आमा!
पाउमा शिर राखी सेवाढोग छ
यता सन्चै छु
आमालाई पनि सञ्चै होस् भनेर
पारुहाङ -सुम्निमालाई
नुमाफुङ चढाउँछु
रोशीको गड्तिरमा
अल्झेका विश्वासभित्र सपना खोज्दा
जुन नभेटेपछि
सुनकोशीको किनारमा
बल्झेका चाहना खोज्दा
सुन नभेटेपछि
मनभरि चाहनाको धुन उरालेर
मूर्छित सपनालाई
जहाज चढाउँदै छु ।
———-
भन्ज्याङ-रमितेबाट
देउरलीसम्म
रन्किने
हाक्पारेको भाकामा
तीनजुरे
कञ्चनजङ्घा र माइपोखरीलाई
ढोल झ्याम्टा
नमास्नू रे भन्दिनू
मंसीरको बेलामा
धान नाच्दै
लुङ्गा आउँछ रे भन्दिनू
माघेनी मेलामा पालाम गाउँछ रे
साल्पा, माक्पालुङ र खेम्पालुङकोको हात
मायाले समाउँछ रे
सिलीमा रमाउँछ रे भन्दिनू ल !
खाडीको
तातो डायस्पोरामा पनि
मेची र कोशी रगतमै छल्काउँछ रे भन्दिनू
तिम्रो बुहारीलाई
अँधेरोमा नआत्तिनू
मेन्छेयाम र अन्तुबाट घाम उदाउँछ रे भन्दिनू।
——
जनकपुरमा धीमे
ओलाङ्चुङमा ब्याण्डबाजा
सोलुमा हुड्का
र बागमतीमा नौमति बजाउनु छ
तीनजुरेको गुराँस
टीकापुरको चुल्ठोमा सजाउनु छ
मस्क्याकी राई झुमाको देउडासँग
ल्हाक्पाको स्याप्रु मिसाउनु छ
शिवधाराको माया
मुगु-राराको काखमा बिसाउनु छ
जुम्लाको उकाली काटेर
हुम्ला कर्णालीमा पसिना पुछ्न आउँछ रे भन्दिनु
बैतडीको गाड तरेर
डडेल्धुराको वेदना बुझ्न आउँछ रे भन्दिनू ल
लिपुलेक, लिम्पियाधुरा र
कालापानीमा
चन्द्र-सूर्य झण्डा फहराएर
महेशपुर र नालापानीमा
जङ्गे पिलार पुज्न आउँछ रे भन्दिनू
———-
गण्डकीका गुराँशलाई
छेजोलो सुनाइदिनू
बिनायो बजाएर
थोर्म्योलाई भेडीगोठका यादहरू
सुनाउन आउने रे भन्दिनू
पेङ्दोर्चेका सन्तानलाई
फ्याफुल्ला !!
च्याङ्बा र मैच्याङहरूसँग
डम्फूसेलो नाचेर ल्हासो भन्नु
त बाँकी नै छ रे भन्दिनू
टक्सारलाई जोजोलोप्पा भनिदिनू
टक काट्नुपर्छ
लाखे र ठाक्ठुके नाच्नुपर्छ
चोमोलोङ्मा वरिपरि
टसिदिले
सुनाउनू
टोकियोदेखि गोकियो हुँदै आउनेसँग
सगरमाथा चढ्नुअघि
त्रिजुगाबाट चौदण्डी उक्लिएर
छिन्ताङ
हुँदै विजयपुर पुग्दा
बूढासुब्बाले कहाँ गो कान्छो भनेर
सोध्छन् होला
प्रमणपत्र नबिकेर
परदेश गयो भन्दिनू है
बराहक्षेत्र र
खोटाङ हलेसीमा दुध चढाइदिनू
पाथिभरामा
बलि चढाइदिनू
र ढोगेर भन्नू
इलामे चियाको डालीमा
चिरा नपरोस्
मोरङ- झापाको बालीमा किरा नपसोस्
———-
घुम्दै घुम्दै लुङ्गा आएछन् भने
गुरँसको थुङ्गा दिएर भन्नू
कोशी प्रदेशको रङ
गुराँसजस्तै हुनुपर्छ
मुर्झाउनु हुँदैन
परदेशीहरू आउन सक्ने
समय कोरल्नु पर्छ
लुम्बासुम्बाको स्पर्श पाएको
मत्स्यपोखरीको पानीमकैमा
काली-पोके फल्नु हुँदैन भन्दिनू
सोलीमा ऐंसेलु दिनु
अनि बोलीमा महभीरको
सुधा पस्किनु
र शिवधारा घुम्न लैजानू ल प्यारी!
मु्न्धुम र आमाभुजुङ
दर्शन गराएपछि
सुप्तुलुङ
ठड्याइएका
गढी र किल्ला देखाउनु पर्छ
सङ्खुवासभा जिल्ला देखाउनु पर्छ
तर
पसिना बगाएर
म गिठ्ठो र पिठो पनि
अघाउँजी खान नपाएपछि
वाक्क भएर
मीठो खोज्न
खाडीतिर हान्निएँ
रोजगारी खोजीमा तान्निएँ
लामो जहाजमा उड्नुअघि
बेपारीको पातमा
आँशूको मसीले
यो पत्र कोरेको छु
माफ गर ल मैले
शब्दमा खर्चिन
तिम्रो दिल चोरेको छु
——-
तिमी
हामीले राखेको
माखालुङ्, दाखालुङ र पाखालुङ
सुप्तुलुङको पुजिरहनू
खिम्पालुङ र माक्पालुङ पुगेर
नुमाफुङको
खबर बुझिरहनु ल
च्याब्रूम र ढोल बजाउँछन्
गाडीमा चढेर नाच्दै नाच्दै
गुराँसे बाटो
थोर्म्योहरूसँग लुकुनीको
पखेटा भिजाएर
रौता पोखरी जानु ल
देख्नेबित्त्तिकै
‘छेजोलो’ भन्नु
त्यहाँ त भेडा हराएर
देवी भेटिएकी रे
‘आँसीमाला’ भन्नू
सीता माई नुहाउँदा
रौँ हराएर रौँसीता हुँदै
रौता बनेकी भन्छन्
पूर्वतिर
रारा सरेकी हो कि!
तारा झरेकी हो ?
चम्मचम चम्केर तरङ्गहरूमा
नाचिरहन्छ पानी
पदमार्गमा हिँड्दा हिँड्दै
तागेरा निम्माफुम्माले
झरी बर्साए पनि
आकाश गङ्गाको वर्षा सम्झिनू
भिज्दैनौ रूझिरहनू
आनन्दमा रम्नेछ जिन्दगानी
रौतासँग
म छिट्टै फर्कियोस् भनेर
वरदान माग्नू
तिम्रा पखेटाहरू सुकिजानेछन्
—–
विजयपुरमा
बूढासुब्बाले रोपेको बाँस
बाँसुरी बजाउँछ सुन्नू
कोशीको खुवालुङनेरबाट
पारि तरेर कहिलेकाहीं
चौदण्डीगढी पनि टेक्नु
उदयपुर जानु
त्रियुगा किनारमा बसेर
सालको पातमा
तायामा खियामाको
आशीर्वाद पोखेर
एउटा मीठो कविता लेख्नू
मलाई पठउनू
——-
डायस्पोराको
जन्जीरबाट उम्किन सकें भने
उन्मुक्तिको पखेटा
फट्फटाउँदै
चुच्चोमा जीवनको खुसी
च्यापेर आउँला
उभौली र उँधौलीको
पालाम गाउँला
केराको पातमा
चिण्डोबाट जाँड छर्केर
मुन्धुमको मधुमास
मनाउँला
हाम्रो आफ्नै स्वाभिमान र
पहिचानको
रमाइलो गुँड बनाउँला ल प्यारी!
-+–
पत्र पढेर
दु:खी नहुनु तिमी
यादमा तड्पेर
धरधरी नरूनू तिमी
छिट्टै भेट हुने नै छ
अनि फेरि
तिमी र म
उन्मुक्तिको लुकुनी फट्फटाउँदै
भाकल बुझाउन
समृद्धिको सन्तान
काखमा बोकेर
जाउँला
———
त्यतिबेला
दहरबाट रौतासम्म
जर्किने छैन गाडी
पक्की भइसक्नेछ बाटो
भुइँकुइरो हुनेछैन
अभावमा बादल रूने छैन
भूस्वर्ग हुनेछ माटो
अलि माथि
शिव पार्वती
बुद्ध यशोधरा
पारुहाङ सुम्निमा पुजेर
पूर्वोत्तर नजर फेरौँला
एकै नजरमा
हलेँसी, साल्पा
सभापोखरी र माइपोखरी हेरौँला
त्यहाँ हरेक चरीको
समृद्ध र सुखी
एउटा एउटा
गुँड देखिनेछ
अनि
पत्थरहरूमा
समृद्ध नेपालको
इतिहास लेखिने छ
पत्र लामो भयो होला
काफलको पातमा
कति नै अट्छ र!
पत्थरभरि लेखूँला
अहिलेलाई सेवा ल!
लास्सो!