काठमाडौं । नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा बालसाहित्य सर्जक विजयराज आचार्यका बालकथामा आधारित समीक्षात्मक कृति र सर्जक उर्मिला ढुंगानाको बालकविता संग्रह ‘मिठा मिठा तरकारीहरु’ शुक्रबार राजधानीमा एक समारोहकाबीच सार्वजनिक गरिएको छ।
कार्यक्रममा भारतको कोलकाताका सर्जक अतनु कुमार बसुले तयार पारेको ‘Vijay Raj Acharya’s Stories for Children: A Critical Estimation’ र ढुंगानाको ‘मिठा मिठा तरकारीहरु’ दुबै कृति तथा लेखक–लेखिकामाथि टीका–टिप्पणीसहित विमोचन गरिएको थियो।
बसुको समीक्षात्मक कृतिमा आचार्यका अंग्रेजीमा अनुदित ४० बालकथा, ती कथाका पात्र, सन्देश र मर्मलाई बोधगम्य शैलीमा प्रस्तुत गरिएको छ। ढुंगानाको कृति भने ३३ थरी तरकारीबारे ३३ वटा बालकविता समावेश गरिएको संग्रह हो, जसले बालबालिकालाई खाद्यवस्तु र प्रकृतिसँग नजिक्याउने उद्देश्य राखेको छ।
कार्यक्रममा नेपाल बालसाहित्य समाजका उपाध्यक्ष विजयराज न्यौपानेले शुभकामना मन्तव्य दिँदै लेखकद्वयको योगदानबारे चर्चा गर्नुभयाे। सर्जक माधव घिमिरे ‘अटल’ले आचार्यलाई “नेपाली बालसाहित्यको फ्याक्ट्री” भन्दै उहाँको १०० भन्दा बढी कृतिहरूले बालसाहित्य समृद्ध बनाएको उल्लेख गर्नुभयाे।
डा. विष्णु केसीले ‘मिठा मिठा तरकारीहरु’ पुस्तकले बालबालिकालाई तरकारीका प्रकार, औषधीय गुण र उत्पादनमा संलग्न श्रमबारे जानकारी दिने बताउनुभयाे । उहाँकाे अनुसार उक्त कृति कक्षा दुईदेखि पाँचका बालबालिकाका लागि उपयुक्त छ।
त्यस्तै, डा. बुनु दाहालले लेखिका ढुंगानालाई बधाई दिँदै उक्त कृति बालबालिका र अभिभावक दुवैका लागि सान्दर्भिक भएको बताइउनुभयाे।
कार्यक्रममा अतनु कुमार बसुले ‘Impact of War on Children’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै युद्धका समयमा बालबालिकामाथि पर्ने प्रभावबारे विस्तृत चर्चा गर्नुभयाे । उहाँले इजरायल–प्यालेस्टाइन र भारत–पाकिस्तान युद्धको उदाहरण दिँदै युद्धका ७०–८० प्रतिशत पीडित सर्वसाधारण र तीमध्ये धेरैजसो बालबालिका र महिला हुने तथ्य प्रस्तुत गर्नुभयाे ।
बसुको कार्यपत्रमाथि टिप्पणी गर्दै सर्जक महेश पौड्यालले उक्त अध्ययनलाई अझै परिष्कृत गर्न सकेमा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुने सम्भावना रहेको बताउनुभयाे । उहाँले नेपाल र बंगाली साहित्यबीचको सांस्कृतिक सम्बन्धबारे पनि चर्चा गर्नुभयाे।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानले बसुको कृतिलाई नेपाली बालसाहित्यको अन्तर्राष्ट्रिय ढोका खोल्ने पहिलो प्रयास भएको बताउनुभयाे। उहाँका अनुसार कुनै अन्तर्राष्ट्रिय लेखकले नेपाली बालसाहित्यबारे पहिलोपटक पुस्तक लेख्नुभएकाे हाे ।
कार्यक्रमकी सभापति सर्जक सिर्जना शर्माले युद्ध र बालबालिकासम्बन्धी बहसले मानवता र शान्तिप्रतिको सोचलाई मजबुत बनाउने बताउनुभयाे। कार्यक्रममा बसुकी श्रीमती पम्पा बसु र पुत्री अनुस्मिता बसुलाई पनि फूलमालाले सम्मान गरिएको थियो।
आचार्यको कृति महेश पौड्यालले सम्पादन गर्नुभएकाे हाे भने विवेक सिर्जनशील प्रकाशनले छापेको हो। ढुंगानाको ‘मिठा मिठा तरकारीहरु’मा प्रज्ज्वल थापा मगरका चित्रहरू र अनुष्का सुवेदीको प्रकाशन रहेको छ। दुवै कृतिको मूल्य ३५० रुपैयाँ तोकिएको छ। कार्यक्रमको सञ्चालन कवि भैरवी भूगोलले गर्नुभएकाे थियाे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 




