एउटा बेलायती गोरे घुम्दैघुम्दै हुग्ली नदीको किनारको एउटा सानो गाउँनेर आइपुगेछ । उसले खेतमा काटेको धान सह्यारिरहेको किसानलाई हिन्दी भाषामा सोधेछ– “क्या नाम है इस गाँव का ?”
किसानले आफ्नो काम छाडेर टाउको उठाउँदै गोरेलाई हेरेछ । गोरेले उक्त प्रश्न पुनः दोहोर्याएछ । किसानले मुख आँ गरेर गोरेतिर हेरिरहेछ उसका कुरा नबुझेर । “इस गाँव का क्या नाम है ?” गोरेले यसपल्ट अलिक ठूलो स्वरमा सोधेछ । अझै त धेरै बङ्गालीहरू राम्ररी हिन्दी बुझ्दैनन्, तीन सय वर्षभन्दा अघिको कहानी हो यो, उसबेलाको गाउँले बङ्गाली किसानले हिन्दी के बुझोस्— त्यै पनि गोरेको उच्चारण । उसले भन्ठानेछ यस गोरेले यो धान कहिले काटेको भनेर सोधेको हुनुपर्छ । उसले बङ्गालीमा उत्तर दिएछ– “कल काटा !” अर्थात् हिजो काटेको ।
बङ्गालीले “कल” भन्दा “कोल” भनेजस्तो सुनिन्छ । गोरेले आफ्नो डायरीमा टिपेछ– “कोलकाटा” । त्यसपछि बेलायती शासकहरूले उक्त गाउँको नाम “कोलकाटा” ठानेछन् ।
यही गाउँमा पछि गोरेहरूले इस्ट इन्डिया कम्पनीको मुख्य कार्यालय खोले । हुग्ली नदीको पूर्वी किनाराका तीनओटा गाउँलाई मिलाएर कोलकाटामा जुट, तेलहन, कपडा र धानका मिलहरू खोले । पछि यो स्थान ठूलो औद्योगिक शहर बन्यो । भारतको राजधानी शहर बन्यो ।
मेरा हजुरबा कलकत्ताको नाम कसरी रहेको हो भन्ने विषयमा यो किंवदन्ती चाखलाग्दो पारामा भनिरहनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– “हरेक गाउँको नाउँ हुन्छ, र त्यस नाउँको कारण कुनै मान्छे वा घटना हुन्छ ।”
कलकत्ताको नाम कसरी रहेको हो भन्ने विषयमा अन्यत्र कहीँकतै यस कथाको उल्लेख भेटेको छैन । सबैले कालीघाट मन्दिर वा त्यस्तै स्थानसँग जोडेर लेखे–भनेको पाइन्छ ।
हाम्रो विराटनगरको नाम कसरी रहेको होला त ? आज यसबारे अलिकति ध्यान दिऊँ । कुनै ठाउँको नाम जसरी राखे पनि के र, नाम पायो, भइगो नि । हैन र ? तैपनि …. ।
विराटनगरबाट सोझै दक्षिणको जोगबनीबाट केही दक्षिणमा नेपाल–भारत सीमामा नेपालपट्टि भेडियारी नामको सानो गाउँ छ । भेडियारी पहिले बुधनगर गाविसमा पर्थ्यो । हाल त्यसलाई विराटनगर उपमहानगरपालिकाभित्र गाभिएको छ । विराटनगरको नाउँ दिलाउने स्थल सोही भेडियारी हो । विराटनगरलाई पहिचानपूर्ण नाम दिन सक्षम भेडियारी गाउँ लामो समयसम्म बुधनगर गाउँ पञ्चायत, गाविस आदि अलग्गै चिनारी बोकेर अस्तित्वमा थियो ।
भेडियारीमा राजा विराटको राजधानी शहर भएको, र हाल भेटिएको भग्नावशेष उनकै राजदरबारको भग्न अवशेष हो आदि भनिएको छ । यसै आधारमा हाम्रो शहरले विराटनगर नाम पाएको हो ।
भेडियारीमा उक्त स्थलको ऐतिहासिकताको बारेमा बुझ्न केही उत्खनन भए । अनेक शोधकर्ता आए, शोधग्रन्थ लेखे, उपाधि पाए, गए । डा. तारानाथ मिश्रको अगुवाइमा गरिएको सन् १९६८ को उत्खनन यससम्बन्धी पहिलो र फलदायी पुरातात्त्विक अध्ययन हो । उक्त अध्ययनले उक्त स्थल प्रथम र द्वितीय शताब्दीको भग्नावशेष भएको भनेको छ । यसो हो भने यो द्वापरयुगीन–महाभारतकालीन हुने कुरै आएन, विराट राजासँग सम्बन्धित हुने त अझ कुरो आएन । दरबार हो भनेर दाबी गरिएको स्थानलाई प्राचीन वास्तुशास्त्रले ‘कुक्कुट अण्ड सदिसम’ भनेको हुनाले त्यो विराट राजाको दरबार हुने सम्भावना कम छ । तर पोखरीहरू, इनारहरू, घरहरूका जग जताततै भेटिनुले त्यो कुनै गतिलो–धनी बस्तीको अवशेष हो भन्नेमा दुबिधाचाहिँ छैन । यो स्थान खोटा राजवंशीहरूको राजधानी रहेको विषयमा कतिपय विद्वान् र अनुसन्धाताको मत सुनिन्छ ।
आज पनि उक्त स्थानमा भेटिएका इँट र अन्य सामग्री (अ)सुरक्षित राखिएका छन् । त्यहाँ पाइएका इँट प्रयोग गरेर कतिपय स्थानीयले आफ्नो घर बनाए, आँगनमा ओछ्याए । एउटा प्राथमिक विद्यालयसमेत बनाइयो । हजारौँ वर्षसम्म जमिनमुनि सुरक्षित रहेका पुरातात्त्विक वस्तुहरू स्थानीयहरूले जथाभावी प्रयोग गरे, र नष्ट भए, भिल्लका देशमा मणि भयो । त्यसै ठाउँमा भर्खरै नयाँ चेक पोस्ट र ड्राई पोर्ट बनाइएकाले बचेखुचेका ऐतिहासिक अवशेष र प्रमाणहरू नष्ट भइरहेका वा भइसकेका छन् । अझै बचेका केही अवशेष भए ती पनि अब लामो समयसम्म टिक्नेवाला छैनन् ।
विराटनगरको इतिहास जान्न मन हुनेले प्राज्ञ स्व. दधिराज सुवेदीले लेख्नुभएको ‘विराटनगरको सङ्क्षिप्त इतिहास’ पुस्तक पढ्नु जरुरी छ । उहाँका सुपुत्र दिनेशराज सुवेदी (विराटनगर) सँग सम्पर्क गरेमा उक्त सामग्री प्राप्त हुन सक्छ । नेकपा एमालेको काठमाडौँ मोरङ सम्पर्क मञ्चले प्रकाशित गरेको ‘मोरङ एक परिचय’ ग्रन्थमा यससम्बन्धी थप सामग्री छन्, जसमा अनुसन्धाता तारानाथ मिश्रको आलेख ‘पूर्वी नेपालको इतिहास र गौरवका गाथाहरू’ विशेष पठनीय छ । यसैगरी उक्त ग्रन्थमा डा. पेशल दाहालको लेख ‘मोरङको एतिहासिक रूपरेखा’ पनि विराटनगरसम्बन्धी अध्ययन गर्न चाहनेका लागि राम्रो स्रोतसामग्री हुन सक्छ । विराटनगरकी सुनीता पोखरेलले वि.सं. २०५५ मा ऐतिहासिक विराटनगरसम्बन्धी तयार गर्नुभएको शोधग्रन्थ यहाँ उल्लेख्य छ । अन्य पनि कैयौँ अध्ययन र अनुसन्धान पक्कै भएका होलान् ।
विराटनगरसम्बन्धी अध्ययन गर्नेहरूका लागि सोह्रौँ शताब्दीभन्दा पुराना ऐतिहासिक सामग्री अधुरा, अपूरा, अपर्याप्त र अस्पष्ट छन् । यो क्षेत्र प्राचीनकालमा मिथिला राज्यको अधीनमा थियो । पछि कहिले कोचहरूको अधीनमा, कहिले उता बङ्गालको अधीनमा पुग्यो । जब सिम्रौनगढमा कर्णाटवंशी राजाहरूले शासनसत्ता स्थापित गरे, त्यसबेला यो तिरहुतअन्तर्गत अर्थात् मिथिला भूमिमा पुनः गाभियो । पछि मुगलकालमा पुर्णियाँका नवाबहरूले समेत केही समय यहाँ दाबी गरे, तर किरातीहरूले तिनलाई भगाएपछि यो विजयपुरको अधीनमा रह्यो । यो चौदण्डी र उदयपुर राज्यको अधीनमा पनि रहेको हुन सक्ने देखिन्छ । नेपाल एकीकरण हुनुअघि यो भूभाग पाल्पाका सेनवंशी राजाहरूको अधीनमा थियो ।
सुनसरी, मोरङ र झापालाई मोरङ भनिन्थ्यो । यस प्रशासनिक क्षेत्रमा भारतको सुपौल, पुर्णियाँ, मधेपुरा, अररिया र किसनगन्जका धेरैजसो क्षेत्र पर्थे । पछि नेपाल–अङ्ग्रेज युद्धले नेपालको सीमा आज भएको ठाउँमा कायम गर्न पुगेको हो, र यसैकारण मोरङ खुम्चन पुगेको हो । आज उक्त विशाल मोरङबाट सुनसरी र झापा पनि अलग पारिएको छ ।
विराटनगरको ऐतिहासिकता वा पौराणिकताको खोजी गर्नेले भेडियारीका कमलकिशोर यादवलाई भेट्नुपर्ने हुन्छ । उहाँले आफ्नो घरमा एक सङ्ग्रहालय बनाई भेडियारीसम्बन्धी भेटेजति सम्पूर्ण सामग्री सुरक्षित राख्नुभएको छ । त्यस स्थलको बारेमा सानो पुस्तिका आफैँले छाप्नुभएको छ र शोधकर्ताहरूले त्यहाँको अध्ययन गरी तयार गरिएका शोधग्रन्थहरूसमेत उपलब्ध हुने गरी राख्नुभएको छ । ती सामग्रीलाई विराटनगर उपमहानगरपालिकाले प्राप्त गरी तुरुन्त सार्वजनिक सङ्ग्रहालयमा राख्नु जरुरी छ ।
विराटनगरलाई महाभारतकालीन विराट राजाको क्षेत्र हो भन्नका लागि लिइएका आधारहरू:
१. बाबा हरिशरण सिंहले विराटनगरमा मानिसको एक विशाल दाँत भेटेका थिए । त्यो दाँत राजा विराटका साला तथा सेनापति कीचकको दाँत हो भनी दाबी गरिएको थियो ।
२. जोगबनीलाई अर्जुनले दिव्यास्त्र प्राप्त गर्न योग गरेको स्थान भएकाले योगवन हुँदै जोगबनी नाम पाएको भनिएको ।
३. पहिले मोरङ (आजको झापा, मोरङ र सुनसरी) को सदरमुकाम रङ्गेलीमा थियो । जब बेलायतीहरूले कटिहारबाट पुर्णियाँ, अररिया, फारबिसगन्ज हुँदै जोगबनीसम्म रेलसेवा विस्तार गरे, त्यसबाट लाभान्वित हुन नेपालले रङ्गेलीबाट विराटनगरसम्म व्यवस्थित सडकमार्ग बनायो । खोलाखोल्सामा काठेपुल हाल्यो । गोरुगाडा, घोडा र पैदल यात्रुका लागि सहज बाटो बन्यो । अब मोरङलाई भारतभूमिको कलकत्तासम्म र अझ समुद्रसम्म जोड्न पहिलेका हेरी धेरै सजिलो भयो । उसबेला हामीसँग मोटरगाडी नभएकाले यति भौतिक विकास पर्याप्त थियो । (अझ पछि आएर सदरमुकामलाई रङ्गेलीबाट विराटनगरमै सारियो ।)
रङ्गेलीबाट विराटनगर जोड्ने बाटो खन्ने क्रममा कर्सियानेर हो क्यार एक विशाल ‘ताला’ भेटियो । उक्त ताला दुई मन (एक मन बराबर ३७.३२४ केजी हुन्छ) को थियो भनिएको छ र उक्त ताला काठमाडौँस्थित राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित छ भनिन्छ । सो ताला चन्द्रशमशेरका छोरा केशरशमशेरले काठमाडौँ लगेका हुन् ।
उनै केशरशमशेरले यही ताला भेटेको आधारमा विराट राजा यहाँ शासन गर्थे भन्ठानेर हाम्रो गोग्राहालाई विराटनगर भन्नू भन्ने आदेश दिएका हुन् । अतः हाम्रो विराटनगरको नाम प्राचीन हुँदै होइन । विराटनगरको आजको मिल्स एरिया र त्यहाँबाट उत्तरका बस्तीलाई पहिले नेपालगन्ज पनि भनिन्थ्यो रे । अबदेखि जसले यस ठाउँलाई नेपालगन्ज भन्छ, उसलाई डाँडिनेछ भन्ने उर्दी सुनाइएको थियो । एक जनाले उक्त स्थानलाई नेपालगन्ज भन्यो भनेर एक रुपियाँ डाँडिएको (दण्ड तिराइएको) थियो रे । आफू दण्डित हुनुपरेको अपमानका कारण अर्याल थरको उक्त व्यक्ति बारा जिल्लाको कलैयामा बसाइँ सरी गए भन्ने कथा मैले सुनेको छु ।
४. विराटनगरको पौराणिकतालाई ‘सिद्ध’ गर्न दुहबी, गढी, खनार, गौरीगन्ज, गौरादह, कीचकवध, हरैँचा र अर्जुनधारासम्बन्धी अनेक किंवदन्ती कथिएका छन् । अझ यसैलाई थप ‘प्रस्ट’ गर्न हामीले चालीस–पैँतालीस वर्षअघि हरैँचामा विराटचोक बनायौँ । विराट राजासँग नजोडे पनि विराटनगरसँग जोडेर यसलाई विराटचोक भनेका हौँ हामीले । यी कथा कुनै ऐतिहासिक प्रमाणका आधारमा, पौराणिक तथ्यका आधारमा वा परम्परागत जनश्रुतिका आधारमा नभई कसैले कथेका हुन् ।
माथि उल्लेखित चार ‘आधार’ बाहेक अन्य कुनै प्रमाण, तथ्य र आधार हामीसँग छैनन् । हाम्रो विराटनगर प्राचीन महाभारतकालीन मत्स्यदेशको राजधानी तथा राजा विराटको राजधानी शहर विराटनगरी हो भन्ने कुरालाई पुष्टि गर्नमा यी बुँदा अत्यन्त कमजोर देखिन्छन् ।
तर खुशीको कुरा, हाम्रो विराटनगरको ऐतिहासिकतासँग यस स्थानलाई जोड्नमा नेपालका पत्रपत्रिका, स्थानीय बुद्धिजीवी, राजनीतिकर्मी, नेता, उद्योगी–व्यापारीमात्र होइन, भारतीय पक्ष पनि लागेको देखिन्छ । भारतीय पक्षबाट हाम्रो विराटनगरको ऐतिहासिकताको दाबीलाई बल पुर्याउने ‘तथ्यहरू’ हेरौँ ।
१. अगस्ट २७, २००४ मा भारतको प्रसिद्ध दैनिक पत्रिका ‘दैनिक जागरण’ले पनि यस स्थानसम्बन्धी एक विस्तृत ‘खोज–अनुसन्धानमूलक’ सामग्री प्रकाशित गरेको थियो । त्यसमा नेपालको विराटनगरलाई राजा विराटको राजधानी शहरको रूपमा भारतभर चिनाइएको थियो ।
२. विराटनगरबाट केही पूर्व कुर्साकाँटा गाउँमा एक प्रसिद्ध शिवालय छ: सुन्दरीमठ (सुन्दरनाथ धाम) । सुन्दरीमठमा हरेक वर्ष मकर सङ्क्रान्तिको दिनदेखि शुरु भई एक महिना विशाल मेला लाग्छ । त्यहाँ विशाल र भव्य शिव–मन्दिर छ । नेपाल र भारतका भक्तजनको कुँडुलो पुग्छ त्यहाँ । स्थानीयहरू पाण्डवहरू उक्त शिवालयमा पूजाआजा गर्दथे भन्दछन् । पाण्डवहरूले गुप्तवासका लागि राजा विराटकहाँ जानुअघि आफ्ना समस्त शस्त्रअस्त्र, लुगाफाटा, गरगहना आदि सुन्दरीमठस्थित एक वृक्षको टोड्कामा लुकाएका थिए भनिएको छ । सुन्दरनाथधामका मठाधीश श्री सिंहेश्वर गिरिजीले द्वापरयुगमा पाँच पाण्डवले यस मन्दिरको स्थापना गरेका र पाण्डवहरू यहाँ गुप्तवास बसेका थिए भनेका छन् । उनले पनि विराट राजाको राजधानी हाम्रै भेडियारीलाई मानेका छन् । यी मठाधीश प्राचीन भारतीय इतिहासका प्रकाण्ड विद्वान् मानिन्छन् ।
३. भारतको कटिहारबाट केही पश्चिममा विराटपुर छ । उक्त विराटपुरमा चण्डी माताको ‘पुराणकालीन’ मन्दिर छ र त्यसमा पाण्डवहरूले पूजा गरेका थिए भनिएको छ । चण्डीस्थाननजिकै एक अर्को नयाँ मन्दिर छ, पाण्डव मन्दिर । अनि पर्तिर एउटा ढिस्को छ र उक्त ढिस्कामा पाण्डवहरू आफ्नो वनवासकालमा बाह्र वर्ष बसे भनिएको छ । यसैबेला अर्जुन र महादेवबीच युद्ध भएको र उक्त युद्ध नै किरातार्जुनीयम्को मूल कथा हो । अर्जुनले योगध्यान बसेको वन योगवन नै आजको जोगबनी हो भन्ने कथा त्यहाँ लोकप्रिय छ । अर्जुनले जोगबनीमै पाशुपतास्त्र प्राप्त गरेका थिए रे ।
४. भारत बिहारको सहरसा शहरको उत्तरी खण्डमा एक ‘हर्स सु लेक’ (नदीले छाडी बनेको घुमाउरो ताल) छ । त्यसलाई मत्स्यगन्धा झिल भनिन्छ । त्यहाँ मत्स्यगन्धाले नवजात बालक वेदव्यासलाई बोकेको र साथमा ऋषि परासर उभिएको मूर्ति स्थापित गरिएको छ । मत्स्यगन्धाले त्यहीँ परासर ऋषिलाई नदी तारेकी हुन् भनिन्छ । यसै तालको किनारमा मत्स्यगन्धा मन्दिर पनि छ । यी कथाले पनि महाभारत कथा यतैतिरका हुन् भन्छन् ।
यी सबै कथा–किंवदन्तीले हाम्रो विराटनगरको कथालाई सत्य साबित गर्न नै बल पुर्याउँछन् । हाम्रो विराटनगरलाई कसले, किन र कहिले विराटनगर नाम दियो भन्ने बारेमा यतिभन्दा ज्यादा नजाने पनि पुग्ला ।
के हाम्रो विराटनगर महाभारतकालीन राजा विराटसँग सम्बन्धित छ भन्ने कुरा सत्य हो त ?
त्यो सम्भावना म देख्तिनँ । राजा विराट मत्स्यदेशका राजा थिए भन्नेमा सबै स्पष्ट छौँ । हाम्रो विराटनगर मत्स्यदेशहरूमध्ये एक कहिल्यै मानिएको थिएन । मत्स्यदेशहरू भारतको राजस्थानमा थिए । केही मत्स्यभूमि उत्तरप्रदेश र मध्यप्रदेशको पश्चिमी खण्डमा पनि पर्थे । मोरङ मिथिलाभूमि थियो, कोचभूमि वा बङ्गभूमि थियो, सेन र पालभूमि थियो । मोराहाङ भूमि पनि थियो । यहाँ बरु धनपाल महाराजका गाथा गाइन्छन्, अछुत राजा सलहेस पुजिन्छन्, तर राजा विराट वा उनको वंशका कुनै राजाको गीत छैन, कथा छैन, अवशेष छैन । इतिहासमा सामान्य रुचि भएको व्यक्तिले पनि यति सत्य बुझ्न सजिलै सक्छ । यसो हुँदाहुँदै हाम्रो विराटनगरलाई मत्स्यनरेश विराट र पाण्डवको गुप्तवाससँग जोड्न कोशिश गर्नु बेकारको कुरा हो । यसो गर्नु हाम्रो अज्ञानता, टपरटुइयाँ सोच र ढाँटबुद्धिको प्रदर्शनमात्र हो ।
सत्यतथ्यतिर पुग्दा चित्र अर्कै बन्छ । असली विराटनगर कुन हो, कहाँ छ, आदि विषयमा थप खोजी गर्न केही प्रश्न वा जिज्ञासाको बाटो यहाँ प्रस्तुत गर्छु:
१. बैराठ : भारतको राजस्थानमा एक स्थान छ बैराठ । यो स्थान राजस्थान राज्यको राजधानी शहर जयपुरबाट पचहत्तर किलोमिटरजति उत्तर–पूर्व (अलवरबाट पैँतालीस किलोमिटरजति पश्चिम–दक्षिण) मा एक पहाडको पूर्वी फेदमा अवस्थित छ । कोटपुतली जिल्लामा पर्ने यस स्थानलाई मत्स्यनरेश विराटसँग जोड्न सकिने सयौँ तथ्यहरू छन् । यसलाई सम्राट् अशोक र बौद्ध गतिविधिसँग पनि जोडिन्छ । तर यस स्थानलाई विराटनगर नभनेर लामो समयसम्म बैराठ भनियो । हाल आएर भारतले यसलाई पुनः विराटनगर नाम दिएको छ । भारत सरकारले यहाँ प्राप्त दरबार र अन्य संरचनाका भग्नावशेषहरूलाई संरक्षित गरेको छ ।
२. राठ : भारत उत्तरप्रदेश हमिरपुर जिल्लामा छ सानो शहर राठ । यो मध्यप्रदेशसँग जोडिने स्थान हो । यस स्थानलाई पनि स्थानीयहरू द्वापरयुगीन विराटनगरी हो भनेर दाबी गर्दछन् । यस भनाइलाई पुष्टि गर्न अनेक संरचना र खण्डहरलाई उनीहरू देखाउँछन् । हाम्रो विराटनगरसँग भन्दा बढी ‘प्रमाण’, खण्डहर, कथा र आत्मविश्वास उनीहरूसँग छ ।
तर विराटनगर नामका स्थान यतिमात्र होइनन् । नेपालभित्र राजा विराट र विराटनगरसँग सान्निध्य राख्ने केही स्थान हेरौँ :
१. विराट गाविस र पाण्डवगुफा गाविस : जुम्ला जिल्लामा विराट गाविस थियो । नजिकै पाण्डवगुफा भन्ने अर्को गाविस थियो । यी स्थान हाल कनकासुन्दरी गाउँपालिकामा पर्छन् ।
२.विराटचोक : मोरङको सुन्दरहरैँचा नगरपालिकामा विराटचोक नामको ठूलो बजार छ । पुरानो गाउँ हरैँचाबजार जाने बाटो भएको ठाउँ हरैँचामोड नै आजको विराटचोक हो ।
विराटनगरसँग सान्निध्य देखिने अरू भारत तथा बङ्गलादेशका गाउँ, बस्ती, टोल र नगरहरू पनि हेरौँ :
१. राजस्थानको ‘ऐतिहासिक विराटनगर’को १५ किलोमिटर पश्चिम–उत्तरमा अनतेला गाउँनेर अर्को गाउँ छ, जसलाई विराटनगर भनिएको छ । राजस्थानकै भीलवाडा शहरको उत्तरी खण्डमा अर्को विराटनगर छ । बैराठ अर्थात् जयपुरनेरको विराटनगरबाट यो लगभग ३०० किलोमिटर दक्षिण (केही पश्चिम पनि) मा पर्छ ।
२. गुजरातको ढोलका शहरमा विराटनगरी नामको एक ब्लक छ । मध्यप्रदेशका सतना, इन्दौर, उज्जैन, उमरी गरी चार शहरमा अलग–अलग विराटनगर छन् । महाराष्ट्रको विरार (नाला सोपरा शहरनेरको सानो शहर)मा, गुजरातको अहमदाबादमा, तेलाङ्गानाको हैदराबाद, कर्णाटकको बैङ्ग्लोरमा, बिहारको बक्सरमा अनि पश्चिम बङ्गालको गङ्गासागरबाट अलिक पूर्वमा पनि फरक–फरक विराटनगर उपनगर वा ब्लक छन् । भारत बिहारको दरभङ्गाबाट करिब ४५ किलोमिटर दक्षिण–पूर्वमा विराटचौक नामको स्थान छ ।
३. भारत उडिसाको कटक शहरनजिकै चौद्वार भन्ने ठाउँमा एक किल्ला छ, त्यसको नाम विराटगढी हो । अर्जुनले कलिङ्गदेशकी राजकन्यासँग विवाह गरेका, केही समय त्यहीँ बसेका कथा छन् । उडिसाकी प्रसिद्ध लेखिका प्रतिभा रायले आफ्नो विश्वप्रसिद्ध उपन्यास ‘याज्ञसेनी’मा यस कथालाई विस्तृत रूपमा लेखेकी छन् । उसबेलाको कलिङ्गदेश नै आजको उडिसा हो ।
४. बङ्गलादेशको मयमुनसिंह शहरबाट एक सय किलोमिटरजति पूर्व–दक्षिणमा कुसियारा नदीको किनार अजमिरीगन्जमा विराटग्राम अनि धारिया नदीकिनारको लालमोनिरहाटसँगै विराटबजार नामका ठाउँ छन् ।
खोजी गर्दै जाने हो भने पचासौँ विराटनगर भेटिनेछन् । उदाहरणका लागि मात्र मैले नेपाल, भारत र बङ्गलादेशभित्रका चौध–पन्ध्रवटा ठूला–साना विराटनगर देखाएँ । तीमध्ये आधाउधिमात्र पूर्ण आकारका गाउँ वा शहर हुन्, बाँकी कोलोनी या टोलमात्र हुन् । समयक्रममा तिनले पनि प्राचीन विराटनगर आफ्नै रहेको दाबी गर्नेछन् । तिनले राजा विराट, उनका छोराहरू उत्तर, शङ्ख, श्वेत अनि छोरी उत्तरा र पाँच पाण्डव घुमेका ठाउँ हामीले बनाएका भन्दा पत्यारलाग्दा सिर्जना गर्न थाल्नेछन् । अनि सप्तरीको बरमझियामा सयभन्दा बढी असली बूढो बाजेको पेडा भण्डार खुलेझैँ हुनेछ । हामीले ती सबैलाई असली मानेझैँ हाम्रा सन्ततिले भारत, बङ्गलादेश, नेपालभरि असली विराटनगर देखेर रनभुल्लमा पर्नेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










