रातो भूमिमा चन्द्र सूर्य अङ्कित र नीलो पट्टीयुक्त दुईवटा त्रिकोण–संयुक्त राष्ट्रिय नेपाली झन्डाको स्रोत वैदिक हो भनी श्री योगी नरहरिनाथ र श्री शङ्करमान राजवंशीले भने तापनि त्याे स्रोत नै प्रामाणिक आधार हो भने ती दुवैले पनि दिएका छैनन् ।

‘हाम्रो राष्ट्रिय झन्डा’ भन्ने पुस्तकमा डा. श्री दयाराम ‘सम्भव’ ले उक्त भनाइलाई उद्धृत गर्दै गरेर मात्र सन्तोष लिएको देखिन्छ ।

यो हिमाली उपमहादेशको अति प्राचीन सभ्यता (धातु प्रयोग सुरू भएपछि) भन्दा पनि पहिले व्यवस्थित तर सीमित कृषिकार्यको युगले जनराज्यको सामाजिक व्यवस्थामा प्रवेश गर्दादेखि केतु, पाताका, ध्वजा र झन्डाको उपयोग गर्न थालेदेखि नै त्रिकोणात्मक ध्वजा सुरू भए । राज्यको प्रारम्भिक अपरिभाषित युगमा पहिले दानवसेना (ध्वजायुक्त ?) अनि त्यसपछि देवसेना (प्रथम देवसेनापति कार्तिकेय स्कन्द) सुरू हुँदा नै त्रिकोणात्मक झन्डा सुरू भयो । त्रिकोण हुनुपर्ने कारण यज्ञाग्निको ज्वाला त्रिकोणात्मक र सूर्यमा किरणको उद्गम पनि सूर्यबाट त्रिकोणात्मक भएको हिन्दू मान्यता छ । देवसेनापति स्कन्द कार्तिकेयको ध्वजालाई जन्मपश्चात् अग्निले रातो रङ्ग प्रदान गरे । सूर्य र चन्द्रलाई जीवन र अमृतको स्रोत मानिएको छ । ‘दयावा पृथ्वी’ भन्ने वेदमा सर्वत्र छरिएको उक्तिले ती दुईबाट उत्पन्न त्रिकोणलाई संयुक्त तुल्याएका हुन् भन्ने अनुमान गर्न बाध्य हुनुपरेको छ । झन्डामा चन्द्र–सूर्य अङ्कित हुनु चन्द्रवंशी र सूर्यवंशी राजाका कारणले भन्ने अवधारणा पछिल्लो प्राचीन युगको सम्भावना हो । महाभारतअनुसार पृथ्वीका प्रथम ध्वजावाहक राजा पृथु थिए । तिनको ध्वजा दुई त्रिकोणात्मक र रातो रहेकै हुनुपर्छ । वेनपुत्र पृथु सम्भवतः सैन्धव सभ्यताको प्रारम्भिक युगमा थिए । त्यसबेला कपास–वस्त्रको विकास भइसकेको थियो ।

मदनमणि दीक्षित

केतु र ध्वज भन्ने शब्द ऋग्वेदमा कम्तीमा ८० पटक र अथर्ववेदमा कम्तीमा ३५ पटक उल्लेख भएका छन् । महाभारतअनुसार राजा वेनका छोरा पृथु पहिलोपल्ट ध्वजयुक्त राजा थिए । पृथु ऋग्वेदभन्दा पुराना र कृषिलाई सिँचाइ र माटो ढिस्का विचलनलाई सम्याएर उन्नत अवस्थामा पुर्याउने प्रथम राजा मानिन्छन् भन्नेबाट समेत ध्वजहरू पूर्ववैदिक (पशुपालन र व्यवस्थित कृषिको समाज) कालमा थिए भन्ने देखा परेको छ ।

परन्तु उपरोक्त तथ्यहरूलाई मिथकीय कथनबाट छुट्ट्याएर ऐतिहासिकता प्रदान नगरून्जेल नेपाली झन्डाको पूर्ववैदिक उत्पत्ति प्रमाणित हुन सक्तैन ।

मेरो प्रस्तावित अनुसन्धात्मक अध्ययन आयोजनाको मुख्य उपयुक्त मिथकीय कथनलाई यथासम्भव विवेचना र विश्लेषणद्वारा वास्तविकतामा उभ्याउने चेष्टा गर्नु हो ।

यस अध्ययनका निम्ति उपयोगी पुस्तकालय नेपालमा आज पनि छैनन् । पुस्तकालयमा अध्ययनका निम्ति या त बेलायत वा अमेरिका जानुपर्यो नत्र भारतका पुस्तकालयमा । यस विषयमा भारत जानु बढी सहायक हुनेछ । वाराणसी, कलकत्ता, र पुणेका पुस्तकालयहरूमा आवश्यक स्रोत, सामग्री उपलब्ध छन् भन्ने म ठान्छु ।

अन्य दुईथरीका स्रोतसामग्रीका निम्ति पनि भारत बढी ग्राह्य देखिन्छ । दक्षिण भारतमा अपेक्षाकृत बढी प्राचीन र प्राचीनकालदेखि भौतिक तवरमा बढी सुरक्षित र संरक्षित मन्दिर सञ्जालहरू छन् । ती मन्दिरका द्वारमा रहेका धातुका ध्वजा र पाताका तथा केतुहरूका अन्वेषण र नेपाली ध्वजासित तिनका तुलना तथा ती मन्दिरका प्राचीनताका इतिहासको अध्ययन गर्नु एउटा महङ्खवपूर्ण स्रोतसामग्री ठहरिन सक्छ ।

उत्तिकै महत्त्वपूर्ण अर्को भारतीय स्रोतको रूपमा सन् १९४७ भन्दा पहिले र त्यस्तै भारतमा युरोपेली आगमनभन्दा पहिलेका विख्यात राजसंस्थाहरूका इतिहास र ती इतिहास तथा ती राजसंस्थाका भवाशिष्ट सामग्रीबारे जे उपलब्ध छन् तिनका आधारमा तुलनात्मक अध्ययन गर्नाले नेपालको राष्ट्रिय झन्डाको यथार्थ स्रोत, इतिहास र महत्त्वको अध्ययनमा सघाउ पुग्नु निश्चित हुनेछ ।

सन् १९१६ भन्दा पहिले नेपालको राष्ट्रिय भूक्षेत्रभित्र ‘वाहसी’ र ‘भौनसी’ राजहरू रहँदा तिनका आफ्ना झन्डा थिए ? यस प्रश्नलाई इतिहासकारहरूले अझैसम्म जबाफ नदिएका हुँदा ती राजाहरू पनि आजकै राष्ट्रिय झन्डालाई प्रकारान्तरले उपयोग गर्थे भन्ने अनुमान गर्न बाध्य हुनुपरेको छ । परन्तु अर्कोतिर लिच्छविकालदेखि वर्तमान नेपालकै जस्तो झन्डाको उपयोग भने हुने गथ्र्यो भन्ने तथ्यलाई अब प्रमाणित गरिहनुपर्दैन ।

‘नेपालको राष्ट्रिय झन्डा’ (प्रकाशित सं. २०५३, लेखक डा. दयाराम श्रेष्ठ ‘सम्भव’ ) नामक पुस्तकलाई सो विषयबारे आजसम्म गरिएका अध्ययनमध्ये उपल्लो स्तरको भनी स्वीकार गर्नैपर्छ । परन्तु उक्त पुस्तकको प्रकाशनपछि सो विषयबारे थप बढी व्यवस्थित अध्ययन, अनुसन्धान गर्नुपर्ने कुरा त्यही प्रकाशनको कारणबाट स्थापित भएको छ ।

नेपालको राष्ट्रिय झन्डाको मूल स्रोत वैदिक हो भन्ने हचुवाजस्ता कुराहरू योगी नरहरिनाथ वा डा. शङ्कर राजवंशीले भनेका पढियो । त्यस्तो राष्ट्रिय महत्त्वको कुरा त्यस्ता दुई–चार वाक्यमा सीमित आधारमा निष्कर्षको रूपमा प्रस्तुत गर्नु मैले ‘हचुवा’ कुरा भन्ने धृष्टता गरेका हुँ ।

राष्ट्रिय महत्त्वका यस विषयबारे श्री ५ को सरकारको या त परराष्ट्र मन्त्रालयले नत्र गृहमन्त्रालयले थप शोधकार्य गराउनु सरकारको अनिवार्य कर्तव्य हो । यस अनुसन्धानमा कसलाई लगाउनु उपयुक्त हुनेछ भन्नेबारे सरकारले नै निणर्य गर्नु उचित हुनेछ । वर्तमान स्थितिमा यस महत्त्वपूर्ण शोधकार्यलाई भनौं, त्रि.वि.वि, वा ने.रा.प्र.प्र. को जिम्मा दिनु उत्पादक कार्य ठहरिनेछैन भन्नेमा विश्वस्त छु । जिम्मेवार र आधारभूत शोधकार्यका निम्ति उपर्युक्त कुनै संस्थामा अनुकूल वातावरण उपलब्ध छैनन् । ‘प्रज्ञा’ तथा ‘विश्वविद्यालय’ भन्ने शब्दहरू ती संस्थाका नाममा जोडिए तापनि ती महत्त्वपूर्ण अर्थबोध गराउने शब्दसित ती संस्थाको सम्बन्ध छैन भन्ने त मेरै आफ्नै अनुभव रहेको हो ।

संयुक्त राष्ट्रसङ्घको सदस्यताका निम्ति चाहिने विवरणहरूसहित तत्कालीन प्रधानमन्त्री मोहन समसेरले सन् १९४९ मा पत्र लेखेर सो पत्र कर्नेल पदमबहादुर खत्रीले संरासंको सचिवालयमा बुझाएपछि उक्त सचिवालयले नेपालको राष्ट्रिय झन्डाको व्याख्याबारे प्रश्न गरेर नेपाल सरकारलाई पत्र लेख्यो । तिनताका परराष्ट्र मामिला हेर्ने नेपालको ‘मुन्सीखाना अड्डा’ को हाकिममा मेरा पितृ श्री नरेन्द्रमणि दीक्षित हुनुहुन्थ्यो ।

ती केही दिन म वीरगन्जबाट काठमाडौं आई पितृ श्री नरेन्द्रमणि दीक्षितकै घरमा बसेको थिएँ । एक दिन बिहान उहाँको ‘लेख्ने कोठा’ मा म थिएँ । आफ्नो सानो टेबलको घर्राबाट उहाँले संरासंको उक्त पत्र झिकेर ‘यो पढ बाबू र यसबारे के जबाफ दिने हो तिमीलाई केही थाहा छ भने बताऊ’ भन्दै मलाई दिनुभयो । उक्त पत्र मैले पढें र नेपालको राष्ट्रिय झन्डाबारे आफूमा कुनै ज्ञान नरहेको बारे भनें ।

त्यो दिन त्यतिमै कुरा टुङ्गियो । तर म आफू जिज्ञासु भइसकेको थिएँ ।

आफ्नो घरमा बस्दा पनि मैले आफ्नो समयको एक घण्टा पनि खेर फालेको छैन, कुनै न कुनै उपयोगी कार्य गरी नै रहेको छु । मेरा निम्ति कामको अभाव छँदै छैन ।

संवत् २००८ सालमा म काठमाडौं आउँदा मौका मिलेन तर २००९ सालमा वीरगन्जबाट काठमाडौं आएको समयमा मैले ‘संरासंलाई झन्डाबारे के व्याख्या पठाइयो ?’ भनी उहाँसित सोधें । उहाँबाट पाएको जबाफ यसप्रकारको थियो –

गुरू पुरोहित र संस्कृतका विद्वान्हरूमध्ये कसैबाट पनि चित्तबुझ्दो जबाफ पाइएन, सबैका राय पृथक् थिए । त्यस्तो भएपछि प्रधानमन्त्री मोहन समसेरमा त्यही कुरा जाहेर गरियो । त्यसो भए नेपालको झन्डाको बनोट र विवरणमा हेरफेर गरेर समुचित व्याख्या गरेर नयाँ झन्डा संरासंमा पठाउनुपर्ला भनी मोहन समसेरले भने । प्रधानमन्त्रीमा उब्जिएको त्यो नयाँ विचारबारे श्री ५ त्रिभुवनमा जाहेर गरेछ । सो सुनेपछि श्री ५ त्रिभुवनबाट परम्परादेखि चलिआएको झन्डामा किन हेरफेर गर्नु, यहाँ जसले बढी चित्तबुझ्दो व्याख्या गर्छ त्यही व्याख्या संरसंमा पठाइनु बेस होला, श्री ५ महाराजधिराजको सो मनसाय बुझेपछि त्यसै गरियो ।

मैले यहाँ लेखेका यी कुराहरूका कुनै लिखित प्रमाण कतै छैनन् । तर नेपालका महत्त्वपूर्ण सरकारीस्तरका घटनाहरूबारे प्रजातन्त्रमा पनि भरपर्दो भन्न सकिने जानकारी उपलब्ध हुँदैन ।

नेपाल सरकारले त्यसबेला राष्ट्रिय झन्डाको संरासंमा पठाएको व्याख्या संरासंको सचिवालयमा अझैसम्म रहेकै हुनुपर्छ । त्यहाँबाट उक्त व्याख्याको नक्कल प्राप्त गर्नु श्री ५ को सरकारका निम्ति कुनै गाह्रो पर्ने छैन । यो यही परराष्ट्र मन्त्रालयका अभिलेख–सङ्ग्रहमा पनि होला नै । उक्त सरकारी व्याख्यालाई प्रकाशमा ल्याउनु यस विषयका निम्ति निकै सहायक र उत्तिकै रूचिकर हुनेछ ।

नेपालको राष्ट्रिय झन्डाको मूल स्रोतबारे व्यवस्थित शोधकार्य गर्नुपर्छ भनी पोहोर जाडामा मैले एउटा प्रस्ताव तयार पारेर सम्भावित र अनुमानित खर्चबारे समेत उल्लेख गरी कुरा उठाएको थिएँ । त्यसबेला भा.रू. पचहत्तर हजार लाग्ने मेरो अनुमान थियो । तर मेरो प्रस्तावमाथि कतैबाट पनि समुचित ध्यान दिइएन । त्यसबेला मैले भारतमा दुई महिना अध्ययन गर्नुपर्ला भन्ने ठानेको थिएँ ।

त्यसपछिका बितेका महिनाहरूमा मैले सो विषयबारे जति विचार गरें अध्ययन गर्नुपर्ने विषय र क्षेत्रका विवरण मात्र होइन, शोधकार्यमा लाग्ने समयावधि र खर्च पनि निकै बढ्दै जाने देखें ।

अहिले यस विषयलाई यसरी सार्वजनिक तवरमा उठाएर उक्त शोधकार्य मैले नै गर्नुपर्छ वा त्यो शोधकार्यका निम्ति मेरै नै चयन गरिनुपर्छ भन्ने कदापि पनि होइन । आफ्नो घरमा बस्दा पनि मैले आफ्नो समयको एक घण्टा पनि खेर फालेको छैन, कुनै न कुनै उपयोगी कार्य गरी नै रहेको छु । मेरा निम्ति कामको अभाव छँदै छैन ।

यी सबै कुरा लेख्नुको एउटै उद्देश्य हो नेपालको राष्ट्रिय झन्डाको मूल स्रोत र इतिहासका सम्बन्धमा मान्य र व्यवस्थित अध्ययन र शोधकार्य गर्नैपर्छ । यो काम गराउने मूल जिम्मा पनि नेपाल सरकारको हो ।

(दीक्षितको हालै बजारमा आएको पुस्तक ‘मेरो देशः मेरो संसार’बाट)