(लघुकविता)

कहिले दशैँको बहानामा
कहिले बैँसको चाहनामा
तिमी जहाँ छौ त्यहाँसम्म आउँदा
उकाली ओराली गर्दाको आनन्द,
खोला–खोल्सा, जङ्घार तर्दाको आनन्द,
तिमी नै भन, “म कसरी भुल्न सकुँला?”

तिमी झरेको झरनामा
तिमीसँगै झर्नुको आनन्द,
भित्र मायाको उन्माद लिएर
तिमीसँग एउटै बहावमा पर्नुको आनन्द,
तिमी नै भन, “म कसरी भुल्न सकुँला?”

र जुन काखमा मकालु हुर्कियो,
त्यही काखमा— तिम्रो मायासंँगै
चञ्चल चमेलीको सुवासमा
हुर्किनुको आनन्द,
तिमी नै भन, “म कसरी भुल्न सकुँला?”

धन्य तिमी—
र तिम्रा सम्झनाका ती पलहरू!