काठमाडौं । नेपाली साहित्यका कथाकार, समालोचक तथा लेखक डा. टीकाराम पोखरेलको नयाँ कथासङ्ग्रह ‘अन्त्यारम्भ’ सार्वजनिक भएको छ।
कथा, लघुकथा, निबन्ध, समालोचना तथा समसामयिक लेखनमा सक्रिय पोखरेलको यो नौँ कृति तथा दोस्रो कथासङ्ग्रह हो। यसअघि सन् २०५६ मा प्रकाशित ‘धोको’ उहाँकाे पहिलो कथासङ्ग्रहका रूपमा चर्चित भएको थियो।
सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित ‘अन्त्यारम्भ’ मा कुल २१ वटा विविध विषयवस्तु समेटिएका कथा समावेश छन्। पुस्तकका कथाहरूले नेपाली समाजमा व्याप्त प्रेम, यौन, जीवनका विविध आयाम, मानवीय मनोविज्ञान, नैतिक मूल्य–मान्यता, मानवताको ह्रास, राजनीतिक विकृति, सामाजिक विसङ्गति, अपराध, अशिक्षा, अन्धविश्वास, अविकास र गरिबीबाट उत्पन्न विषम अवस्थाहरूलाई कलात्मक रूपमा उजागर गरेका छन्।
कथाहरूमा कल्पनाभन्दा गहिरो भोगाइ, समाजले अस्विकार गर्न खोज्ने कठोर यथार्थ र कुरीतिप्रति तीक्ष्ण व्यङ्ग्यात्मक प्रहार पाइन्छ। पुस्तकका कथाहरूमा यौनका बाछिटा, प्रेमका मिठास, राजनीतिका धब्बा, छलनीतिका कुरा, केही कृत्य र केही कुकृत्य, लोभ र पापका पाटा विविध कोणबाट प्रस्तुत गरिएका छन्। लेखकले कथाहरू मार्फत समाजका गहिरा पीडा र विरोधाभासलाई सरल तर प्रभावकारी भाषामा उजागर गर्नुभएकाे छ ।
साहित्यिक वृत्तमा पोखरेलका यसअघिका कृतिहरूले समीक्षात्मक चर्चा पाएको पृष्ठभूमिमा ‘अन्त्यारम्भ’ प्रति पनि पाठक तथा समालोचक समुदायबाट उत्साहजनक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ। पुस्तकले समसामयिक नेपाली समाजका यथार्थ र गहिरा भावनात्मक तहहरूलाई कलात्मक ढंगले चित्रण गरेको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 




