जन्मपछि मृत्यु जीवनको सत्य हो लाग्छ
सृष्टिपछि अन्त्य त्यो पनि सत्य हो लाग्छ
मिलनपछि बिछोड सत्य हो नै लाग्छ
हरेक उद्वेगको अन्त्य छ जस्तो लाग्छ
हरेक आक्रोशको अन्त्य छ जस्तो लाग्छ
तर अन्तपछि पनि यात्रा अनन्त छ

भेट्टिनु र छुट्टिनु त एउटा प्रक्रिया हो
थाहा छ छुटेपछि पनि हाम्रो अर्को भेट हुन्छ
र त हामी पुज्छौँ आत्मालाई परमात्मालाई
विश्वास नजिक उभिएको देउरालीलाई
अँध्यारामा टिलपिलाउने जून-तारालाई
हामीले ओढेको आकाश र ब्रह्माण्डलाई

जब म तिम्रो बारेमा केही लेख्न खोज्छु
अनायास अक्षरहरू आन्दोलन गर्छन्
शब्दहरू शब्दकोष छाडेर धर्नामा बस्छन्
मनका पानाहरू खाली र श्यामश्वेत हुन्छन्
अनि तिम्रो प्रेमिल अनुग्रहलाई लेख्न नसकेर
साँच्चै म भावनाले फगत रित्तो–रित्तो हुन्छु

दिमागले उठाउनै नसक्ने गरी
यो दिल तिमीमा गएर बसेपछि
हत्केलाका भाग्यरेखाहरू मेटाएर
म नयाँ भाग्य रेखाहरू कोर्न चाहन्छु
यो जीवनको पूर्णविरामपछि पनि म
तिम्रै प्रेमको अनन्त बाटो हिँड्न चाहन्छु

हातैले छेकेर विगतको चहकिलो घाम-जून
आँखाको आलीमा अड्याएर अलिकति आँशू
समाजको आँखापारिका भेट र यात्राहरू
पिउँदै पानी, जवानी र गम्भीर कहानीहरू
सम्झनाको सप्कोले बाँधेर सबै प्रिय यादहरू
जानु छ एक दिन अन्तपछिको अनन्त यात्रामा ।
०००