तन्त्रशास्त्र अशुतोष शिवद्वारा निःसृत भएको मान्ने गरिन्छ ।
तन्त्रशास्त्रअनुसार, जे कुरा यो ब्रह्माण्डमा छ, त्यही कुरा हाम्रो शरीरभित्र पनि रहेको कारण मान्छेले आफ्नो चेतना शक्तिद्वारा ब्रह्माण्डसँग सम्पर्क स्थापित गर्न सकेको हुन्छ । शिवसंहिताले हाम्रो मूलाधार चक्रमा कुण्डलिनी शक्ति रहेको हुन्छ भनेर बताएको छ । तन्त्र शब्दको निरुक्ति ‘तन्’ (विस्तार गर्नू) र ‘त्र’ (रक्षा गर्नु), तन्त्र त्यस्तो शास्त्र हो, जसद्वारा ज्ञान विस्तार गर्न सकिन्छ भन्ने बुझिन्छ । तन्त्र साधना भनेको ‘गुह्य या गूढ साधना’ भन्ने जनाउँछ । नेपालको बौद्धपरम्पराको महायान र बज्रयान पन्थ बाहेक सनातनी हिन्दू समाजले कुनै पनि व्यवस्थित ग्रन्थ, सिद्धान्त, विधि, उपकरण, प्रविधि वा कार्यप्रणालीलाई पनि तन्त्र नै भन्दै आएको छ ।
नेपालमा तन्त्र मुख्यतः शैव र शाक्त सम्प्रदायसँग जोडिए पनि यसको प्रयोग वैष्णव पन्थमा पनि हुनेगरेको छ । हिन्दु, बौद्ध र जैन दर्शनको तन्त्रपरम्परा मिल्दाजुल्दा हुन्छन् । हिन्दु, बौद्ध, जैन, तिव्बती धर्ममा प्रचलित तन्त्र साधना ६४ तन्त्रको प्रभाव हो । तन्त्र विज्ञानको एउटा उदाहरण महाभारतमा भीष्मको इच्छामृत्यु, तीरको शैयामा लम्पसार पर्दा पनि नदुख्नु भनेको ‘सेन्टर अफ सेन्स टान्सफर’ गर्न सक्नुले हो । हिटलरको डिक्टेटिङ पावर, नेपोलियनको चमत्कार, गान्धीको सत्याग्रह–बन्दे मातरम, यी यस्ता आवाज थिए, जसले अरूको ध्यान खिच्न सफल थियो, सुन्नेलाई एकाग्र पारेको थियो । मानसिक, आध्यात्मिक र भौतिक स्रोतको सन्तुलन शक्तिमा परिणत हुनु तन्त्र हो । भौतिकवाद र अध्यात्मवादको समिश्रणको केन्द्रविन्दु तन्त्र हो ।
तन्त्र मुख्यतः शिव र शक्तिसँग सम्बन्धित रहेको र यसैबाट अधिकतर तन्त्र ग्रन्थको सिर्जना हुन पुगेको देखिन्छ । ऋग्वेदले तन्त्रलाई ज्ञानको तान भनेर अर्थ्याएको छ र त्यो तान बुझ्दै जाँदा ज्ञान बढ्दै जाने विश्वास गरिएको हुन्छ । कर्मकाण्ड र पूजाउपासना गर्ने तरिका सबै धर्ममा फरक–फरक हुन्छन् तर तन्त्रको प्रक्रिया झण्डै–झण्डै सबैतिर उस्तै–उस्तै खाले हुनेगर्छ । सबै धर्मले मानवभित्र अनन्तः उर्जा भएको स्वीकार्छ, पाँच-सात प्रतिशतमात्र प्रयोगमा आउँछ र शेष भाग खेर गइरहेको विश्वास गर्दछ । सबै धर्म सम्प्रदायले एकनासको विधि अवलम्वन गरी आफूभित्रको शक्ति जगाउने काम गरेको हुन्छ ।
तन्त्रशास्त्रको सबै ग्रन्थ शिव र पार्वतीको संवादबाटै प्रकट भएको हिन्दु मत छ ।
जबसम्म केही गरिन्न, तबसम्म मान्छे साधनामा प्रवेश गर्दैन । देवीदेवताको विग्रह मन्त्रका रूपमा रहेको हुन्छ । सामान्यतः मान्छेले देवीदेवताको स्थूल रूपको उपासना गर्ने गरेको हुन्छ तथा त्यसकै सहाराले मानव देवीदेवताको सूक्ष्म रूपसम्म पुग्न सक्तछन् । थोरै मन्त्र उच्चारण गरेर धेरै जान्नु तन्त्र हो । मानव शरीर तन्त्र, मन्त्र र यन्त्रले चल्छ । मानव शरीरको व्यवहार तन्त्र, पलाएको विचार मन्त्र हो र यस अर्थमा मानव शरीर स्वयं यन्त्र हो ।
तन्त्रको एक विशिष्ट उदाहरणका रूपमा पाटनमा अवस्थित कान देवताको प्रसङ्गलाई लिन सक्छौँ । मल्लकालीन समयमा पाटनका राजाले तन्त्रको प्रयोगमार्फत कान्तिपुरमा षड्यन्त्र रचे । कान्तिपुरका राजाले पाटनका राजाबाट अत्यन्त कलात्मक स्वर्ण लिखित गुप्त यन्त्र राखिएको उपहारप्राप्त पौवाचित्र आफ्नो अन्तःपुरमा झुन्डाई राखे । कान्तिपुरका राजाको अन्तपुरमा झुण्डाइएको पौवाचित्र, बागमतीकिनारमा एउटा ठूलो खम्बा बनाई कानको आकृतिको यन्त्र र पाटनकै राजाको दरबारमा रहेको यन्त्र आपसमा अन्तर्सम्बन्धित थिए । यिनै यन्त्रको माध्यमबाट कान्तिपुरको गोप्यता पाटनका राजाले थाहा पाउँथे । कान्तिपुरका राजाले यो के भयो भनी गुरुपुरोहितको सहायताबाट विचार गर्दा पाटनका राजाको सबै कर्तुत थाहा पाएर कान्तिपुरका राजाले पनि यन्त्रलाई नै ठीकविपरीत गरेका थिए र यो क्रिया पनि पाटनमा ज्ञात भएपछि पाटनका राजाले यन्त्र निष्क्रिय गराउन लगाएका थिए ।
१४औं शताब्दीमा राजा हरिहरसिंह देवले तुलजा भवानीलाई नेपालमा स्थापित गर्न पनि तन्त्रकै प्रयोग गरेका थिए । टुनामुना, कुण्डलिनी जगाउने, पूर्वजन्मका आख्यान, आखेट हेर्ने, जोखना हेर्ने, जन्मकुन्डली, ग्रहदशा, मोहनी लगाउने, भूत भगाउने, केही लाग्यो भनेर पन्छाउने, झारफूक, क्षेत्रपाल, नाग लाग्यो वा देवीदेवता रिसाए भनेर पूजा गर्ने, कुलदेवता, मूलदेवता खुसी पार्ने, नाडी हेर्ने, धामी–झाँक्रीको प्रयोग, ग्रहदशा मोचन वा मठमन्दिरको स्थापना, जात्रा, स्थानान्तरण वा पूजा गर्दा तन्त्र, मन्त्रबाट मात्र गर्ने यी सबै साधन साध्यका रूपमा विकसित भएर आएको देखिन्छन् ।
तोडल तन्त्र र सर्वोल्लास तन्त्रमा उल्लेख गरिएका ६४ तन्त्रको नाउँ चतुःशती र श्रीकण्ठीको तन्त्र सूचीमा मेल खाँदैनन्, जसमा काली, मुण्डमाला, तारासहित कामख्या तन्त्रमा उल्लेख भएको ६४ तन्त्रहरूको नाउँ पनि समावेश छ । आठौं शताब्दीभन्दा पहिलेको जयद्रथयामल तन्त्रको धेरै कुरा यही ग्रन्थले प्रस्ट पारेको छ । आठ किसिमको यामल तन्त्रको प्रमुख उपासक नेपालका तत्कालीन राजा प्रतापसिंह शाह थिए । तन्त्रशास्त्रको साधकहरू तत्कालीन नेपालमा प्रशस्त भएका कारण तन्त्रशास्त्रअनुसार नेपालमा छाग (बोका), महिष (राँगो), मेष (भेडा), कुखुरा र हाँस बलि दिने चलन बसेको हो ।
दोलखा भीमसेनलाई पसिना आउँदा उपद्रो हुने विश्वास र क्षमापूजा गर्दा शान्त हुने अनि सर्वाध्या परमेश्वरी तुलजा भवानीले कुनै बेला राजासँग प्रत्यक्ष पासा खेलेको, पाटन राज्यमा एक बालिका र एक करिब ५९ वर्षकी हालसम्म रजस्वला नभएकी कुमारी आदि लगायतका प्रसङ्गले तन्त्रलाई अझ नेपाली सन्दर्भमा व्यापकता बनाएको छ । प्रताप मल्ल, लक्ष्मीनरसिंह मल्लको युग तन्त्रमन्त्रले भरिपूर्ण थियो । शिवपुरी बाबाको शक्ति पनि तन्त्रकै हो भने भारतमा पनि सिद्ध तान्त्रिकहरूको सङ्ख्या ठूलै छ ।
राजधानीको फोहोर सफा गर्ने नाममा काठमाडौं, भक्तपुर र पाटन ‘दरबार स्क्वायर’ सफा गर्ने, पुनः निर्माण गर्ने नाममा तन्त्रमन्त्रको अनुसन्धानमा विदेशी मुलुक व्यस्त रहने गरेको भनाइ छ । आज पनि लामा, राई, तामाङ तन्त्र शिक्षा आर्जनका लागि वर्षको दुई हजारभन्दा बढी विदेशीहरू नेपाल आउने गरेको बताइन्छ । युरोपेलीहरू पूर्वीय दर्शनभित्र विचरण गर्न थालेका छन् भने हामी हाम्रो सभ्यता र संस्कृतिलाई अन्धपरम्पराका नाममा बेवास्ता गर्दै छौँ । युरोप राष्ट्रका जिज्ञासुहरू हनुमानढोकामा नाइटो किन गाडिन्छ, किलागलमा किन पैसालाई किला ठोकिन्छ, मन्दिर र जात्रामा तन्त्रपूजा किन गरिन्छ भन्नेसम्मका विषयमा अध्ययन गरिरहेका छन् । हाम्रा समाजशास्त्रीले यसतर्फ पनि ध्यान दिने कि ?
प्रकृतिको अद्भूत क्रियाकलापलाई मानवले अदृश्य शक्तिद्वारा सञ्चालित भएको ठान्यो र डर वा आस्थाका कारण प्रकृतिको पूजा र उपासना गर्ने गरेको पाइन्छ । साङ्ख्य दर्शनको मान्यताअनुसार संसार पुरुष र प्रकृतिको शक्तिद्वारा सञ्चालित छ । भौतिक विज्ञानअनुसार पदार्थमा निहित इलोक्ट्रोन र प्रोटोनद्वारा नै पदार्थ अस्तित्वमा आएको देखिन्छ । उत्तर पुरापाषाणकालीन संस्कृतिका मानवले सिर्जना गरेको मानिएको भेनसको मूर्तिले नारी शक्तिलाई प्रमाणित गरेको छ । सिन्धु सभ्यताको उत्खननबाट प्राप्त ध्यानस्थ योगीको आकृतिलाई शिवजीको रूप मानिएको छ ।
सिन्धु सभ्यतापछिको सभ्यता मानिने वैदिककालमा अर्थात् ऋग्वेदमा शक्तिपूजाको परम्पराले व्यापकता पाएको देखिन्छ । वैदिक सभ्यतापछिको उपनिषद्कालमा शक्तिको पर्याय वर्णन गरेको छ । शिवको उपासना लिङ्गका रूपमा गर्ने परम्परालाई अत्यन्त पुरानो मान्ने हो भने लिङ्गको साथ पुजिने योनीलाई शक्तिको प्रतीक मान्नुपर्ने हुन्छ । उपनिषद्कालदेखि नै शक्तिको स्वतन्त्र अस्तित्वको विकास भएको पाइन्छ । उपनिषद्कालपछि महाकाव्यकाल तथा पुराणकालमा आएर प्रकृतिविना पुरुष निष्क्रिय छ भन्ने भावनाको अझ विकास भयो । महाभारतको भीष्मपर्वमा युद्धमा विजय उपासना गरेका थिए । प्राचीनकालदेखि नै नारी अर्थात् शक्तिपूजा निरन्तर चल्दै आएको थाहा हुन्छ । नारीको कोखबाट सिर्जित शिशु जन्मको दृश्यलाई अद्भूत यथार्थ मान्दै प्राग्मानवको आद्यचेतनाले स्वीकार गरेको देखिन्छ ।
नेपाली संस्कृतिका विविध पर्व र परम्पराहरूमध्ये कुमारी जात्रा पनि एक हो । नेपाली संस्कृतिमा लोक आख्यानहरूले आंशिक रूपमा ऐतिहासिक र सांस्कृतिक पक्षलाई पनि अभिव्यक्त गरेका हुन्छन् । नेपालमा जात्रा र पर्वहरूको माध्यमबाट मानव मनमा गुम्सिएका हर्ष र विस्मातका भावनाहरूलाई अभिव्यक्त गर्न भिन्नभिन्न सांस्कृतिक पर्व र परम्पराहरू रहेका छन् । काठमाडौं उपत्यका भिन्नभिन्न संस्कृति र जात्रा परम्पराहरूका एक विशालतम् सांस्कृतिक फाँटका रूपमा परिचित छ । नेवार समुदायले हालसम्म पनि मान्दै आएको विभिन्न जात्रा, पर्व र परम्पराहरूमध्ये कुमारी जात्रा पनि एक हो ।
आज पनि हाम्रो धार्मिक समाजमा स्त्री अर्थात् छोरी जातिलाई विशेष आस्था, अनुष्ठान र सम्मान गरिन्छ । मासिक रजश्रावपछि कुनै पनि प्रयाश्चितविना नै आफसे आफ पवित्र हुन्छिन् भन्ने दार्शनिक तथा धार्मिक आधारमा स्त्रीलाई कहिल्यै पनि अपमान गर्नुहुँदैन । हाम्रा भौतिक सम्पत्तिहरूभन्दा पनि ठूलो रत्न स्त्री रत्न हो भनी हिन्दु शास्त्राकारहरूले नारीको गरिमालाई माथिल्लो स्तरमा स्थापित गरेका छन् । यस आधारमा टेकेर नेपालमा प्राचीनकालदेखि नै मातृशक्तिको पूजनको स्वरूप शाक्त धर्मलाई मान्दै आएको ऐतिहासिक प्रमाण छ । पूर्वमल्लकालमा राजा रुद्र मल्लको अवसानसँगै उनकी बहिनी देवलदेवीले कर्णाटवंशी राज्य सिम्रौनगढबाट तुलजा भवानीलाई नेपालमण्डलमा प्रवेश गराएको तथ्य उल्लेख छ । शाक्य परिवारमा जन्मिएकी र ३२ लक्षणले युक्त कन्यालाई विशेष धार्मिक अनुष्ठानका साथ कुमारीका रूपमा स्थापित गरिन्छ ।
राजा जयप्रकाश मल्ल देवीसँग पासा खेल्नेक्रममा कसैले बाहिरबाट चिहाएर हेरेकाले अब उप्रान्त मानस रूपमा प्रकट नहुने वचन दिएपछि जयप्रकाश मल्लले शाक्य परिवारमा जन्मेकी विशेष लक्षणले युक्त कन्यालाई जीवित देवीका रूपमा पूजा गर्ने चलन चलाएको ऐतिहासिक कथन छ । नेपाली समाजमा कुमारी कन्याहरूलाई पवित्रताको प्रतीकका रूपमा पूजा गरिन्छ भने नेपाली राजपरम्परामा राजाहरूको राज्याभिषेकको अवसरमा कुमारीको महत्त्वपूर्ण भूमिका रहन्थ्यो । हिजोआज कुमारीलाई कुमारीपश्चात्को जीवन व्यतीत गर्न सहयोग होस् भनी उनलाई सामाजिकीकरण गराउँदै लगिएको छ । नेपाली धार्मिक तथा सांस्कृतिक पर्व र परम्परामा कुमारी पूजाको विशेष स्थान र महत्त्व रहेको छ । पञ्चकन्याहरूबाट विशेष पाहुनाको स्वागत र सत्कार गर्ने प्रचलन अद्यपि छँदै छ । हिन्दु धर्म र संस्कृतिलाई आत्मसात् गर्ने हो भने पनि नारी र प्रकृतिप्रति स्वतः आस्था भाव र श्रद्धा पलाउँछ र आदर्श समाज निर्माण हुन्छ ।
हरेक वर्ष मार्गकृष्ण दशमीको दिन काठमाडौं उपत्यकाका शक्तिपीठमध्ये एक गुह्येश्वरीमा जात्रा गरिन्छ । बौद्ध र हिन्दूहरूले समान रूपमा गुह्येश्वरीदेवीलाई मान्दै आएका छन् । बौद्धमार्गीले मान्दै आएका चार योगिनीमध्ये एक योगिनी हुन्— गुह्येश्वरी देवी । कुनै समय नेपाल मण्डलमा तेल बेच्दै आइरहेको एकजना साल्मीले जङ्गलको बाटोमा गुह्येश्वरी देवी भेटेछन् । झोछें र वसन्तपुरका माक परिवारका साल्मीहरूले गुह्येश्वरी देवीलाई विभिन्न किसिमका आभूषण चढाउने गर्दछन् । अहिले पनि मार्गकृष्ण दशमीका दिन गुह्येश्वरी देवीस्थानमा पूजा गर्न जाने भन्दै नौवटा टोलका न्हयसः सायमी अर्थात् सात सय साल्मीहरू धाः बाजा बजाउँदै आउँछन् । बागमती नदी नजिकै गुह्येश्वरी मन्दिरको चारैतिर कलश कुँदिएका चाँदीका ढोका छन् भने दायाँबायाँ शिलाका सिंह पनि राखिएका छन् ।
मन्दिरभित्र गर्भगृहमा गोलाकार पातोमा आठवटा पात भएको सुनको कमलको फूल देखिन्छ भने बीचमा सुनको कलश राखिएको छ । यही कलशलाई गुह्येश्वरी देवीको रूपमा पुज्दै कलशमुनि रहेको कुण्डबाट जल लिने क्रममा कुण्डमा चढाइराखेका अण्डा र माछा हातमा पर्न आयो भने भाग्यमानी भइन्छ, धनसम्पत्ति, ऐश्वर्य प्राप्त हुन्छ भन्ने जनविश्वास रही आएको छ । गुह्येश्वरी मन्दिर निर्माण गरी गणेश र भैरवको मूर्ति पनि स्थापना गरिराखेको उल्लेख छ । राजा जयप्रकाश मल्ललाई रानी दयावतीले षडयन्त्र गरी निकालिदिएको समयमा अति नै दुःखी भई भक्तिभावले गुह्येश्वरी देवीको सेवा गरिरहे । गुह्येश्वरी देवीबाट खड्गसिद्धि प्राप्त गरि शक्तिशाली बनेका राजा जयप्रकाशले आफूलाई पक्रन आएका सैनिकहरूलाई हातमा दिई आफ्नो देशमा पुःन राज्य गर्न सफल भएका हुन् भनिन्छ ।
श्री स्वस्थानीको कथामा उल्लेख भएअनुसार दक्ष प्रजापतिले गरेको अश्वमेध यज्ञमा सतीदेवीले आफू र महादेवलाई मात्र नबोलाई सबै देवीदेवता बोलाइएको कुरा नारदबाट थाहा पाई महादेवले रोक्दारोक्दै पनि सतीदेवीले हामीलाई मात्र किन नबोलाउनु भएको भनी सोध्दा पिता दक्ष प्रजापतिले महादेवको अपमान गर्ने क्रममा हेर्दै बौलाहा जस्ता, भूत, प्रेत, पिशाच, नन्दी, भृङ्गी अघि पछि लगाएर हिँड्ने, गाँजाभाङ खाएर हिँड्ने घीनलाग्दो भएकोले नबोलाएको हो भनी घोर अपमान गरेको सहन नसकी सतीदेवी यज्ञकुण्डमा हाम फालेर मर्छिन् । श्रीस्वयम्भू महापुराणको शान्ततीर्थ माहात्म्यका अनुसार पार्वतीसँग विवाह गरिसकेपछि पनि महादेवले जहिले पनि गाँजा भाङ खाएर जथाभावी गर्दै हिँड्ने गाँजाको सुरमा नाच्दै हिँड्ने गरेर हैरान पारेकाले एकदिन पार्वतीले महादेवलाई यस्तो गर्नु भएन भनी बिन्तीभाउ गरी सम्झाइबुझाइ गर्दा उल्टै महादेव रिसाएर घरबाट निस्किदिन्छन् ।
पार्वतीले के गरुँ के गरुँ भई दिक्क भएर शान्त तीर्थमा गई बालुवाको चैत्य बनाएर अमोघ पाश लोकेश्वरको व्रत बसी सतीदेवीको गुह्य अङ्ग पतन भएको स्थानमा उत्पन्न भएकी गुह्येश्वरी देवीको सेवा गरेर बसिदिन्छिन् । प्रसन्न भएकी गुह्येश्वरी देवीको सेवा गरेर बसिदिन्छिन् । प्रसन्न भएकी गुह्येश्वरी देवीले पार्वतीको रक्षा गरेकी हुँदा तिनी कहाँ छिन् भन्ने कुरा कसैलाई थाहा हुन सकेन । महादेव, गणेश र महादेवका गणहरूले पार्वतीलाई खोज्न थाल्छन् ।
गुह्येश्वरीले ६ बर्षपछि महादेवका एकजना गणलाई दर्शन दिन्छिन् । यो कुरा थाहा पाई महादेवले शान्ततीर्थमा गई पार्वतीलाई खोज्न थाल्छन् । फेला पार्न नसकेका महादेवले गरेको स्तुतिबाट प्रसन्न भएकी गुह्येश्वरी देवीले दाहिने हाततर्फ एक हजार महादेव र देब्रे हाततर्फ एक हजार पार्वतीराखी शिव रूपको दर्शन दिँदै भन्नुहुन्छ— “हे महादेव ! तिम्रो पार्वती कुन हुन् लैजानु ।”
महादेवले आफ्नी पार्वती कुन हुन् चिन्न सक्दैनन् । अनि गुह्येश्वरीले आइन्दा पार्वतीलाई हेला गर्दिन भनी सत्यवाचा गर्न लगाई महादेवलाई पार्वती सुम्पिदिन्छिन् । महादेव र पार्वतीले गुहेश्वरी देवीलाई बन्दना गरी कैलाश फर्केर जान्छन् । गुहेश्वरी देवीको पूजा गर्दा समयबजीका साथै उसिनेका अण्डाको सगुन र जाँडरक्सी नभई हुन्न । गुहेश्वरी देवीलाई पूजा गरी नेवार भक्तजनले भोज खाइरहेको देखेपछि राणा प्रधानमन्त्री चन्द्र शमशेरले जाँड रक्सीमा प्रतिबन्ध लगाइदिए । नेवारी चाडपर्व र जात्रामा पनि नेवारहरूले खाँदै आएको जाँडरक्सी खान पाएनन् ।
चन्द्र शमशेरको दरबारबाट गुहेश्वरी देवीको पूजामा पठाइएको १०८ वटा अण्डाको सगुनमात्रले पूजा गर्दा गुहेश्वरी कुण्डमा एउटा पनि अण्डा तल गएन । सोही समयमा त्यहाँ देवीलाई पूजा गर्न आएकी एउटी बूढी नेवार्नीले पटुकामा ल्याएको रक्सी अलिकति खन्याइदिने बित्तिकै सबै १०८ वटा अण्डा कुण्डमा तल गए । यसरी एक किसिमले चमत्कारजस्तै भएको कुरा थाहा पाएर चन्द्र शमशेरले देवताको पूजामा र नेवारहरूको भोजमा प्रयोग गर्दै आएको जाँडरक्सीको प्रतिबन्ध फिर्ता लिएका थिए भनिन्छ । गुहेश्वरी देवीको जात्रा गर्नुअघि मार्गकृष्ण अष्टमीका दिन ३२ हाते लिङ्गो ठड्याउन साइत हेर्नुपर्छ । लिङ्गो ठड्याइसकेपछि मात्र गुहेश्वरीको जात्रा सुरु गरिन्छ । नवमीका दिन जात्रा गर्ने क्रममा गुहेश्वरीको खट जात्रा गरी हनुमानढोका दरबारको तलेजु भवानीलाई लिन गइन्छ ।
गुहेश्वरी र तलेजु भवानीको मूर्ति (कलश) एकै खालको देखिन्छ । तलेजु भवानीलाई पनि खटमा राखी परम्परागत बाजा बजाई राजकीय सम्मानका साथ गुरुजुको पल्टनले तोप पटकाएर गुहेश्वरीको मन्दिरमा पुर्याइन्छ । गुहेश्वरी मन्दिरमा राखिएको दुवै कलशलाई राति तान्त्रिक विधिपूर्वक गुप्तीपूजा गरिन्छ । बोका बलि दिँदा गुहेश्वरी र तलेजु भवानीलाई नदिई मन्दिरभित्रै रहेका भैरवलाई दिइन्छ । र सो प्रसाद दुवै देवीलाई चढाइन्छ । मार्गकृष्ण दशमीका दिन गुहेश्वरी देवीको मुख्य जात्रा गरिन्छ ।
गुहेश्वरी देवी र तलेजु भवानीलाई गुठीको तर्फबाट विधिपूर्वक पूजा गरी लिङ्गो ढाली अनी हनुमानढोका दरबारमा लाने क्रममा गुरुजुको पल्टनले तोप पड्काउँछन् । जात्रा गरेर लगेको खट हनुमानढोका दरबारमा पुगेपछि तलेजु भवानीलाई भित्र्याइन्छ भने गुहेश्वरीको खट जगन्नाथ देवल मन्दिरको पाटीमा राखिन्छ । भोलिपल्ट विहान चसान टोलका साल्मीहरूले दाफा भजन गर्छन् र दिउँसो गुहेश्वरी देवीलाई तलेजु भवानीको मन्दिरमा स्वागत गरी गुहेश्वरी मन्दिरमा भित्र्याइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।