काठमाडौं । हरेक महिनाको अन्तिम शनिबार विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएको अभिनव साहित्य समाजले आफ्नो २८४ औं शृङ्खला राजधानीमा सम्पन्न गरेको छ। शनिबार राजधानीमा आयोजित विशेष कार्यक्रममा समाजले अभिनव कमला संघर्षशील नारी सम्मान २०८२ पुराणवाचिकाद्वय गार्गी चौलागाईँ ‘शाकम्भरी’ र सरस्वती चौलागाईँ ‘शाम्भवी’ लाई संयुक्त रूपमा अर्पण गरेको हो।
रु. २५ हजार राशीसहितको यो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, तथा समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायतले संयुक्त रूपमा प्रदान गर्नुभयाे । अध्यक्ष ‘वेदमणि’ले सम्मानित व्यक्तित्वद्वयबारे प्रकाश पार्दै उनीहरू समाजलाई सही दिशातर्फ डोर्याउने प्रेरणादायी पात्र भएको उल्लेख गर्नुभयाे ।
सोही अवसरमा समाजका उपाध्यक्ष तथा साहित्यकार विमल अर्यालद्वारा लिखित कथा सङ्ग्रह ‘अन्तर्मनका तरङ्ग’ लोकार्पण गरिएको थियो। सन् २०३८ सालदेखि लेखिएका समसामयिक परिवेशका ५१ वटा कथाहरू समेटिएको यो कृतिको समीक्षा गर्दै साहित्यकार रमेश प्रसाद खनालले अर्यालका कथाहरूमा नेपाली समाज र देशको सजीव यथार्थ चित्रण पाइने धारणा व्यक्त गर्नुभयाे।
अर्याल लामो समयदेखि साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकाे छ । उहाँका यसअघि प्रकाशित कृतिहरूमा ‘समृद्धि’ संयुक्त मुक्तक सङ्ग्रह (२०७९) र ‘आवरण’ कविता सङ्ग्रह (२०८१) समावेश छन्।
कार्यक्रममा उपस्थित स्रष्टाहरूले मुलुकका समसामयिक विषय तथा अन्य विविध विषयमा केन्द्रित भई कविता र मुक्तक वाचन समेत गर्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 




