बनौंला, विद्वान बिस्तारै बनौला
पहिला मान्छे बन यार, अरू परिचयभन्दा माथि !
कसैलाई खुशी देख्न कोही जीवनभर दुखिरहन्छ
प्रिय तिमी छ्यौ मेरो जीवनको, विजयभन्दा माथि !
= = =
गजल ३.
यस्तै रहेछ समय कहिले आगो बन्नुपर्ने कहिले पानी बन्नुपर्ने
कसैको इमानदार बन्नकै लागि पनि कसैको बेइमानी बन्नुपर्ने
ए प्रिय तिमीले किन बुझ्दिनौ म तिम्रो मुटु हुनुभन्दा पहिले
छ मलाई बाको लौरी बनी आमाको आँखाको नानी बन्नुपर्ने
म आँखा देख्दिनँ, बोल्न सक्दिनँ र कान पनि सुन्दिनँ
ए भगवान के जरूरी देख्यौ यो शरीरमा जवानी बन्नुपर्ने
महाशय ! म भोको पेटमा इतिहास सम्झेर गर्व गर्न सक्दिनँ
वर्तमान जो छ हाम्रो बाच्नकै लागि पनि राहदानी बन्नुपर्ने
धारामा पानी आओस् बस्तीमा बाटो आओस् खुशी हुनेछौँ
हाम्रो माग यो हैन सरकार आगनमा राजधानी बन्नुपर्ने



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










