कत्तिलाई गुराँशको हाँगा लाछिँदा पनि
हृदय लाछिएसरि पीडा बोध हुन्छ
र कत्तिलाई सिंगै रुख ढालिँदा पनि
न हृदय पोल्छ, न कुनै पीडा बोध हु्न्छ

लाग्छ – फरक यही मर्म र दुखाइमा छ

न पाथीभराको भन्दा पवित्र अर्को शिर छ
न पाथीभराको भन्दा पवित्र अर्को पाउ छ
त्यस्ती आमाको काखमा के दोष छ र
त्यो शान्त गुराँशे वनमा – आज
बोलीको विरुद्धमा गोलीको प्रहार हुँदैछ

शायद- दोष कस्तूरीको हैन बिनाको छ

गर्भ भित्रको सपना
र सतहको विपना जे भए पनि
गुराँशको हाँगामा फुल्ने अधिकार
मात्र – गुराँशकै कोपिलाहरूमा छ ।

चैनपुर, संखुवा सभा
हाल: रातोपुल , काठमांडू