काठमाडौं । लघुकथा प्रतिष्ठान, नेपालले आफ्नो चौथो वार्षिकोत्सवलाई साहित्यिक ऊर्जाको अद्भुत पर्वका रूपमा मनाउने तयारी गरेको छ । प्रतिष्ठानले आगामी कार्तिक ३ गते आयोजना गर्न लागेको ‘चौथो वार्षिकोत्सव शुभकामना लघुकथा वाचन–विमर्श कार्यक्रम’ केवल औपचारिकता नभई नेपाली लघुकथा आन्दोलनकै सार्थक यात्राको प्रतीक बन्ने जनाइएको छ । प्रतिष्ठानको स्थापना २०७८ साल कार्तिक ३ गते भएको हो ।

कार्यक्रमको संयोजन ‘लघुकथामा निरमलन समूह’ले गर्नेछ, जसमा एन्जल निलु, रचना शर्मा, मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्य सक्रिय हुनुहुन्छ । सहजकर्ताको जिम्मेवारी सर्जक मनोहर पोखरेल र रचना शर्माले सम्हाल्नुहुनेछ ।

विशेष लघुकथा वाचनमा एन्जल निलु, लक्ष्मण ज्ञवाली, समर भण्डारी, नन्दलाल आचार्य, शारदा दहाल, खगेन्द्र बस्याल लगायतका सर्जकहरू प्रस्तुत हुनुहुनेछ । उहाँहरूले आफ्नो सृजनामा वर्तमान समाजका संवेदना, प्रश्न र चेतनाको ध्वनि उजागर गर्ने अपेक्षा गरिएको छ ।

वाचित लघुकथाहरूको आलोचनात्मक विमर्श प्रा.डा. खेमराज खनाल, रमेन्द्र कोइराला र पुण्य कार्कीजस्ता विद्वान तथा समीक्षकहरूले गर्नुहुनेछ । प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालका अनुसार, “यो कार्यक्रम केवल वाचन र समीक्षा होइन, यो सृजनशील चेतनाको पुनःजागरण हो, जहाँ लघुकथा माध्यम बनेर जीवनका यथार्थहरू उजागर गर्छ ।”

कार्यक्रममा नेपाली लघुकथा विधामा महत्वपूर्ण योगदान पुर्याउनुभएकाे प्रतिष्ठित सर्जक तथा समीक्षकहरूलाई ‘स्रष्टाद्रष्टा सम्मान’द्वारा सम्मान गरिनेछ । सम्मानित हुनुहुने विद्वानहरूको सूची नै नेपाली लघुकथाको विकासयात्राका जीवित साक्षी हाे , खेमराज पोखरेल, प्रा.डा. खेमराज खनाल, रमेन्द्र कोइराला, दीपक लोहनी, कल्याण पन्त, रामकुमार पण्डित, इन्दिरा चापागाईं, पुण्य कार्की, धीरकुमार श्रेष्ठ, मनीषकुमार शर्मा समित, त्रिलोचन ढकाल, डा. कुसुमाकर शर्मा, डा. पुष्करराज भट्ट, ममता मृदुल, निरज कोइराला, खगेन्द्र बस्याल, प्रा.डा. कपिल लामिछाने र मन्दिरा मधुश्री ।

विगत वर्षहरूमा प्रतिष्ठानले ‘लघुकथा लाइभ’ कार्यक्रममार्फत साहित्यिक जगतमा निरन्तर चेतना जगाउँदै आएको छ । ती कार्यक्रमका नियमित प्रस्तोताहरू — जिना राणा, समर भण्डारी, विनिता गौतम, डिमला जर्गा, संजिता भट्टराई, गरिमा आचार्य, निर्मला बराल, मिसु श्रेष्ठ, शारदा दहाल, सुनिता निरौला, पं. ज्यो. तोयनाथ सुबेदी र लक्ष्मण ज्ञवाली — लाई समेत यसपटक सम्मान गरिनेछ ।

त्यसैगरी, नेपाली लघुकथामा निरन्तर कलम चलाइरहनुभएकाे ललिता ‘दोषी’, रञ्जुश्री पराजुली, अन्जु शर्मा, सुरेशकुमार पाण्डे, रासा, नारायण कोइराला, मित्र उराठी गौतम, इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, प्रार्थना खनाल, सोमकुमार सुब्बा, तुलसी पण्डित, किशोर पहाडी, लता के.सी., गंगा खड्का, रमेश सुबेदीलगायतका सर्जकहरूलाई पनि विशेष सम्मान प्रदान गरिनेछ ।

लघुकथा प्रतिष्ठानले विगत चार वर्षमा नेपाली लघुकथाको गति, गरिमा र गहिराइलाई नयाँ दिशा दिएको छ । छोटा वाक्यमा संवेदनशील समाजका कथा समेट्दै जीवनका गहिरा सत्य उजागर गर्ने यो साहित्यिक आन्दोलनले चौथो वर्ष पार गर्दै नयाँ मोडमा प्रवेश गर्दैछ ।

लक्ष्मी रिजालका शब्दमा — “हाम्रो प्रत्येक वर्ष केवल उत्सव होइन, एउटा उपलब्धिको दस्तावेज हो; जहाँ प्रत्येक सर्जकले आफ्नो लघुकथा मात्र होइन, समाजको आत्मा लेख्छन् ।”

उक्त अवसरमा लघुकथा प्रतिष्ठान, नेपालको मुखपत्र ‘सन्दर्भ’ पत्रिका पनि लोकार्पण गरिनेछ ।