कहिलेकाहीँ मनभरी कुरा हुन्छ तर दिमाग रित्तो अनि रित्तो हुन्छ । यस्तो अवस्था आउँछ जब सोच्ने, बुझ्ने र निर्णय गर्ने शक्ति क्षणभरका लागि थामिन्छ । कहिलेकाहीँ अलिक लामो पनि हुन्छ जसलाई ‘ह्याङ’ भएको पनि भनिन्छ । त्यस क्षणमा शब्द, विचार र भावनाका खेलहरू मनभित्र ओइरिए पनि दिमाग शून्य हुन्छ । न त जवाफ नै फर्काउन मन लाग्छ, न त लेख्न नै । सुखी या दुखी दुवै भावनाको तीव्रता, थकान र मानसिक बोझ, अत्यधिक संवेदनात्मक दबाब, अचानक आइलाग्ने भावनात्मक झटका, आन्तरिक ध्यान वा आत्मबोध जस्ता अवस्था दिमाग शून्य पार्ने अवस्था हुन् । त्यसो त कहिलेकाहीँ शून्यता स्वेच्छाले पनि आउँछ भनिन्छ । यो अवस्था ‘ध्यान मुद्रामा रहेको बखत प्राप्त हुने हो’, जहाँ मन स्थिर र साक्षी बन्छ ।

हाम्रै वरपर हामीले एउटा गाली सजिलै सुनिरहेका हुन्छौँ, ‘यसको दिमाग नै छैन !’ भन्ने कुरा । दिमाग नै नहुने कुरा त भएन, तर दिमागको यो शून्य अवस्था चाहिँ अर्कोले थाह पाएको होला या ऊ टोलाएको होला । त्यसैले मलाई लाग्छ त्यो खालीपन भनेको कुनै कमजोरी होइन । बरु एक किसिमको मौनता हो, जसले, ‘तिमी अर्को अवस्थामा छौ है’ भनेर संकेत गरिरहेको छ ।

म एकपटक विगतमा फर्कन चाहन्छु, त्यस्तै दुई दशक पहिले ! पेरिसको उत्तरमा एउटा रेलवे स्टेशन छ, जसको नाम गार दु नर्ड  (Gare du Nord) हो, जुन एक ठूलो मेट्रो र ट्रेन स्टेशन हो । जहाँबाट दैनिक एक लाख साठ्ठी हजार मानिस ओहोर–दोहोर गर्छन् । भीडभाड, हतार, ट्रेन या मेट्रोले ‘म गुड्दैछु’ भनी दिने संकेत, आइरहेका ट्रेनहरूको छुकछुक आवाज र मानिसहरूको गर्‍याम–गर्‍याम पदचाप, यी सबैले त्यो स्टेशनलाई जीवन्त बनाउने तत्त्व हुन्, स्टेशनका प्राण हुन् ।

उ बेला म त्यही भीडमा मिसिन्थेँ, र लाखौँमा एक यात्रु बन्थेँ, यात्रा गर्ने होइन, श्रमिक बन्ने यात्रु । बेलुका घर फर्कँदा लन्डनबाट आउने अन्तिम पहेँलो रेलसँग जम्काभेट हुन्थ्यो । त्यो थकित मुडमा म अनायासै यात्रुहरूलाई नियाल्थेँ भावशून्य भएर । कोही दौडिँदै गरेका, कोही थाकेका, कोही हाँसिरहेका, कोही टोलाइरहेका, कोही अङ्कलमाल गरिरहेका, कसैले हातमा फूलको गुच्छा लिएका । प्रत्येकको हातमा सुटकेस या झोला, आँखामा फरक कथा, फरक फरक हेराइ र फरक फरक लय ।

त्यही भीडभित्र म आमाले हात समातेर आफ्ना नानीहरू डोर्‍याइरहेका दृश्यहरू देख्थेँ । अनि कसोकसो त्यो दृश्यभित्र म आफ्ना माता–पितालाई अचम्मसँग खोज्थेँ, जसरी बालकले भीडमा हराएको आमा खोज्छ । किनभने म गाउँको एक डिल या किनारबाट एक्कासि लाखौँ मानिसको भीडमा आइपुगेकी थिएँ । उ बेला गाउँ सिङ्गै मेरै जस्तो लाग्थ्यो, तर पेरिसमा यत्रो भीडका बीचमा एक्लो महसूस गर्थें । हराएको महसूस गर्थें ।

कहिलेकाहीँ मनमा अचम्मको कल्पना जाग्थ्यो, ‘कतै मेरा माता–पिता मलाई झुक्काएर पेरिस आउँदैछन् कि ? लन्डन–पेरिस रेलले मेरा मायाको खानी बोकेर आँखै अगाडि झारिदिन्छ कि ?’ त्यो कल्पनाको वायुपङ्खी घोडा ! सँभालिन गाह्रो भएका ती दिनहरू ! जब माता–पिता त के, उहाँहरूजस्तै अनुहार भएका त के, उहाँहरूको जस्तो पसिना बसाउने मानिस पनि मैले भेट्दिनथेँ अनि दिमाग शून्य हुन्थ्यो । बस दुई थोपा आँसु खसाउँथेँ र फेरि आफ्नै सानो डेरामा फर्किन्थेँ ।

दिमाग शून्य हुँदा शब्द नझरे पनि आँसु चाहिँ झर्छ भन्ने कुरा त्यही क्षण मैले बुझेँ । अनि बुझेँ, दुई थोपा आँसुले दिने जवाफ टाइप गरेर उतार्न सकिँदैन । ती आँसुका भाकाहरूमा हजारौँ शब्दहरू मिसिएका हुन्छन्, तर तिनलाई माला बनाउन दिमाग शून्य होइन, दिमाग भरिलो हुनुपर्छ, ऊर्जावान्, संवेदनशील र जीवन्त ।

यसै यसै यो लेख लेखिरहँदा त्यो बाल्यकालको गुम्बा खोलोको झलझल सम्झना आउँछ । एक पेट भात खाइवरी स्कूल जाँदै थिएँ, त्यो पनि दौडिँदै–दौडिँदै । हिँड्नु के थियो र, ओरालोमा त दौडिने या हाम्फाल्ने न हो । तब पो त प्रकृतिसँग लिप्त भइन्छ । खोला तर्नेबित्तिकै दुई बटारिएका सर्पहरूसँग जम्काभेट भयो । चिच्याउन खोजेँ, तर मुखबाट आवाजै आएन । लत्रक्क जीउ गलेर थुचुक्क भुइँमा बसेँ । मेरा अगाडि सर्पहरू जोल्टिरहे । डस्न आउँछन् कि भन्ने डर भइरह्यो । त्यो एकान्त, सुनसान खोलोमा सर्पहरू केही मिनेट पछि आफैं रमाउँदै झरे । बल्ल केही मिनेटपछि म उठेँ र स्कूल पुगेँ । कक्षा पुग्दा ढिलो भयो । कक्षा शिक्षकले ढिलो आएकी भनेर करीब दश मिनेटजति ठिङ्ग कक्षामै उभ्याइदिनुभयो । न मैले सर्प जोल्टेको कुरा भन्न सकेँ, न आवाज नआएको कुरा भन्न सकेँ । बस केही थोपा आँसु यसै यसै खसेर त्यो नरमाइलो दिन बित्यो । अनि त्यो बेला थाहा भएको हो, शून्य दिमागले कहिलेकाहीँ सजायको भागीदार बनाइदिन्छ, तर भन्न सकिँदैन कि म दिमाग शून्य भएको बेलामा थिएँ ।

यसै वर्ष, म र मेरी श्रीमानजी पेरिस नजिकैको बोबिनी भन्ने ठाउँमा रहनुभएका दावा शेर्पा दाइलाई भेट्न गयौँ । पुराना नेपाली हुनुहुन्थ्यो, फरर अङ्ग्रेजी, फ्रेन्च र शेर्पा भाषा बोल्ने । नेपाली त भइगयो । यति लामो जीवन यात्राका क्रममा उहाँ एक अनुभवको भण्डार हुनुहुन्थ्यो । दाइका पिता अन्नपूर्ण हिमालका प्रथम आरोही मोरिस हेर्जोगका गाइड रहनुभएको थियो । उहाँका पिताजीको सम्मानमा एक पुस्तक पनि छ । त्यो कुरा आफैंमा एक अद्भुत इतिहास हो भन्ने मलाई लाग्यो । नेपालको हिमालबाट शुरू भएको उहाँका पाइलाका कथा पेरिसको सेन नदी किनारमा आइपुग्दा कस्तो भयो भन्ने जिज्ञासा मनमा थियो । हँसिलो स्वभावका, जोशिला र मजाले साइकल चलाउने मानिस ! उहाँले भन्नुभयो, “अब यो वर्ष रिटायर्ड हुँदैछु, फुर्सदै फुर्सद हुन्छ अनि भेटौँला ।”
जब हामीले भेट्ने योजना बनायौँ, तब दाइ त बेडमा परिसक्नु भएछ । भेटमा उहाँको आँखामा त्यो पुरानो चमक बाँकी थियो तर शब्द हराइसकेका थिए । अनि त्यो अवस्थाले मलाई दिमाग शून्य बनायो, के भन्नु, के नभन्नु ।

दाइसँग बस्दा उहाँले बारम्बार आफ्नो पुस्तकको र्‍याकतर्फ औँलाले देखाउँदै “उ त्यो, उ त्यो…” भन्नुहुन्थ्यो । लाग्यो, पढ्न खोज्नु भएको हो । तर होइन रहेछ । दिनभरको बसाइमा थाहा भयो, त्यो र्‍याकमा भएका किताबहरू सबै पढिसक्नुभएको रहेछ ।

उहाँ भन्न खोज्दै हुनुहुन्थ्यो, “म तिमीहरूले भनेको सबै बुझ्छु तर बोल्न सक्दिन ।” विस्मय र केही असहायत्वले भरिएको त्यो शून्यता, कस्तो झट्का लागेजस्तो भयो । दाइको त्यो मौन संवाद मैले नबुझ्ने खालको थियो । जीवनको गहिरो परिभाषामा दाइ बाँचिरहनुभएको छ यति बेला । अनि उहाँका, साथमा रहेका एकोहोरो बोल्ने टेलिभिजन, रेडियोसँग मैले विस्मयको पाठ पढेर आएँ ।

यसको अर्थ यो होइन कि दाइसँग कुनै शक्ति छैन । छ नि, एक मौन शक्ति बास बसेको छ । यो क्षण भनेको चाहिँ ‘दिमाग शून्य’ हुनु होइन, बरु बाहिरको भौतिक संसारभन्दा पर आत्मिक संसारमा प्रवेश गर्नु हो । हुनसक्छ मन थाकेको होस्, शरीरका ऊर्जामा ऐंठन होस्, तर आत्मा मौन हुन्छ र चुपचाप सबै भौतिक रूप सहन्छ । तैपनि मलाई लाग्छ, भित्री मस्तिष्क चाहिँ परिवर्तित समयको परिवर्तित ऊर्जामा सिर्जनामा तल्लीन छ । त्यसैले त मानिसको सोच पनि समयअनुसार बदलिरहेको हुन्छ ।

मानिस सधैं सोचको घेरामा अल्झिएको हुन्छ । जानेर नजानेर ऊ जति बेला पनि सोचिरहेकै हुन्छ । सुत्ने बेला उसले आज के–के सोच्यो भनेर सम्झन खोज्यो भने सम्झनै सक्दैन, किनभने उसले यति धेरै सोचेको हुन्छ । ऊ हिजो बितेको दिन, आजको व्यस्तता र भोलिको चिन्तामै हुन्छ । तर जब दिमाग शून्य हुन्छ, ती सबै घेराहरू केही समयका लागि थमिन्छन् । यस्तो क्षणमा हामी बस बाँचिरहेका हुन्छौँ, न अतीतमा, न भविष्यमा, केवल वर्तमानमा । तर यो क्षण केही समयको विश्रामपछि हराएर जान्छ र नयाँ ऊर्जाको महसूस गर्छौँ हामी ।

त्यसैले दिमाग शून्य हुनु भनेको मूर्खता होइन, बरु आत्मसंवादको अभ्यास हो । संसारको हल्ला र भीडभाडबाट केही क्षण अलग्गिने समय हो । हुन सक्छ, यो समय आफूभित्र फर्किने साधना पनि हो । अनि त्यस क्षणबाट बाहिरिएपछि नयाँ विचार जन्मिन्छ, नयाँ सपना सिञ्चिन्छ, र नयाँ ऊर्जा उम्रिन्छ । त्यसैले जब दिमाग शून्य हुन्छ, त्यो डराउनुपर्ने होइन, नयाँ तागतको प्रतीक्षामा रहने समय हो ।

त्यसो त मनोविज्ञान पनि भन्छ, जब मन अत्यधिक बोझले थाक्छ, दिमागले आफूलाई जोगाउन ‘विश्राम बटन’ थिच्छ । शून्य हुनु भनेको मस्तिष्कको क्षणिक विश्राम हो । त्यो विश्राममा दिमाग सबै सूचना र आवाजलाई केही बेर बन्द गर्छ, ताकि ऊर्जा पुनः सञ्चित गर्न सकोस् । कहिलेकाहीँ यो शून्यता लेखनको, संगीतको, चित्रकलाको या ध्यानको आरम्भ बिन्दु बन्छ । कलाकारले नयाँ सिर्जना गर्नुअघि मन खाली पार्छ, ताकि उसलाई बाह्य अरू तत्त्वले क्षति नपुर्‍याओस् । मलाई लाग्छ दिमाग शून्य हुनु भनेको खाली क्यानभास तयार पार्नु हो, जहाँ नयाँ रंगहरू, नयाँ भावनाहरू उम्लन सक्छन् । त्यसैले त जीवन कहिले विचारले, कहिले भावनाले, र कहिले शून्यताले चलिरहेको हुन्छ । यी सबै क्षण एकअर्काका पूरक हुन् । यदि हामी सधैं सोचमै अड्कियौँ भने आत्माले विश्राम पाउँदैन, र यदि सधैं शून्य रह्यौँ भने जीवन थालिँदैन । त्यसैले शून्यता र चेतनाको सन्तुलन नै जीवनको सुन्दर ताल हो ।

आज पनि जब म त्यो पेरिसको त्यही रेल स्टेशनमा पुग्छु, भीडभित्र आफ्नै प्रतिबिम्ब देख्छु । सधैं हतारमा दौडिने मानिसहरू जब देख्छु अनि मलाई पनि त्यसै त्यसै हतारो र चटारो हुन्छ । अनि यसो गम्छु कहाँ रेल वे स्टेशनमा मानिसहरू आफ्नो दिमाग शून्य भएको महसूस गर्न सक्छन् र ? बरु आफैंलाई गाली गर्दै भागिरहेका हुन्छन् । ‘यो मेरो कमजोरी हो भनिरहेका हुन्छन् । ट्रेनहरू उसैगरी सिटी बजाइरहेका हुन्छन्, र माइकको आवाजले भन्छ, “लन्डन, आम्स्टर्डाम, बेल्जियम या लिल शहर जाने ट्रेन छुट्दैछ ।” मानिसहरू रेल समात्न लाइन लागिरहेका हुन्छन् । तर म फेरि पनि केही बेर रोकिन्छु र सोच्दछु, “यी सबै मानिसको दिमाग एकैपटक शून्य भयो भने के हुन्छ होला ?”

शायद त्यो क्षणमा रेलको सिटी पनि मौन हुनेछ, भीडको हल्ला स्थिर हुनेछ । समय नरोकिए पनि मानिस एकअर्कालाई धकेल्ने छैनन्, कसैले कसैलाई पछ्याउने छैन । चोरहरूले अरूको खल्ती कसरी काट्ने भनेर पनि सोच्ने छैनन् । कफी पसलका कामदारहरू पनि टक्क रोकिनेछन् र सबै आफ्नै अस्तित्वसँग भेटिनेछन् । शायद सबैको आँखामा एकैछिनको अन्यौलता देखिनेछ, किनभने त्यहाँ न इच्छा, न चिन्ता, न भय हुनेछ । आमै नि यस्तो शून्यता विनाश हुनेछैन, बरु एक सामूहिक विश्राम हुनेछ । त्यो क्षणमा पेरिसको रेल स्टेशन केवल गन्तव्यको ठेगानामा सीमित रहने छैन, बरु चेतनाको मन्दिरजस्तो लाग्नेछ, जहाँ मानिसहरू ट्रेन समात्ने होडमा होइन, आफ्नो आत्माभित्रको एक संवेदनाको अनुभूतिमा हराउनेछन् ।