साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लाहुरे फूल

Chovar Blues Mobile Size
सुरेन्द्र लिम्बू परदेशी

अतृप्त रहर बोकेर मनमा
जब लाउने छौ मलजल
पक्कै मौलाउने छ
आँगनको डिलनेरि
मैले रोपिछाडेको लाहुरे फूल ।

साँच्चै त्यो लाहुरे फूल
ओइलायो भने त
सम्झने छौ
लाहुरे कसम
ऊ कतै दुस्मनको घेरामा पर्यो कि !
बैरीको डेरामा पर्यो कि !

उषा,
क्यैकथम्
जल्न खोजे आस्थाका बिम्बहरू
ढल्न खोजे विश्वासका प्रतीकहरू
मुक्कुम्लुङ्मालाई शक्ति माग्नु
हिमसाम्माङ्को भक्ति गर्नु
बुख्याँचा देखेर कुनै त्रासको
कहिल्यै हरेस नखानु ।

लाहुरे फूल
क्याभानिल्सको मेक्सिकन फूल मात्रै होइन
तिम्रोलागि
आस्थाको पाति चढाउने
विश्वासको देउराली हो
जीवन-युद्धमा हिँडेको लाहुरेको जोखाना हेर्ने
पवित्र फूल हो ।

उषा,
यता गोर्खा राइफल्समा
बेस्कन अठ्याउँदा तिम्रो सम्झनाले
पोख्न नसकेर असीम माया
लेख्न नसकेर मनका कुरा
आजकल म
आकासको अनन्त गहिराईसम्म
अक्षरहरू ब्ल्याङ्क फायरिङको धुँवाझैँ
लामबद्ध उडाई रहेछु
“ए मेरा अक्षरहरू हो
छुट्टी गरेर घर जाओ
बरु शब्दकोषतिरै फर्क
होइन भने किन मसँग टाढा हुन्छौ ?
म अब लेख्न चाहन्छु
अवोध चेतनालाई विनिर्माण गरेर
नवचेतनाको लाहुरे फूल ।”

 

sagarmani mobile size

नोट:
लिम्बू भाषामा-
मुक्कुम्लुङ्मा – कुम्भकर्ण
हिमसाम्माङ् – घरको कूल देवता

प्रतिक्रिया
Loading...