प्रिय कमरेड गुरु बराल

सादर अभिवादन !

त्यता निकानन्द नै होला । यता पनि म निकानन्दमै छु भन्नुपर्छ ।

पहिले त तपाईंलाई ‘कहिल्यै नलेख्ने यो खेमले आज किन चिट्ठी लेख्यो ?’ भनेर आश्चर्य लाग्छ होला । आश्चर्य नमान्नू । मलाई समेत जरैदेखि चिन्ने मेरा लागि सबैभन्दा ठूला नेता तपाईं हुनुहुन्छ । धेरै नेतालाई म राजा चिनाइ चिन्छु, तर तिनले मलाई चिन्दैनन् । नचिन्ने नेतालाई पत्र लेख्नुको के काम ? त्यसैले तपाईं मेरो सरकार, पार्टी, नेता, साथी सबै थोक हो । त्यसै पनि तपाईंले मलाई सोधेको प्रश्नको उत्तर हो यो पत्र ।

कमरेड ! परार सालकै त कुरा हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विराटनगर जाने क्रममा प्रतीक्षा कक्षमा भेट भएथ्यो तपाईंसँग । तपाईंले बिर्से पनि मैले सम्झिरहेको छु । मलाई सोध्नुभएथ्यो, ‘सर ! भन्नु त अमेरिकामा के छ ? नेपालमा के छैन ? किन नेपाली अमेरिका ओइरिएका ?’

म अमेरिका बस्ने भएकाले यो प्रश्न सोधिएको थियो । मैले जवाफ दिन थालेको थिएँ, तर तपाईं त्यो बेला तत्काल अर्को फोनमा व्यस्त हुनुभयो । विराटनगरमा झरेपछि फेरि मैले जवाफ दिन खोजें, तपाईं फेरि अर्को फोनमा व्यस्त हुनुभयो । तपाईंको बानी नै त्यस्तै हो । जिज्ञाशा राख्ने, तर त्यसलाई गम्भीर रूपमा नलिने । शायद नेताको बानी त्यस्तो हुन्छ कि । हुनुपर्छ कि ! समस्यालाई टार्ने यो अचुक अस्त्र पनि हो कि !

तर मेरो उत्तर भने अधुरो नै रह्यो । तैपनि मैले कमरेडलाई विराटनगरको एयरपोर्टको फूलबारीका बीचमा थुप्रिएको पुरानो खुला कुडाकंकडलाई देखाएर भनेको थिएँ, ‘यो फूलबारीको बीचमा यो फोहोर देख्नुभयो नि कमरेड ? यसले यो अग्लो भवनको शोभा खाइदिएको छ । त्यहाँ फोहोर हुनुको भन्दा त्यो फोहोर हो, त्यसलाई फाल्नुपर्छ भन्ने चेतना नै म्यानेजमेन्टसँग नभएको समस्या जटिल हो । अमेरिकामा भएको भए यो फोहोरको व्यवस्थापन गरेर मात्र सार्वजनिक सरोकारको कार्यालय खुल्ने थियो ।’

अहिले दुई वर्षपछि फेरि नेपाल आएको छु । तपाईंसँग भेट नहुन सक्छ । भेट भयो भने पनि फोनले बाधा पार्न सक्छ । त्यसैले यो पत्र लेख्दैछु । मैले यो पत्रमा अमेरिकामा भएका र नेपालमा नभएका पैसा नपर्ने फरक बताउन खोजेको छु । हो पैसामा अमेरिका धनी छ । तर पैसा नै नपर्ने वा ज्यादै कम पैसामा हुनसक्ने कामकुराको फरक बताउन गइरहेको छु ।

मैले पानीजहाज, रेल, मानोरेल, टाँडेसडक, टनेल सडक, चौडा सडक, ठूला उद्योग, सहुलियत शिक्षा, हाइराइज भवन, उच्च प्रविधि जस्ता धेरै पैसा पर्ने विकासको कुरा गरेको छैन । केवल पैसा नपर्ने केही फरक मात्र भन्न खोजेको छु ।

मेरो फोन एयर पोर्टमा हरायो । मैले तत्काल त्यहाँ ड्युटीमा भएका प्रहरीहरूसँग हारगुहार मागें । केही सिप चलेन । मेरो स्नातकोत्तरीय बुद्धिले भ्याएन । मेरो नरम भाषाले काम गरेन । त्यसैले फोनलाई माया मारें । फोनलाई ट्र्याक गरेर हेर्न लगाएँ, एयरपोर्टभित्रै रहेको देखाउँछ । म निराश भएर भाडाको घरमा फिरें ।

फेरि दिमागमा आयो । यो त नेपाल हो । ज्याक लाउनुपर्छ । मैले गतिलो ज्याक लगाएँ । ज्याक खेर गएन । मैले फोन पाएँ । प्रिय कमरेड अमेरिकामा भएको भए ज्याक लाउनु पर्थेन । पुलिसले मेरो कुरा सुन्थ्यो र तत्काल ट्र्याक गरी खोजीनिती गर्थ्यो र फोन जिम्मा लाउँथ्यो ।

अहिले म धुमबाराही चौकबाट मण्डिखाटार जाने बाटोमा रहेको ह्याम्स अस्पतालको आडैको घरमा भाडामा बसेको छु । आउँदा आउँदै बेरामी परेको छु । मेरी श्रीमती पनि बेरामी परेकी छिन् । म त एक दिन एक रात केएमसी अस्पतालमा भर्ना नै भएँ ।

अस्पतालमा डाक्टर तथा नर्सको व्यवहार मलाई नेपाली तहमा धेरै राम्रो लाग्यो । हँसिला फरासिला । तर त्यहाँको ट्वाइलेटको अवस्था देख्दा भने भाउन्न भयो । इमरजेन्सीको ट्वाइलेटको कुरा त परै जाओस्, टन्न पैसा तिरेर बसेको वार्डको ट्वाइलेटको अवस्था देखेर चाहिं छक्क परेको छु । कमोड खुस्किएको छ । पानी अनवरत बगिरहेको छ । फ्लस ओभर फ्लो भएको छ । बेस्याहारले दुङदुङती गन्हाएको छ । अस्पतालले नै जनस्वास्थ्यमा गरेको योभन्दा ठूलो अपराध के हुन्छ ? तर नेपालमा यो चलेको छ । कसैले गुनासो पनि गर्दैनन् । गुनासो कहाँ गर्ने त्यो पनि थाहा छैन । गरे पनि सुन्ने निकाय छैन । एक दुई दिनको कुरा त हो भनी सामान्य कुरा लाग्छ होला ।

बेरामी कुरुवाको हालतका बारेमा त म केही भन्दिनँ । लाग्छ तिनी मान्छे होइनन् । जनावर हुन् वा कुनै बन्दी हुन् । तिनको सुताइ, बसाइको स्तर । तर यही कुरा अमेरिकाको अस्पतालमा भएको भए त्यो ट्वाइलेटको ढोकामा रातो रिबन बानेर रेड जोन घोषित गरिन्थ्यो । प्रवेश निषेध गरिन्थ्यो । अस्पतालको लाइसेन्स रद्द हुन्थ्यो । म्यानेजमेन्टले दण्ड पाउँथ्यो । आखिर बनेका ट्वाइलेटलाई व्यवस्थापन गर्न असाध्य धेरै पैसा पनि लाग्ने होइन नि !

ह्याम्स हस्पिटल पनि मान्छेको घनत्व बसोबास भएको क्षेत्रमा छ । त्यहाँ सयौं बेरामी भर्ना भएर ऐया आत्थो गरिरहेका छन् । कोही मृत्युको साँधमा छन् । आडैको घरमा म र मेरी श्रीमती बेरामी छौं । एका बिहानै छिमेकीको घरबाट एकदम ठूलो आवाजमा घण्टौं शंख बजिरहन्छ । शंख फुक्ने मान्छे शायद धर्म कमाउँदै छ । तर शंखका आवाजले मेरो बेरामीपन हायलकायल भएको छ । न म ती शंखवालालाई केही भन्न सक्छु, न ती धर्मभीरुलाई शंख बजाएर जनस्वास्थ्य ध्वनि प्रदूषण गर्न हुन्न भन्ने चेत छ । न यो कुरा सरकारले सोच्न सक्छ । अमेरिकामा भए जनस्वास्थ्यमा असर पर्ने यस्ता ध्वनि बजाउन पाइने थिएन । आफ्नो धर्म निर्वाह गर्दा अर्काको स्वास्थ्यलाई हनन गर्न पाइने थिएन । त्यो शंख नबजाए पनि ती धर्मभीरुको धर्म नाश हुने थिएन । बजाएर पनि तिनले पाउने केही होइनन् । तर ती बजाइरहेका छन्, हरेक बिहान, हरेक दिउँसो, हरेक बेलुका । यो गुनासो म नेपालमा कोसँग गरूँ ? अमेरिकामा भएको भए त ९११ मा फोन गर्दा भै हाल्थ्यो ।

प्रिय कमरेड ! फेरि पनि भनेँ, म बेरामी छु । मेरो बेरामीपनले शान्ति खोजिरहेको छ । म बसेको घरको आडैमा बोर्डिङ स्कूल छ । स्कूल लाग्ने बेला भएको छ । शायद प्रार्थना समय भएको छ । पिटी पनि खेलाइँदै छ । स्कूलले ठूलोठूलो याने लाउड स्पिकरमा नेपाली, हिन्दी अंग्रेजी गीत बजाइरहेको छ । घण्टौंसम्म । त्यो गीतको ध्वनि मेरा कानको जाली फुट्नेगरी वारपार भइरहेको छ । यो पनि ध्वनि प्रदूषणको विद्रूप नमूना हो । मेरा दिमागमा प्रश्न आउँछ, के त्यो विशालकाय ध्वनि प्रवाह नगरी विद्यालयको पढाइ उन्नत हुन्न ? यसरी जनस्वास्थ्यमा असर पार्ने काम भइरहेको छ स्कूलबाट । शिक्षाको ज्योति फैलाउने संस्थाबाट । ज्ञानको पुञ्ज उचाल्ने संस्थाबाट । शायद यो अति सामान्य होला नेपालमा, तर अमेरिकामा भए अपराध हो ।

कमरेड ! यो खेमले कस्तो झिंजो कुरा भन्यो भनेर दिक्क नमान्नु होला । देश विकास गर्ने बारेमा गम्भीर तरिकाले सोचिरहेको बेला के यस्तो झिनामसिना कुरा गरेको भनी नभन्नु होला ।

अँ त कमरेड ! म धुमबाराही चौकबाट कोटेश्वर ट्याक्सीमा गएँ । म ट्याक्सीवालासँग मोलमोलाइ गर्दिनँ । नेपालमा मोलमोलाइको महत्त्वका बारेमा मलाई थाहा छ । ट्याक्सीमा मिटर नचल्ने थियो । हचुवाको भर रहेछ । कोटेश्वर पुगेपछि ‘पैसा कति भयो भाइ’ भनेर सोधें । रु ५०० भन्यो । मैले दिएँ । फेरि फर्कंदा कोटेश्वरमा ट्याक्सी चढें । धुमबाराही आएपछि ओर्लें । पैसा सोधेको त १००० भन्छ । लफडा भयो । म कहाँ उजुर गरौं ? अमेरिकामा भएको भए एउटा बिन्दुबाट अर्को बिन्दुमा ट्याक्सीमा चढ्यो भने दिउँसो, बिहान, राति जतिवेला चढे पनि ठ्याक्कै उत्ति नै पैसा आउँछ । त्यसो त मिटरबिना ट्याक्सी चलाउन पाइने देश होइन त्यो ।

कमरेड !

अमेरिकामा भएका अग्ला भवन, स्विमिङ पुल, इन्टरनेट, वाइफाइ, प्रविधि नेपालमा पनि छ । अमेरिकनले झैं नेपालीले पनि लामा÷छोटा लत्ताकपडा लाउन थालेका छन् । अंग्रेजी बोलेर लट्टो पड्काउन थालेका छन् । मल, बजार, सिनेमा हल, बडबडा निजी अस्पताल नेपालमा पनि छन् । अमेरिकामा जस्तै पढेदेखेका मान्छे नेपालमा पनि छन् । नेपालमा पनि नेतादेखि कारिन्दासम्म, कर्मचारीदेखि दलालसम्म सबै विदेश पुगेका छन् । धेरै नेपाली परिवारका छोराछोरी अमेरिका पुगेका छन् । बसेका छन् । देखेका छन् । जानेका छन् । सुनेका छन् । अहिले प्रविधिको जमानामा नजान्ने पो को होला र ! तर जब नेपाल आउँछन्, ती कुरा बिर्सन्छन् र त्यसको परिणाम नेपालले भोग्छ । भोगिरहेको छ ।

नेपालको पशुपतिमा कोटीहोम यज्ञ भएको थियो । म त्यस्ता खाले कोटीहोमको पक्षमा वा विपक्षमा छैन । विपक्षमा किन छैन भने सनातन धर्म अनुयायीहरूले जीवन बुझ्ने क्रममा अर्थात् जीवनका रहस्य खोज्ने क्रममा पत्ता लगाएको वा अनुसरण गरेको ऐतिहासिक कुरा हो । वर्तमानका धर्मगुरुले त्यसलाई अनुसरण गरेका मात्र हुन् । यसो भएकाले कोटीहोम नेपालको लागि पहिचानमा वृद्धि गर्ने नै कुरा हो । सरकारले वा पशुपति विकास केन्द्रले यसको उन्नयन गर्न प्रयत्न गर्नु स्वाभाविक हो ।

म पक्षमा पनि किन छैन भने कोटीहोम गरेर जनकल्याण हुने होइन । जनताबाट धर्मका नाममा पैसा असुल्ने एउटा प्रपञ्च हो । कोटीहोम मात्र होइन, नेपालका कुनाकाप्चामा सार्वजनिक रूपमा लाग्ने पुराण पनि यही क्याटोगरीको हो । त्यसको लक्ष केवल पैसा संकलन गर्नु मात्र हो । जहाँसम्म व्यक्तिले निजी खर्चमा गरिने पुराण छ, त्यो भने छुट्टै कुरा हो । त्यहाँ रकम संकलन प्रयोजन हुन्न । केवल पुराण लगाउने मान्छेको धार्मिक तथा सामाजिक व्यक्तित्व उत्थानको कुरा मात्र हो । यसरी हेर्दा धर्म किन्ने धर्मभीरु र धर्म बेच्ने धर्मभीरुका बीचको व्यापार हो दानधर्म । कोटीहोम पनि । त्यसमा किन्ने तयार छ, बेच्ने पनि तयार छ भने कोटीहोमको विरोध गर्नुको कुनै अर्थ छैन ।

देवी प्रतिभाका बारेमा धेरै टीकाटिप्पणी भए । कोटीहोम आयोजक संस्थाले देवी प्रतिभाको प्रतिभालाई किनेको हो । जहाँसम्म बडीगार्ड र उनको दस्तुर तथा तडकभडकको कुरा छ त्यसमा विनामतलब उफ्रनुको केही अर्थ छैन । त्यसै पनि बाध्य बनाएर चन्दा वा दान असुल गरिएको होइन । नेपाली धर्मभीरु जनता धर्म किन्न दान दक्षिणा लिएर गएका हुन् ।

नेपाली जनतामा धर्मगुरुहरू एकदम सामान्य, धोती, कुर्तासुरुवाल मात्र लगाएको धनसम्पत्ति नभएको गरीब हुनुपर्छ भन्ने पूर्वमान्यता छ । यो मान्यता सर्वथा गलत हो । धर्मगुरु हुनु भनेको पनि पेसा हो । सेवा होइन । जहाँसम्म देवी प्रतिभाले लिएको रकमको कुरा छ, त्यो जायज छ । देवी प्रतिभाले हामी नेपालीसँग जबर्जस्ती लिएको रकम होइन त्यो । तर नेपाली मानसिकता नचाहिने कुरामा बकबक गरिरहन्छ ।

यदि यही कुरा अमेरिकामा भएको भए के हुन्थ्यो ? मैले झट्ट सम्झें । अमेरिकाको अस्टिन शहरमा दलाइ लामाको कार्यक्रम थियो । कार्यक्रमको लागि ठूला र चौडा सडकलाई नै स्टेडियम बनाइएको थियो । ६ महिना पहिलेदेखि महँगो दरमा टिकट बेचिएको थियो । कार्यक्रमका दिन सडकमा मान्छे खचाखच थिए । दलाइ लामाको दस्तुर लाखौं डलर थियो । अमेरिकन खुशी भएका थिए र गौरव गर्थे कि विश्वप्रसिद्ध गुरु दलाइ लामा अमेरिकाको अस्टिन आएर आफ्नो स्प्रिच्युअल भाषण गरे । हामी नेपालीले नेपाली चेली (जसलाई भारत सरकारले समेत उच्च मूल्यांकन गरेको छ) लाई शायद अपहेलना पो गर्यौं कि ! नेपालीका लागि यो गौरवको विषय हो वा होइन ?

प्रिय कमरेड !

मलाई यो कुरा भन्न कत्ति पनि संकोच छैन कि नेपाली जनता हावा मन पराउँछन् । स्टन्ट नेपाली जनतालाई खुब मन पर्छ । त्यसैले नेपाली राजनीतिका खेलाडीहरूले विकासभन्दा बढी स्टन्ट देखाउँछन् । मुस्ताङ जीपदेखि मुसाको पुच्छर खानेसम्म, भत्काउनेदेखि सल्काउनेसम्म गाउनेदेखि उचाल्नेसम्म सबै स्टन्ट हुन् । नेपाली जनतामा असीम नकारात्मकता छ । के चाहन्छ नेपाली जनता केही थाहा छैन । गणेशमानले भनेझैं नेपाली जनता भेडा हुन् । विकासको कुरा पनि थाहा छैन । के नेपालका भीरपाखामा बाटैबाटो बनाएर विकास हुने हो ? अमेरिकामा भने यस्तो स्टन्ट तरिकाको विकासको कुनै गुञ्जाइस छैन ।

कमरेड !

म मधेसको मान्छे । मधेस मेरो गौरवयुक्त भूमि हो । मधेसका गाउँगाउँमा बाटा पुगेका छन् । कतै पिच छन्, कतै खण्डास्मित । यो राम्रो कुरा हो । तर जब म देख्छु कि सडकका किनारामा मात्र होइन, पूरै सडक ढाक्ने गरी बिस्कुन सुकाएको, गाईवस्तु बाँधिदिएको, गोबरको ढेरी बनाइदिएको देख्छु, अनि मलाई लाग्छ यो विकास हो कि विनाश हो ? प्रश्न सडकको गुणस्तरको होइन, सडक सार्वजनिक सम्पत्ति हो, यसलाई अवरुद्ध गर्नहुन्न भन्ने चेतनाको हो । यो कुराका लागि त पैसा पर्दैन नि कमरेड ! अमेरिकामा त यस्तो कुरा कल्पना पनि गर्न सकिन्न ।

अनि नि कमरेड !

नेपाली जनतालाई हावा कुरा खुब मन पर्छ । जुन कुरामा उसको सरोकार नै छैन, त्यही कुरामा ऊ धेरै जान्ने हुन्छ । मैले एउटा उदाहरण दिन चाहें । राजेश हमाल महानायक हुन् कि होइनन् भन्ने कुराले एकपल्ट नेपाली मेडिया, युट्युबर, बुद्धिजीवी सबै तातेका थिए । मलाई लाग्छ यो बहस वाहियात हो । मलाई राजेश हमाल महानायक वा देवतै लाग्छ भने पनि कसैलाई के मतलब ?, मलाई राजेश हमाल नायक नै होइनन् भन्ने लाग्छ भने किन मैले उनलाई महानायक भन्नु पर्ने ? हो यस्तैयस्तै कुरामा नेपाली जनता जाइलाग्छन् । तर अमेरिकामा भने कसैलाई महानायक मान्नु वा नमान्नु कुनै चासोको विषय नै होइन । छलफल र मिडियाको विषय नै होइन ।

अमेरिका र नेपालमा अर्को ठूलो फरक पनि छ । जतिसुकै भीड भए पनि अमेरिकामा अरू मान्छेलाई घचेट्तै मान्छे हिंड्दैनन् । नेपालमा यो सामान्य कुरा हो । झन् महिला त यसको भुक्तभोगी हुन् । यो त हिंसा हो । तर नेपाल यसलाई हिंसा मान्न तयार देखिंदैन । यसका लागि कुनै कानून छैन ।

नेपालमा जेब्राक्रसमा मान्छे हिंड्दा गाडीलाई बाटो छोड्नुपर्छ, अमेरिकामा जेब्राक्रसको १५ फिट अगाडि नै गाडी रोकिन्छ । नेपालमा मान्छे पेटीमा होइन, बीच सडकबाट हिंड्छ । अमेरिकामा पेटीबाट मात्र हिंड्छन् । सडकमा मान्छे पुग्यो र दुर्घटना भयो भने मान्छेको दोष हुन्छ । यही कुरा नेपालमा पैसा कमाउने मेसो बन्छ ।

मलाई सोध्नुहुन्छ भने नेपालमा संविधान प्रजातान्त्रिक छ । अमेरिकामा पनि संविधान प्रजातान्त्रिक छ । प्राविधिक रूपले नेपालमा कानूनी राज्य पनि छ । अमेरिकामा त कानूनी राज्यको प्रत्याभूति गर्न नै पाइन्छ । तर म प्रष्टाप्रष्टी भन्छु कि नेपालमा कागजमा प्रजातन्त्र छ । कागजमा कानूनी राज्य छ । तर व्यवहारमा प्रजातन्त्र छैन । कानूनी राज्य छैन । गुण्डा, गुट, चोट्टा राज्य छ । शक्तिको राज्य छ । जसरी धर्म किनबेच हुन्छ, त्यसैगरी राजनीति पनि किनबेच भइरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक-व्यापारीले नेपालको राजनीति किनेको प्रष्ट देखिन्छ ।

नेपालका नेतालाई दाग लाग्नु नौलो विषय होइन । दाग लागेकै आधारमा नेतालाई हटाउने हो भने नेपाल नेताविहीन हुन पनि बेर छैन । पत्रु व्यक्तित्व बोकेका छन् नेपाली नेताले भन्दा म खुसी छैन । नेपालका सबै जनताले उत्तिकै अवसर पाएका छैनन् । कानूनले नै काखा र पाखा गरिदिन्छ । अनि कसरी कानूनी राज्य भयो त कमरेड ? मलाई यसो भन्दा कुनै हर्षबोध वा गौरवबोध भएको छैन । तर अमेरिकामा नेताको निकै ठूलो मानसम्मान छ । किनकि दाग लागेकालाई अमेरिकी राजनीतिले राजनीति गर्न सघाउँदैन ।

अर्को कुरा अमेरिकामा राष्ट्रपति दुई कार्यकालभन्दा बढी हुन पाइन्न । नेपालमा नेता नमरुञ्जेल पटकपटक प्रधानमन्त्री हुन चाहन्छ । भएका छन् । विषय उमेरको होइन, पटकपटक एउटै व्यक्ति पार्टी प्रमुख र सरकार प्रमुख हुने विधिविधानको हो । नेपाली नेता भ्रष्टाचारमा लिप्त भएका छन् भन्दा मैले गौरव वा कुण्ठा दुवै व्यक्त गरेको होइन । हो यही भ्रष्टाचार र पटकपटक घुमाइ फिराइ प्रधानमन्त्री, मन्त्री हुने बुढो साँढेका आतङ्कबाट नेपाली जनता फ्रस्टेसनमा पुगेका छन् । र, अमेरिका जान खोज्छन् । फरक यही हो ।

कमरेड !

यस्ता धेरै धेरै फरक छन् अमेरिका र नेपालमा । बिनापैसा गर्न सकिने धेरै काम छन् नेपालमा । अर्थात् सारमा भन्ने हो भने नेपाल बिनासिस्टम चलेको छ । अमेरिका सिस्टममा चलेको छ । गुण्डा राज्य, हुलतन्त्र र बेलगाम सरकारी रवैयाले सिस्टम बसाउँदैन । यही प्रमुख फरक हो । त्यसैले नेपाली अमेरिका ओइरिएका हुन् ।

अर्को कुरा समयको महत्त्व हो । अमेरिकामा प्रोग्राम शुरू हुने र समापन हुने समय निर्धारण हुन्छ । ठीक समयमा शुरू हुन्छ । ठीक समयमा सकिन्छ । नेपालमा न ठीक समयमा कार्यक्रम शुरू हुन्छ, न सकिन्छ । राष्ट्रको जीवनका लागि यो समयको महत्त्व ज्यादै काम लाग्ने कुरा हो । अमेरिकाले यसको हेक्का राख्छ । नेपाल समय खेर गएका बारेमा सोच्दा पनि सोच्दैन । फरक यही हो ।

भन्न त तपाईंले भन्नुहोला – ‘यो खेम अमेरिकामा बस्छ अनि ठूला कुरा गर्छ ।’ पक्का भन्नु हुनेछ । किनकि नेपाली मान्छे अमेरिकाले भिसा नदिएपछि झन् धेरै राष्ट्रवादी हुन्छन् । मलाई यो कुराले केही फरक पर्दैन । जसजसले जे भने पनि मेरो निजत्व मेरा लागि प्रधान कुरा हो ।

मैले तपाईंलाई यो चिट्ठी लेख्नुको आशय तपाईंले सोधेको प्रश्नको उत्तर दिनु मात्र हो । सम्बन्धित पक्षलाई सुनाइदिनु भए पनि ठीक । नसुनाए पनि ठीक । नेकपा एमालेको ठूला नेता भएकाले सरकारलाई सुनाउन पनि सक्नुहुन्छ । म आफैं त सरकारलाई सुनाउन सक्ने हैसियतको मान्छे होइन । मैले गाएको गीत त ‘डाँडामा बसेर गाउँ भने बतासले हुर्‍याइदिन्छ, खोलामा बसेर गाउँ भने पहाडले छेकिदिन्छ’ भनेजस्तै हो ।

र, अब अन्त्यमा, तपाईंको बहुमूल्य समय लिएकोमा क्षमा याचना गर्छु । केही अन्य सवाल भएपछि सोध्नु होला । यतिवेला तपाईंको अग्रगम्यताको कामना गर्छु । फेरि भेटौंला । अहिलेलाई बिदा ।

सुकेधारा, काठमाडौं