स्याङ्जा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा गल्याङमा ‘देवकोटा काव्य उत्सव–२०८२ तथा स्रष्टा सम्मान समारोह’ सम्पन्न भएको छ।
जगत्रदेवी साहित्य सङ्गम, गल्याङको आयोजनामा कार्तिक २९ गते गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा भएको उत्सव धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार काजी रोशनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
समारोहमा प्रमुख आमन्त्रित काजी रोशनलाई ‘जगत्रदेवी साहित्य सम्मान–२०८२’ द्वारा सम्मानित गरिएको आयोजकले जानकारी दिनुभयाे । यस्तै नेपाली भाषा–साहित्यमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएकाे डा. श्यामप्रसाद न्यौपानेलाई ‘रेनुका डुम्रे स्मृति साहित्य पुरस्कार–२०८२’ प्रदान गरिएको थियो। संस्थाका पूर्वअध्यक्ष सूर्यप्रसाद डुम्रेद्वारा स्व. धर्मपत्नीको स्मृतिमा स्थापना भएको उक्त पुरस्कार पहिलोपटक प्रदान गरिएको हो। हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि पाँच हजार रूपैयाँ निर्धारण गरिएको छ।
कार्यक्रम संस्थापक सदस्य तथा नवनिर्वाचित अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, नेपाली लेखक सङ्घका केन्द्रीय सचिव तथा युवा साहित्यिक अभियन्ता मिलन समीरसहित विभिन्न क्षेत्रका साहित्यकारले मन्तव्य राख्नुभएकाे थियाे।
समारोहमा अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पंगेनी, हरि भट्टराई, शम्भु अर्याल, लेखनाथ काफ्ले, सूर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, गुरुप्रसाद ढकाल, ढालबहादुर केसी, पार्वती थापा ‘पारु’, मित्रलाल गौतम, पारिश्वर न्यौपाने, तिलक भट्टराई, ऋषिराम भण्डारी, हिमालयजंग बानियाँ, लीलाम्बर ढुंगाना, जगन्नाथ भण्डारी, टीकाराम वाग्ले, नारायण न्यौपाने, झवनाथ बस्याल, गोविन्दशरण रेग्मी र इन्द्रप्रसाद पाठकले कविता, गीत, गजल र मुक्तक वाचन गर्नुभएकाे थियाे।
कार्यक्रममा स्वागत मन्तव्य सङ्गमका कोषाध्यक्ष पार्वती थापा पल्लीले प्रस्तुत गर्नुभएकाे थियाे । उपाध्यक्ष लीलाबल्लौ अर्यालले देवकोटाको व्यक्तित्व र काव्यीय योगदानबारे संक्षिप्त टिप्पणी गर्नुभएकाे थियाे । समारोहको सहजीकरण सचिव डिल्लीराम भण्डारीले गर्नुभएकाे थियाे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 





