सन् १९५० तिर मैले ने.क.पा. मा काम शुरू गरेको थिएँ । घरपरिवारको समस्याले गर्दा हामीले वीरगन्जको जमिन बेचेका थियौँ । माताजीले दाइजो पाएका सरसम्पत्ति सकिएकाले त्यो नबेची सुख पनि थिएन । मेरा पितामाताको विवाह हुँदा दुलहीपट्टिबाट दाइजोका रूपमा एउटा सानो घर र भान्साकोठा मात्रै होइन, सुनचाँदीका थरिथरिका गहना, विभिन्न किसिमका मिठाई दिइएको थियो ।
तनहुँबाट रामनगर गएपछि त्यो नेपाली समाजका पछिल्ला दुई महत्त्वपूर्ण व्यक्ति थिए- जेठा देवीप्रसाद उपाध्याय र कान्छा सिद्धिप्रसाद उपाध्याय । मेरो माताजीले देवीप्रसाद उपाध्यायको परिवारमा दोस्रो जन्म पाउनुभएको थियो । पहिलो जन्म थियो- मेरा जेठा मामा भगवतीप्रसाद उपाध्याय र त्यसपछि मेरी माता अनि कान्छा भाइ ईश्वरीप्रसाद उपाध्याय ।
माताजीका पिता देवीप्रसाद र कान्छा पितृव्य सिद्धिप्रसादले आफ्नो प्रयासबाट भारतको रामनगरमा अति ठूलो जिम्मेवारी मात्र खडा गर्नुभएन, बनारस र कानपुरमा ठूला व्यापारिक केन्द्रहरू पनि चलाउनुभयो । त्यस परिवारको प्रतिभाबाट प्रभावित भएर काठमाडौँमा जन्मिएका मेरा पिता लक्ष्मणमणि र रामनगरमा जन्मिएकी मेरी माता विष्णुकुमारी देवीको विवाह नेपालको पर्सा जिल्लाको अलौ गाउँमा मेरा पितामहले गरिदिनुभएको थियो ।
योभन्दा केही वर्षपहिले मेरा जेठा पितृव्य राममणि आचार्य दीक्षितले तत्कालीन श्री ३ चन्द्रशमशेरमा बिन्ती चढाएर बारा र पर्सा जिल्लाका उत्तरतिर रहेका वनजङ्गलबाट सिसौ र सालका एक लाख क्युबिक फिटजतिका काठहरू बनारसका मेरा मातामहहरूलाई पुरस्कारका रूपमा दिलाउनुभएको थियो । बनारसको विख्यात भवन रामापुरा टोलमा थियो ।
बनारसको रामापुरास्थित हाम्रो मामाघर निकै विशाल थियो । मेरा जेठा मातामह देवीप्रसाद र कान्छा मातामह सिद्धप्रसाद भुइँतलामा बिहानदेखि चकटी मारेर बस्नुहुन्थ्यो र बनारस, कानपुर र कलकत्ताका व्यापारीहरूसँग भेटघाट गर्नुहुन्थ्यो र रामनगरको जमिनदारी व्यहोर्नुपरिरहेका किसानहरूका सुखदुःखका कुरा सुन्नुहुन्थ्यो । उहाँहरूको यो दिनचर्या मैले संवत् १९८४ मा बनारस पुगेपछि देखेको थिएँ ।
बिहान आठ बजेतिर हामी केटाकेटीलाई पढाउने शिक्षक सत्यनारायण शर्मा आउनुहुन्थ्यो । उहाँ हामीलाई दुई घन्टासम्म पढाउने गर्नुहुन्थ्यो ।
जेठा मामा भगवतीप्रसाद केटाकेटीहरूबारे विचार गर्नमा साहै चुस्त हुनुहुन्थ्यो । उहाँकी जेठी छोरी क्षयरोगग्रस्त भएकाले बनारसका वैद्यको सल्लाहमा उहाँलाई काठमाडौँबाट भारतको गढवाल जिल्लाको भवाली क्षयरोग उपचार केन्द्रमा भर्ना गरिएको थियो । पछि यौवनकालमा नै उहाँको निधन भयो ।
उहाँकी दिदी (हामी बच्ची दिदी भन्थ्यौँ, जो सानै उमेरमा विवाह भएर विधवा हुनुभएको थियो) लाई केही वर्षपछि मैले इतिहास, पुराण, महाकाव्य, आयुर्वेद आदि विषयकी विदूषीका रूपमा देख्ने गरेको थिएँ । तर सन् १९४२ मा उहाँले परिवारसित सल्लाह नगरी स्वनिर्णयका आधारमा बनारसको विख्यात पान मसलाका उत्पादक र बिक्रेताका घरमा पत्नी भएर शरण लिनुभयो । हामीले उहाँलाई सन् १९५५ मा त्यो पान मसला घरमा पटक-पटक भेटेका थियौँ ।
भगवतीप्रसादकी दोस्री पत्नी नेपालगन्जकी युवती थिइन् । तिनबाट दुई छोरा जयप्रसाद र निशितप्रसादको जन्म भयो । उहाँहरूले स्नातक तहसम्म अध्ययन गर्नुभएको थियो । उहाँहरू दुवैमा मेरा माताजीको साहित्यिक, दार्शनिक ज्ञानको प्रतिविम्ब थियो । अहिले निशितप्रसाद अमेरिकामा काम गरिरहनुभएको छ । उहाँको शुरूको काम गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहनुहुँदा उहाँको निजी सचिवका रूपमा व्यस्त रहनु थियो ।
जयप्रसादको अवसान संवत् २०७२ पुस-माघतिर भयो । जयप्रसादकी जेठी छोरी नानुको विवाह विश्वेश्वप्रसाद (बीपी) कोइरालाका जेठा छोरा प्रकाशसित भएको थियो । नानु (सुषमा) र प्रकाशको दाम्पत्यबाट मनीषा कोइरालाको जन्म भारतमा भयो । आफ्नो जन्म भारतमा भए पनि मनीषा आफूलाई नेपालपुत्री नेपाली ठान्छिन् । मनीषाको यौवनकाल भारतको बम्बई नगरमा रहेको चलचित्र उद्योगसित सम्बन्धित रहन गयो । उनले बम्बईका कतिपय विख्यात चलचित्रहरूमा प्रसिद्ध अभिनेत्रीका रूपमा भूमिका सम्पन्न गरेकी छिन् । बम्बईको चलचित्र आफूलाई भारतीय नागरिक ठानेर निर्वाचनमा प्रचार र अन्य कार्यका सरकारी टोलीमा समावेश गरी विदेशको यात्रामा पठाउने चेष्टा गर्दा मनीषाले आफू नेपाली नागरिक रहेको बताएर त्यस्ता प्रस्तावलाई बारम्बार इन्कार गर्ने गरेकी थिइन् ।
मेरी माताजीपछिका भाइ ईश्वरीप्रसादका जेठा छोरा विजेश्वरीप्रसाद उपाध्याय शुरूमा नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल श्रेष्ठको समय) मा सदस्य भएर काम गर्नुहुन्थ्यो । सन् १९५१ को मध्यमा कलकत्ताको भवानीपुर इलाकामा नेपालभरिका पैंतालीस जना मार्क्सवाद-लेनिनवादप्रति आकर्षित व्यक्तिहरूको सभामा उहाँको पनि उपस्थिति थियो । पछि गएर, संवत् २०१८ पछि होला, मैले महेन्द्रका संवादसचिव मधुसूदन राजभण्डारीसित दर्ता गरिदिन गम्भीर आग्रह गरी विजेश्वरीप्रसाद उपाध्यायलाई काठमाडौँमा साप्ताहिक पत्रिका प्रवक्ता प्रकाशित गर्न सहयोग गरेको थिएँ । तर त्यसपछि मेरो प्रयास अल्पसमयमै खेर गयो । उहाँलाई पनि मेरी माताजीलाई जस्तै मूर्च्छा छारे रोगले पीडा दिने गरेको थियो । उहाँ पनि कान कम सुन्नुहुन्थ्यो ।
विजेश्वरीप्रसादकी बहिनी नोनाको विवाह नेपालको विराटनगरमा विश्वेश्वरप्रसाद कोइरालाका माहिला भाइ केशवप्रसाद कोइरालासित भएको थियो । तर हाल दुवै जनाको अवसान भइसकेको छ ।
बनारसको मेरो मावलीबाट मैले आफ्नो शिक्षा प्राप्तिका क्रममा निकै प्रशंसा र समर्थन पाउने गरेको थिएँ । संवत् १९९१ मा हामी नेपालबाट बनारस गएर मामाघरमा बस्दा देवीप्रसादकी कान्छी पत्नीबाट जन्मिएका पाँच छोरामध्ये साहिँला कमलप्रसाद उपाध्याय मभन्दा पन्ध्र महिना कान्छा हुनुहुन्थ्यो । उहाँहरूको परिवारको मुख्य पुरोहितका रूपमा बनारसकै नेपाली टोलका बासिन्दा बटुकप्रसाद भट्टराई र उहाँका भाइहरू नारायणप्रसाद भट्टराई र गोपालप्रसाद भट्टराई हुनुहुन्थ्यो । गोपालप्रसाद संवत् २००७ मा नेपालमा जहानियाँ शासनविरुद्ध सशस्त्र जनविद्रोह हुँदा बीपी कोइराला पक्षबाट वीरगन्जको सीमापारि रक्सौलमा रहेको नेपाली काङ्ग्रेसको सशस्त्र विद्रोहको मुख्य नायक हुनुहुन्थ्यो र उहाँले केही वर्षपछि मेरो साप्ताहिक पत्रिकामा समेत काम गर्नुभएको थियो । उहाँका कान्छा भाइ कृष्णप्रसाद भट्टराई बनारसमा छंदा मेरा मामाहरूका पुरोहित खलकका कान्छा सदस्य हुनुहुन्थ्यो । उहाँसित मेरो मित्रता निकै आत्मीय र घनिष्ठ थियो । माताजी पनि कृष्णप्रसादलाई हामी बनारस छँदा आफ्नो छोरासरह सम्मान गर्ने गर्नुहुन्थ्यो ।
रामापुराको मेरो विशाल मामाघर मूल सडकको छेउमै थियो । मूल सडकको दक्षिणतिर रहेको सडकबाट दस खुड्किलो पार गरेर ढोकाभित्र चढ्दै माथि पुगेपछि चोकमा परिणत हुन्थ्यो । चोकका दुवैतिर मुनिपट्टि घोडा र अगाडि बढेपछि सिमेन्ट बग्गीका तबेलाहरू थिए । त्यो चोकबाट अगाडि बढेपछि सिमेन्ट लागेको भन्ऱ्याङबाट घरको पहिलो तलामा पुगिन्थ्यो । भुइँतलाको चोकको चारैतिर झ्यालढोकासहितका सिमेन्टबाट बनेका कोठाहरू थिए । बीचमा सिमेन्टको फराकिलो चोक थियो । त्यो चोकबाट अगाडि बढेपछि भान्साघरहरू र मामाहरू सुत्ने अरू कोठा
थिए ।
त्यो घरको विवरणात्मक व्याख्या गर्न सम्भव छैन ।
दोस्रो तलामा मेरा मातामहहरू देवीप्रसाद र सिद्धिप्रसाद बस्नुहुन्थ्यो । दुवै दाजुभाइबीच पारस्परिक सहयोग, सहकार्य र सहधर्माचरण प्रबल रहने गरेको थियो । सिद्धिप्रसादका छोराहरू हुनुहुन्थ्यो- अम्बिकाप्रसाद, शारदाप्रसाद र कालीप्रसाद । अम्बिकाप्रसादहरूकी बहिनी लक्ष्मीदेवी (शैलेन्द्रकुमार उपाध्यायकी ठूलीआमा) छरितो शरीरकी, किञ्चित् होची, घुम्रिएको कपालमा सुन्दर मुहार भएकी हुनुहुन्थ्यो । कालीप्रसादको विवाह काठमाडौँको विख्यात खलकमा भएको थियो ।
यहाँ आफ्नी माताजीबारे लेख्न लागेको हुँदा म उहाँका पिता देवीप्रसाद र उहाँको वंशानुक्रमबारे नै चर्चा गर्छु । मेरो माताकी कान्छी आमा नानी आमा, देवीप्रसादकी दोस्री पत्नीलाई हामी दादी आमा भन्ने गर्थ्यो । नानी आमाका सन्तानमध्ये पाँच छोरा थिए- ऋद्धिप्रसाद, भवानीप्रसाद, कमलप्रसाद, कान्ताप्रसाद र निर्मलप्रसाद ।
माताजीको विवाह हुँदा नै पौडेल परिवारले तीन-तीन ठाउँबाट १ करोड १० लाख रूपैयाँ वार्षिक घरखर्चबाहेक नाफाका रूपमा आर्जन गरेर ब्याङ्क दाखिला गर्ने गर्थ्यो ।
आफ्नी माताजीबारे कुरा गर्दा मैले उहाँको जन्म-वंशावलीबारे लेख्नैपर्छ । सन् १८९९/१९०० तिरको कुरा होला, भारतको बनारसमा गङ्गा नदीबाट एक किलोमिटरजति टाढा रामापुरा भन्ने ठाउँमा उहाँको जन्म भएको थियो । अघि नै भनियो, उहाँका पितृव्य दुई दाजुभाइमध्ये जेठो हुनुहुन्थ्यो । उहाँहरू बिहार राज्यको रामनगर भन्ने गाउँमा राजासरह रहेका र उत्तर प्रदेशका बनारस र कानपुरमा अति धनाढ्य व्यापारीका रूपमा रहनुभएको थियो ।
बनारसको त्यो परिवारबारे कुरा गर्दा अम्बिकाप्रसादले लेख्नुभएको नेपालको इतिहास सर्वविदितै छ । उहाँका भाइ शारदाप्रसादका जेठा छोरा राजेश्वरीप्रसाद त्यस बेला मैले देखेसम्म उच्चस्तरीय विद्वान् तथा कानुनवेत्ता हुनुहुन्थ्यो । उहाँ मभन्दा दस महिना जेठा हुनुहुन्थ्यो भन्ने ठान्छु । तर उहाँको जीवन नै रामनगरमा आफ्नो भागको सम्पत्तिको हेरविचार गर्ने र चाडपर्वहरूमा बनारसको घरमा भेट्न पुग्ने गर्दैमा बित्यो । राजेश्वरीप्रसादका भाइ भुवनप्रसाद (बोलाउने नाम भुने) दाजुजस्तै तेज ज्ञानयुक्त हुनुहुन्थ्यो । तर उहाँ बालरोगी जस्तै हुनुहुन्थ्यो । म सम्झिन्छु- सन् १९४२ मा उहाँको बनारसमा अवसान भयो । उहाँको स्वास्थ्य परीक्षणका निम्ति मैले नै बनारसका अति विख्यात हृदयरोग विशेषज्ञ डा. डी. पी. चट्टोपाध्यायलाई घरसम्म पुऱ्याएको थिएँ । त्यति बेला डाक्टरले भनेका थिए, ‘(भुनेको) देब्रे छातीमा रहनुपर्ने मुटु दाहिनेपट्टि सरिसकेको रहेछ । अब यसको उपचार छैन ।”
हाम्रो परिवारलाई मावलीले कति सहयोग गरेको थियो भन्ने कुरा उपर्युक्त व्यहोराबाटै अनुमान गर्न सकिन्छ । त्यति धनाढ्य, सम्पन्न थियो मेरो मावली ।
माताजीले त्योबेला रामनगरमा दुई कोठाको स्तरीय पक्की घर दाइजोका रूपमा पाउनुभएको थियो । छोरीलाई दाइजोमा घर दिने चलन अहिले समाप्त भइसकेको छ । तर त्यो विख्यात प्रयासकै कारण हाम्रो घरलाई विवाहपछि महिनौंसम्म मिठाई खान पाइने घरकी मालिक्नी भन्ने गरिन्थ्यो ।
(मदनमणि दीक्षितको चर्चित संस्मरणकृति ‘मेरी माता’बाट साभार)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 








